अध्याय २
तपाईं सफा अन्तस्करण कसरी कायम राख्न सक्नुहुन्छ?
“आफ्नो अन्तस्करण सफा राख।”—१ पत्रुस ३:१६.
१, २. अँध्यारोमा हिंड्दा किन टर्चलाइट बोक्नुपर्छ? यसलाई अन्तस्करणसित कसरी तुलना गर्न सकिन्छ?
कुनै मानिस कतै गइरहेको कल्पना गर्नुहोस्। हिंड्दा हिंड्दै झमक्कै हुन्छ। अँध्यारोमा नलडियोस् अनि खतराबाट जोगिन मदत पुगोस् भनेर तिनले के बोकेको हुनुपर्छ? हो, टर्चलाइट बोकेको हुनुपर्छ।
२ राती हिंडिरहेको बेला टर्चलाइट बोकेको छैन भने तपाईं बाटो ठम्याउन सक्नुहुन्न, लड्ने सम्भावना उत्तिकै हुन्छ अनि कुनै खतरा आइपर्न पनि सक्छ। तर तपाईंसित टर्चलाइट छ भने त्यसले बाटो उज्यालो बनाइदिन्छ अनि तपाईंको जीवन पनि जोगिन सक्छ। एक हिसाबले यो टर्चलाइटलाई यहोवाले हामीलाई दिएको अमूल्य वरदान अन्तस्करणसित तुलना गर्न सकिन्छ। (याकूब १:१७) अन्तस्करण नभएको भए हामी जीवनको गोरेटोमा हराउने थियौं। तर अन्तस्करणलाई ठीकसँग चलायौं भने त्यसले हामीलाई सही बाटो भेट्टाउन र त्यसैमा हिंड्न मदत गर्न सक्छ। त्यसो भए आउनुहोस्, अन्तस्करण भनेको के हो र यसले कसरी काम गर्छ, त्यो विचार गरौं। त्यसपछि हामी यी बुँदाहरू छलफल गर्नेछौं: (१) अन्तस्करणलाई कसरी तालिम दिन सकिन्छ? (२) अरूको अन्तस्करणलाई हामीले किन ध्यान दिनुपर्छ? (३) अन्तस्करण सफा राख्दा के-कस्तो आशिष् पाउँछौं?
अन्तस्करण भनेको के हो र यसले कसरी काम गर्छ?
३. “अन्तस्करण” भनी अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ के हो? यसले मानिसमा मात्रै कस्तो क्षमता छ भनेर बुझाउँछ?
३ बाइबलमा “अन्तस्करण” भनी अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ “स्वविवेक अर्थात् आफूमा भएको ज्ञान” हो। परमेश्वरले मानिसलाई मात्र अन्तस्करण दिनुभएको छ। पृथ्वीमा भएका अरू कुनै प्राणीमा यस्तो क्षमता छैन। एक अर्थमा आफूलाई अगाडि राखेर हामी आफैलाई नियाल्न सक्छौं र ‘नैतिक तवरमा म ठीक छु कि छैनँ’ भनेर जाँच्न सक्छौं। अन्तस्करण हाम्रो मनभित्रको साक्षी वा न्यायाधीश हो। यसले हाम्रो काम, मनोवृत्ति अनि रोजाइ जाँच्न सक्छ। यसले हामीलाई सही निर्णय गर्न मदत दिन सक्छ र गलत निर्णय विरुद्ध चेतावनी पनि दिन सक्छ। त्यति मात्र होइन, राम्रो छनौट गरेका छौं भने यसले हामीलाई ढाडस दिन सक्छ नत्र भने काँडाले जस्तै घोच्न सक्छ।
४, ५. (क) आदम र हव्वासित अन्तस्करण थियो भनेर हामी कसरी भन्न सक्छौं? (ख) तिनीहरूले परमेश्वरको नियम बेवास्ता गर्दा परिणाम कस्तो भयो? (ग) प्रथम शताब्दीअघिका विश्वासी पुरुषहरूले अन्तस्करण चलाएका थिए भनेर कुन उदाहरणले देखाउँछ?
