अध्याय ८
म कसरी असल साथीहरू बनाउन सक्छु?
“मलाई रिस उठ्दा मेरो भावना बुझिदिने कोही भइदिएको चाहन्छु। म निराश हुँदा मलाई हौसला दिने कोही भइदिएको चाहन्छु। म खुसी हुँदा म सँग-सँगै खुसी भइदिने कोही चाहन्छु। मेरो लागि साथीहरू महत्त्वपूर्ण छन्।”—ब्रिटनी।
अक्सर यसो भन्ने गरिन्छ, साना केटाकेटीलाई सँगै खेल्ने साथी भए पुग्छ तर किशोरकिशोरीलाई भने साँचो साथी चाहिन्छ। यी दुईबीच कस्तो भिन्नता छ?
सँगै खेल्ने साथीहरू तपाईँसित समय मात्र बिताउँछन्।
साँचो साथीहरू भने तिनीहरू हुन्, जोसित तपाईँको विचार पनि मिल्छ।
बाइबल भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।” (हितोपदेश १७:१७) यसले केटाकेटी छँदा सँगै खेल्ने साथीहरूसितको सङ्गतलाई नभई गहिरो मित्रतालाई बुझाउँछ।
तथ्य: तपाईँ वयस्क हुँदै जाँदा तपाईँलाई यस्ता साथीहरू चाहिन्छ, जसले
१. असल गुणहरू विकास गरेका छन्।
२. उच्च नैतिक स्तरअनुरूप जीवन बिताउँछन्
३. तपाईँमा राम्रो प्रभाव पार्छन्
प्रश्न: तपाईँ यस्ता साथीहरू कसरी भेट्टाउन सक्नुहुन्छ? एक-एक गरी विचार गरौँ।
पहिलो क्षेत्र #१—असल गुणहरू
तपाईँले के बुझ्नुपर्छ? तपाईँको साथी हुँ भनेर दाबी गर्ने सबै नै तपाईँका साँचो साथी हुन् भन्न मिल्दैन। बाइबलले यसो पनि भन्छ: “कुनै-कुनै साथी अरूलाई बरबाद पार्न समेत पछि पर्दैन।” (हितोपदेश १८:२४) यो कुरा सुन्दा तपाईँलाई अचम्म लाग्ला तर यी कुराहरू विचार गर्नुहोस्: विगतमा कुनै साथीले तपाईँको फाइदा उठाएको थियो कि? अथवा कुनै साथीले तपाईँको कुरा काटेको वा तपाईँको विषयमा झूटो कुरा फैलाएको पो थियो कि? यस्ता कुराहरूले साथीप्रतिको तपाईँको भरोसा तोड्न सक्छ।a सधैँ याद गर्नुहोस्, हामीले कति साथी बनाउँछौँ भन्ने कुरा होइन, बरू कस्ता साथीहरू बनाउँछौँ, त्योचाहिँ महत्त्वपूर्ण कुरा हो।
तपाईँ के गर्न सक्नुहुन्छ? अनुकरण गर्न लायकका गुणहरू भएकाहरूलाई साथी बनाउनुहोस्।
“मेरो साथी फियोनालाई सबैले राम्रो ठान्छन्। मलाई पनि सबैले त्यस्तै ठानेको म चाहन्छु। म पनि उसले जस्तै राम्रो नाम कमाउन चाहन्छु। मलाई उसको यो कुरा मन पर्छ।”—इवेट, १७।
यसो गरे कसो होला?
१. गलाती ५:२२, २३ पढ्नुहोस्।
२. आफैलाई सोध्नुहोस्, ‘के मेरा साथीहरूले “पवित्र शक्तिको फल”-मा पर्ने गुणहरू झल्काउँछन्?’
३. तपाईँको सबैभन्दा मिल्ने साथीहरूको नाम लेख्नुहोस्। प्रत्येक नामको छेउमा तिनी प्रायजसो कस्तो गुण झल्काउँछन् लेख्नुहोस्।
नाम
․․․․․
गुण
․․․․․
सुझाव: नकारात्मक गुणहरू मात्र सम्झनुभयो भने तपाईँले अरू नै साथीहरू खोज्नुपर्ने हुन सक्छ।
दोस्रो क्षेत्र #२—उच्च नैतिक स्तर
तपाईँले के बुझ्नुपर्छ? तपाईँ साथी बनाउन जति आतुर हुनुहुन्छ, त्यति नै गलत व्यक्तिलाई साथी बनाउने खतरा हुन्छ। बाइबल भन्छ: “मूर्खसित सङ्गत गर्ने मानिसले दुःख भोग्छ।” (हितोपदेश १३:२०) यहाँ चलाइएको “मूर्ख” शब्दले पढाइमा कमजोर अथवा खासै ज्ञान नभएको व्यक्तिलाई बुझाउँदैन। बरु यसले बुद्धिमानी सल्लाहलाई इन्कार गर्ने र नैतिक स्तरलाई पनि बेवास्ता गर्ने व्यक्तिलाई बुझाउँछ। यस्ता साथीहरू हुनुभन्दा नहुनु नै बेस हो।
तपाईँ के गर्न सक्नुहुन्छ? जोकोहीलाई साथी नबनाउनुहोस्। (भजन २६:४) यसको मतलब तपाईँ पक्षपाती हुनुपर्छ भन्ने होइन। बरु तपाईँले “धर्मी र दुष्ट मानिसबीच, परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता” याद गर्नुपर्छ।—मलाकि ३:१८.
