गन्ती
१६ त्यसपछि लेविको पनाति,+ कोहातको नाति,+ इजहारको छोरा+ कोरहले+ रुबेनको कुलका+ एलिआबका छोराहरू+ दातान र अबिराम अनि पेलेथको छोरा ओनलाई आफ्नो पक्षमा लिए। २ अनि तिनीहरू मोसाविरुद्ध खडा भए। अरू २५० जना इस्राएली पुरुषले पनि तिनीहरूलाई साथ दिए। ती पुरुषहरू इस्राएलका कुलनायक, समुदायबाट चुनिएका र गण्यमान्य मानिस थिए। ३ तिनीहरूले मोसा र हारुनविरुद्ध खडा भएर यसो भने:+ “अब त अति भयो! यो पूरै समुदाय पवित्र छ,+ यहाँ भएका प्रत्येक व्यक्ति पवित्र छन् अनि यहोवा परमेश्वर तिनीहरूको माझमा हुनुहुन्छ।+ त्यसकारण तपाईँहरू किन आफूलाई यहोवाका यी मानिसहरूभन्दा माथि उचाल्नुहुन्छ?”
४ यो सुन्नेबित्तिकै मोसा भुईँमा घोप्टो परे। ५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ। ६ ए कोरह र तिनका सबै समर्थक हो,+ तिमीहरूले धुपौरो लिनू,+ ७ त्यसमा कोइला भर्नू र भोलि यहोवा परमेश्वरसामु त्यसमाथि धूप राख्नू। यहोवा परमेश्वरले जसलाई रोज्नुहुन्छ,+ ऊ नै पवित्र व्यक्ति हो। ए लेविका सन्तान हो,+ तिमीहरूले सीमा नाघेका छौ!”
८ त्यसपछि मोसाले कोरहलाई भने: “ए लेविका सन्तान हो, बिन्ती! मेरो कुरा सुन। ९ वासस्थानसित* सम्बन्धित कामकुरा गर्न र पूरै समुदायको अगाडि खडा भएर उनीहरूको सेवा गर्न+ इस्राएलका परमेश्वर यहोवाले तिमीहरूलाई समुदायबाट अलग्गै छुट्ट्याउनुभएको छ+ अनि तिमीहरूले उहाँसामु जाने सुअवसर पाएका छौ। के तिमीहरू यसलाई सानो कुरा ठान्छौ? १० अनि उहाँले तिमी र तिम्रा दाजुभाइ अर्थात् लेविका सन्तानलाई उहाँको नजिक आउन दिनुभएको छ। के तिमी पुजारी पद पनि हडप्न चाहन्छौ?+ ११ तिमी र तिम्रा समर्थकहरू वास्तवमा यहोवा परमेश्वरविरुद्ध खडा भइरहेका छौ। जहाँसम्म हारुनको कुरा छ, ऊ को हो र तिमीहरू उसको विरुद्ध गनगन गर्छौ?”+
१२ पछि मोसाले एलिआबका छोराहरू दातान र अबिरामलाई+ बोलाउन लगाए तर तिनीहरूले यस्तो जवाफ दिए: “अहँ, हामी आउँदैनौँ! १३ हामीलाई दूध र मह बग्ने देशबाट निकालेर तपाईँले यो के गर्न खोज्नुभएको? हामीलाई यस निर्जनभूमिमा मार्न चाहनुहुन्छ?+ त्यतिले मात्र नपुगेर के तपाईँ हाम्रो राजा पनि बन्न खोज्दै हुनुहुन्छ? १४ तपाईँले हामीलाई दूध र मह बग्ने त्यस्तो कुनै देशमा लैजानुभएको पनि छैन+ अनि हामीले पैतृक सम्पत्तिको रूपमा खेतबारी र अङ्गुर बगान पनि पाएका छैनौँ। के तपाईँ ती मानिसहरूको आँखामा छारो हाल्न खोज्दै हुनुहुन्छ? हामी तपाईँकहाँ आउँदैनौँ!”
