दोस्रो राजा
३ यहुदाका राजा यहोसापातको शासनकालको १८ औँ वर्षमा आहाबका छोरा यहोराम+ सामरियामा इस्राएलका राजा भए। तिनले १२ वर्ष शासन गरे। २ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे तर तिनका बुबाआमाले जत्तिकै त होइन। किनकि तिनले आफ्नो बुबाले बाआलको लागि बनाएको पवित्र थाम* हटाइदिए।+ ३ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पापहरू गर्न लगाएका थिए,+ यहोरामले ती पापहरू गर्न छोडेनन्।
४ मोआबका राजा मेसाले भेडापालन गर्थे। उनले इस्राएलका राजालाई तिरोस्वरूप १ लाख पाठो र ऊन नकत्रिएका १ लाख थुमा दिने गर्थे। ५ तर आहाबको मृत्यु हुनेबित्तिकै+ मोआबका राजाले इस्राएलका राजाको विद्रोह गर्न थाले।+ ६ त्यसैले राजा यहोराम सामरियाबाट निस्के अनि सारा इस्राएललाई युद्धको निम्ति भेला गरे। ७ साथै उनले यहुदाका राजा यहोसापातकहाँ यो सन्देश पठाए: “मोआबका राजाले मेरो विद्रोह गरेका छन्। के तपाईँ मोआबसित लड्न मलाई साथ दिनुहुन्छ?” यहोसापातले जवाफ दिए: “म तपाईँलाई साथ दिनेछु।+ हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन् र मेरा घोडाहरू तपाईँका घोडाहरू हुन्।”+ ८ तब यहोसापातले सोधे: “कुन बाटो भएर आक्रमण गर्न जाँदा ठीक होला?” यहोरामले जवाफ दिए: “एदोमको निर्जनभूमिको बाटो।”
९ त्यसपछि इस्राएलका राजा यहुदाका र एदोमका+ राजाहरूसित निस्के। तिनीहरूले सात दिन हिँडेर एक फन्को लगाएपछि तिनीहरूको पछिपछि लागेका सेना र वस्तुभाउको निम्ति पानी सिद्धियो। १० तब इस्राएलका राजाले भने: “यो हामीमाथि कत्रो विपत्ति आइलाग्यो! यहोवा परमेश्वरले हामी तीन राजालाई मोआबीहरूको हातमा सुम्पिन पो यहाँ ल्याउनुभएको रहेछ।” ११ यहोसापातले भने: “यहोवा परमेश्वरसित सल्लाह माग्नलाई के यहाँ यहोवाका कोही भविष्यवक्ता छैनन्?”+ तब इस्राएलका राजाका एक सेवकले जवाफ दिए: “सापातका छोरा एलिसा छन्,+ जसले एलियाको हातमा पानी हाल्ने गर्थे।”*+ १२ यहोसापातले भने: “तिनले हामीलाई यहोवा परमेश्वरको इच्छा के छ भनी बताउन सक्छन्।” त्यसैले यहोसापात, इस्राएलका राजा र एदोमका राजा एलिसालाई भेट्न गए।
१३ एलिसाले इस्राएलका राजालाई भने: “तपाईँ किन मकहाँ आउनुहुन्छ?+ आफ्नै बुबा र आमाका भविष्यवक्ताहरूकहाँ जानुहोस्।”+ तर इस्राएलका राजाले भने: “होइन, म जान्नँ किनकि यहोवा परमेश्वरले नै हामी तीन राजालाई मोआबीहरूको हातमा सुम्पिन यहाँ ल्याउनुभएको हो।” १४ तब एलिसाले भने: “जीवित परमेश्वर, सेनाहरूका यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, यहुदाका राजा यहोसापातको म आदर गर्छु, त्यसैले मात्र तपाईँको कुरा सुन्दै छु।