भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—मीका
१. मीकाको मनमा कस्तो प्रश्न खेलेको हुन सक्छ? तर तिनको प्रचारकार्य किन व्यर्थ गएन?
१ ‘यस भ्रष्ट संसारको नाश कहिले हुने होला?’ इस्राएल र यहूदाविरुद्ध यहोवाको इन्साफको घोषणा सुनाउँदा भविष्यवक्ता मीकाको मनमा यस्तै प्रश्न खेलेको हुन सक्छ। तैपनि भविष्यवाणी पूरा हुन्छ कि हुँदैन भनेर तिनले शङ्का गरेनन् र तिनको प्रचारकार्य व्यर्थ गएन। मीकाको जीवनकालमै ईसापूर्व ७४० मा सामरियाविरुद्ध यहोवाको वचन पूरा भयो। (मीका १:६, ७) पछि, ईसापूर्व ६०७ मा यरूशलेमको विनाश भयो। (मीका ३:१२) अहिले यहोवाको इन्साफको दिन पर्खंदै गर्दा हामी कसरी मीकाको अनुकरण गर्न सक्छौं?
२. यहोवाको दिनको बाटो हेर्दै गर्दा हामीले किन र कसरी धैर्यता देखाउनुपर्छ?
२ धैर्य गर्नुहोस्: मीकाले यस्तो लेखे: “मचाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्वरको बाटो म हेर्नेछु।” (मीका ७:७) पक्कै पनि मीका अन्त कहिले आउँछ भन्दै हात बाँधेर बसिरहेनन्। यहोवाको भविष्यवक्ताको रूपमा तिनी व्यस्त रहे। यहोवाको दिनको बाटो हेर्दै हामी पनि “पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू”-मा व्यस्त रहनुपर्छ। (२ पत्रु. ३:११, १२) यहोवाको धैर्यको कारण मानिसहरूले पश्चात्ताप गर्ने मौका पाउँछन्। (२ पत्रु. ३:९) त्यसैले भविष्यवक्ताहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लेओ भन्ने परमेश्वरको सल्लाहलाई हामी गम्भीरतासाथ लिन्छौं।—याकू. ५:१०.
३. हामीले किन परमेश्वरको पवित्र शक्ति माग्नुपर्छ?
३ यहोवाको बलमा भर पर्नुहोस्: मीकाको जिम्मेवारी चुनौतीपूर्ण थियो। तर त्यो पूरा गर्न तिनी यहोवाको बलमा भर परे। (मीका ३:८) हामीलाई बल चाहिन्छ भनेर यहोवालाई थाह छ। त्यसैले बाइबल हामीलाई उहाँको बलमा भर पर्न सल्लाह दिन्छ। परमेश्वरबाट पाएको जिम्मेवारी पूरा गर्न उहाँ थकितहरूलाई उदारतासाथ शक्ति दिनुहुन्छ। (भज. ८४:५, ७; यशै. ४०:२८-३१) पवित्र सेवामा यस्तो शक्ति पाएको के तपाईं आफैले अनुभव गर्नुभएको छ? के तपाईं नियमित रूपमा परमेश्वरको शक्तिशाली पवित्र शक्ति माग्नुहुन्छ?—लूका ११:१३.
४. मीकाको जीवन हाम्रो लागि किन एकदमै राम्रो उदाहरण हो?
४ मीकाले जीवनभर यहोवाको इच्छाअनुसार गर्नुलाई नै पहिलो स्थान दिए। आफू वरपरका मानिसहरूको नैतिकता खस्कँदै गइरहेको भए तापनि तिनी विश्वासी रहिरहे। त्यसैगरि, हाम्रो निष्ठाको पनि दिनदिनै जाँच हुन्छ। त्यसैले “सदासर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड्ने” अठोटलाई बलियो बनाऔं।—मीका ४:५.