गन्ती
२० अनि पहिलो महिनामा इस्राएलीहरूको सारा समुदाय जिन निर्जनभूमिमा आइपुग्यो र तिनीहरू कादेसमा बसोबास गर्न थाले।+ त्यहाँ मरियमको मृत्यु भयो+ र उनलाई त्यहीँ गाडियो।
२ त्यहाँ पानी थिएन;+ त्यसैले मानिसहरू मोसा र हारुनको विरोध गर्न भेला भए। ३ मानिसहरूले मोसालाई यसरी कचकच गर्न थाले:+ “हाम्रा दाजुभाइहरू यहोवा परमेश्वरसामु मर्दा हामी पनि त्यहीँ मरेको भए हुन्थ्यो! ४ अब हामी र हाम्रा गाईवस्तु यहीँ मर्ने भयौँ। यहोवा परमेश्वरको समुदायलाई यसरी मार्न तपाईँले हामीलाई किन यस निर्जनभूमिमा ल्याउनुभयो?+ ५ तपाईँले हामीलाई मिश्रबाट निकालेर यस्तो नराम्रो ठाउँमा किन ल्याउनुभयो?+ यहाँ अन्न, अन्जिर, अङ्गुर, अनार केही छैन; यहाँ पिउने पानीधरि छैन।”+ ६ तब मोसा र हारुन मानिसहरूको सामनेबाट भेट हुने पालको* प्रवेशद्वारमा आए र भुईँमा घोप्टो परे। अनि यहोवा परमेश्वरको महिमा तिनीहरूकहाँ देखा पऱ्यो।+
७ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ८ “तिम्रो लौरो लेऊ अनि तिमी र तिम्रो दाइ हारुन मिलेर सारा समुदायलाई भेला गर। त्यसपछि तिनीहरूकै आँखाअगाडि त्यस पहरालाई आज्ञा देऊ र त्यसबाट पानी निस्कनेछ। यसरी पहराबाट पानी निकालेपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुलाई पानी पिउन देऊ।”+
९ तब यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले उहाँकै सामुन्ने लौरो लिए।+ १० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्यो?”+ ११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+
१२ पछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “तिमीहरूले ममाथि विश्वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+ १३ यसैलाई मरिबाको* पानी भनिन्छ।+ त्यहाँ इस्राएलीहरूले यहोवा परमेश्वरसित झगडा गरेका थिए अनि उहाँले तिनीहरूसामु आफ्नो नाम उच्च पार्नुभएको थियो।
१४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ। १५ हाम्रा पुर्खाहरू मिश्र गए+ र हामी पनि वर्षौँसम्म* त्यहीँ बस्यौँ।+ अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई दुःख दिए।+ १६ असह्य भएपछि हामीले यहोवा परमेश्वरलाई पुकाऱ्यौँ+ अनि उहाँले हाम्रो पुकारा सुनेर एक जना स्वर्गदूत पठाउनुभयो+ र हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो। यसरी हामी तपाईँहरूको सिमानानजिकै भएको इलाका कादेस आइपुगेका छौँ। १७ त्यसैले बिन्ती छ, हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्। हामी तपाईँहरूको खेत वा अङ्गुर बगानतिर पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी दाहिने-देब्रे कतै नलागेर ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।’”+
१८ तर एदोमका राजाले यस्तो खबर पठाए: “तिमीहरू हाम्रो इलाका भएर जान पाउँदैनौ। त्यसो गऱ्यौ भने तिमीहरूविरुद्ध म तरबार उठाउनेछु।” १९ यो सुनेपछि इस्राएलीहरूले यस्तो जवाफ दिए: “हामीलाई मूलबाटो भएर जान दिनुहोस्। हामी र हाम्रा गाईवस्तुले तपाईँको पानी खायौँ भने त्यसको क्षतिपूर्ति तिर्नेछौँ।+ हामीलाई अरू केही चाहिँदैन, त्यो बाटो भएर हिँड्न मात्र दिनुहोस्।”+ २० तर तिनले अझै पनि यसो भने: “तिमीहरू जान पाउँदैनौ।”+ अनि एदोमका राजा आफ्नो ठूलो र शक्तिशाली सेना लिएर तिनीहरूलाई आक्रमण गर्न निस्के। २१ यसरी एदोमका राजाले इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिएनन्। त्यसैले इस्राएलीहरू अर्कै बाटो लागे।+
२२ इस्राएलीहरूको सारा समुदाय कादेसबाट यात्रा गरेर होर डाँडा आइपुग्यो।+ २३ तब एदोमको सिमानामा अवस्थित होर डाँडामा यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २४ “हारुन आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछन्।+ तिनी मैले इस्राएलीहरूलाई दिने देशमा जान पाउनेछैनन् किनभने मरिबाको पानीको सन्दर्भमा तिमीहरू दुवै जनाले मेरो आज्ञा उल्लङ्घन गऱ्यौ।+ २५ हारुन र तिनको छोरा एलियाजारलाई लिएर होर डाँडामा आऊ। २६ हारुनले लगाएको पुजारीको पोसाक फुकालेर+ तिनको छोरा एलियाजारलाई+ लगाइदेऊ; हारुन यहीँ मर्नेछन्।”*
२७ त्यसैले यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे। तिनीहरू सारा समुदायले देख्नेगरि होर डाँडा उक्ले। २८ तब मोसाले हारुनको पोसाक फुकालेर तिनको छोरा एलियाजारलाई लगाइदिए। त्यसपछि डाँडाको टुप्पोमा हारुनको मृत्यु भयो।+ अनि मोसा र एलियाजार डाँडाबाट तल ओर्ले। २९ हारुनको मृत्यु भएको थाह पाएपछि इस्राएलीहरूको सारा समुदायले तिनको निम्ति ३० दिनसम्म शोक मनाए।+