४ सुरुका पुरुष र स्त्री सृष्टि गरिंदादेखि नै तिनीहरूमा अन्तस्करण राखिएको थियो। आदम र हव्वा दुवैले आफूसित अन्तस्करण थियो भनी देखाए। पाप गरिसकेपछि तिनीहरू दुवै जना लजाउनु यसको प्रमाण हो। (उत्पत्ति ३:७, ८) दुःखको कुरा तिनीहरूको दोषी अन्तस्करणले तिनीहरूलाई कुनै लाभ पुऱ्याउन सकेन। तिनीहरूले जानीबुझीकन परमेश्वरको नियम बेवास्ता गरेका थिए। यसरी जानाजानी तिनीहरूले आफूलाई विद्रोही र परमेश्वरको विरोधी बनाए। त्रुटिरहित भएकोले ‘आफूले के गर्दै छु’ सो तिनीहरूले बुझेका थिए। तिनीहरूले गलत कदम चालिसकेपछि परमेश्वरतर्फ फर्कने कुनै बाटो रहेन।
५ हो, आदम र हव्वाले आफ्नो अन्तस्करणको आवाज सुनेनन्। तर अरू थुप्रै त्रुटिपूर्ण मानिसले चाहिं आफ्नो अन्तस्करणको आवाज सुनेका छन्। उदाहरणको लागि विश्वासी पुरुष अय्यूबले यसो भन्न सके: “म ठीकै छु भन्ने मेरो दाबीलाई म कायम राख्नेछु, म बाँचुञ्जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन।” (अय्यूब २७:६, NRV) आफ्नो अन्तस्करणको आवाजलाई तिनी ध्यान दिएर सुन्थे। अनि आफ्नो अन्तस्करणले भनेअनुसार नै तिनी कदम चाल्थे र निर्णय गर्थे। त्यसैले त लाज अनि दोषी भावनाले गर्दा तिनको अन्तस्करणले तिनलाई दोष लगाएको छैन वा घोचेको छैन भनी तिनले निर्धक्क भई भन्न सके। अय्यूब र दाऊदको प्रतिक्रिया एउटै थिएन भन्ने कुरा ध्यान दिनुहोस्। दाऊदले यहोवाले अभिषेक गरेको राजा शाऊललाई अनादर गर्दा “तिनको विवेकले तिनलाई सतायो।” (१ शमूएल २४:५) अन्तस्करणले त्यसरी घोच्दा दाऊदलाई फाइदै भयो। किनभने त्यसबाट तिनले अब कहिल्यै त्यसरी अनादर गर्नुहुँदैन भन्ने पाठ सिके।
६. अन्तस्करण सबै मानिसको लागि एउटा वरदान हो भनेर केले देखाउँछ?
६ यहोवाले वरदानको रूपमा दिएको अन्तस्करण के उहाँका सेवकहरूसित मात्र छ? परमेश्वरको प्रेरणा पाएर प्रेषित पावलले लेखेको कुरा ध्यान दिनुहोस्: “व्यवस्था नहुने गैर-यहूदीहरू स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्छन् भने व्यवस्था नभए तापनि तिनीहरू आफै आफ्नो निम्ति व्यवस्था हुन्। तिनीहरूको मनमा व्यवस्थाका कुरा लेखिएका छन् भनेर तिनीहरू आफैले प्रदर्शन गर्छन् र तिनीहरूको अन्तस्करणले पनि त्यसको साक्षी दिन्छ। अनि तिनीहरूको सोचविचारले नै तिनीहरूलाई दोषी वा निर्दोष ठहराउँछ।” (रोमी २:१४, १५) यहोवाका नियमहरू थाहै नहुनेहरू पनि अन्तस्करणले गर्दा परमेश्वरको सिद्धान्तसित मेल खाने काम गर्न कहिलेकाहीं उत्प्रेरित हुन सक्छन्।
७. कहिलेकाहीं अन्तस्करणले किन गलत बाटो देखाउन सक्छ?
