लुकाका अनुसार
१४ एकचोटि विश्रामदिनमा* उहाँ फरिसीहरूका* अगुवाहरूमध्ये एक जनाको घरमा खाना खान जानुभएको थियो र तिनीहरूले उहाँलाई नियालिरहेका थिए। २ अनि हेर! जलोदर* भएको एक जना मानिस उहाँको अगाडि थियो। ३ त्यसैले येसुले व्यवस्थामा पोख्त मानिसहरू र फरिसीहरूलाई सोध्नुभयो: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्घन हुन्छ कि हुँदैन?”+ ४ तर तिनीहरू चुप लागेर बसे। यो देखेर उहाँले त्यस मानिसलाई छोएर निको पार्नुभयो र उसलाई त्यहाँबाट पठाउनुभयो। ५ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफ्नो छोरा वा गोरु विश्रामदिनमा इनारमा खस्यो भने+ त्यसलाई तुरुन्तै बाहिर निकाल्दैन?”+ ६ तिनीहरूले यसको जवाफै दिन सकेनन्।
७ तब त्यहाँ आएका निम्तालुहरूले मुख्यमुख्य आसन रोजेको देखेर उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो।+ उहाँले भन्नुभयो: ८ “कसैले तिमीलाई विवाहभोजमा निम्त्याउँदा अगाडि गएर सबैभन्दा मुख्य आसनमा नबस।+ सायद तिमीभन्दा पनि प्रतिष्ठित मानिसलाई त्यहाँ निम्त्याइएको हुन सक्छ। ९ अनि तिमीहरू दुवैलाई निम्त्याउने मानिस आएर तिमीलाई यसो भन्नेछ: ‘उहाँलाई यो ठाउँ छोडिदिनुहोस्।’ अनि तिमी लाजले भुतुक्क हुँदै सबैभन्दा पछाडि गएर बस्नुपर्नेछ। १० बरु तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।+ ११ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+
१२ त्यसपछि उहाँले आफूलाई निम्तो दिने मानिसलाई पनि यसो भन्नुभयो: “तिमीले दिउँसो वा बेलुकी कसैलाई खान बोलाउँदा आफ्ना साथीहरू, दाजुभाइहरू, नातेदारहरू वा धनी छिमेकीहरूलाई नबोलाऊ। किनकि तिनीहरूले पनि तिमीलाई कुनै बेला खान बोलाउलान् र हिसाबकिताब बराबर हुनेछ। १३ तर तिमीले भोज दिँदा गरिबहरू, अपाङ्गहरू, लुला-लङ्गडाहरू र अन्धाहरूलाई निम्तो देऊ+ १४ र तिमी आनन्दित हुनेछौ किनकि त्यसको साटो तिर्न तिनीहरूसित केही पनि हुँदैन। अनि धर्मीहरू फेरि जीवित हुँदा+ तिमीले त्यसको इनाम पाउनेछौ।”
१५ यो कुरा सुनेर निम्तालुहरूमध्ये एक जनाले उहाँलाई यसो भन्यो: “आनन्दित हो त्यो मानिस, जसले परमेश्वरको राज्यमा भोजन गर्नेछ।”
१६ येसुले उसलाई भन्नुभयो: “एक जना मानिसले भव्य रात्रिभोज तयार गऱ्यो+ र धेरैलाई निम्तो दियो। १७ भोज सुरु हुने बेला भएपछि उसले आफ्नो दासलाई निम्तालुहरूकहाँ यसो भन्न पठायो: ‘आउनुहोस्, सबै कुरा तयार भइसक्यो।’ १८ तर तिनीहरू सबका सबले बहाना बनाउन थाले।+ पहिलोले उसलाई भन्यो: ‘मैले एउटा खेत किनेकोले त्यो हेर्न जानु छ। त्यसैले माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ १९ अर्कोले भन्यो: ‘मैले पाँच हल* गोरु किनेकोले ती हेर्न जाँदै छु। त्यसैले माफ गर्नुहोस्, म आउन सक्दिनँ।’+ २० अर्कोचाहिँले भन्यो: ‘मैले भर्खरै विवाह गरेँ। त्यसैले म आउन सक्दिनँ।’ २१ तब त्यो दासले फर्केर आफ्नो मालिकलाई सबै कुरा बताइदियो। यो सुनेर घरमालिक रिसायो र आफ्नो दासलाई भन्यो: ‘तुरुन्तै मूलबाटो र सहरका गल्लीहरूमा जाऊ अनि गरिबहरू, अपाङ्गहरू, अन्धाहरू र लुला-लङ्गडाहरूलाई यहाँ ल्याऊ!’ २२ केही बेरपछि दासले भन्यो: ‘मालिक, तपाईँले भनेजस्तै गरेँ, तैपनि ठाउँ अझै बाँकी छ।’ २३ त्यसैले मालिकले दासलाई भन्यो: ‘सडकसडकमा र गल्लीगल्लीमा जाऊ अनि मानिसहरूलाई आउन कर गर ताकि मेरो घर भरियोस्।+ २४ म तिमीलाई भन्छु, निम्तालुहरूमध्ये कसैले पनि मैले दिएको भोज चाख्न पाउनेछैन।’”+
२५ तब मानिसहरूको भीड उहाँसँगै यात्रा गर्दै थियो अनि उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो: २६ “यदि कोही मकहाँ आउँछ र आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीलाई अनि आफैलाई समेत घृणा गर्दैन* भने+ ऊ मेरो चेला बन्न सक्दैन।+ २७ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।+ २८ उदाहरणका लागि, तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन? २९ उसले जग त हाल्यो तर धरहराचाहिँ बनाउन सकेन भने देख्नेहरूले उसको गिल्ला गर्दै ३० यसो भन्न थाल्नेछन्: ‘यो मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन भने सकेन।’ ३१ अथवा अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिँ राजाले आफ्ना १० हजार सिपाही लिएर उसको २० हजारसित आफू लड्न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? ३२ यदि लड्न सकिँदैन भन्ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ। ३३ त्यसैगरि यो कुरा पक्का हो कि तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।+
३४ “नुन अवश्य राम्रो हो। तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो बनाउने?+ ३५ त्यो न माटोमा हाल्न न त मलमा मिसाउन नै काम लाग्छ। मानिसहरूले त्यसलाई फ्याँकिदिनेछन्। जसको सुन्ने कान छ, उसले सुनोस्।”+