पाठ २७
येसुको मृत्युले हामीलाई कसरी बचाउन सक्छ?
प्रथम मानव दम्पती आदम र हव्वा परमेश्वरप्रति अनाज्ञाकारी भएर पाप गरे। त्यसैले हामी पनि पापी भयौँ। नतिजास्वरूप हामी पाप गर्छौँ, दुःखकष्ट भोग्छौँ र मर्छौँ।a तर हामी आशाविहीन छैनौँ। यहोवाले आफ्नो छोरामार्फत हामीलाई पाप र त्यसको असरबाट छुटकारा दिने बाटो खोलिदिनुभएको छ। येसुले आफ्नो मृत्युद्वारा फिरौती तिर्नुभयो भनेर बाइबलले बताउँछ। फिरौती भनेको कसैलाई छुटकारा दिन तिरिने मूल्य हो। येसुले तिर्नुभएको मूल्य उहाँको त्रुटिरहित मानव जीवन थियो। (मत्ति २०:२८ पढ्नुहोस्।) येसुले पृथ्वीमा अनन्त जीवन बिताउन सक्ने अधिकार स्वेच्छाले त्याग्नुभयो। यसरी उहाँले हाम्रो लागि आदम र हव्वाले गुमाएको सबै कुरा फेरि पाउने बाटो खोलिदिनुभयो। साथै उहाँले हामीप्रति आफ्नो र यहोवाको प्रेम प्रकट गर्नुभयो। यस पाठले तपाईँलाई येसुको मृत्युप्रति कृतज्ञता बढाउन मदत गर्नेछ।
१. येसुको मृत्युबाट आज हामीले कस्तो लाभ उठाउन सक्छौँ?
हामी पापी भएकोले यहोवालाई अप्रसन्न तुल्याउने थुप्रै काम गर्न पुग्छौँ। तर हामीले आफ्नो पापको लागि साँचो पश्चात्ताप गरेर येसु ख्रिष्टमार्फत यहोवासित क्षमा माग्यौँ र ती गल्तीहरू नदोहोऱ्याउन सक्दो प्रयास गऱ्यौँ भने परमेश्वरसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। (१ युहन्ना २:१) बाइबलले भन्छ: “ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो। तिमीहरूलाई डोऱ्याएर परमेश्वरकहाँ पुऱ्याउन सकियोस् भनेर उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।”—१ पत्रुस ३:१८.
२. येसुको मृत्युबाट हामीले भविष्यमा कस्तो लाभ उठाउन सक्नेछौँ?
यहोवाले येसुलाई आफ्नो त्रुटिरहित मानव जीवन फिरौतीस्वरूप दिन पठाउनुभयो “ताकि [येसुमाथि] विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।” (युहन्ना ३:१६) येसुले गर्नुभएको त्यस कामको आधारमा यहोवाले आदमको अनाज्ञाकारिताको नतिजास्वरूप भएको सबै खराब कुरा चाँडै हटाउनुहुनेछ। भन्नुको मतलब, येसुको बलिदानमा विश्वास गऱ्यौँ भने हामीले सुन्दर बगैँचारूपी पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउनेछौँ!—यसैया ६५:२१-२३.
अझ खोतल्नुहोस्
येसुले किन आफ्नो जीवन दिनुभयो भन्ने विषयमा अझ राम्ररी बुझ्नुहोस्। साथै येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ भनेर विचार गर्नुहोस्।
३. येसुको मृत्युले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन्छ
भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
परमेश्वरप्रति अनाज्ञाकारी हुँदा आदमले कस्तो मौका गुमाए?
रोमी ५:१२ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
आदमको पापले तपाईँको जीवनमा कस्तो असर पुऱ्याएको छ?
युहन्ना ३:१६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले किन आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो?
क. आदम त्रुटिरहित मानिस थिए तर तिनी परमेश्वरप्रति अनाज्ञाकारी भए। तिनले मानिसहरूलाई पाप र मृत्युतर्फ पुऱ्याउने बाटोमा धकेले
ख. येसु त्रुटिरहित मानिस हुनुहुन्थ्यो र उहाँ परमेश्वरप्रति आज्ञाकारी हुनुभयो। उहाँले मानिसहरू त्रुटिरहित हुने र सधैँभरि जीवित रहने बाटो खोलिदिनुभयो
४. येसुको मृत्युबाट सबै मानिसले लाभ उठाउन सक्छन्
भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
एक जना मानिसको मृत्युबाट कसरी सबै मानिसले लाभ उठाउन सक्छन्?
पहिलो तिमोथि २:५, ६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
त्रुटिरहित मानिस आदमले मानिसजातिलाई पाप र मृत्युतर्फ पुऱ्याउने बाटोमा धकेले। येसु पनि त्रुटिरहित मानिस हुनुहुन्थ्यो। त्यसैले उहाँले के गर्न सक्नुभयो?
५. फिरौती यहोवाले तपाईँलाई दिनुभएको उपहार हो
यहोवाका मित्रहरूले फिरौतीलाई ‘यो त यहोवाले मेरै लागि दिनुभएको उपहार हो’ भनेर सोच्छन्। एउटा उदाहरण विचार गर्न गलाती २:२० पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
प्रेषित पावलले फिरौतीलाई यहोवाले तिनकै लागि दिनुभएको उपहार ठानेको कसरी देखाए?
आदमले पाप गर्दा तिनी र तिनका सबै सन्तानले मृत्युदण्ड पाए। तर यहोवा तपाईँलाई सधैँभरि बाँच्ने मौका दिन चाहनुहुन्छ। त्यसैले उहाँले आफ्नो छोरालाई मर्न पठाउनुभयो।
यहाँ दिइएका पदहरू पढ्दा यहोवालाई आफ्नो छोराले दुःख भोगेको देख्दा कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्। युहन्ना १९:१-७, १६-१८ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवा र येसुले तपाईँको लागि गर्नुभएको कुरा विचार गर्दा तपाईँलाई कस्तो लाग्यो?
कसै-कसैले सोध्लान्: “एक जना मानिसको मृत्युले कसरी सबैलाई बचाउन सक्छ?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
येसुको मृत्युको आधारमा यहोवाले हाम्रा पापहरूको क्षमा दिनुहुन्छ। साथै येसुको मृत्युले गर्दा हामीले सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउँछौँ।
तपाईँले के सिक्नुभयो?
येसु किन मर्नुभयो?
येसुको त्रुटिरहित मानव जीवन कुन अर्थमा सबैको लागि फिरौती थियो?
येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ?
अझ धेरै जान्नुहोस्
येसुको त्रुटिरहित मानव जीवनलाई किन फिरौती भनिन्छ, बुझ्नुहोस्।
“येसुको बलिदान कसरी ‘धेरैको निम्ति फिरौती’ हो?” (jw.org को लेख)
उद्धार पाउन हामीले के गर्नुपर्छ, थाह पाउनुहोस्।
के यहोवाले गम्भीर पापहरू पनि क्षमा गर्न सक्नुहुन्छ?
एक जना पुरुषले ख्रिष्टको बलिदानबारे सिक्दा कसरी आफ्नो व्यक्तित्व सुधार्न मदत पाए, पढ्नुहोस्।
a पाप भनेको खराब काम गर्नु मात्र होइन। पापले हामीमा वंशाणुगत आएको त्रुटिपूर्ण अवस्थालाई पनि बुझाउँछ।