७ तर कहिलेकाहीं अन्तस्करणले गलत बाटो देखाउन पनि सक्छ। किन? टर्चलाइटको उदाहरण फेरि विचार गर्नुहोस्। टर्चलाइटमा राखिएको ब्याट्री सकिंदै गयो भने त्यसले बाटोलाई उज्यालो पार्न सक्दैन। हाम्रो अन्तस्करण पनि यस्तै हो। परमेश्वरको वचन अध्ययन गर्दैनौं भने हामी सही र गलत छुट्ट्याउन सक्दैनौं। त्यसैगरि मनको स्वार्थी चाहनामा लिप्त भयौं भने पनि हाम्रो अन्तस्करणले गलत बाटो देखाउन सक्छ। हाम्रो अन्तस्करणले ठीक तरिकामा काम गर्न यहोवाको पवित्र शक्तिको डोऱ्याइ चाहिन्छ। पावलले लेखे: “पवित्र शक्तिसित मिलेर मेरो अन्तस्करणले साक्षी दिन्छ।” (रोमी ९:१) तर हाम्रो अन्तस्करण यहोवाको पवित्र शक्तिसित मेल खाएको छ कि छैन, कसरी पक्का गर्ने? अन्तस्करणलाई तालिम दिएर।
अन्तस्करणलाई कसरी तालिम दिन सकिन्छ?
८. (क) हाम्रो मनले अन्तस्करणलाई कसरी असर गर्न सक्छ? निर्णय गर्दा हामीले कुन कुरालाई बढी महत्त्व दिनुपर्छ? (ख) ख्रीष्टियनहरूमा सफा अन्तस्करण भएर मात्र पुग्दैन, किन? (पादटिप्पणी हेर्नुहोस्।)
८ अन्तस्करणको आवाज सुनेर तपाईं कसरी निर्णय गर्न सक्नुहुन्छ? प्रायजसोले आफ्नो मनले जे भन्छ त्यसैअनुसार निर्णय गरेको देखिन्छ। तिनीहरू यसो भन्ने गर्छन्, “अन्तस्करणले जे भन्यो मैले त्यही गरें, यसले मलाई केही फरक पार्दैन।” मनको चाहना एकदमै प्रबल हुन सक्छ, यतिसम्म कि त्यसले हाम्रो अन्तस्करणलाई समेत असर गर्न सक्छ। बाइबल भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्न सक्छ र?” (यर्मिया १७:९) त्यसकारण आफ्नो मनको चाहना नै सब थोक हो भनेर हामीले सोच्नुहुँदैन। बरु के गर्दा यहोवा परमेश्वर खुसी हुनुहुन्छ, पहिला त्यो विचार गर्नुपर्छ। a
९. परमेश्वरको भय के हो? यसले हाम्रो अन्तस्करणलाई कसरी असर गर्न सक्छ?
९ तालिम पाएको अन्तस्करणको आवाज सुनेर निर्णय गर्दा हामीले आफ्नै चाहना पूरा गरेको देखाइरहेका हुँदैनौं, बरु परमेश्वरको भय मानेको देखाइरहेका हुन्छौं। यसको लागि एउटा सुहाउँदो उदाहरण विचार गर्नुहोस्। विश्वासी राज्यपाल नहेम्याहसित यरूशलेमका मानिसहरूबाट कर उठाउने हक थियो। तर तिनले त्यसो गरेनन्। किन? यहोवाका मानिसहरूलाई दबाएर उहाँलाई दुःखी तुल्याउने कुरा तिनले सोच्नसम्म पनि सकेनन्। तिनले भने: “परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ।” (नहेम्याह ५:१५) परमेश्वरप्रतिको साँचो भय अर्थात् स्वर्गका पितालाई दुःखी नतुल्याउने स्वस्थकर भय एकदमै महत्त्वपूर्ण छ। यस्तो श्रद्धेय भय छ भने निर्णयहरू गर्नुपर्दा परमेश्वरको वचनबाट निर्देशन खोज्न हामी उत्प्रेरित हुनेछौं।
१०, ११. रक्सी पिउने सम्बन्धमा बाइबलका कस्ता सिद्धान्त लागू हुन्छ? ती सिद्धान्त लागू गर्न हामी परमेश्वरको डोऱ्याइ कसरी पाउन सक्छौं?
