यसैया
४७ ए बेबिलोनकी कुमारी छोरी!+
तल ओर्ली र धुलोमा बस्।
ए कल्दियालीहरूकी छोरी,
आएर भुईँमा बस्, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+
मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्नेछैनन्,
तैँले खुब माया पाएकी छेस् भनेर तिनीहरूले भन्नेछैनन्।
२ जाँतोमा अन्न पिस्न थाल्।
तेरो घुम्टो हटा।
तेरो जामा फुकाल्
र नाङ्गै जाँघले नदीहरू तर्।
३ सबैले तेरो नग्नता देख्नेछन्।
तेरो लाज उदाङ्ग हुनेछ।
४ “हामीलाई मोल तिरेर छुटाउनुहुने
इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ।+
उहाँको नाम सेनाहरूका यहोवा हो।”
५ ए कल्दियालीहरूकी छोरी,
अँध्यारोमा गएर चुपचाप बस्।+
अब उपरान्त तिनीहरूले तँलाई राज्य-राज्यकी रानी* भन्नेछैनन्।+
६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+
मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+
र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+
तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्।+
बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्।+
७ तैँले भनिस्: “म सधैँको लागि रानी* हुनेछु।”+
आफूले के गरिरहेकी छु भनेर तैँले कहिल्यै सोचिनस्।
अनि आफ्नो कामको नतिजा के हुन्छ भनेर तैँले विचारै गरिनस्।
८ ए विलासी स्त्री! मेरो कुरा सुन्,+
तँ सुरक्षित ठाउँमा छेस् र यस्तो सोच्छेस्:
“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+
म कहिल्यै विधवा हुनुपर्नेछैन।
मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्।”+
९ तर अचानक अनि एकै दिनमा तँमाथि यी दुई विपत्ति आउनेछन्:+
तेरा छोराछोरी मर्नेछन् र तँ विधवा हुनुपर्नेछ।
तैँले धेरै तन्त्रमन्त्र र टुनामुना गरेकीले*+
तँमाथि यी विपत्तिहरू तैँले सहनै नसक्नेगरि आइपर्नेछन्।+
१० तैँले आफ्नै दुष्ट्याइँमाथि भरोसा गरिस्।
तैँले यसो भनिस्: “मलाई कसैले देख्दैन।”
तेरो बुद्धि र तेरो ज्ञानले तँलाई भ्रष्ट पारेको छ।
तँ यसो भन्छेस्: “मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।”
११ तर तँमाथि विपत्ति आइपर्नेछ,
तेरो कुनै मन्त्रले तँलाई बचाउन सक्नेछैन।
तँमाथि सङ्कट आइपर्नेछ; तैँले कुनै हालतमा त्यसलाई थाम्न सक्नेछैनस्।
तैँले सोच्दै नसोचेको तरिकामा तेरो अचानक पतन हुनेछ।+
१२ जा! मन्त्र फुक्! टुनामुना गर्!+
सानैदेखि तैँले जे गरिरहेकी थिइस्, त्यही गर्!
सायद तँलाई केही फाइदा होला;
सायद मानिसहरू तँदेखि डराउलान्!
१३ धेरै सल्लाहकारको कुरा सुन्दा-सुन्दा तँ थाकिसकेकी छेस्।
अब तिनीहरू नै आऊन् र तँलाई बचाऊन्!
जो आकाशलाई पूजा गर्छन्,* जो ताराहरूलाई नियाल्छन्,+
जो औँसीको दिन हेरेर भविष्य बताउँछन्,
तिनीहरूले नै तेरो भविष्य बताऊन्।
१४ हेर्! तिनीहरू त ठोसाजस्तै छन्,
आगोले तिनीहरूलाई खरानी बनाइदिन्छ।
आगोको ज्वालाबाट तिनीहरू आफैलाई बचाउन सक्दैनन्।
त्यो न्यानो बनाउने कोइलाको राप होइन
अनि ताप्न बालिने आगो पनि होइन।