दानिएल
९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+ २ तिनको शासनको पहिलो वर्षमा म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्वरले भविष्यवक्ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+ ३ त्यसैले मैले साँचो परमेश्वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+ ४ मैले मेरा परमेश्वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ:
“हे साँचो परमेश्वर यहोवा, जो महान् र आश्चर्यजनक कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम* देखाउनुहुन्छ।+ ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ। ६ तपाईँका सेवकहरू अर्थात् तपाईँका भविष्यवक्ताहरूको कुरा हामीले सुनेनौँ,+ जसले हाम्रा राजाहरूलाई, भारदारहरूलाई, पुर्खाहरूलाई र देशका सबै मानिसलाई तपाईँ के चाहनुहुन्छ भनी तपाईँको नाममा बताएका थिए। ७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन् किनकि तिनीहरूले तपाईँलाई विश्वासघात गरेका छन्।+
८ “हे यहोवा! हामी अनि हाम्रा राजाहरू, भारदारहरू र पुर्खाहरू सबै लज्जित भएका छौँ किनकि हामीले तपाईँविरुद्ध पाप गरेका छौँ। ९ यहोवा हाम्रा परमेश्वर कृपालु र क्षमा गर्ने परमेश्वर हुनुहुन्छ+ तर हामीले उहाँको विद्रोह गरेका छौँ।+ १० यहोवा हाम्रा परमेश्वरको स्वर हामीले सुनेनौँ, उहाँले आफ्ना सेवकहरू अर्थात् आफ्ना भविष्यवक्ताहरूमार्फत दिनुभएका आज्ञाहरू हामीले पालन गरेनौँ।+ ११ सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्घन गरेका छन्; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ। १२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+ १३ मोसाको व्यवस्थामा लेखिएअनुसारै यी सबै विपत्ति हामीमाथि आइपरे।+ तैपनि आफ्नो खराब मार्गबाट फर्केर+ अनि उहाँको सत्यलाई बुझेर* यहोवा हाम्रा परमेश्वरको निगाह पाउन हामीले उहाँसित बिन्ती गरेनौँ।
१४ “यहोवा परमेश्वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+
१५ “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने+ र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने+ हे यहोवा हाम्रा परमेश्वर, हामीले पाप गरेका छौँ अनि दुष्ट काम गरेका छौँ। १६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस् र तपाईँको क्रोध शान्त होस् किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्।+ १७ हे हाम्रा परमेश्वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस् र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्।+ १८ हे मेरा परमेश्वर, सुन्नुहोस्! आँखा उघार्नुहोस् र हाम्रो दयनीय अवस्था हेर्नुहोस्, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+ १९ हे यहोवा, सुन्नुहोस्! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्! हे मेरा परमेश्वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस् किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्।”+
२० मैले प्रार्थना गरिरहेको बेला अनि आफ्नो र आफ्ना मानिस इस्राएलीहरूको पाप स्विकारिरहेको बेला अनि मेरा परमेश्वरको पवित्र डाँडामाथि निगाह देखाउन मेरा परमेश्वर यहोवालाई बिन्ती चढाइरहेको बेला,+ २१ हो, मैले प्रार्थना गरिरहेकै बेला गब्रिएल,+ जसलाई मैले पहिला पनि दर्शनमा* देखेको थिएँ,+ मकहाँ आए। त्यसबेला म साह्रै लखतरान भएको थिएँ र साँझको भेटी चढाउने बेला भएको थियो। २२ तिनले मलाई यसो भनेर बुझाए:
“हे दानिएल, म तिमीलाई सबै कुरा बुझ्ने अन्तर्दृष्टि* र समझ दिन आएको हुँ। २३ तिमीले बिन्ती गर्न थालेपछि एउटा सन्देश दिइयो र म तिमीलाई त्यो सन्देश सुनाउन आएको हुँ। किनकि तिमी अतिप्रिय* छौ।+ त्यसैले मेरो कुरा सुन र दर्शन बुझ।
२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ। २५ यो कुरा जान र बुझ, यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्ने वचन निस्केको समयदेखि+ मसीह*+ अर्थात् अगुवाइ लिने+ जन देखा पर्ने बेलासम्म ७ हप्ता र ६२ हप्ता बित्नेछ।+ चोक र नहरसहित यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गरिनेछ। तर यो सब विपद्को समयमा गरिनेछ।
२६ “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+
“अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्वरले त्यसलाई नाश गर्ने निश्चय गरिसक्नुभएको छ।+
२७ “अनि धेरैका निम्ति तिनले करारलाई एक हप्तासम्म कायम राख्नेछन् अनि त्यस हप्ताको बीचमा तिनले बलिदान र भेटीको अन्त गर्नेछन्।+
“अनि विनाश गर्ने व्यक्ति अशुद्ध कुराको पखेटामा सवार भएर आउनेछन्।+ अनि जुन कुरा परमेश्वरले निश्चय गरिसक्नुभएको छ, त्यो कुरा उजाड रहेको ठाउँमाथि पनि आइपर्नेछ, जबसम्म त्यो नामेट हुँदैन।”