१० रक्सी पिउने सन्दर्भमा एउटा उदाहरण विचार गर्नुहोस्। हामीमध्ये कसै-कसैले रक्सी पिउने कि नपिउने भनेर कहिलेकाहीं निर्णय गर्नुपर्ने हुन्छ। यसको लागि सुरुमा त हामीले आफैलाई तालिम दिनुपर्छ। यस सम्बन्धमा बाइबलका कस्ता सिद्धान्तहरू लागू हुन्छ? सीमाभित्र रहेर रक्सी पिउनुलाई बाइबलले नराम्रो मान्दैन। यहोवाले वरदानस्वरूप दाखमद्य दिनुभएकोले बाइबलमा उहाँको प्रशंसा गरिएको छ। (भजन १०४:१४, १५) तर धेरै पिउने अनि रक्सी पिएर होहल्ला गर्दै मोजमस्ती गर्ने कुरालाई चाहिं बाइबलले निन्दा गरेको छ। (लूका २१:३४; रोमी १३:१३) साथै पियक्कड हुनुलाई बाइबलले अरू गम्भीर पापहरूकै सूचीमा राखेको छ। जस्तै: अवैध यौनसम्बन्ध राख्ने, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने इत्यादि।b—१ कोरिन्थी ६:९, १०.
११ यस्ता सिद्धान्तहरू लागू गरेर ख्रीष्टियनहरूले आफ्नो अन्तस्करणलाई तालिम दिन्छन्। यसो गर्दा तिनीहरूको अन्तस्करणले सही काम गर्दा ठीक हो भन्छ भने गलत काम गर्दा झकझक्याउँछ। त्यसैले कुनै जमघटमा रक्सी पिउने कि नपिउने भन्ने निर्णय गर्नुपऱ्यो भने हामी आफैलाई यस्ता प्रश्न सोध्न सक्छौं: ‘यो कस्तो खालको जमघट हो? मानिसहरूले मात्तिएर होहल्ला पो गर्ने हुन् कि? मेरो झुकाव कस्तो छ? रक्सी भनेपछि हुरुक्कै हुन्छु कि? यसमै भर पर्छु कि? आफ्नो समस्या भुल्न वा त्यसदेखि भाग्न पो रक्सी पिउने गर्छु कि? ज्यादै रक्सी नपिउन के आफूलाई रोक्न सकूँला?’ बाइबल सिद्धान्तहरू मनन गर्दा अनि त्यसले उब्जाउने प्रश्नहरूबारे विचार गर्दा प्रार्थना गरेर यहोवाको डोऱ्याइ खोज्नुपर्छ। (भजन १३९:२३, २४) यसो गरेर हामी यहोवालाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहोस् भन्ने निम्तो दिइरहेका हुन्छौं। साथै हामीले आफ्नो अन्तस्करणलाई परमेश्वरको सिद्धान्तअनुसार तालिम पनि दिइरहेका हुन्छौं। तर निर्णय गर्दा विचार पुऱ्याउनुपर्ने अर्को पक्ष पनि छ।
अरूको अन्तस्करणलाई किन ध्यान दिनुपर्छ?
१२, १३. ख्रीष्टियनहरूको अन्तस्करण फरक-फरक हुनुका केही कारण के-के हुन्? यस्तो अवस्थामा हामीले कस्तो व्यवहार गर्नुपर्छ?
