जकरिया
१३ “त्यो दिन दाउदको घराना र यरुसलेमका बासिन्दाहरूको पाप र अशुद्धता पखाल्न तिनीहरूको निम्ति एउटा कुवा खनिनेछ।+
२ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यो दिन म त्यस देशबाट मूर्तिहरू नष्ट गर्नेछु+ र तिनीहरूको फेरि कहिल्यै सम्झना गरिनेछैन अनि म त्यस देशबाट भविष्यवक्ताहरू+ र दुष्ट शक्तिलाई हटाइदिनेछु। ३ अनि कसैले फेरि भविष्यवाणी गऱ्यो भने तिनलाई जन्म दिने तिनका आमाबुबाले तिनलाई यसो भन्नेछन्, ‘तँ बाँच्नेछैनस् किनकि तैँले यहोवा परमेश्वरको नाम लिएर झूट बोलिस्।’ अनि तिनलाई जन्म दिने तिनका आमाबुबाले तिनले गरेको भविष्यवाणीको कारण तिनलाई तरबारले छेड्नेछन्।+
४ “त्यो दिन प्रत्येक भविष्यवक्ता भविष्यवाणी गर्ने बेला आफूले देखेको दर्शनले* गर्दा लाजमा पर्नेछन् अनि तिनीहरूले भुत्लाबाट बनेको लुगा* लगाउन छोड्नेछन्,+ जुन लगाएर तिनीहरूले मानिसहरूलाई धोका दिने गर्थे। ५ अनि तिनले भन्नेछन्, ‘म भविष्यवक्ता होइनँ। म त खेतीकिसानी गर्ने मानिस हुँ किनकि म सानै छँदा मलाई एक जना मानिसले किनेको थियो।’ ६ अनि कसैले तिनलाई ‘तिम्रो शरीरमा* भएका यी चोटहरूचाहिँ के हो त?’ भनेर सोध्यो भने तिनले यस्तो जवाफ दिनेछन् ‘यी चोटहरू त मैले मेरा साथीहरूको* घरमा पाएका चोटहरू हुन्।’”
७ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “ए तरबार, मेरो गोठालोविरुद्ध उठ्,+
त्यस मानिसविरुद्ध उठ्, जो मेरो साथी हो।
गोठालोलाई प्रहार गर्+ र भेडाहरू तितरबितर होऊन्+
अनि म आफ्नो हात तुच्छहरूमाथि उठाउनेछु।”
८ यहोवा घोषणा गर्नुहुन्छ, “सारा देशमा भएका मानिसहरूमध्ये
दुई भाग काटिनेछन् र नष्ट हुनेछन्
अनि तेस्रो भागलाई चाहिँ छोडिनेछ।
९ म तेस्रो भागलाई आगोले खार्नेछु;
म तिनीहरूलाई चाँदी खारेझैँ खार्नेछु
अनि सुन जाँचेझैँ तिनीहरूलाई जाँच्नेछु।+
तिनीहरूले मलाई पुकार्नेछन्
अनि म तिनीहरूलाई जवाफ दिनेछु।
म भन्नेछु, ‘तिनीहरू मेरा मानिसहरू हुन्’+
अनि तिनीहरूले भन्नेछन्, ‘यहोवा हाम्रा परमेश्वर हुनुहुन्छ।’”