अध्याय ९
“अवैध यौनसम्बन्धदेखि भाग”
“त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच, जो मूर्तिपूजा हो।”—कलस्सी ३:५.
१, २. बिलामले यहोवाका जनहरूलाई हानि पुऱ्याउन कस्तो चाल चल्यो?
एक जना मछुवा माछा मार्न आफूलाई मन पर्ने ठाउँमा जान्छ। ऊ एउटा खास किसिमको माछा मार्न चाहन्छ। ऊ एकदमै विचार पुऱ्याएर चारो छान्छ। त्यसलाई बल्छिमा राखेर पानीमा डुबाउँछ र पर्खन्छ। केही समयपछि बल्छीको डोरी तन्किन थाल्छ अनि लट्ठी पनि बाङ्गिन्छ। मछुवाले आफ्नो सिकारलाई माथि तान्छ। ऊ मुस्कुराउँछ किनभने उसको चारोले काम गऱ्यो।
२ यो घटनाले हामीलाई बिलाम नाम गरेको व्यक्तिको याद दिलाउँछ। ईसापूर्व १४७३ को कुरा हो। बिलामले एउटा खास किसिमको सिकारलाई फसाउन यसरी नै निकै सोचविचार गरेर चारो हालेको थियो। ती सिकार को थिए? परमेश्वरका जनहरू। तिनीहरूले त्यतिबेला प्रतिज्ञा गरेको देशको छेवैमा पाल टाँगेका थिए। बिलामले आफूलाई यहोवाको अगमवक्ता भनी दाबी गर्थ्यो। तर वास्तवमा ऊ लालची थियो। इस्राएलीहरूलाई सरापेमा धेरै धन-सम्पत्ति दिनेछु भनेर ऊसित प्रतिज्ञा गरिएको थियो। उसले इस्राएलीहरूलाई सराप दिन खोज्दा यहोवाले उसलाई सफल हुन दिनुभएन। उसको मुखबाट सरापको बदलामा आशिष् निस्क्यो। तर लालची बिलाम जे-जसो गरेर भए पनि इनाम पाउन चाहन्थ्यो। उसको दिमागमा एउटा विचार फुऱ्यो। इस्राएलीहरूलाई कुनै गम्भीर पापमा फसायो भने त परमेश्वर आफैले तिनीहरूलाई सराप दिनुहुनेछ भनेर उसले सोच्यो। बिलामले आफ्नो सोच पूरा गर्न एउटा चारा हाल्यो। त्यो चारा थियो—अनैतिक काम गर्न लोभ्याउने मोआबका सुन्दरीहरू।—गन्ती २२:१-७; ३१:१५, १६; प्रकाश २:१४.
३. बिलामको चाल कुन हदसम्म सफल भयो?
३ के यो चाल सफल भयो? हो, केही हदसम्म सफल भयो। हजारौं इस्राएली पुरुषहरू यो चारोको लोभमा परे अनि तिनीहरूले “मोआबका छोरीहरूसँग व्यभिचार गर्नलागे।” यहाँसम्म कि तिनीहरूले मोआबी देवता अनि घिनलाग्दो बाल देवताको उपासनासमेत गर्न थाले, जो प्रजनन-क्षमता अर्थात् कामवासनाका देवता थिए। परिणामस्वरूप २४,००० इस्राएलीहरू प्रतिज्ञा गरिएको देशको छेवैमा मारिए। कस्तो दुःखलाग्दो घटना!—गन्ती २५:१-९.
४. हजारौं इस्राएलीहरू अनैतिकताको पासोमा किन फसे?
४ इस्राएलीहरूलाई यस्तो दुःखद मार्गमा लैजाने वास्तविक कारण आखिरमा के थियो? धेरैजसो इस्राएलीहरू यहोवाबाट टाढिइसकेका थिए। तिनीहरू आफ्नो हृदय कठोर पारेर दुष्ट भइसकेका थिए। तिनीहरूले परमेश्वरलाई पिठिउँ फर्काए जसले तिनीहरूलाई मिश्रबाट छुटाउनुभएको थियो, उजाडस्थानमा खाना दिनुभएको थियो अनि सकुशल प्रतिज्ञा गरिएको देशको सिमानासम्म डोऱ्याउनुभएको थियो। (हिब्रू ३:१२) उक्त घटनालाई सम्झँदै प्रेषित पावलले यस्तो लेखे: “तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध राखे र एकै दिनमा तेइस हजार मारिए; हामीचाहिं तिनीहरूले जस्तो अवैध यौनसम्बन्ध नराखौं।” a—१ कोरिन्थी १०:८.
