उपदेशक
१२ त्यसैले युवावस्थामै आफ्नो महान् सृष्टिकर्ताको सम्झना गर,+ दुःखका* दिनहरू आउनुअघि नै,+ जब तिमीले भन्नेछौ, “अब त केही गर्ने मन छैन।” २ घाम, जून र ताराको उज्यालो अन्धकारमा परिणत हुनुअघि नै;+ मुसलधारे पानी परेर फेरि बादल मडारिनुअघि नै; ३ जब घरका पहरेदारहरू थरथर काँप्न थाल्छन्, बलिया मानिसहरू कुप्रो पर्छन्, सङ्ख्यामा थोरै भएकाले स्त्रीहरू जाँतो पिँध्न छोड्छन् र झ्यालबाहिर चियाएर हेर्ने स्त्रीहरूको सामुन्ने अन्धकार छाउँछ;+ ४ जब बाटोमा जाने ढोकाहरू बन्द गरिन्छन्, जाँतोको आवाज मधुरो हुँदै जान्छ, चराको चिरबिर सुनेर मान्छेको निद्रा भङ्ग हुन्छ र छोरीहरूको गीत मधुरो हुँदै जान्छ;+ ५ जब मानिसलाई अग्ला-अग्ला ठाउँमा जाँदा कहाली लाग्छ र ऊ सडकमा खुलेआम हिँड्न डराउँछ; जब कागजी बदामको रूखमा फूल फुल्छ,+ फट्याङ्ग्रा घस्रेर हिँड्न थाल्छ, कबरा* पाकेर फुट्छ अनि मानिस आफ्नो स्थायी निवासतर्फ लाग्छ+ र बाटोमा शोक गर्नेहरूको ताँती लाग्छ;+ ६ जब चाँदीको धागो चुँडिन्छ, सुनको कचौरा चर्किन्छ, पानीको मुहानमा भएको गाग्रो फुट्छ र कुवाबाट पानी उघाउने घिर्नी टुक्राटुक्रा हुन्छ; ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्तिचाहिँ* जीवन दिने साँचो परमेश्वरकहाँ फर्कन्छ।+
८ उपदेशक*+ भन्छन्, “व्यर्थ! व्यर्थ! सबै कुरा व्यर्थ छ!”+
९ उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई आफूले जाने-बुझेको कुरा पनि सिकाइरहे।+ साथै उपदेशहरूको सङ्ग्रह तयार पार्न* तिनले निकै सोचविचार गरे र विभिन्न कुराको खोज-अनुसन्धान पनि गरे।+ १० उपदेशकले मीठामीठा शब्दहरू छाने+ र सत्य कुराहरू लेख्न ठीकठीक शब्द चलाए।
११ बुद्धिमान् मानिसका कुराहरू सुइरोजस्तै* हुन्छन्;+ तिनले सङ्कलन गरेका भनाइहरू दह्रोसित ठोकिएका किलाहरूजस्तै हुन्छन्। किनकि ती सब एकै जना गोठालोबाट आएका हुन्। १२ तर हे मेरो छोरो, यीबाहेक अरू कुरामा ध्यान नदेऊ किनकि पुस्तकहरू लेख्ने कामको अन्त कहिल्यै हुँदैन र तिनको धेरै अध्ययन गर्नेले आफैलाई थकाउँछ।+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+ १४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+