प्रस्थान
९ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “फारोकहाँ गएर यसो भन, ‘हिब्रूहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्।+ २ तर तिमीले उनीहरूलाई जान नदिई रोकिराख्यौ भने ३ हेर, म यहोवा, तिमीहरूका सबै वस्तुभाउविरुद्ध आफ्नो हात उठाउनेछु!+ तिमीहरूका घोडा, गधा, उँट, भेडाबाख्रा अनि गाईवस्तुलाई भयानक रोग लाग्नेछ।+ ४ अनि म यहोवा इस्राएलीहरूका र मिश्रीहरूका वस्तुभाउसित फरक-फरक व्यवहार गर्नेछु। इस्राएलीहरूको एउटा जनावर पनि मर्नेछैन।”’”+ ५ यहोवा परमेश्वरले भन्नुभयो: “म यहोवाले भोलि यस देशमा यो विपत्ति ल्याउनेछु।”
६ अनि भोलिपल्टै यहोवा परमेश्वरले त्यसै गर्नुभयो। मिश्रीहरूका वस्तुभाउ भकाभक मर्न थाले+ तर इस्राएलीहरूको भने एउटा पनि मरेन। ७ यसबारे फारोले जाँचबुझ गर्न मानिसहरू पठाउँदा इस्राएलीहरूको भने एउटा पनि जनावर मरेको पाइएन! तैपनि फारोको हृदय कठोर भइरह्यो; उनले इस्राएलीहरूलाई जान दिएनन्।+
८ तब यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “इँटाभट्टामा गएर तिमीहरूले दुवै हातमा मुठीभरि खरानी लिएर आउनू र मोसाले त्यो खरानी फारोकै सामने हावामा उडाइदिनू। ९ अनि त्यो मसिनो धुलो भएर मिश्रभरि फैलिनेछ र त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्कनेछन्।”
१० त्यसैले तिनीहरू इँटाभट्टाबाट खरानी लिएर फारोसामु हाजिर भए अनि मोसाले त्यो खरानी हावामा छरिदिए। त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्के। ११ जादुगरहरूलाई र सबै मिश्रीलाई पिलोले सताएकोले ती जादुगरहरू मोसासामु देखा पर्नै सकेनन्।+ १२ तर यहोवा परमेश्वरले मोसालाई भन्नुभएझैँ यहोवाले फारोको हृदय कठोर हुन दिनुभयो; उनले मोसा र हारुनको कुरा सुनेनन्।+
१३ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर भएर यसो भन, ‘हिब्रूहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्। १४ जान दिएनौ भने तिमी, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजामाथि म एकपछि अर्को विपत्ति ल्याउनेछु। अनि यस पृथ्वीमा मजस्तो अरू कोही छैन भनेर तिमीले थाह पाउनेछौ।+ १५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्ति प्रकट होस् र मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+ १७ के तिमी अहङ्कारी भएर मेरा मानिसहरूलाई अझै जान दिँदैनौ? १८ हेर, भोलि म यसै समयतिर ठूलठूला असिना बर्साउनेछु। त्यस्तो असिना त मिश्रमा पहिला कहिल्यै परेकै छैन। १९ घरबाहिर भएका तिम्रा वस्तुभाउ, नोकरचाकर अनि सरसामान घरमा ल्याउन तिम्रा मानिसहरूलाई सन्देश पठाउनू। घरबाहिरै परेका सबै मानिस अनि जनावर असिनाले मर्नेछन्।”’”
२० फारोका चाकरहरूमध्ये ज-जसले यहोवा परमेश्वरको डर माने, तिनीहरूले आ-आफ्ना दास अनि वस्तुभाउलाई तुरुन्तै घरमा ल्याए। २१ तर यहोवा परमेश्वरको कुरा नमान्नेहरूले आफ्ना दास अनि वस्तुभाउलाई खेतबारीमै छोडे।
२२ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो हात आकाशतिर उठाऊ अनि सारा मिश्रभरि असिना परोस्।+ मिश्रमा भएका मानिस, वस्तुभाउ, बालीनाली सबैमाथि असिना बर्सोस्।”+ २३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्वरले मिश्रमा असिना बर्साइरहनुभयो। २४ असिना पऱ्यो अनि असिनासँगसँगै बिजुली पनि चम्क्यो। मिश्रमा यसअघि यस्तो असिना कहिल्यै परेको थिएन।+ २५ असिनाले मिश्रमा भएको कुनै कुरालाई छोडेन। मानिस र पशु सबैलाई असिनाले चुट्नसम्म चुट्यो। सबै वनस्पति अनि रूखहरू असिनाले गर्दा नष्ट भए।+ २६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+
२७ त्यसैले फारोले मोसा र हारुनलाई बोलाउन पठाए र तिनीहरूलाई यसो भने: “मैले पाप गरेँ; म आफ्नो पाप स्विकार्छु। यहोवा न्यायी हुनुहुन्छ; गल्ती म र मेरा मानिसहरूकै रहेछ। २८ यो गर्जन अनि असिना रोकिदिन यहोवालाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु। अब म तिमीहरूलाई एकछिन पनि रोक्दिनँ।” २९ मोसाले फारोलाई भने: “यो सहरबाट निस्कनेबित्तिकै स्वर्गतिर हात फैलाएर म यहोवा परमेश्वरलाई बिन्ती गर्नेछु। अनि गर्जन रोकिनेछ र असिना पर्न पनि थामिनेछ। अनि हजुरले सारा पृथ्वी यहोवा परमेश्वरकै हो भनेर थाह पाउनुहुनेछ।+ ३० तर मलाई थाह छ, त्यसपछि पनि हजुर र हजुरका चाकरहरूले यहोवा परमेश्वरको डर मान्नुहुनेछैन।”
३१ असिनाले गर्दा आलस र जौ सखाप भए किनकि जौमा बाला लागिसकेको थियो अनि सनपाटमा कोपिला पलाइसकेको थियो। ३२ तर गहुँ र कठिया गहुँचाहिँ* पछि पाक्ने बाली भएकोले नाश भएनन्। ३३ मोसा फारोकहाँबाट निस्केर सहरबाहिर गए र तिनले स्वर्गतिर आफ्नो हात फैलाएर यहोवा परमेश्वरलाई बिन्ती गरे। त्यसपछि गर्जन र असिना रोकियो अनि पृथ्वीमा पानी पर्न छोड्यो।+ ३४ पानी, असिना अनि गर्जन रोकिएको देखेपछि फारो र उनका चाकरहरूले फेरि पाप गरे; उनीहरूले आफ्नो हृदय कठोर बनाए।+ ३५ यहोवा परमेश्वरले भन्नुभएझैँ फारोले अझै पनि आफ्नो हृदय कठोर बनाइरहे; उनले इस्राएलीहरूलाई जान दिएनन्।+