रुथ
३ नाओमीले आफ्नी बुहारी रुथलाई भनिन्: “छोरी, म तिम्रो भलो चाहन्छु। तिमीले फेरि विवाह गरेर घरजम गरेको हेर्न चाहन्छु।+ २ बोअज हाम्रै नातेदार हुन्।+ तिनकै दासीहरूसित तिमीले काम गरेकी थियौ नि, होइन र? आज साँझ बोअज खलामा जौ बत्ताउन जानेछन्। ३ त्यसैले नुहाइधुवाइ गरेर सुगन्धित तेल दल। अनि राम्रो लुगा लगाएर खलामा जाऊ। तर बोअजले खानपिन गरी नसकुन्जेल तिनको अगाडि देखा नपर। ४ तिनी कहाँ सुत्न जाँदा रहेछन् भनेर राम्ररी हेरिराख। त्यसपछि तिमी पनि त्यहाँ जाऊ। तिनको खुट्टानिरको ओढ्ने हटाएर तिमी पनि त्यहीँ ढल्क। तिमीले के गर्नुपर्छ, तिनले नै तिमीलाई बताउनेछन्।”
५ त्यसपछि रुथले भनिन्: “हुन्छ, म तपाईँले भन्नुभएझैँ गर्नेछु।” ६ अनि उनी खलामा गइन् र आफ्नी सासूले भनेझैँ सबै गरिन्। ७ त्यतिन्जेल बोअजले खानपिन गरिसिद्ध्याए। तिनी असाध्यै खुसी थिए। त्यसपछि तिनी अन्न थुपारेको ठाउँको छेउमा गएर ढल्के। तिनी ढल्किसकेपछि रुथ बिस्तारै तिनी सुतेको ठाउँमा गइन्। अनि बोअजको खुट्टाको ओढ्ने हटाएर त्यहीँ ढल्किन्। ८ मध्यरातमा बोअज चिसोले गर्दा काँप्न थाले र तिनी ब्युँझिए अनि तिनले आफ्नो खुट्टानिर एक जना स्त्री ढल्किरहेकी देखे। ९ बोअजले सोधे: “तिमी को हौ?” उनले भनिन्: “म रुथ, तपाईँकी दासी। कृपया तपाईँकी दासीलाई तपाईँको ओढ्ने ओढाइदिनुहोस्* किनभने हामीलाई मोल तिरेर छुटाउने नातेदार तपाईँ नै हुनुहुन्छ।”+ १० त्यसपछि तिनले भने: “छोरी, तिमीलाई यहोवा परमेश्वरले आशिष् देऊन्। तिमीले पहिले पनि वफादारी* देखाइसकेकी छ्यौ तर अहिले झन् धेरै वफादारी देखायौ।+ किनकि धनी वा गरिब, कुनै जवान मानिसको पछि तिमी लागिनौ। ११ तिमी नडराऊ। म तिमीले भनेझैँ सबै गर्नेछु+ किनकि तिमी साह्रै असल छ्यौ भनेर सहरमा सबैलाई थाह छ। १२ हुनत म तिमीलाई मोल तिरेर छुटाउन सक्ने व्यक्ति हुँ+ तर मभन्दा पनि नजिकको अर्को नातेदार छन्, जसले तिमीलाई छुटाउन सक्छन्।+ १३ आज राती यहीँ बस। भोलि बिहान यदि उसले तिमीलाई छुटायो भने ठीकै छ।+ तर उसले त्यसो गर्न चाहँदैन भने जीवित परमेश्वर यहोवाको म कसम खाएर भन्छु, म तिमीलाई छुटाउनेछु। त्यसैले बिहान नभएसम्म यहीँ ढल्केर बस।”
१४ बिहान नहोउन्जेल रुथ बोअजको खुट्टानिर ढल्किरहिन् अनि कसैले आफूलाई नचिनोस् भनेर उनी झिसमिसे उज्यालोमै उठिन्। त्यसपछि बोअजले रुथलाई भने: “खलामा एउटी स्त्री आएकी थिई भनेर कसैले थाह नपाओस्!” १५ तिनले यसो पनि भने: “तिम्रो पछ्यौरा थाप त।” त्यसपछि रुथले आफ्नो पछ्यौरा थापिन् अनि बोअजले त्यसमा छ भाँडो* जौ हालेर उनलाई बोकाइदिए। त्यसपछि बोअज सहरतिर लागे।
१६ रुथ पनि आफ्नी सासूकहाँ गइन्। अनि नाओमीले उनलाई सोधिन्: “छोरी, के भयो त?” बोअजले उनको लागि के-के गरिदिए, ती सबै उनले नाओमीलाई सुनाइन्। १७ उनले अझै भनिन्: “उहाँले यो छ भाँडो जौ दिएर मलाई भन्नुभयो, ‘आफ्नी सासूकहाँ खाली हात नफर्क।’” १८ यो सुनेपछि नाओमीले भनिन्: “छोरी, यस घटनाले कस्तो मोड लिन्छ, त्यो थाह नपाउन्जेल यहीँ पर्खेर बस। किनकि यो मामिला आजै नसुल्झाएसम्म तिनलाई चैन हुनेछैन।”