१५ यो सुनेर मोसा एकदमै रिसाए र तिनले यहोवा परमेश्वरलाई भने: “यिनीहरूको अन्नभेटी नस्विकार्नुहोस्। मैले यिनीहरूको एउटै गधा लिएको छैनँ न त यिनीहरूमध्ये कसैको हानि नै गरेको छु।”+
१६ त्यसपछि मोसाले कोरहलाई भने: “तिमी र तिम्रा समर्थकहरू भोलि यहोवा परमेश्वरसामु हाजिर हुनू; हारुन पनि त्यहाँ आऊन्। १७ प्रत्येकले आ-आफ्नो धुपौरो ल्याएर त्यसमा धूप राख्नू; तिमी र हारुनका साथै तिम्रा २५० जना समर्थक आ-आफ्नो धुपौरो लिएर यहोवा परमेश्वरसामु आउनू।” १८ त्यसैले तिनीहरू प्रत्येकले आ-आफ्नो धुपौरो लिएर त्यसमा कोइला भरे र त्यसमाथि धूप हाले अनि मोसा र हारुनसँगै भेट हुने पालको* प्रवेशद्वारमा उभिए। १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्वरको महिमा पूरै समुदायसामु देखा पऱ्यो।+
२० तब यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २१ “यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+
२३ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २४ “सारा समुदायलाई भन, ‘कोरह, दातान र अबिरामको पालबाट पर हट।’”+
२५ अनि मोसा उठेर दातान र अबिरामकहाँ गए र इस्राएलका नाइकेहरू+ पनि तिनीसँगै गए। २६ मोसाले सारा समुदायलाई यसो भने: “कृपया यी दुष्ट मानिसहरूको पालबाट पर हट अनि यिनीहरूको कुनै पनि कुरा नछोओ नत्र यिनीहरूको पापले गर्दा तिमीहरू पनि यिनीहरूसँगै भस्म हुनेछौ।” २७ यो सुन्नेबित्तिकै कोरह, दातान र अबिरामको पालको छेउछाउमा भएका मानिसहरू पर हटे अनि दातान र अबिराम बाहिर निस्के र आफ्ना पत्नी र बालबच्चासँगै आ-आफ्नो पालको प्रवेशद्वारमा उभिए।
२८ अनि मोसाले भने: “मैले जे-जे गरेँ, ती सबै आफ्नै तर्फबाट गरेको होइनँ तर यहोवा परमेश्वरले नै त्यसो गर्न मलाई पठाउनुभएको हो भनेर अब तिमीहरूले यसबाट थाह पाउनेछौ: २९ यदि यिनीहरूको मृत्यु अरू मानिसको जसरी नै भयो र यिनीहरूले अरू मानिसले जस्तै सजाय भोगे भने यहोवा परमेश्वरले मलाई पठाउनुभएको होइन।+ ३० तर यहोवा परमेश्वरले केही अनौठो काम गर्नुभयो र जमिन फाटेर* यिनीहरू जिउँदै चिहानमा* पुरिए र यिनीहरूका सबै थोक जमिनले निल्यो भने यिनीहरूले यहोवा परमेश्वरको अनादर गरेका रहेछन् भनेर तिमीहरूले थाह पाउनू।”
३१ मोसाले यी कुरा भन्नेबित्तिकै ती मानिसहरू उभिरहेको जमिन फाट्यो।+ ३२ अनि जमिनले आफ्नो मुख खोलेर तिनीहरू र तिनीहरूको घरपरिवारका साथै कोरहका समर्थकहरू+ र तिनीहरूका सबै थोक निल्यो। ३३ यसरी जमिन फाटेर तिनीहरू र तिनीहरूको पछि लाग्ने सबै जिउँदै चिहानमा* पुरिए र जमिन फेरि जोडियो। अनि इस्राएलीहरूको माझबाट तिनीहरूको नामोनिसान मेटियो।+ ३४ तिनीहरू चिच्याएको सुनेर वरपरका इस्राएलीहरू यसो भन्दै भागाभाग गर्न थाले: “भागौँ! नत्र यो जमिनले हामीलाई पनि निल्ला!” ३५ त्यसपछि यहोवा परमेश्वरले आगो बर्साउनुभयो+ र धूप चढाइरहेका २५० जना भस्म भए।+