५, ६. मोआबको मैदानमा इस्राएलीहरूले जुन पाप गरेका थिए, त्यस घटनाले आज हामीलाई के पाठ सिकाउँछ?
५ आज पनि परमेश्वरका जनहरू प्रतिज्ञा गरिएको नयाँ संसारको छेवैमा छन्। तिनीहरूले गन्तीको किताबमा उल्लेख गरिएको यस घटनाबाट धेरै महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। (१ कोरिन्थी १०:११) पुरातन समयका मोआबीहरूजस्तै आजको संसार पनि कामवासनामा चुर्लुम्म डुबेको छ। फरक यत्ति हो कि आज यो कुरा जताततै देख्न सकिन्छ। त्यति मात्र होइन हरेक वर्ष हजारौं ख्रीष्टियनहरू अनैतिकताको सिकार भएका छन्। यो त्यही पासो हो जसमा इस्राएलीहरू परेका थिए। (२ कोरिन्थी २:११) साथै जसरी जिम्रीले एउटी मिद्यानी स्त्रीलाई इस्राएलीहरूको छाउनीको बीचमा रहेको आफ्नो पालभित्र खुल्लमखुल्ला ल्याएका थिए त्यसरी नै आज पनि परमेश्वरका जनहरूसित सङ्गत गर्ने केही मानिसहरूले मण्डलीभित्रै अनैतिक प्रभावहरू फैलाएका छन्।—गन्ती २५:६, १४; यहूदा ४.
६ इस्राएलीहरूले मोआबको मैदानमा जस्तो कुराको सामना गर्नुपरेको थियो अहिले तपाईंले पनि त्यस्तै कुराको सामना गर्नुपरेको छ भनेर के तपाईंले बुझ्नुभएको छ? नयाँ संसार तपाईंकै अगाडि छ भनेर के तपाईं देख्नु सक्नुहुन्छ? के यो लामो समयदेखि पर्खिएको त्यही इनाम होइन र? यदि हो भने परमेश्वरको प्रेम पाउन लायक भइरहनको लागि यो आदेश पालन गरेर सक्दो प्रयास गर्नुहोस्: “अवैध यौनसम्बन्धदेखि भाग।”—१ कोरिन्थी ६:१८.
अवैध यौनसम्बन्ध भनेको के हो?
७, ८. “अवैध यौनसम्बन्ध” भनेको के हो? अवैध यौनसम्बन्ध राख्नेहरूले कस्ता नतिजा भोग्छन्?
७ बाइबलमा प्रयोग गरिएको “अवैध यौनसम्बन्ध” (ग्रीकमा पोरनिया) भन्ने अभिव्यक्तिले धर्मशास्त्रीय आधारमा गरिएको विवाहबाहिरको सबै नाजायज यौन सम्बन्धलाई बुझाउँछ। यसमा निम्न कुराहरू समावेश छन्: आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्ध, वेश्यावृत्ति, अविवाहित व्यक्तिहरूबीचको यौनसम्बन्ध, मुख-मैथुन, मलद्वार-मैथुन र आपसमा विवाह नगरेका व्यक्तिले एक-अर्काको गुप्ताङ्ग खेलाउनु। साथै पुरुष-पुरुषबीच अनि स्त्री-स्त्रीबीचको यौनसम्बन्ध र पशुसम्भोग पनि अवैध यौनसम्बन्ध नै हो। b
८ अवैध यौनसम्बन्धमा लागिराख्नेहरू ख्रीष्टियन मण्डलीमा रहिरहन सक्दैनन् अनि तिनीहरूले अनन्त जीवन पनि पाउनेछैनन् भनेर बाइबलले स्पष्टसित बताएको छ। (१ कोरिन्थी ६:९; प्रकाश २२:१५) त्यति मात्र होइन यस्ता मानिसहरूले आफूले गरेको कामको परिणाम अहिले पनि भोग्नुपर्ने हुन्छ। अरूले तिनीहरूमाथि भरोसा गर्न छोड्छन्, तिनीहरूले आत्म-सम्मान गुमाउँछन्, तिनीहरूको वैवाहिक जीवनमा कलह