१२ ख्रीष्टियनहरूको अन्तस्करण कतिसम्म फरक हुन सक्छ भन्ने कुरा बुझ्दा तपाईं कहिलेकाहीं तीनछक पर्नुहोला। कसैलाई कुनै प्रचलन वा आचरण नराम्रो लाग्ला भने कसैलाई त्यही प्रचलन वा आचरण राम्रो लाग्ला अनि आलोचना गर्नुपर्ने कुनै आधार तिनले नदेखेका हुन सक्छन्। जमघटको बेला रक्सी पिउने कुरालाई नै लिनुहोस्। कुनै ख्रीष्टियनलाई साथीभाइसँगै बसेर साँझको रिमरिममा रमाइलो गर्दा रक्सी पिउनु कुनै नराम्रो होइन भन्ने लाग्ला। तर अर्को ख्रीष्टियनलाई भने त्यसो गरेको फुटेको आँखाले पनि हेर्न मन नलाग्ने हुन सक्छ। किन यस्तो भिन्नता? अनि यसले हाम्रो निर्णयलाई कस्तो असर पार्नुपर्छ?
१३ मानिसहरू भिन्न हुनुका थुप्रै कारण छन्। पृष्ठभूमि एकदमै फरक-फरक हुन्छ। जस्तै: कुनै मानिसलाई पहिला आफूमा कस्तो कमजोरी थियो अनि त्यो कमजोरी हटाउन कस्तो सङ्घर्ष गर्नुपऱ्यो, त्यो राम्ररी थाह होला। अनि कयौं पटक असफल हुनुपरेको थियो होला। (१ राजा ८:३८, ३९) त्यसैले अहिले रक्सीको नाउँ सुन्ने बित्तिकै तिनको अन्तस्करणले तिनलाई ‘एकदमै होस पुऱ्याएर सोचविचार गर’ भन्छ होला। यस्तो व्यक्ति तपाईंको घरमा आएको बेला तपाईंले तिनलाई रक्सी पिउन आग्रह गर्दा तिनले आफ्नो अन्तस्करणको कारण “नाइँ” भन्नु स्वाभाविकै होला। “नाइँ” शब्द सुनेर के तपाईं रिसले मुरमुरिनुहुन्छ? के तिनलाई रक्सी खान कर गर्नुहुन्छ? कर गर्ने कुरै आउँदैन। तिनले रक्सी नखानुको कारण तपाईंलाई थाह होस् या नहोस्—सायद तिनले यस सन्दर्भमा अरूलाई बताउन नचाहेका पनि हुन सक्छन्—त्यतिबेला तिनलाई कर नगर्न भ्रातृप्रेमले तपाईंलाई उत्प्रेरित गर्नेछ।
१४, १५. प्रथम शताब्दीको मण्डलीका भाइबहिनीको अन्तस्करण कुन कुरामा फरक थियो? पावलले कस्तो सुझाव दिए?
१४ प्रथम शताब्दीमा पनि ख्रीष्टियनहरूको अन्तस्करण एकदमै फरक-फरक थियो भन्ने कुरा प्रेषित पावलले याद गरे। त्यतिबेला मूर्तिलाई बलि चढाएको खानेकुराले गर्दा कुनै-कुनै ख्रीष्टियनलाई समस्या परेको थियो। (१ कोरिन्थी १०:२५) बलि चढाइसकेपछि बजारमा बेचेको त्यस्तो खानेकुरा खान पावलको अन्तस्करणलाई कुनै आपत्ति थिएन। तिनको लागि मूर्ति भनेको केही पनि थिएन; ‘खानेकुरा दिने यहोवा हुनुहुन्छ त्यसैले मूर्तिलाई चढाउँदैमा त्यो खानेकुरा मूर्तिको कसरी हुन्छ र? त्यो त सधैं यहोवाकै हुन्छ’ भन्ने धारणा पावलको थियो। तर अरूले पनि यस्तै धारणा राख्छन् भन्ने छैन भनेर पावलले बुझेका थिए। ख्रीष्टियन बन्नुअघि कोही-कोही मूर्तिपूजामा चुर्लुम्मै डुबेका थिए होलान्। तिनीहरूलाई पहिला-पहिला मूर्तिपूजासित सम्बन्धित भएको कुनै पनि कुरा अहिले पनि आपत्तिजनक लाग्थ्यो। पावलले यसको समाधान कसरी गरे?
