दोस्रो इतिहास
३ त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो। २ तिनले आफ्नो शासनकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन त्यो भवन बनाउन सुरु गरे। ३ तिनले साँचो परमेश्वरको भवनको जग हाले। उहिले-उहिलेको नापअनुसार* जगको लम्बाइ ६० हात र चौडाइ २० हात थियो।+ ४ भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ १२०* थियो। तिनले त्यस दलानको भित्री भाग निखुर सुनले मोहोरे।+ ५ अनि तिनले ठूलो कोठामा* धुपीको फल्याक लगाए र त्यसलाई निखुर सुनले मोहोरे।+ त्यसपछि तिनले त्यस कोठालाई खजुरको बोटका आकृतिहरू+ र सिक्रीहरूले सजाए।+ ६ तिनले त्यस भवनमा सुन्दर-सुन्दर बहुमूल्य रत्नहरू पनि जडे।+ त्यस भवनमा तिनले प्रयोग गरेको सुन+ पर्वैमबाट ल्याइएको थियो। ७ तिनले त्यो भवन, त्यसका दलिनहरू, सँघारहरू, भित्ताहरू र ढोकाहरू सुनले मोहोरे।+ तिनले भित्ताहरूमा करूबहरूको आकृति खोपे।+
८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+ ९ किलाहरू बनाउन ५० शेकेल* सुन प्रयोग गरिएको थियो। सुलेमानले छतका कोठाहरू पनि सुनले मोहोरे।
१० त्यसपछि तिनले महापवित्र कोठामा करूबको दुई वटा प्रतिमा बनाए र त्यसलाई सुनले मोहोरे।+ ११ दुइटै करूबका+ पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। एउटा करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले चाहिँ अर्को करूबको एउटा पखेटा छोएको थियो। १२ त्यसैगरि अर्को करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको अर्कोपट्टिको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले पहिलो करूबको एउटा पखेटा छोएको थियो। १३ ती करूबहरूको पखेटा फिँजिएको थियो र दुइटै करूबका पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। ती करूबहरू सीधा उभिएका थिए र तिनीहरूको मुहार ठूलो कोठातर्फ* फर्किएको थियो।
१४ तिनले निलो धागो, बैजनी ऊन, गाढा रातो धागो र उच्च कोटीको मलमलको पर्दा पनि बनाए+ र त्यसमा करूबहरूको आकृति बनाए।+
१५ त्यसपछि तिनले भवनको अघिल्तिरको भागमा दुई वटा खम्बा बनाए।+ त्यसको लम्बाइ ३५ हात थियो। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो।+ १६ तिनले हारजस्तै देखिने सिक्रीहरू बनाए र ती सिक्रीहरूले खम्बाको शिर सजाइदिए। त्यसपछि तिनले १०० वटा अनारका आकृति बनाए र ती आकृतिहरू सिक्रीहरूमा लगाइदिए। १७ तिनले ती खम्बाहरू मन्दिरको अघिल्तिरको भागमा ठड्याए—एउटा दायाँतिर* अनि अर्कोचाहिँ बायाँतिर।* तिनले दायाँतिरको खम्बाको नाम याकिन* राखे र बायाँतिरको खम्बाको नामचाहिँ बोअज* राखे।