हुन्छ अनि आफ्नै अन्तस्करणले तिनीहरूलाई घोचिरहन्छ। साथै नचाहँदा नचाहँदै गर्भ रहने, विभिन्न रोग लाग्ने अनि मृत्युसमेत भोग्नुपर्ने हुन सक्छ। (गलाती ६:७, ८) जुन मार्गमा यति धेरै दुःख छ त्यस मार्गमा किन पाइला हाल्ने र? दुःखको कुरा यस्तो गलत काम गर्न लगाउने पहिलो कदम चाल्दासम्म पनि मानिसहरूले त्यसका डरलाग्दा नतिजाहरूबारे सोचेकै हुँदैनन्। अक्सर त्यो पहिलो कदम हो, अश्लील सामग्री हेर्नु।
अश्लील सामग्री हेर्नु—पहिलो कदम
९. अश्लील सामग्री हेरेर केही बिग्रिंदैन भन्ने दाबी के सही हो? बताउनुहोस्।
९ थुप्रै मुलुकमा यौन इच्छा जगाउनको लागि तस्विरहरू, अश्लील कथाहरू वा लेखहरू, अश्लील कुराकानी वा कामको श्रव्य रेकर्ड जस्ता सामग्री जताततै पाइन्छ। यसमा कसैको कामुक ढङ्गका तस्विरहरूदेखि दुई वा धेरै जनाबीच एकदमै घिनलाग्दो तरिकाले गरिएको यौनसम्बन्धी कामकुराका तस्विरहरूसमेत पर्छन्। पत्रपत्रिका, टेलिभिजन अनि सङ्गीतमा यस्ता सामग्री छ्यासछ्यासती पाइन्छ। इन्टरनेटमा त यसको ओइरो नै लागेको छ। अश्लील सामग्री हेरेर केही बिग्रिंदैन भनेर कोही-कोही दाबी गर्छन्। के यो साँचो हो? यो दाबी सरासर गलत हो। किनभने अश्लील सामग्री हेर्ने व्यक्तिलाई हस्तमैथुन गर्ने बानी पर्न सक्छ अनि तिनको मन ‘पतित कामवासनामा डुब्छ।’c फलस्वरूप तिनलाई यौनसम्बन्धी लत लाग्छ, तिनी अस्वाभाविक चाहनाको दास बन्छन्, पति-पत्नीबीचको सम्बन्ध बिग्रन्छ अनि सम्बन्धविच्छेदसम्म हुन पुग्छ। (रोमी १:२४-२७; एफिसी ४:१९) एक अनुसन्धानकर्ताले यौनको लतलाई क्यान्सरसित तुलना गरेका छन्। तिनको भनाइअनुसार यो लत “बढ्दै जान्छ, फैलँदै जान्छ र हतपती निको हुँदैन। यसको उपचार गर्न अनि यसलाई निको पार्न पनि गाह्रै हुन्छ।”
१०. याकूब १:१४, १५ मा दिइएको सिद्धान्त हामी कुन-कुन तरिकामा लागू गर्न सक्छौ? (पृष्ठ ११५ मा भएको पेटी पनि हेर्नुहोस्।)
१० याकूब १:१४, १५ मा के बताइएको छ ध्यान दिनुहोस्: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्न हुन्छ।” त्यसैले यदि तपाईंको मनमा कुनै खराब इच्छा जाग्छ भने त्यसलाई तुरुन्तै निकालेर फ्याँक्नुहोस्! जस्तै: यदि अचानक तपाईंको आँखा कामुक फोटोमा वा दृश्यमा पऱ्यो भने तुरुन्तै अन्तै हेर्नुहोस् वा कम्प्यूटर बन्द गर्नुहोस् अथवा टिभीको च्यानल फेर्नुहोस्। खराब इच्छालाई नियन्त्रण गर्न गाह्रो हुनुअघि नै अनि त्यसले हामीलाई वशमा पार्नुअघि नै बच्नको लागि जे-जति सकिन्छ त्यो सबै गर्नुहोस्।—मत्ती ५:२९, ३०.
११. गलत इच्छाविरुद्ध लड्दा यहोवालाई भरोसा गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?