“आमाबुबाले आध्यात्मिक तवरमा राम्रै गरिरहेका मेरै उमेरका साथीहरू भेट्टाउन मदत गर्नुभएकोमा म उहाँहरूप्रति कृतज्ञ छु।”—क्रिस्टोफर, १३।
तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्:
म साथीहरूसित छँदा तिनीहरूले मलाई गलत काम गर्न दबाब देलान् भनेर के मलाई डर लाग्छ?
□ लाग्छ
□ लाग्दैन
आमाबुबाले साथीहरूसित सङ्गत गर्न नदिनुहोला भनेर तिनीहरूलाई उहाँहरूसामु चिनाउन के मलाई अप्ठ्यारो लाग्छ?
□ लाग्छ
□ लाग्दैन
सुझाव: यदि तपाईँले माथि दिइएका प्रश्नहरूको ‘लाग्छ’ भन्ने जवाफ दिनुभएको छ भने उच्च नैतिक स्तरअनुसार चल्ने र ख्रिष्टियन जीवन बिताउने सन्दर्भमा राम्रो उदाहरण बसालेका साथीहरू खोज्नुहोस्।
तेस्रो क्षेत्र #३—राम्रो प्रभाव
तपाईँले के बुझ्नुपर्छ? बाइबल यसो भन्छ: “खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।” (१ कोरिन्थी १५:३३, नयाँ संशोधित संस्करण) लरेन नाम गरेकी युवती भन्छिन्: “मैले स्कुलका साथीहरूले जे-जे भने त्यही गरुन्जेल मात्रै तिनीहरूले मलाई आफ्नो साथी बनाए। म एक्लो हुन चाहन्नथेँ, त्यसैले तिनीहरूले चाहेजस्तै गर्ने निर्णय गरेँ।” अरूले चाहेको तरिकाअनुसार चल्दा तिनीहरूले आफ्नो इशारामा नचाउँछन् भन्ने कुरा लरेनले बुझिन्। तपाईँले तिनीहरूभन्दा राम्रो साथी भेट्टाउन सक्नुहुन्छ।
तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँलाई तिनीहरूकै जीवनशैली अपनाउन कर गर्नेहरूसित आफ्नो सम्बन्ध टुटाउनुहोस्। हुनत यस्तो कदम चाल्नुभयो भने तपाईँका साथीहरू थोरै होलान् तर तपाईँ खुसी हुन सक्नुहुनेछ। साथै तपाईँले त्यस्ता राम्रा साथीहरू भेट्टाउन सक्नुहुनेछ, जसले तपाईँमा राम्रो प्रभाव पार्नेछन्।—रोमी १२:२.
“मेरो मिल्ने साथी क्लिन्ट समझदार र समानुभूतिशील छ, त्यसैले मैले ऊबाट निकै प्रोत्साहन पाएको छु।”—जेसन, २१।
आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्:
के म आफ्ना साथीहरूलाई खुसी बनाउनकै लागि भनेर अभद्र पहिरन गर्ने, नराम्रो बोली बोल्ने वा खराब व्यवहार गर्ने गर्छु?
□ गर्छु
□ गर्दिनँ
के म आफू कहिल्यै नजाने नैतिक रूपमा भ्रष्ट ठाउँहरूमा समेत साथीहरूसित हुँदा जाने गर्छु?
□ गर्छु
□ गर्दिनँ
सुझाव: यदि तपाईँले माथिका प्रश्नहरूको ‘गर्छु’ भन्ने जवाफ दिनुभएको छ भने आफ्नो आमाबुबा वा कुनै परिपक्व वयस्कसित सल्लाह माग्नुहोस्। यदि तपाईँ यहोवाको साक्षी हुनुहुन्छ भने कुनै एल्डरसित आफूमा राम्रो प्रभाव पार्ने साथीहरू भेट्टाउन मदत माग्नुहोस्।
यस विषयमा थप जानकारीको लागि खण्ड २, अध्याय ९ हेर्नुहोस्
अर्को अध्यायमा
तपाईँलाई गलत काम गर्न केले दबाब दिइरहेको छ—तपाईँका साथी भनौदाहरूले या तपाईँकै हृदयले? तपाईँ कसरी त्यसको प्रतिरोध गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्!
