गन्ती
१७ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “इस्राएलीहरूलाई भनेर तिनीहरूको प्रत्येक कुलको कुलनायकबाट एक-एक वटा लौरो लिनू। यसरी सबै कुलको गरेर जम्मा १२ वटा लौरा होस्। अनि हरेक कुलनायकको लौरोमा तिनकै नाम लेख्नू।+ ३ लेविको कुलको लौरोमा चाहिँ हारुनको नाम लेख्नू किनभने प्रत्येक कुलनायकको लागि एउटा लौरो हुनेछ। ४ ती लौराहरू भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकअगाडि* राख्नू,+ जहाँ म सधैँजसो तिमीसामु प्रकट हुन्छु।+ ५ म जसलाई रोज्छु,+ तिनको लौरोमा कोपिला लाग्नेछ अनि मविरुद्ध+ र तिमीविरुद्ध+ गनगन गर्ने इस्राएलीहरूको मुख म बन्द गरिदिनेछु।”
६ अनि मोसाले यो कुरा इस्राएलीहरूलाई सुनाएपछि सबै कुलनायकले तिनलाई आ-आफ्नो लौरो दिए। प्रत्येक कुलको कुलनायकको निम्ति एउटा लौरो थियो। यसरी जम्मा १२ वटा लौरा भयो र त्यसमा हारुनको लौरो पनि थियो। ७ त्यसपछि मोसाले ती लौराहरू यहोवा परमेश्वरसामु साक्षीपाटी राखिएको पालमा राखे।
८ भोलिपल्ट मोसा साक्षीपाटी राखिएको पालभित्र जाँदा लेविको कुलको तर्फबाट राखिएको हारुनको लौरोमा कोपिला लागेको थियो अनि त्यसमा फूल फुलिरहेको थियो र कागजी बदाम पनि पाकिरहेको थियो। ९ मोसाले यहोवा परमेश्वरको सामनेबाट ती लौराहरू लिएर इस्राएलीहरूको समुदायकहाँ लगे। तिनीहरूले ती लौराहरू हेरे अनि प्रत्येकले आ-आफ्नो लौरो लिए।
१० त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हारुनको लौरो+ फेरि साक्षीपाटी राखिएको सन्दुकअगाडि राखिदेऊ र यो लौरो विद्रोह गर्नेहरूका+ लागि चिन्ह होस्।+ त्यसपछि तिनीहरूले मविरुद्ध गनगन गर्न बन्द गर्नेछन् र तिनीहरू मर्नुपर्नेछैन।” ११ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरिहाले। तिनलाई जसो भनिएको थियो, तिनले त्यसै गरे।
१२ तब इस्राएलीहरूले मोसालाई भने: “अब हामी पक्कै मर्नेछौँ, हामी कुनै हालतमा बच्नेछैनौँ, हाम्रो नामोनिसान मेटिनेछ! १३ यहोवा परमेश्वरको वासस्थानको* नजिक आउने जोसुकै पनि मारिनेछ!+ के अब हामी सबै मर्ने नै भयौँ त?”+