अध्याय ८४
चेला बन्नु—कत्तिको गम्भीर जिम्मेवारी?
चेला बन्दा चुकाउनुपर्ने मोल
फरिसीहरूको एक जना अगुवाको घरमा खाना खानुहुँदा येसुले एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभएको छ। उहाँ यरुसलेमको यात्रा अघि बढाउनुहुन्छ र मानिसहरूको ठूलो भीड उहाँसँगै यात्रा गर्छ। किन? के तिनीहरू जस्तोसुकै जिम्मेवारी पूरा गर्नुपरे तापनि येसुको साँचो अनुयायी हुन साँच्चै इच्छुक छन्?
यात्राको दौडान येसु तिनीहरूलाई यस्तो कुरा भन्नुहुन्छ, जुन कुरा सुनेर कोही-कोही स्तब्ध भएका हुन सक्छन्। उहाँ भन्नुहुन्छ: “यदि कोही मकहाँ आउँछ र आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीलाई अनि आफैलाई समेत घृणा गर्दैन भने ऊ मेरो चेला बन्न सक्दैन।” (लुका १४:२६) येसु के भन्न खोज्दै हुनुहुन्छ?
येसुले उहाँको अनुयायी बन्ने सबैले आफ्नो परिवारलाई साँच्चै घृणा गर्नुपर्छ भन्न खोज्नुभएको होइन। बरु तिनीहरूलाई घृणा गर्नुको अर्थ येसुलाई भन्दा परिवारका सदस्यहरूलाई धेरै प्रेम गर्नु हुँदैन भन्नुभएको हो। उनीहरू येसुको उदाहरणको त्यो मानिसजस्तो हुनु हुँदैन, जसले भर्खरै विवाह गरेकोले रात्रिभोजको विशेष निम्तो अस्वीकार गऱ्यो। (लुका १४:२०) बाइबलमा यहुदीहरूको पुर्खा याकुबले लेआलाई “घृणा” गर्थे र राहेललाई माया गर्थे भनिएको छ। यसको मतलब तिनले लेआलाई भन्दा उनकी बहिनी राहेललाई धेरै माया गर्थे।—उत्पत्ति २९:३१; फुटनोट।
याद गर्नुहोस्, येसुले उहाँको चेला बन्न चाहने व्यक्तिले “आफैलाई समेत” घृणा गर्नुपर्छ भन्नुभएको छ। यसको अर्थ उहाँको साँचो चेलाले आफूलाई भन्दा येसुलाई धेरै प्रेम गर्नुपर्छ, आवश्यक परेमा आफ्नो जीवन दिन समेत इच्छुक हुनुपर्छ। स्पष्ट छ, ख्रिष्टको चेला बन्नु एउटा गम्भीर जिम्मेवारी हो। यसलाई खेलाँची सम्झनु हुँदैन, यो जिम्मेवारी वहन गर्नुअघि राम्ररी सोचविचार गर्नुपर्छ।
उहाँको चेला बन्ने व्यक्तिले विभिन्न कठिनाइ र खेदो सहनुपर्ने हुन सक्छ भन्ने कुरा सङ्केत गर्दै येसु यसो भन्नुहुन्छ: “जो आफ्नो यातनाको खम्बा बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।” (लुका १४:२७) हो, येसुको साँचो चेला बन्न चाहने व्यक्ति उहाँजस्तै गिल्ला सहन इच्छुक हुनुपर्छ। येसुले आफू शत्रुहरूको हातबाट मारिने कुरासमेत बताउनुभएको छ।
त्यसैले येसुसँगै यात्रा गरिरहेको भीडले ख्रिष्टको चेला बन्नुको अर्थ के हो भन्ने कुरा राम्ररी केलाउनुपर्छ। यो कुरा जोड दिन येसु एउटा उदाहरण चलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: ‘तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन? उसले जग त हाल्यो तर धरहराचाहिँ बनाउन सकेन भने देख्नेहरूले उसको गिल्ला गर्नेछन्।’ (लुका १४:२८, २९) त्यसैले येसुसँगै यरुसलेमको यात्रा गरिरहेकाहरूले उहाँको चेला बन्नुअघि यो जिम्मेवारी राम्ररी पूरा गर्ने सङ्कल्प गरेको हुनुपर्छ। यो कुरालाई अझै जोड दिन उहाँ अर्को उदाहरण चलाउनुहुन्छ:
“अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिँ राजाले आफ्ना १० हजार सिपाही लिएर उसको २० हजारसित आफू लड्न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? यदि लड्न सकिँदैन भन्ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ।” आफूले भन्न खोजेको कुरालाई जोड दिन येसु यसो भन्नुहुन्छ: “त्यसैगरि यो कुरा पक्का हो कि तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।”—लुका १४:३१-३३.
येसुले यो कुरा उहाँको पछि लागिरहेको भीडलाई मात्र भन्नुभएको त होइन। ख्रिष्टको विषयमा थाह पाउने सबै जना येसुले भर्खरै भन्नुभएको कुराअनुसार चल्न इच्छुक हुनुपर्छ। यसको मतलब, येसुको चेला बन्ने हो भने तिनीहरू आफूसित भएको सबै कुरा—आफ्नो जायजेथा र आफ्नो जीवनसमेत त्याग्न तयार हुनुपर्छ। हो, यो राम्ररी सोचविचार गर्नुपर्ने र प्रार्थनामा राख्नुपर्ने विषय हो।
डाँडाको उपदेशमा येसुले आफ्ना चेलाहरूलाई “तिमीहरू पृथ्वीका नुन हौ” भन्नुभएको थियो। (मत्ति ५:१३) अब येसु यही विषयबारे थप कुरा बताउनुहुन्छ। उहाँले नुनले खाद्य सामग्रीलाई बिग्रनदेखि बचाएजस्तै उहाँका चेलाहरूले पनि मानिसहरूलाई आध्यात्मिक र नैतिक रूपमा बिग्रनदेखि बचाउन सक्छन् भन्न खोज्नुभएको थियो। पृथ्वीमा आफ्नो सेवाको काम सिद्धिनै लागेको यस समयमा उहाँ यसो भन्नुहुन्छ: “नुन अवश्य राम्रो हो। तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो बनाउने?” (लुका १४:३४) येसुका श्रोताहरूलाई कुनै-कुनै नुन अशुद्ध हुन्छ, त्यसमा माटो मिसिएको हुन्छ र त्यस्तो नुन केही कामको हुँदैन भनेर थाह छ।
येसु धेरै समयदेखि उहाँको चेला बनेकाहरूले समेत आफ्नो सङ्कल्पलाई कमजोर हुन दिनु हुँदैन भन्न खोज्दै हुनुहुन्छ। त्यसो भएमा उनीहरू नुनिलोपन हराएको नुनजस्तै बेकारको हुनेछन्। अनि संसारसामु उनीहरू गिल्लाको पात्र हुनेछन्। त्योभन्दा पनि नराम्रो कुरा त, उनीहरू परमेश्वरको नजरमा कामै नलाग्ने हुनेछन्। उनीहरूले परमेश्वरको नाममा कलङ्कसमेत लगाउनेछन्। यस्तो नतिजाबाट जोगिन चाल्नुपर्ने कदमबारे जोड दिँदै येसु यसो भन्नुहुन्छ: “जसको सुन्ने कान छ, उसले सुनोस्।”—लुका १४:३५.