११ हाम्रो बारेमा हामीलाई भन्दा परमेश्वरलाई धेरै थाह छ। उहाँले पक्कै पनि हामीलाई कुनै कारण भएकोले नै यो सल्लाह दिनुभएको हुनुपर्छ: “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच, जो मूर्तिपूजा हो।” (कलस्सी ३:५) हुन त यसो गर्न गाह्रो होला। तर याद गर्नुहोस् स्वर्गमा हाम्रो यस्तो बुबा हुनुहुन्छ जसले हामीलाई एकदमै माया गर्नुहुन्छ अनि हामीप्रति सहनशील हुनुहुन्छ। मदतको लागि हामी उहाँलाई पुकार्न सक्छौं। (भजन ६८:१९) त्यसैले मनमा नराम्रो विचार आउनेबित्तिकै मदतको लागि पुकार्नुहोस्। “असाधारण शक्ति” पाउन प्रार्थना गर्नुहोस् अनि आफ्नो मनलाई अन्तै मोड्न भरमग्दुर प्रयास गर्नुहोस्।—२ कोरिन्थी ४:७; १ कोरिन्थी ९:२७; पृष्ठ ११८ मा भएको “खराब बानी कसरी त्याग्न सक्छु?” शीर्षकको पेटी हेर्नुहोस्।
१२. हाम्रो “हृदय”-ले केलाई बुझाउँछ? हामीले किन हृदयलाई सुरक्षित राख्नै पर्छ?
१२ बुद्धिमान् राजा सुलेमानले यस्तो लेखे: “कुनै मूल्यवान् वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) यहाँ “हृदय” भन्ने जुन शब्द चलाइएको छ त्यसले हाम्रो भित्री व्यक्तित्वलाई बुझाउँछ, मतलब परमेश्वरको नजरमा हामी कस्ता मानिस हौं, त्यसलाई बुझाउँछ। हामीलाई अनन्त जीवन दिने या नदिने भनेर निर्णय गर्दा यहोवाले अरूले हामीलाई कसरी हेर्छन् त्यसलाई होइन तर हामी वास्तवमा भित्री “हृदय”-मा कस्ता छौं त्यसलाई ध्यान दिनुहुन्छ। यो कुरा एकदमै सरल तर गम्भीर छ। परमेश्वरका वफादार सेवक अय्यूबले आफ्नो आँखासित एउटा करार बाँधेका थिए। त्यो करार थियो—कुनै पनि स्त्रीलाई कुदृष्टिले नहेर्ने। (अय्यूब ३१:१) हाम्रो लागि कत्ति राम्रो उदाहरण, होइन र? भजनका लेखकमध्ये एक जनाको पनि यस्तै सोचाइ थियो। तिनले गरेको यस्तो प्रार्थनाबाट यो कुरा देखिन्छ: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्।”—भजन ११९:३७.
दीनाको मूर्खतापूर्ण छनौट
१३. दीना को थिइन्? साथीहरू छान्दा दीनाले मूर्ख निर्णय गरिन् भनेर हामी किन भन्न सक्छौं?
१३ हाम्रा साथीहरूले हामीमा एकदमै राम्रो या नराम्रो प्रभाव पार्न सक्छन् भनेर हामीले अध्याय ३ मा छलफल गरिसक्यौं। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) कुलपिता याकूबकी छोरी दीनाको उदाहरण सम्झनुहोस्। (उत्पत्ति ३४:१) हुन त दीनाका आमाबुबाले तिनलाई सानैदेखि राम्रा कुरा सिकाएका थिए तैपनि तिनले कनानका केटीहरूलाई साथी बनाएर मूर्ख निर्णय गरिन्। मोआबका मानिसहरूजस्तै कनानका मानिसहरू पनि अनैतिक काम गर्नेहरू भनेर चिनिन्थे। (लेवी १८:६-२५) कनानी पुरुषहरू जसमा “आफ्ना बाबुका घरानामा सबैभन्दा बढी आदरणीय” व्यक्ति शकेम पनि पर्छन्, तिनीहरू आफ्नो यौन इच्छा पूरा गर्न दीनालाई प्रयोग गर्ने हक आफूसित छ भन्ने सोच्थे।—उत्पत्ति ३४:१८, १९.
१४. दीनाले गलत साथी छानेको कारण कस्तो दुःख आइपऱ्यो?