[फुटनोट]
a हामी सबैबाट गल्तीहरू हुन्छन्। (रोमी ३:२३) कुनै साथीले तपाईँको चित्त दुखायो तर उसले पछि मनैदेखि माफी माग्यो भने यो कुरा सम्झनुहोस्, “प्रेमले असङ्ख्य पापहरू ढाक्छ।”—१ पत्रुस ४:८.
मुख्य शास्त्रपद
“कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।”—हितोपदेश १८:२४.
सुझाव
उच्च नैतिक स्तरअनुरूप जीवन बिताउनुहोस्। यसो गर्नुभयो भने तपाईँको जस्तै नैतिक स्तर भएकाहरूले तपाईँलाई साथी बनाउनेछन्। तिनीहरू तपाईँको सबैभन्दा राम्रो साथी साबित हुनेछन्।
के तपाईँलाई थाह थियो . . . ?
हुनत परमेश्वर पक्षपाती हुनुहुन्न तर उहाँले छान्नुभएका मानिसहरूलाई मात्र ‘आफ्नो पालमा बास दिनुहुन्छ।’—भजन १५:१-५.
योजना बनाऔँ!
राम्रो साथी भेट्टाउन म यसो गर्नेछु:
मभन्दा ठूला उमेरका मानिसहरू, जसलाई म राम्ररी चिन्न चाहन्छु:
साथी बनाउनेबारे म आमाबुबालाई यी कुराहरू सोध्न चाहन्छु:
तपाईँलाई कस्तो लाग्छ?
● तपाईँ आफ्नो साथीमा कस्ता गुणहरू भएको चाहनुहुन्छ र किन?
● राम्रो साथी बन्न तपाईँले आफूमा कस्ता गुणहरू विकास गर्नुपर्छ?
[ठूलो अक्षरको क्याप्सन]
आमाबुबाले मेरा केही साथीहरूसित सङ्गत नगर्न सल्लाह दिनुहुँदा तिनीहरूबाहेक मैले सङ्गत गर्ने अरू को नै छ र जस्तो लाग्यो। तर उहाँहरूको सल्लाह राम्रो थियो। मैले त्यस विषयमा राम्ररी सोच्दा अरू थुप्रै राम्रा साथीहरू पनि भेट्टाउन सक्छु भनेर बुझेँ।”—कोल
[पेटी]
यसो गरिहेर्नुहोस्
मित्रताबारे आमाबुबासित कुरा गर्नुहोस्। तपाईँको उमेरमा छँदा उहाँहरूका कस्ता साथीहरू थिए भनी सोध्नुहोस्। त्यस्ता साथीहरू बनाएकोमा उहाँहरूलाई कुनै पछुतो छ कि? छ भने किन? उहाँहरूले सामना गरेका समस्याहरूबाट आफू कसरी जोगिन सक्छु भनेर पनि सोध्नुहोस्।
आमाबुबासित आफ्ना साथीहरूलाई भेटाउनुहोस्। यदि तपाईँलाई त्यसो गर्न अप्ठ्यारो लाग्छ भने आफैलाई सोध्नुहोस्: ‘मलाई यस्तो लाग्नुको कारण के हो?’ तपाईँका साथीहरूबारे आमाबुबालाई मन नपर्ने कुनै कुरा छ कि? त्यसो हो भने साथीहरू छान्ने सन्दर्भमा तपाईँले अझ विचार पुऱ्याउनुपर्ने हुन सक्छ।
ध्यान दिएर सुन्नुहोस्। साथीहरूले आफ्नो हालखबर र चिन्ताबारे बताउँदा चासो देखाउनुहोस्।—फिलिप्पी २:४.
क्षमाशील हुनुहोस्। कुनै गल्ती नै हुनु हुँदैन भनेर आशा नगर्नुहोस्। “हामी सबै जना धेरै चोटि चुक्छौँ।”—याकुब ३:२.
साथीहरूले सबै कुरा सँगै मिलेर गर्नुपर्छ भनेर नसोच्नुहोस्। तपाईँ हर समय तिनीसितै हुनुपर्छ भन्ने होइन। साँचो साथीहरूले आवश्यक पर्दा तपाईँलाई साथ दिनेछन्।—उपदेशक ४:९, १०.
[चित्र]
अरूले चाहेको तरिकाअनुसार चल्दा तिनीहरूले आफ्नो इशारामा नचाउँछन्