न्यायकर्ता
१४ केही समयपछि सिमसोन तिम्नाह गए अनि त्यहाँ तिनले एउटी पलिस्तियाली केटीलाई देखे। २ त्यसैले त्यहाँबाट फर्केपछि तिनले आफ्ना बुबाआमालाई भने: “तिम्नाहमा मैले एउटी पलिस्तियाली केटी देखेँ, ऊसँगै मेरो विवाह गराइदिनुहोस्।” ३ तर तिनका बुबाआमाले भने: “विवाह गर्नलाई आफ्नै नातागोतामा अनि हाम्रै मानिसहरूमाझ कुनै केटी पाएनौ?+ ती बेखतने पलिस्तियालीहरूकी छोरीसित किन विवाह गर्छौ?” तर सिमसोनले आफ्ना बुबालाई भने: “त्यही केटीसित मेरो विवाह गराइदिनुहोस्। मलाई त्यही केटी मन पर्छ।” ४ सिमसोनले यस्तो निर्णय गर्नुको पछाडि यहोवा परमेश्वरकै हात छ भनेर तिनका बुबाआमालाई थाह थिएन किनभने परमेश्वरले पलिस्तियालीहरूलाई आक्रमण गर्ने मौका खोजिरहनुभएको थियो। त्यतिबेला पलिस्तियालीहरूले इस्राएलीहरूमाथि शासन गरिरहेका थिए।+
५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्वरको पवित्र शक्ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्। ७ त्यसपछि सिमसोन ती केटीकहाँ गए र ऊसँग कुरा गरे अनि आफ्नो लागि सुहाउने केटी ऊ नै हो भनेर तिनी पक्का भए।+
८ पछि सिमसोन ती केटीलाई आफ्नो घर लैजान त्यस ठाउँमा फर्केर गए।+ बाटोमा जाँदै गर्दा तिनी आफूले मारेको सिंह हेर्न गए। त्यसको जीउमा मौरीले घार बनाएर मह पनि पारिसकेको थियो। ९ तब सिमसोनले मह काढेर हातैमा लिए अनि खाँदै हिँडे। तिनको अघिअघि हिँडिरहेका तिनका बुबाआमालाई भेटेपछि तिनले उनीहरूलाई पनि अलिकता मह दिए। तर त्यो मह सिंहको सिनुबाट काढिएको हो भनेर चाहिँ तिनले उनीहरूलाई भनेनन्।
१० पछि सिमसोन आफ्नो बुबासित त्यस केटीकहाँ गए र तिनले त्यहाँ एउटा ठूलो भोज दिए किनभने त्यतिबेला केटा पक्षले यसरी भोज दिने चलन थियो। ११ जब मानिसहरूले सिमसोनलाई देखे, तब तिनीहरूले दुलहासँगै बस्न ३० जना केटा ल्याइदिए। १२ त्यसपछि सिमसोनले ती केटाहरूलाई भने: “म तिमीहरूलाई एउटा गाउँखाने कथा भन्छु। भोज भइरहेको यो सात दिनभित्र तिमीहरूले त्यसको जवाफ बतायौ भने म तिमीहरूलाई मलमलको ३० वटा भित्री लुगा र ३० वटा बाहिरी लुगा दिनेछु। १३ तर तिमीहरूले जवाफ दिन सकेनौ भने मलाई मलमलको ३० वटा भित्री लुगा र ३० वटा बाहिरी लुगा दिनुपर्नेछ।” तब तिनीहरूले भने: “गाउँखाने कथा हामीलाई भन्नुहोस्, हामी सुन्न चाहन्छौँ।” १४ त्यसैले सिमसोनले तिनीहरूलाई भने:
“जसले अरूलाई खान्छ, उसबाट खानेकुरा निस्क्यो;
जो बलियो छ, उसबाट गुलियो कुरा निस्क्यो।”+
तीन दिनसम्म पनि तिनीहरूले यो गाउँखाने कथाको जवाफ पत्ता लगाउन सकेनन्। १५ चौथो दिन तिनीहरूले सिमसोनकी पत्नीलाई भने: “तिम्रो पतिलाई फकाऊ+ र त्यो गाउँखाने कथाको जवाफ फुत्काऊ। नत्र भने तिमीलाई र तिम्रो बुबाको घरका सबैलाई घरभित्र थुनेर घरैसमेत जलाइदिनेछौँ। बेकारमा हामीलाई लुट्न यहाँ किन बोलायौ?” १६ तब सिमसोनकी पत्नीले तिनीसामु रोइकराइ गर्दै यसो भनी: “तपाईँ मलाई माया गर्नुहुन्न, तपाईँ मलाई हेला गर्नुहुन्छ।+ तपाईँले मेरा मानिसहरूलाई एउटा गाउँखाने कथा भन्नुभयो तर त्यसको जवाफ मलाई बताउनुभएको छैन।” अनि सिमसोनले आफ्नी पत्नीलाई भने: “मैले मेरा बुबाआमालाई त त्यसको जवाफ भनेको छैनँ भने तिमीलाई चाहिँ किन भनूँ?” १७ तर सिमसोनकी पत्नीले सात दिनको भोज नसिद्धिउन्जेल दिनदिनै रोइकराइ गरिरही। यो देखेर सातौँ दिनमा सिमसोनले उसलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिए किनभने उसले ज्यादै कचकच गरिरहेकी थिई। त्यसपछि उसले आफ्ना मानिसहरूलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिई।+ १८ त्यसैले सातौँ दिन घाम अस्ताउनुअघि* सहरका मानिसहरू सिमसोनकहाँ आएर भने:
“महभन्दा गुलियो के हुन्छ?
अनि सिंहभन्दा बलियो के हुन्छ?”+
त्यसपछि सिमसोनले भने:
“मेरी तरुनी गाई नजोतेको भए+
तिमीहरूले त्यस गाउँखाने कथाको जवाफ कसरी भन्न सक्थ्यौ र!”
१९ त्यसपछि यहोवा परमेश्वरको पवित्र शक्तिले तिनलाई बल दियो+ र तिनी अस्कलोन+ गए। तिनले त्यहाँ ३० जना पुरुषलाई मारे र तिनीहरूको लुगा ल्याएर गाउँखाने कथाको जवाफ दिने ती मानिसहरूलाई दिए।+ त्यसपछि तिनी रिसले चूर हुँदै आफ्नो बुबाको घर फर्के।
२० अनि ती ३० जना केटामध्ये एक जनासित सिमसोनकी पत्नीको+ विवाह गराइयो।+