१४ शकेमलाई देख्दा दीनाको मनमा तिनीसित यौनसम्बन्ध राख्ने सोचाइ पनि थिएन होला। तर शकेमले यौन चाहना पूरा गर्नको लागि त्यही गरे जुन धेरैजसो कनानीहरूको लागि एउटा साधारण कुरा थियो। यदि दीनाले अन्तिम घडीमा आएर तिनको विरोध नै गरेको भए तापनि त्यो बेकार थियो किनभने शकेमले तिनलाई “लगेर तिनीसित संभोग गरेर तिनको अपमान गरे।” पछि गएर सायद शकेमले दीनालाई ‘प्रेम गरे’ तर शकेमले दीनासित जे गरेका थिए त्यसलाई त्यो प्रेमले बदल्न सकेन। (उत्पत्ति ३४:१-४) दीनाको गल्तीले गर्दा तिनले मात्र दुःख भोग्नुपरेको होइन। गलत साथी छानेकोले एकपछि अर्को यस्ता घटना घटे जसले गर्दा दीनाले अनि तिनको पूरै परिवारले बेइज्जत र बदनामी भोग्नुपऱ्यो।—उत्पत्ति ३४:७, २५-३१; गलाती ६:७, ८.
१५, १६. हामी साँचो बुद्धि कसरी पाउन सक्छौं? (पृष्ठ १२४ मा भएको पेटी पनि हेर्नुहोस्।)
१५ यस घटनाबाट दीनाले ठूलो पाठ त सिकेकी होलिन् तर तीतो परिणाम भोगेपछि मात्र। जसले यहोवालाई प्रेम गर्छन् अनि उहाँका आज्ञा मान्छन् तिनीहरूले तीतो परिणाम भोगेर पाठ सिक्नु आवश्यक छैन। यस्ता मानिसहरू परमेश्वरको कुरा सुन्छन् र “बुद्धिमानीहरूको सङ्गत” गर्ने छनौट गर्छन्। (हितोपदेश १३:२०क) यसरी तिनीहरू “असल मानिसको बाटोमा मात्र” हिंड्नु भनेको के हो, त्यो बुझ्छन् र अनावश्यक समस्या अनि दुःख आफूमाथि आइपर्न दिंदैनन्।—हितोपदेश २:६-९; भजन १:१-३.
१६ परमेश्वरको बुद्धि प्राप्त गर्न मनदेखि नै चाहने, त्यसको लागि निरन्तर प्रार्थना गर्ने अनि सधैं परमेश्वरको वचन र विश्वासी दास वर्गले तयार पारेका प्रकाशनहरू अध्ययन गर्ने जो-कोहीले पनि परमेश्वरको बुद्धि प्राप्त गर्न सक्छन्। (मत्ती २४:४५; याकूब १:५) यसबाहेक उक्त व्यक्तिमा नम्रता हुनु पनि जरुरी छ। बाइबलको सल्लाह मान्नको लागि कुनै व्यक्ति कुन हदसम्म तयार छन् त्यसले नै तिनी कत्तिको नम्र छन् भन्ने कुरा देखाउँछ। (२ राजा २२:१८, १९) उदाहरणको लागि कुनै ख्रीष्टियनले आफ्नो हृदय छली अनि खतरनाक हुन सक्छ भन्ने कुरालाई मानिलिन्छन् होला। (यर्मिया १७:९) तर यदि तिनले कुनै मामिलामा बुद्धि नचलाई निर्णय गरेको थाह पाएर कसैले माया गरेर तिनलाई सीधै वा स्पष्ट शब्दमा सल्लाह दियो भने के यस्तो सल्लाह र मदत तिनी नम्रतासाथ स्वीकार्छन्?
१७. परिवारमा कस्तो अवस्था आइपर्न सक्छ? त्यस्तो अवस्थामा बुबाले आफ्नी छोरीलाई कसरी सम्झाउन सक्छन्? बताउनुहोस्।
१७ मानौं, यहोवाको सेवा गर्ने एउटा परिवार छ। त्यस परिवारकी जवान छोरी मण्डलीको कुनै जवान ख्रीष्टियन भाइसित घुम्न जान चाहन्छिन्। तर बुबाले अरू पनि सँगै जान्छन् भने मात्र जान दिन्छु भन्छन्। ती छोरी भन्छिन्: “बुबा, तपाईं मलाई विश्वास गर्नुहुन्न? म कुनै गलत काम गर्दिनँ क्या!” सायद तिनी यहोवालाई प्रेम गर्छिन् अनि तिनको कुनै गलत विचार पनि छैन होला। तर पनि के तिनी ‘परमेश्वरको बुद्धिअनुसार’ चलिरहेकी हुन्छिन् र? के तिनी ‘अवैध यौनसम्बन्धदेखि भागिरहेकी’ हुन्छिन् र? अथवा तिनले “आफ्नै बुद्धिमा मात्र भरोसा” गरेर मूर्खता देखाइरहेकी छिन् कि? (हितोपदेश २८:२६) यस्तो अवस्थामा छोरीले सही निर्णय गरोस् भनेर तिनका बुबाले बाइबलका थप कुन सिद्धान्तको आधारमा तिनलाई सम्झाउन सक्छन्, सोच्नुहोस्।—हितोपदेश २२:३; मत्ती ६:१३; २६:४१ हेर्नुहोस्।
अवैध यौनसम्बन्धदेखि यूसुफ भागे
१८, १९. यूसुफको जीवनमा कस्तो प्रलोभन आइपऱ्यो? तिनले त्यस प्रलोभनको सामना कसरी गरे?