३६ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ३७ “पुजारी हारुनका छोरा एलियाजारलाई आगोबाट धुपौराहरू झिक्न लगाउनू+ किनभने ती पवित्र छन्। अनि त्यसको खरानी अलि टाढा लगेर छर्न लगाउनू। ३८ पाप गरेकोले आफ्नो ज्यान गुमाउनुपरेका पुरुषहरूको धुपौरो लिएर मसिना पाताहरू बनाउनू र त्यसले वेदीलाई+ मोहोर्नू; ती धुपौराहरू यहोवा परमेश्वरलाई चढाइएकोले पवित्र छन्। यो सारा इस्राएलीहरूको निम्ति एउटा चिन्ह होस्।”+ ३९ तब पुजारी एलियाजारले आगोले भस्म भएका पुरुषहरूले चढाएका तामाका धुपौराहरू लिए र त्यसलाई पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाए। ४० यहोवा परमेश्वरले मोसामार्फत तिनलाई जे भन्नुभएको थियो, तिनले त्यसै गरे। हारुनको सन्तानबाहेक अरू कसैले* यहोवा परमेश्वरसामु धूप बाल्नु हुँदैन+ अनि कोही पनि कोरह र तिनका समर्थकहरूजस्तो हुनु हुँदैन+ भनेर इस्राएलीहरूका लागि यो चेतावनी थियो।
४१ त्यसको भोलिपल्टै इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनविरुद्ध यसो भन्दै गनगन गर्न थाले:+ “तपाईँहरू दुई जनाले गर्दा यहोवाका जनहरू मर्नुपऱ्यो।” ४२ मोसा र हारुनविरुद्ध खडा हुन इस्राएलीहरूको सारा समुदाय एक ठाउँमा भेला भएर भेट हुने पालतिर फर्कँदा बादलले पाललाई ढाक्यो र यहोवा परमेश्वरको महिमा प्रकट हुन थाल्यो।+
४३ तब मोसा र हारुन भेट हुने पालअगाडि गए।+ ४४ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ४५ “तिमीहरू यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ यो सुन्नेबित्तिकै तिनीहरू दुवै जना भुईँमा घोप्टो परे।+ ४६ तब मोसाले हारुनलाई भने: “धुपौरो लिएर त्यसमा वेदीबाट कोइला भर्नुहोस्+ र त्यसमाथि धूप राख्नुहोस्। त्यसपछि तुरुन्तै सारा समुदायकहाँ गएर तिनीहरूको निम्ति प्रायश्चित गरिदिनुहोस्+ किनभने यहोवा परमेश्वरको क्रोध दन्किसकेको छ। उहाँले तिनीहरूमाथि विपत्ति ल्याइसक्नुभएको छ!” ४७ हारुनले मोसाले भनेझैँ गरे; तिनी धुपौरो लिएर तुरुन्तै समुदायकहाँ दौडेर गए। अनि हेर! विपत्ति सुरु भइसकेको थियो। त्यसैले तिनले धुपौरोमा धूप राखे र मानिसहरूको निम्ति प्रायश्चित गर्न थाले। ४८ तिनी जिउँदा र मुर्दाहरूको बीचमा उभिरहे; अन्तमा विपत्ति थामियो। ४९ कोरहको पछि लागेकोले मरेकाहरूबाहेक यस विपत्तिमा मर्नेहरूको सङ्ख्या १४ हजार ७ सय थियो। ५० विपत्ति थामिएपछि हारुन मोसालाई भेट्न भेट हुने पालको प्रवेशद्वारमा फर्के।