१५ पावलले भने: “तर हामी बलियाहरूले तिनीहरूका कमजोरीहरू सहनुपर्छ, जो बलिया छैनन् अनि हामीले आफूलाई मात्र खुसी पार्न खोज्नुहुँदैन। किनकि ख्रीष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन।” (रोमी १५:१, ३) ख्रीष्टले जस्तै हामीले पनि आफ्ना भाइहरूको आवश्यकतालाई प्राथमिकता दिनुपर्छ भनी पावलले तर्क गरे। यसैसित सम्बन्धित अर्को कुरा पावलले भने। त्यो हो—जुन व्यक्तिको लागि ख्रीष्टले आफ्नो जीवनसमेत दिनुभयो उसलाई ठक्कर पुग्छ भने म पनि मासु खान्नँ।—१ कोरिन्थी ८:१३; १०:२३, २४, ३१-३३.
१६. कसैको अन्तस्करणले कुनै कुरा गर्न रोक्छ भने त्यस्तो व्यक्तिले आफ्नोभन्दा फरक अन्तस्करण भएको व्यक्तिको न्याय गर्नुहुँदैन, किन?
१६ अर्कोतर्फ यदि कसैको अन्तस्करणले कुनै कुरा गर्न रोक्छ भने अरूले पनि आफूले जस्तै सोच्नुपर्छ भनेर उनीहरूको आलोचना गर्नुहुँदैन। (रोमी १४:१०) वास्तवमा अन्तस्करणले आफूलाई जाँच्नुपर्छ, यो अरूको न्याय गर्ने लाइसेन्स होइन। येशूको यो भनाइ सम्झनुहोस्: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्।” (मत्ती ७:१) कुनै व्यक्तिगत मामिलामा अन्तस्करणले के भन्छ त्यसबारे विवाद गर्नदेखि मण्डलीका सबै जना टाढा बस्नुपर्छ। बरु हामी प्रेम र एकता बढाउने तरिकाहरू खोज्छौं—एकअर्कालाई घोचपेच गरेर होइन तर उत्थान गरेर।—रोमी १४:१९.
अन्तस्करण सफा राख्दा हामीलाई कसरी लाभ पुग्छ?
१७. आज थुप्रैको अन्तस्करण कस्तो भएको छ?
१७ प्रेषित पत्रुसले यस्तो लेखे: “आफ्नो अन्तस्करण सफा राख।” (१ पत्रुस ३:१६) यहोवा परमेश्वरको नजरमा सफा अन्तस्करण हुनु हाम्रो लागि साँच्चै नै अपार आशिष् हो। यस्तो अन्तस्करण आजको संसारका मानिसहरूको अन्तस्करणजस्तो होइन। पावलले त्यस्ता मानिसहरूबारे बताए जसको “अन्तस्करण तातो फलामले डामेझैं डामिएको हुन्छ।” (१ तिमोथी ४:२) तातो फलामले डाम्दा मासु मर्छ र खत बस्छ। वास्तवमा आज थुप्रैको अन्तस्करण मरेतुल्य भएको छ। यतिसम्म कि कुनै गलत काम गर्दा समेत अन्तस्करणले तिनीहरूलाई केही पनि भन्दैन, कुनै रोकटोक गर्दैन अनि लाज वा दोषी भावनाले सताउँदैन। आजकाल थुप्रै मानिसहरू आफ्नो दोषी भावनालाई बेवास्ता गर्दा खुसी हुन्छन्।
१८, १९. (क) दोषी वा लाजको भावनाले कस्तो लाभ पुऱ्याउन सक्छ? (ख) पहिल्यै पश्चात्ताप गरिसकेको भए तापनि आफ्नो अन्तस्करणले सजाय दिइरहन्छ भने हामी के गर्न सक्छौं?
