लेवी
२१ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “पुजारीहरू अर्थात् हारुनका छोराहरूलाई यसो भन्नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ २ तर रगतको नाता पर्ने आफ्नो आमा, बुबा, छोरा, छोरी, दाइ वा भाइको मृत्यु हुँदा चाहिँ तिनले आफूलाई अशुद्ध पार्न सक्छन्। ३ साथै तिनीसितै बस्ने तिनकी कुमारी दिदी वा बहिनी विवाह नहुँदै मरिन् भने तिनले उसको निम्ति पनि आफूलाई अशुद्ध पार्न सक्छन्। ४ तर आफ्ना मानिसहरूमध्ये कसैसित विवाह गरेकी स्त्रीको निम्ति भने तिनले आफूलाई अशुद्ध र अपवित्र नपारून्। ५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्,+ कुनाकुनासम्म दाह्री नकाटून् वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्।+ ६ तिनीहरू परमेश्वरसामु पवित्र होऊन्+ र तिनीहरूले यहोवाको नाम अपवित्र नपारून्+ किनभने तिनीहरूले उहाँको निम्ति आगोमा भेटी चढाउँछन् अर्थात् उहाँको निम्ति छुट्ट्याइएको खानेकुरा* चढाउँछन्। त्यसैले तिनीहरू पवित्र हुनै पर्छ।+ ७ तिनीहरूले वेश्यासित,+ बिटुलो भएकी स्त्रीसित वा पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित+ विवाह नगरून् किनभने पुजारीहरू परमेश्वरसामु पवित्र छन्। ८ तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्नू+ किनभने तिमीहरूका परमेश्वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्नू।+
९ “‘यदि कुनै पुजारीकी छोरीले वेश्यावृत्तिमा लागेर आफूलाई बिटुलो पारेमा उसले आफ्नो बुबाको अपमान गरेकी हुन्छे। त्यसैले उसलाई मार्नू र आगोमा जलाउनू।+
१० “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून् अनि आफ्नो लुगा नच्यातून्+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्त गरिएको छ। ११ तिनी कुनै लासको नजिक नजाऊन्;+ आफ्नो बुबा वा आमाको मृत्यु हुँदा समेत तिनले आफूलाई अशुद्ध नपारून्। १२ तिनी पवित्र स्थानभन्दा* बाहिर नजाऊन् र आफ्नो परमेश्वरको पवित्र स्थानलाई अपवित्र नपारून्+ किनभने समर्पणको चिन्हस्वरूप शिरमा पवित्र तेल खन्याएर तिनलाई अभिषेक गरिएको छ।+ म यहोवा हुँ।
१३ “‘तिनले कुमारी केटीसित विवाह गरून्।+ १४ तिनले विधवा, सम्बन्धविच्छेद भएकी स्त्री, बिटुलो भएकी स्त्री वा वेश्यासित विवाह नगरून्। बरु आफ्ना मानिसहरूमध्येबाट एउटी कुमारी केटीसित विवाह गरून्। १५ तिनले आफ्ना मानिसहरूमाझ आफ्नो वंशलाई बिटुलो नपारून्+ किनकि म यहोवा हुँ; मैले तिनलाई पवित्र पारेको छु।’”
१६ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: १७ “हारुनलाई भन, ‘तिम्रो सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ आफ्ना परमेश्वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन पवित्र ठाउँको नजिक नआओस्। तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। १८ शरीरमा यस्ता खोट भएका मानिसहरू पवित्र ठाउँको नजिक नजाऊन्: अन्धो, लङ्गडो, कुरूप अनुहार भएको,* एउटा हात वा एउटा खुट्टा लामो भएको, १९ एउटा हात वा एउटा खुट्टा भाँचिएको, २० कुप्रो, बामपुड्को,* आँखाको समस्या भएको, छालामा घाउ वा दाद आएको अथवा अण्डकोषमा चोट लागेको।+ २१ पुजारी हारुनका सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ यहोवा परमेश्वरको निम्ति आगोमा भेटी चढाउन नआओस्। शरीरमा खोट भएकोले ऊ परमेश्वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन नआओस्। २२ उसले परमेश्वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ। २३ तर ऊ पर्दानजिक+ अनि वेदीनजिक+ नआओस् किनभने उसको शरीरमा खोट छ। उसले मेरो पवित्र ठाउँलाई अपवित्र नपारोस्+ किनभने म यहोवाले तिनीहरूलाई पवित्र पारेको छु।’”+
२४ मोसाले हारुन, उनका छोराहरू अनि सबै इस्राएलीलाई यी सबै कुरा बताए।