एस्तर
१ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+ २ त्यसबेला राजा आहासुरसले सुसन*+ नाम गरेको किल्लाबाट* शासन गर्थे। ३ तिनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना सबै भारदार र सेवकहरूका निम्ति एउटा भोज लगाए। फारस+ र मादीका+ सेनापतिहरू, गण्यमान्य मानिसहरू अनि प्रान्तहरूका राज्यपालहरू तिनीकहाँ आए। ४ तब राजाले तिनीहरूलाई धेरै दिनसम्म—१८० दिनसम्म आफ्नो गौरवशाली राज्यको धनसम्पत्ति अनि आफ्नो शान, वैभव र ऐश्वर्य देखाए। ५ जब ती १८० दिन पूरा भए, तब राजाले सुसन किल्लामा आएका सानादेखि ठूला ओहदाका सबै मानिसलाई सात दिनसम्म भोज दिए। त्यो भोज महलको बगैँचामा लगाइएको थियो। ६ त्यस बगैँचालाई मलमल,* उच्चकोटिको सुती र निलो कपडाका पर्दाहरूले सजाइएको थियो। ती पर्दाहरूमा उच्चकोटिको मलमलका फित्ताहरू गाँसिएका थिए र ती फित्ताहरूलाई बैजनी रङ्गको ऊनको डोरीमा झुण्ड्याइएको थियो। त्यस डोरीलाई सङ्गमर्मरका खम्बाहरूमा जडिएका चाँदीका कुण्डलहरूमा बाँधिएको थियो। त्यहाँ सुन र चाँदीका आसनहरू राखिएका थिए अनि भुईँमा लाल पत्थर, सङ्गमर्मर, मोती र कालो सङ्गमर्मर बिछ्याइएको थियो।
७ पाहुनाहरूलाई सुनका प्यालामा मद्य टक्य्राइयो। हरेक प्याला अर्को प्यालाभन्दा फरक थियो। त्यस भोजमा प्रशस्त मात्रामा मद्यको प्रबन्ध मिलाइएको थियो; त्यत्ति धेरै मद्य त राजाले मात्रै दिन सक्थे। ८ त्यस भोजको लागि तोकिएको नियमअनुसारै कसैले कसैलाई मद्य पिउन जबरजस्ती* गरेन। हरेकलाई आफ्नो इच्छाअनुसार पिउन दिनू भनी राजाले आफ्ना महलका अफिसरहरूलाई हुकुम गरेका थिए।
९ रानी वस्तीले+ पनि राजा आहासुरसको शाही भवनमा* स्त्रीहरूको निम्ति भोज लगाइन्।
१० सातौँ दिनमा जब राजा आहासुरस मद्य पिएर मस्त भएका थिए, तब तिनले महुमान, बिज्था, हार्बोना,+ बिग्था, अबग्था, जेथार र कर्कसलाई एउटा आदेश दिए। दरबारका यी सात जना अफिसर राजाका खास सेवकहरू थिए। ११ रानी वस्तीलाई शाही शिरपोस लगाएर राजासामु हाजिर हुनू भन्ने आदेश तिनले उनीहरूलाई दिए। रानी वस्ती असाध्यै सुन्दरी भएकीले तिनी मानिसहरू र भारदारहरूसामु उनको सौन्दर्य देखाउन चाहन्थे। १२ तर रानी वस्तीले राजासामु हाजिर हुन इन्कार गरिरहिन्; राजाले दरबारका अफिसरहरूमार्फत दिएको आदेश उनले पालन गरिनन्। त्यसैले राजालाई रिस उठ्यो र तिनी क्रोधित भए।
१३ त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरूसित यस विषयमा सरसल्लाह गरे, जससित पहिले-पहिले भएका यस्तै खालका घटनाहरूबारे राम्रो ज्ञान थियो। (राजा यसरी नै कानुन र मुद्दामामिलामा पोख्त मानिसहरूसामु आफ्ना मामिलाहरू राख्ने गर्थे। १४ तिनीहरूमध्ये राजासँग सबैभन्दा घनिष्ठ चाहिँ यी थिए: कर्सना, सेथार, अद्माथा, तर्सिस, मरेस, मर्सेना र ममुकान। फारस र मादीका यी सात जना भारदार+ राज्यमा सबैभन्दा उच्च ओहदामा थिए र नियमित रूपमा राजासामु उपस्थित हुन्थे।) १५ राजाले तिनीहरूलाई सोधे: “म, राजा आहासुरसले दरबारका अफिसरहरूमार्फत दिएको आदेश रानी वस्तीले पालन गरिनन्। अब उनलाई कस्तो कारबाही गर्नुपर्ला? कानुनले के भन्छ?”
१६ तब ममुकानले राजा र भारदारहरूसामु यसो भने: “रानी वस्तीले केवल राजाविरुद्ध अपराध गर्नुभएको होइन।+ बरु उहाँले सबै भारदार र राजा आहासुरसका सम्पूर्ण प्रान्तमा बसोबास गर्ने सबै मानिसविरुद्ध अपराध गर्नुभएको हो। १७ किनभने रानीले जे गर्नुभयो, त्यसबारे पछि सबै स्त्रीले थाह पाउनेछन्। अनि उनीहरूले पनि आफ्ना पतिलाई हेप्न थाल्नेछन् र यसो भन्नेछन्: ‘राजा आहासुरसले आफूसामु आउने आदेश दिँदा रानी वस्तीले पनि त उहाँको आदेश पालन गरेकी थिइनन्।’ १८ फारस र मादीका भारदारहरूका पत्नीहरू, जसले रानीको यस्तो व्यवहारबारे थाह पाएका छन्, उनीहरूले पनि आजै आफ्ना पतिहरूसित त्यसरी नै कुरा गर्नेछन्। उनीहरूले आफ्ना पतिको अनादर गर्नेछन् र परिणामस्वरूप उनीहरूका पतिहरू रिसले आगो हुनेछन्। १९ त्यसैले यदि राजालाई उचित लाग्छ भने वस्ती फेरि कहिल्यै राजासामु आउन नपाओस् भनेर एउटा शाही उर्दी जारी गर्नुहोस् अनि त्यसलाई फारस र मादीको कानुनमा पनि लेख्न लगाउनुहोस् ताकि त्यसलाई कसैले पनि रद्द गर्न नसकोस्।+ साथै राजाले वस्तीभन्दा योग्य एउटी स्त्री खोज्नुहोस् र उनैलाई वस्तीको सट्टा रानी बनाउनुहोस्। २० जब हजुरको यो उर्दी हजुरको यस विशाल साम्राज्यभरि सुनाइन्छ, तब सबै स्त्रीले आ-आफ्ना पतिको आदर गर्नेछन्, चाहे तिनीहरू सानो ओहदाका होऊन् या ठूलो ओहदाका।”
२१ ममुकानको यो सल्लाह राजा र भारदारहरूलाई मन पऱ्यो अनि राजाले त्यसै गरे। २२ तिनले आफ्ना सबै प्रान्तमा पत्रहरू पठाए।+ तिनले प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा पत्रहरू लेखे। हरेक पुरुषले आफ्नो परिवारमा अधिकार चलाओस् र उसको परिवारमा उसकै मानिसहरूको भाषा बोलियोस् भन्ने आदेश पत्रमा दिइएको थियो।