प्रेषितहरूका कार्य
२२ “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, अब तपाईँहरूसामु पेस गर्न लागेको मेरो प्रतिवाद सुन्नुहोस्।”+ २ तिनले हिब्रू भाषामा सम्बोधन गरेको सुनेर उनीहरू झनै चुप लागे। त्यसपछि तिनले भने: ३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+ ४ म यस ‘मार्ग’-मा* लाग्ने पुरुष र स्त्री दुवैलाई बाँधेर झ्यालखानामा हालिदिन्थेँ, तिनीहरूको खेदो गर्थेँ अनि तिनीहरूलाई मार्न समेत लगाउँथेँ,+ ५ जसको साक्षी प्रधानपुजारी र धर्मगुरुहरूको सम्पूर्ण सभा छन्। उनीहरूबाट मैले दमिसकका यहुदी बन्धुहरूको नाममा पुर्जी पनि लिएको थिएँ अनि त्यहाँ भएकाहरूलाई पनि सजाय दिनको लागि बाँधेर यरुसलेम ल्याउन म त्यतैतिर जाँदै थिएँ।
६ “मध्यदिनतिर जब म यात्रा गरेर दमिसक पुग्नै लागेको थिएँ, तब अकस्मात् मेरो चारैतिर आकाशबाट चहकिलो ज्योति चम्कियो+ ७ अनि म भुईँमा पछारिएँ र मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?’ ८ मैले भनेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ उहाँले जवाफ दिनुभयो: ‘म नासरी येसु हुँ, जसको तिमी खेदो गरिरहेका छौ।’ ९ मसँग भएका मानिसहरूले ज्योति त देखे तर मसित कुराकानी गर्नेको आवाज भने सुनेनन्। १० त्यसपछि मैले सोधेँ: ‘हे प्रभु, म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो: ‘उठ! दमिसक जाऊ। तिमीले गर्नुपर्ने सबै कामबारे तिमीलाई त्यहीँ बताइनेछ।’+ ११ तर ज्योतिको चमकले गर्दा मैले केही देख्न सकिनँ; त्यसैले मसित भएका मानिसहरूले मेरो हात समातेर डोऱ्याउँदै मलाई दमिसक पुऱ्याए।
१२ “तब हननिया नाम गरेका एक मानिस, जो मोसाको व्यवस्थाअनुसार भक्त थिए र त्यहाँ बसोबास गर्ने सबै यहुदीमाझ राम्रो नाम कमाएका थिए, १३ तिनी मकहाँ आए अनि मेरो छेवैमा उभिएर भने: ‘हे भाइ सावल, तपाईँको दृष्टि फर्कोस्!’ अनि उत्तिखेरै मैले तिनलाई देखेँ।+ १४ तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्वरको उद्देश्य तपाईँलाई थाह होस् अनि तपाईँले ती धर्मी मानिसलाई हेर्न+ र उहाँको स्वर सुन्न सक्नुहोस् भनेर परमेश्वरले तपाईँलाई रोज्नुभएको छ १५ किनकि आफूले देखेका र सुनेका कुराहरूको विषयमा तपाईँले सबै मानिसलाई साक्षी दिनुपर्नेछ।+ १६ अब किन अलमल गर्नुहुन्छ? उठ्नुहोस् र बप्तिस्मा गर्नुहोस् अनि उहाँको नाम पुकारेर+ आफ्ना पापहरू पखाल्नुहोस्।’+
१७ “म यरुसलेम फर्केर+ मन्दिरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन* देखेँ। १८ उहाँले मलाई यसो भनिरहनुभएको थियो: ‘छिटो गर अनि यरुसलेमबाट तुरुन्तै निस्किहाल किनकि मेरो विषयमा तिमीले दिएको साक्षी तिनीहरूले स्विकार्नेछैनन्।’+ १९ अनि मैले भनेँ: ‘प्रभु, तिनीहरूलाई यो राम्ररी थाह छ कि तपाईँमाथि विश्वास गर्नेहरूलाई म झ्यालखानामा हाल्थेँ अनि एकपछि अर्को सभाघरमा गएर तिनीहरूलाई पिट्थेँ।+ २० अनि तपाईँको साक्षी स्तिफनसको रगत बगाइँदा छेवैमा उभिएर मैले पनि सहमति जनाइरहेको थिएँ अनि तिनलाई मार्नेहरूको लुगा कुरेर बसिरहेको थिएँ।’+ २१ तैपनि उहाँले मलाई भन्नुभयो: ‘जाऊ किनकि म तिमीलाई टाढा-टाढा अन्यजातिहरूकहाँ पठाउनेछु।’”+
२२ यतिबेलासम्म उनीहरू तिनको कुरा सुन्दै थिए तर अब भने उनीहरू यसो भन्दै कराउन थाले: “यस्तो मानिसलाई जिउँदो छोड्नुहुन्न किनकि यो बाँच्न योग्यको छैन!” २३ उनीहरू आफ्नो खास्टो हावामा हुर्ऱ्याउँदै अनि धुलो उडाउँदै चिच्याइरहेका थिए।+ २४ त्यसैले के कारणले उनीहरू पावलविरुद्ध यत्तिको चिच्याइरहेका हुन् भनेर पत्ता लगाउन सेनापतिले तिनलाई छाउनीभित्र ल्याउन र कोर्रा लगाएर केरकार गर्न आदेश दिए। २५ तर जब सैनिकहरूले तिनलाई कोर्रा लगाउनलाई बाँधे, तब पावलले त्यहाँ उभिरहेका सैनिक अफिसरलाई सोधे: “दोषी नठहराईकनै* एक जना रोमी नागरिकलाई कोर्रा लगाउन के तपाईँहरूलाई कानुनले दिन्छ?”+ २६ यो सुनेपछि ती सैनिक अफिसर सेनापतिकहाँ गए र यसो भने: “तपाईँले यो के गर्न लाग्नुभएको? यो मानिस त रोमी नागरिक पो रहेछ।” २७ तब ती सेनापति पावलकहाँ गएर तिनलाई सोधे: “मलाई भन, के तिमी रोमी नागरिक हौ?” तिनले जवाफ दिए: “हुँ।” २८ सेनापतिले भने: “मैले धेरै पैसा खर्च गरेर यो नागरिक-हक किनेको हुँ।” पावलले भने: “तर मैले त यो जन्मजातै पाएको हुँ।”+
२९ त्यसैले तिनलाई यातना दिएर केरकार गर्न लागेका ती मानिसहरू तुरुन्तै पछि हटे। अनि आफूले एक जना रोमी नागरिकलाई बाँध्न लगाएको रहेछु भनी थाह भएपछि ती सेनापति डराए।+
३० यहुदीहरूले तिनलाई किन आरोप लगाएका रहेछन् भनेर थाह पाउन चाहेकोले भोलिपल्ट उनले पावलको साङ्लो फुकाइदिए अनि मुख्य पुजारीहरू र यहुदी न्यायपरिषद्का सबै सदस्यलाई भेला हुन आदेश दिए। त्यसपछि उनले पावललाई तल ल्याएर उनीहरूमाझ उभ्याए।+