मर्कुसका अनुसार
८ त्यसैगरि अर्को एक चोटि मानिसहरूको ठूलो भीड जम्मा भएको थियो र तिनीहरूसित खानलाई केही थिएन। त्यसैले उहाँले चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: २ “यो भीड देखेर मलाई साह्रै दया लाग्यो+ किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन।+ ३ मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मुर्छा पर्नेछन्। तिनीहरूमध्ये कोही-कोही त निकै टाढाबाट आएका छन्।” ४ तर चेलाहरूले उहाँलाई भने: “यस्तो अनकन्टार ठाउँमा यत्तिका मानिसहरूलाई पुग्ने रोटी कहाँबाट ल्याउने?” ५ तिनीहरूको कुरा सुनेर उहाँले सोध्नुभयो: “तिमीहरूसित कति वटा रोटी छ?” तिनीहरूले जवाफ दिए: “सात वटा।”+ ६ तब उहाँले भीडलाई चौरमा बस्न अह्राउनुभयो अनि सात वटा रोटी लिएर धन्यवाद चढाएपछि भाँच्नुभयो। त्यसपछि ती रोटीहरू बाँड्नको लागि चेलाहरूलाई दिन थाल्नुभयो र तिनीहरूले भीडलाई बाँडे।+ ७ तिनीहरूसित केही साना माछाहरू पनि थिए। अनि धन्यवाद चढाएपछि उहाँले ती माछाहरू पनि बाँड्न लगाउनुभयो। ८ यसरी तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ९ खानेहरूमध्ये ४ हजारजति पुरुष थिए। त्यसपछि उहाँले तिनीहरूलाई बिदाबारी गरेर पठाउनुभयो।
१० अनि उहाँ तुरुन्तै आफ्ना चेलाहरूसित डुङ्गा चढेर दलमनुथाको इलाकामा आउनुभयो।+ ११ त्यहाँ फरिसीहरू आए र उहाँसित वादविवाद गर्न थाले अनि स्वर्गबाट एउटा चिन्ह मागेर उहाँको परीक्षा लिन खोजे।+ १२ तिनीहरूको कुरा सुनेर उहाँ मनमनै असाध्यै दुःखी हुनुभयो र भन्नुभयो: “यस पुस्ताले किन चिन्ह खोज्छ?+ म साँच्चै भन्छु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”+ १३ यति भनिसकेपछि तिनीहरूलाई त्यहीँ छोडेर उहाँ फेरि डुङ्गा चढ्नुभयो र पारि जानुभयो।
१४ तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से र तिनीहरूसित डुङ्गामा एउटा रोटीबाहेक अरू केही खानेकुरा थिएन।+ १५ उहाँले तिनीहरूलाई प्रस्टै यस्तो चेतावनी दिनुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि* होसियार रहो।”+ १६ त्यसैले तिनीहरू रोटी नल्याएको विषयलाई लिएर आपसमा भनाभन गर्न थाले। १७ यो थाह पाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “रोटी नल्याएको विषयलाई लिएर तिमीहरू किन आपसमा भनाभन गर्छौ? के तिमीहरूले अझै पनि थाह पाएनौ? अनि यसको अर्थ बुझ्न सकेनौ? के तिमीहरूको हृदय बुझ्नै नसक्नेगरि बोधो भयो? १८ ‘के तिमीहरू आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ?’ के तिमीहरूले बिर्स्यौ, १९ मैले पाँच वटा रोटी भाँचेर+ ५ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति डालो टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “बाह्र।”+ २० “मैले सात वटा रोटी भाँचेर ४ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति वटा ठूला डालामा टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “सात।”+ २१ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरूले अझै बुझेनौ?”
२२ तब उहाँहरू बेथसेदा पुग्नुभयो। यहाँ मानिसहरूले उहाँकहाँ एक जना अन्धो मानिस ल्याए र उसलाई छोइदिन उहाँलाई बिन्ती गरे।+ २३ अनि उहाँले त्यस अन्धो मानिसको हात समाएर गाउँबाहिर लैजानुभयो। त्यसपछि उहाँले उसको आँखामा थुक्नुभयो+ र ऊमाथि हात राख्दै सोध्नुभयो: “के तिमी केही देख्दै छौ?” २४ त्यस मानिसले अगाडि हेऱ्यो र भन्यो: “म मानिसहरू देख्दै छु तर तिनीहरू यताउता हिँडिरहेका रूखहरूजस्तै देखिन्छन्।” २५ उहाँले फेरि त्यस मानिसको आँखामा हात राख्नुभयो। त्यसपछि ऊ निको भयो र सबै कुरा छर्लङ्गै देख्न थाल्यो। २६ अनि उहाँले उसलाई यसो भनेर घर पठाउनुभयो: “तिमी गाउँतिर चाहिँ नपस्नू।”
२७ तब त्यहाँबाट येसु र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूतिर जानलाई निस्कनुभयो र बाटोमा जाँदै गर्दा उहाँले चेलाहरूलाई सोध्न थाल्नुभयो: “म को हुँ भन्नेबारे मानिसहरू के भन्दै छन्?”+ २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+ ३० अनि उहाँले तिनीहरूलाई उहाँबारे कसैलाई नबताउनू भनी कडा चेतावनी दिनुभयो।+ ३१ साथै उहाँले तिनीहरूलाई मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तीन दिनपछि ब्युँतनु आवश्यक छ भनेर सिकाउन थाल्नुभयो।+ ३२ हो, उहाँले सबैको अगाडि यो कुरा भन्दै हुनुहुन्थ्यो। तर पत्रुसले उहाँलाई अलग्गै लगेर हप्काउन थाले।+ ३३ तब फनक्क फर्केर उहाँले चेलाहरूतिर हेर्नुभयो र पत्रुसलाई हप्काउँदै यसो भन्नुभयो: “ए सैतान, यहाँबाट गइहाल! किनकि तिम्रो सोचाइ परमेश्वरको होइन तर मानिसहरूको हो।”+
३४ त्यसपछि उहाँले भीड र चेलाहरूलाई एकसाथ आफूकहाँ बोलाएर यसो भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+ ३५ किनकि जसले आफ्नो ज्यान* बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान* गुमाउँछ, उसले त्यो बचाउनेछ।+ ३६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान* गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ ३७ साँच्चै, मानिसले आफ्नो ज्यानको* सट्टामा के दिन सक्छ र?+ ३८ किनकि विश्वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्नेछ।”+