+ नत्र म तपाईँको मुखसमेत हेर्ने थिइनँ।+ १५ अब वीणा बजाउने एक जनालाई* यहाँ ल्याउनुहोस्।”+ वीणा बजाउने मान्छे आएर वीणा बजाउन थाल्नेबित्तिकै यहोवा परमेश्वरको शक्ति एलिसामाथि आयो।+ १६ तिनले भने, “यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘यस बेँसीमा* ठाउँठाउँमा खाल्टो खन १७ किनकि यहोवा भन्नुहुन्छ: “तिमीहरूले न बतास चलेको न त पानी परेको नै देख्नेछौ। तैपनि यो बेँसी* पानीले भरिनेछ+ र तिमीहरू, तिमीहरूका वस्तुभाउ अनि तिमीहरूका अरू पाल्तु पशुले त्यो पानी पिउनेछन्।”’ १८ तर यहोवा परमेश्वरको लागि यो कुनै ठूलो कुरो होइन।+ उहाँले मोआबलाई पनि तपाईँहरूको हातमा सुम्पिदिनुहुनेछ।+ १९ पर्खालले घेरिएका हरेक सहर र सबै राम्रा-राम्रा सहरलाई नाश गरिदिनुहोस्।+ सबै असल-असल रूख ढालिदिनुहोस् र पानीका सबै मूल थुनिदिनुहोस्। राम्रो उब्जनी हुने हरेक खेतमा ढुङ्गाको थुप्रो लगाएर त्यसलाई बेकामको बनाइदिनुहोस्।”+
२० भोलिपल्ट बिहान अन्नभेटी चढाउने बेला,+ अचानक एदोमबाट पानीको भल आयो र बेँसी पानीले भरियो।
२१ राजाहरू लडाइँ गर्न आएका छन् भनी सुनेपछि मोआबीहरूले हतियार चलाउन सक्नेजति सबैलाई जम्मा गरे। अनि तिनीहरू देशको सिमानामा तैनाथ भए। २२ तिनीहरू बिहान सबेरै उठे। त्यतिबेला घामको किरणले गर्दा बेँसीको पानी टल्किरहेको थियो। त्यसैले पारिपट्टि रहेका मोआबीहरूले पानी रगतजस्तै रातो देखे। २३ तिनीहरूले भने: “त्यो त रगत हो! ती राजाहरूले पक्कै एकअर्कालाई तरबारले मारे होलान्। ए मोआबीहरू हो! उनीहरूलाई लुट्न जाऔँ!”+ २४ मोआबीहरू इस्राएलीहरूको छाउनीमा पुगेपछि इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरे। तब मोआबीहरू भाग्न थाले अनि इस्राएलीहरू तिनीहरूलाई खेद्दै र मार्दै+ मोआबतर्फ अघि बढे। २५ इस्राएलीहरूले मोआबका सहरहरू ध्वस्त पारे। त्यहाँको राम्रो उब्जनी हुने हरेक खेतमा इस्राएलीहरूले ढुङ्गाको थुप्रो लगाइदिए। तिनीहरूले पानीका सबै मूल थुनिदिए+ र सबै असल-असल रूख ढालिदिए।+ अन्तमा किर-हरेसेथ+ सहरको ढुङ्गाका पर्खालहरू मात्र बाँकी रह्यो अनि घुयेँत्रो हान्नेहरूले त्यस सहरलाई घेरेर आक्रमण गर्न थाले।
२६ आफूले लडाइँ हारेको देखेपछि मोआबका राजाले तरबार भिरेका ७०० जना मानिस जम्मा गरे अनि शत्रुहरूको बीचबाट छिरेर एदोमका+ राजाकहाँ जान खोजे। तर तिनी सफल भएनन्। २७ त्यसैले तिनले आफ्नो पहिलो सन्तान, जो तिनीपछि राजा हुन लागेका थिए, उनलाई सहरको पर्खालमा लगेर आगोमा बलि चढाए।+ यसले गर्दा इस्राएलीहरू अवाक् भए। त्यसैले इस्राएलीहरूले मोआबको राजासित लड्न छोडिदिए अनि आफ्नो देश फर्के।