गन्ती
२५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध* राख्न थाले।+ २ ती स्त्रीहरूले आफ्ना देवताहरूलाई बलि चढाउँदा इस्राएलका मानिसहरूलाई निम्तो दिए+ अनि इस्राएलीहरूले पनि बलि चढाएको कुरा खान थाले र मोआबीहरूको देवतालाई दण्डवत् गर्न थाले।+ ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्वर इस्राएलीहरूसित क्रोधित हुनुभयो। ४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यी मानिसहरूका अगुवाहरूलाई लगेर मार। अनि तिनीहरूलाई यहोवासामु चर्को घाममा झुन्ड्याइदेऊ ताकि यहोवाको भयानक रिस इस्राएलीहरूबाट हटोस्।” ५ त्यसपछि मोसाले इस्राएलका न्यायकर्ताहरूलाई यसो भने:+ “तिमीहरूको समूहमा ज-जसले पोअरको बाआल देवताको पूजा गरे, ती सबैलाई मार।”+
६ इस्राएलीहरू भेट हुने पालको* प्रवेशद्वारमा रोइरहेका थिए। त्यसैबेला एक जना इस्राएलीले मोसा र सारा समुदायकै अगाडि एक जना मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।+ ७ यो देखेपछि पुजारी हारुनका नाति, एलियाजारका छोरा पिनहास+ तुरुन्तै समुदायको बीचबाट उठे र तिनले आफ्नो हातमा एउटा भाला लिए। ८ त्यसपछि तिनी त्यस इस्राएली पुरुषको पछिपछि पालभित्र गए अनि त्यस इस्राएली पुरुषलाई र त्यस स्त्रीलाई उसको भुँडीमा वारपार हुनेगरि भाला रोपिदिए। त्यसपछि इस्राएलीहरूको माझबाट विपत्ति हट्यो।+ ९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+
१० अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ११ “पुजारी हारुनको नाति अर्थात् एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्ति गरिएको म सहन्नँ।+ १२ त्यसकारण पिनहासले मेरो अनुमोदन पाएका छन् भनेर देखाउन म तिनीसित एउटा करार बाँध्छु। १३ तिनले आफ्ना परमेश्वरविरुद्ध खडा हुनेहरूलाई पटक्कै नसहेकोले+ र इस्राएलीहरूको पापको लागि प्रायश्चित गरेकोले म तिनीसित यो करार बाँध्छु: अबदेखि तिनी र तिनका सन्तानले सधैँको निम्ति पुजारीको रूपमा सेवा गर्नेछन्।”+
१४ त्यस मिद्यानी स्त्रीसँगै मारिने इस्राएली पुरुषको नाम जिम्रि थियो। तिनी सालुका छोरा थिए अनि सिमियोनको कुलको एउटा घरानाका नाइके थिए। १५ त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो।+ उनी मिद्यानको एउटा घरानाका नाइके जुरकी छोरी थिइन्।+
१६ पछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: १७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+ १८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात् मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”