१८ आउनुहोस्, अब हामी अर्को एक जना असल जवानको उदाहरण विचार गरौं। परमेश्वरलाई प्रेम गर्ने भएकोले तिनी अवैध यौनसम्बन्धदेखि भाग्न सफल भए। ती जवान, दीनाको सौतेनी भाइ यूसुफ थिए। (उत्पत्ति ३०:२०-२४) आफ्नी दिदीको मूर्खताले गर्दा कत्ति नमिठो परिणाम भोग्नुपरेको थियो भनेर यूसुफले सानैमा देखिसकेका थिए। यस घटनालाई सम्झेको हुनाले अनि परमेश्वरको प्रेम पाउन लायक भइरहने चाहनाले गर्दा मिश्रमा दास छँदा यूसुफ सुरक्षित रहे। त्यहाँ तिनका मालिककी पत्नीले तिनलाई आफ्नो मोहजालमा फसाउन “दिनदिनै” प्रयास गरेकी थिई। यूसुफलाई तिनका मालिकले किनेका थिए। पैसा तिरेर किनेको नोकरले जहिले मन लाग्यो तहिले काम छोड्न सक्दैन थियो। त्यसैले तिनले समझ चलाएर अनि हिम्मतका साथ परिस्थितिको सामना गर्नुपऱ्यो। पोतीफरकी पत्नी यूसुफलाई बारम्बार आफ्नो नजिक बोलाउँथी तर तिनले इन्कार गरिरहे। आखिरमा तिनी उनको पासोबाट भागे र बच्न सफल भए।—उत्पत्ति ३९:७-१२.
१९ एकछिन सोच्नुहोस् त, यदि यूसुफले मनमनै आफ्नो मालिककी पत्नीबारे सोचिरहेका भए अथवा यौनसम्बन्धबारे गलत विचारहरू खेलाइरहेका भए के तिनी परमेश्वरप्रति सत्यनिष्ठ भइरहन सक्थे र? अहँ, सक्दैन थिए। यूसुफले गलत विचारहरूलाई मनमा खेलाउनुको साटो यहोवासितको आफ्नो सम्बन्धलाई अनमोल सम्झे। पोतिफरकी पत्नीलाई तिनले जे भने त्यसबाट यो कुरा प्रस्ट हुन्छ। यूसुफले आफ्ना मालिकबारे उनलाई यसो भने: “उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:८, ९.
२०. यूसुफको सन्दर्भमा यहोवाले घटनालाई कसरी मोड्नुभयो?
२० जवान यूसुफ आफ्नो घर-परिवारबाट धेरै टाढा, हरेक दिन परीक्षाको सामना गर्दै खडा रहेको देखेर यहोवालाई कत्ति खुसी लाग्यो होला, सोच्नुहोस् त! (हितोपदेश २७:११) पछि यहोवाले घटनालाई यसरी मोड्नुभयो कि यूसुफ जेलबाट मुक्त मात्र भएनन् तर तिनी मिश्र देशकै प्रधानमन्त्री भए र अन्न भण्डारका अधिकारी बने। (उत्पत्ति ४१:३९-४९) भजन ९७:१० मा कोरिएका शब्दहरू कत्ति सत्य छन्: “हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर। उहाँले आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ।”
२१. अफ्रिकी देशका जवान भाइले गलत काम नगर्न कसरी हिम्मत देखाए?