१८ वास्तवमा दोषी भावना आफूले आफैलाई ‘गलत काम गऱ्यौ है’ भनेर अन्तस्करणले दिएको आवाज हुन सक्छ। यस्तो भावनाले गलत काम गरेको मानिसलाई पश्चात्ताप गर्न उत्प्रेरित गऱ्यो भने उसको गम्भीर पाप पनि क्षमा हुन सक्छ। उदाहरणको लागि राजा दाऊदलाई लिनुहोस्। तिनले गम्भीर गलत काम गरेका थिए तर साँचो पश्चात्ताप गरेको कारणले नै तिनले क्षमा पाए। आफूले गरेको गलत कामलाई घृणा गरेकोले अनि यहोवाको नियम पालन गर्न कटिबद्ध भएकोले तिनी आफैले यहोवा “भलो र क्षमा गर्ने हुनुहुन्छ” भनेर अनुभव गरे। (भजन ५१:१-१९; ८६:५) तर पश्चात्ताप गरेपछि अनि क्षमा पाइसकेपछि पनि दोषी वा लाजको भावनाले एकदमै सताइरहन्छ भने के गर्ने?
१९ कहिलेकाहीं अन्तस्करणले अचाक्ली तड्पाउन सक्छ। गल्ती गरेपछि महसुस भएको दोषी भावनाबाट लाभ पुगेको लामो समय भइसकेपछि पनि गल्ती गर्ने मान्छेलाई अन्तस्करणले दोष लगाइरहन सक्छ। यस्तो अवस्थामा आफैलाई दोष लगाउने हाम्रो हृदयलाई हामीले ढुक्क पार्नुपर्छ। कसरी? सबै मानिसको भावनाभन्दा यहोवा महान् हुनुहुन्छ भनेर। परमेश्वरले प्रेम गर्नुहुन्छ अनि क्षमा गर्नुहुन्छ भन्ने कुरा विश्वास गर्नै पर्छ र त्यसलाई स्वीकार्नै पर्छ भनेर हामी अरूलाई प्रोत्साहन त दिने गर्छौं तर हामी आफैले पनि परमेश्वरले प्रेम गर्नुहुन्छ अनि क्षमा गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नै पर्छ। (१ यूहन्ना ३:१९, २०) सफा अन्तस्करणले मन शान्त बनाउँछ, अमनचैन र अपार आनन्द दिन्छ जुन यो संसारमा कमै पाइन्छ। पहिला गम्भीर गलत काम गरिसकेका कैयौंले यस्तै अपार राहत महसुस गरेका छन् र अहिले यहोवा परमेश्वरको सेवा गर्दा अन्तस्करण सफा राखिरहन सकेका छन्।—१ कोरिन्थी ६:११.
२०, २१. (क) यो किताब तपाईंलाई के गर्न मदत दिनको लागि तयार पारिएको हो? (ख) ख्रीष्टियनको रूपमा हामीले कस्तो स्वतन्त्रता पाएका छौं? त्यस्तो स्वतन्त्रतालाई हामीले कसरी चलाउनुपर्छ?