२१ यूसुफले जस्तै आज पनि परमेश्वरका थुप्रै सेवकहरूले “बुराइलाई घृणा . . . भलाइ प्रेम” गरेको छु भनेर देखाउँछन्। (आमोस ५:१५) अफ्रिकी देशका जवान भाइ आफ्नो अनुभव सम्झन्छन्। ‘गणितको जाँचमा मदत गऱ्यौ भने मसित सुत्न दिन्छु’ भनेर तिनकै कक्षाकी एउटी केटीले खुल्लमखुल्ला भनी। ती भाइ यसो भन्छन्: “तिनको यस्तो प्रस्तावलाई मैले तुरुन्तै इन्कार गरें। परमेश्वरप्रतिको सत्यनिष्ठा कायम राखेर मैले आफ्नो मर्यादा र आत्म-सम्मानलाई जोगाउन सकें जुन मेरो लागि सुन-चाँदीभन्दा पनि अनमोल छ।” यो कुरा साँचो हो, पापबाट “क्षणिक सुखभोग” त पाउन सकिन्छ तर यस्तो घटिया किसिमको मोजमस्तीले प्रायः दुःखको ओइरो नै ल्याइदिन्छ। (हिब्रू ११:२५) यहोवाको आज्ञा मान्दा जुन स्थायी खुसी पाउन सकिन्छ त्यसको तुलनामा यस्तो मोजमस्तीबाट पाइने खुसी त के हो र!—हितोपदेश १०:२२.
कृपालु परमेश्वरको मदत लिनुहोस्
२२, २३. (क) यदि कुनै ख्रीष्टियनले गम्भीर पाप गर्छ भने तिनको लागि के आशा छ? (ख) गल्ती गर्नेहरूको लागि कस्तो मदत उपलब्ध छ?
२२ हामी त्रुटिपूर्ण छौं। त्यसैले हामी सबैले नै शरीरको अभिलाषालाई अधीनमा राख्न अनि परमेश्वरको नजरमा जे सही छ त्यही गर्न सङ्घर्ष गर्नुपर्ने हुन्छ। (रोमी ७:२१-२५) यो कुरा यहोवालाई थाह छ किनभने “मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:१४) कुनै ख्रीष्टियनले कहिलेकाहीं कुनै गम्भीर पाप गर्लान्। के तिनको लागि कुनै आशा छैन त? किन नहुनु! हुन त हो, तिनले राजा दाऊदले जस्तै आफ्नो कामको नतिजा भोग्नुपर्ने हुन सक्छ। तैपनि जसले आफ्नो गल्तीको लागि पछुतो गर्छ अनि “आफ्ना पापहरू खुलमखुला” स्वीकार्छ उसलाई ‘क्षमा गर्न’ परमेश्वर सधैं तयार हुनुहुन्छ।—भजन ८६:५; याकूब ५:१६; हितोपदेश २८:१३.
२३ यसका साथै परमेश्वरले हामीलाई मदत गर्नको लागि ख्रीष्टियन मण्डलीमा हामीलाई माया गरेर “वरदानको रूपमा पुरुषहरू” दिनुभएको छ। यी पुरुषहरू हामीलाई मदत गर्न योग्य अनि इच्छुक आध्यात्मिक रूपमा परिपक्व गोठालाहरू हुन्। (एफिसी ४:८, १२; याकूब ५:१४, १५) तिनीहरूको उद्देश्य पाप गर्नेहरूलाई परमेश्वरसित फेरि सम्बन्ध गाँस्नको लागि र फेरि पाप नगर्न “बुद्धि” प्राप्त गर्नको लागि मदत गर्नु हो।—हितोपदेश १५:३२.
“बुद्धि” प्राप्त गर्नुहोस्
२४, २५. (क) हितोपदेश ७:६-२३ मा बताइएको जवानले आफू “मूर्ख” छु भनेर कसरी देखाए? (ख) हामी कसरी “बुद्धि” प्राप्त गर्न सक्छौं?
२४ बाइबलले “मूर्ख” मानिसहरू अनि “बुद्धि” प्राप्त गर्ने मानिसहरूबारे बताएको छ। (हितोपदेश ७:७) जो व्यक्ति आध्यात्मिक रूपमा अपरिपक्व र परमेश्वरको सेवामा अनुभवहीन हुन्छ, ऊ “मूर्ख” हुन्छ र सायद उसले सही निर्णय गर्न सक्दैन। यस्तो व्यक्ति हितोपदेश ७:६-२३ मा बताइएको जवानजस्तै गम्भीर पापको पासोमा सजिलै फस्न सक्छ। तर जसले “बुद्धि” प्राप्त गर्छ, उसले प्रार्थनाद्वारा परमेश्वरसित मदत मागेर सधैं उहाँको वचन अध्ययन गर्छ अनि आफू वास्तवमा कस्तो छु भनेर आत्म-परीक्षण गर्छ। त्रुटिपूर्ण भए तापनि ऊ आफ्नो सोचाइ, इच्छा र भावना परमेश्वरको सोचाइ अनुरूप होस् भनेर सक्दो कोसिस गर्छ र परमेश्वरलाई खुसी तुल्याउने लक्ष्य राख्छ। यसरी उसले “आफैलाई साँचो प्रेम” गर्छ अर्थात् आफूलाई आशिष् दिलाउँछ अनि “सफलता” पाउँछ।—हितोपदेश १९:८.
२५ आफैलाई सोध्नुहोस्, ‘परमेश्वरको स्तर सही छ भनेर के मलाई पूरा भरोसा छ? यो स्तरअनुसार चल्दा सबैभन्दा धेरै खुसी पाउन सकिन्छ भनेर के मलाई दृढ विश्वास छ?’ (भजन १९:७-१०; यशैया ४८:१७, १८) यदि तपाईंको मनमा अलिकता पनि शङ्का छ भने त्यसलाई हटाउने प्रयास गर्नुहोस्। परमेश्वरको नियमलाई बेवास्ता गर्दा आइपर्ने खराब नतिजाहरूबारे गहिरिएर सोच्नुहोस्। यसका साथै, “परमप्रभु कस्तो भलो हुनुहुन्छ” भनेर जाँचेर हेर्नुहोस्। त्यसको लागि सच्चाइअनुसार जीवन बिताउनुहोस् अनि आफ्नो मनमा स्वस्थकर कुराहरू भर्नुहोस् जुन सत्य, परमेश्वरको स्तरबमोजिम असल, चोखा, प्रेम गर्न योग्य अनि पवित्र र सफा, सद्गुणी छन्। (भजन ३४:८; फिलिप्पी ४:८, ९) तपाईं जत्ति धेरै यसो गर्ने प्रयास गर्नुहुन्छ त्यत्ति नै धेरै परमेश्वरप्रतिको तपाईंको प्रेम बढ्नेछ भनेर तपाईं पक्का हुन सक्नुहुन्छ। साथै परमेश्वरले प्रेम गर्ने कुरालाई अझ प्रेम गर्नुहुनेछ र उहाँले घृणा गर्ने कुरालाई अझ घृणा गर्नुहुनेछ भनेर पनि पक्का हुन सक्नुहुन्छ। यूसुफलाई सम्झनुहोस्। तिनी त्रुटिपूर्ण थिए। तैपनि “अवैध यौनसम्बन्धदेखि” भाग्न तिनी सफल भए। किनभने परमेश्वरलाई खुसी तुल्याउन तिनले आफूलाई वर्षौसम्म उहाँको हातमा छोडिदिएर उहाँले चाहेकै आकारमा आफूलाई ढालिन दिए। तपाईंबारे पनि यस्तै भन्न सकियोस् भन्ने हाम्रो चाहना छ।—यशैया ६४:८.
२६. अर्को अध्यायमा हामी कुन महत्त्वपूर्ण विषय छलफल गर्नेछौं?
२६ सृष्टिकर्ताले हामीमा प्रजनन् अङ्गहरू केवल मजा उठाउनको लागि खेलौनासरि प्रयोग गरोस् भनेर राखिदिनुभएको होइन तर सन्तान जन्माउन सकोस् अनि वैवाहिक सम्बन्धमा आत्मियता बढाओस् भनेर हो। (हितोपदेश ५:१८) विवाहबारे परमेश्वरको दृष्टिकोण कस्तो छ, त्यसबारे हामी अर्को अध्यायमा छलफल गर्नेछौं।
a यी तेइस हजार मानिसहरूलाई यहोवा स्वयम्ले मृत्युदण्ड दिनुभएको थियो। गन्तीको किताबमा मर्नेहरूको संख्या २४,००० भनेर उल्लेख गरिएको छ। त्यो तथ्याङ्कमा ‘मानिसहरूका नायकेहरू’ पनि समावेश भएको हुन सक्छ जसको सङ्ख्या १,००० थियो। ती नायकेहरूलाई न्यायकर्ताहरूले मृत्युदण्ड दिएका थिए।—गन्ती २५:४, ५.
b अशुद्धपन अनि छाडापनबारे बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा, अगस्त १, २००९ को “पाठकहरूको प्रश्न” हेर्नुहोस्।
c हस्तमैथुनबारे पृष्ठ २४९-२५१ मा भएको अतिरिक्त लेखमा छलफल गरिएको छ।