२० यस्तै आनन्द तपाईंले पनि पाउन सकोस् अनि सैतानको युगको बाँकी रहेको सङ्कटमय आखिरी दिनमा अन्तस्करण सफा राखिरहन सकियोस् भनेर यो किताब तयार पारिएको हो। तपाईंले दैनिक जीवनमा थुप्रै कुरा सोच्नुपर्ने वा थुप्रै परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। यसको लागि बाइबलको एक-एक नियम वा सिद्धान्तहरू यस किताबमा दिइएको छैन। अन्तस्करण चलाउने मामिलामा सजिलो अनि स्पष्ट नियम दिएको पनि आशा नगर्नुहोस्। यस किताबको उद्देश्य परमेश्वरको वचन अध्ययन गर्न र त्यसअनुसार जीवन बिताउन तपाईंलाई मदत गर्नु हो। यसो गर्दा तपाईंको अन्तस्करण प्रशिक्षित र तयार हुन्छ। फलस्वरूप तपाईंको अन्तस्करणले तपाईंलाई सही काम गर्दा ठीक हो भन्छ अनि गलत काम गर्दा झकझक्याउँछ। “ख्रीष्टको व्यवस्था” मोशाको व्यवस्था जस्तो छैन। किनभने यसले आफ्ना अनुयायीहरूलाई लिखित नियमको आधारमा होइन, अन्तस्करण अनि सिद्धान्तको आधारमा जीवन बिताउन आमन्त्रित गर्छ। (गलाती ६:२) यसरी यहोवाले ख्रीष्टियनहरूलाई असाधारण स्वतन्त्रता दिनुभएको छ। तर त्यस्तो स्वतन्त्रता पाएका छौं भन्दैमा त्यसलाई कहिले पनि “खराब काम गर्न आड नबनाओ” भनेर उहाँको वचनले याद दिलाएको छ। (१ पत्रुस २:१६) बरु यस्तो स्वतन्त्रताले हामीलाई यहोवाप्रति आफ्नो प्रेम व्यक्त गर्ने ठूलो मौका दिन्छ।
२१ बाइबलको सिद्धान्तअनुसार जीवन बिताउनु अनि आफूले गरेको निर्णयअनुसारै काम गर्नु कत्ति उत्तम हो भनेर प्रार्थनापूर्वक विचार गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले एउटा महत्त्वपूर्ण कामलाई निरन्तरता दिनुहुनेछ। जुन काम तपाईंले यहोवालाई पहिलो पटक चिन्दा सुरु गर्नुभएको थियो। त्यो हो: “सोच्ने-बुझ्ने क्षमता”-लाई प्रयोगद्वारा तालिम दिने काम। (हिब्रू ५:१४) बाइबल प्रशिक्षित अन्तस्करण तपाईंको लागि दिनदिनै आशिष् साबित हुनेछ। टर्चलाइटले बाटो उज्यालो पारेजस्तै तपाईंको अन्तस्करणले पनि स्वर्गका पितालाई मन पर्ने निर्णयहरू गर्न तपाईंलाई मदत गर्नेछ। आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्ने तरिका यही हो।
a अन्तस्करण सफा भएर मात्र पुग्दैन भनेर बाइबल बताउँछ। उदाहरणको लागि पावलले यसो भने: “मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा परमेश्वरको नजरमा म असल साबित हुँदिनँ, तर मलाई जाँच्ने यहोवा नै हुनुहुन्छ।” (१ कोरिन्थी ४:४) सुरुमा ख्रीष्टियनहरूलाई सताउँदा पावलले आफ्नो अन्तस्करण सफा नै छ भन्ने ठानिरहेका थिए। तिनले जस्तै अरूले पनि ख्रीष्टियनहरूलाई सताउँदा आफ्नो अन्तस्करण सफा नै छ भन्ने ठानिरहेका हुन सक्छन् किनभने परमेश्वरले आफ्नो काम स्वीकार्नुहुन्छ भन्ने उनीहरूलाई लागेको हुन सक्छ। महत्त्वपूर्ण कुरा के हो भने आफ्नो नजरमा मात्र अन्तस्करण सफा भएर पुग्दैन, परमेश्वरको नजरमा पनि सफा हुनुपर्छ।—प्रेषित २३:१; २ तिमोथी १:३.
b याद गर्नुपर्ने कुरा के हो भने थुप्रै डाक्टरहरूको भनाइअनुसार जँड्याहाहरूले सीमाभित्र रहेर रक्सी खान सक्दै सक्दैनन्। तिनीहरू “सीमाभित्र रहनु”-को अर्थ तिनीहरूले रक्सी छुँदै नछुनु हो।