यहोवाको वचन जीवित छ
रूथको पुस्तकका विशेषताहरू
यो दुई स्त्रीबीचको वफादारिताको मन छुने वास्तविक घटना हो। यहोवा परमेश्वरप्रतिको उच्च सम्मान र उहाँका प्रबन्धहरूमाथिको भरोसाको विवरण हो। मसीहको वंशप्रति यहोवाको उत्कट चासोमा ध्यान खिच्ने यो एउटा कथा हो। यो एउटा परिवारको सुखदुःखको हृदयस्पर्शी वृत्तान्त हो। बाइबलको रूथको पुस्तकमा यीलगायत अन्य धेरै कुराहरू छन्।
रूथको पुस्तकले इस्राएलमा “न्यायकर्त्ताहरूको शासनकाल[को]” ११ वर्षको समयावधिलाई ढाक्छ। (रूथ १:१) यसमा लिपिबद्ध घटनाहरू पक्कै पनि न्यायकर्ताहरूको समयको सुरु-सुरुतिर घटेको हुनुपर्छ किनकि यस वास्तविक घटनाको एउटा पात्र, जमिनदार बोअज यहोशूको पालाका राहाबका छोरा थिए। (यहोशू २:१, २; रूथ २:१; मत्ती १:५) यो वृत्तान्त सा.यु.पु. १०९० मा अगमवक्ता शमूएलले लेखेको हुनुपर्छ। कुनै गैर-इस्राएली स्त्रीको नाउँबाट बाइबलको पुस्तकको नाउँ रहन गएको एक मात्र पुस्तक पनि यही हो। यसमा लिपिबद्ध सन्देश “जीवित र प्रबल” छ।—हिब्रू ४:१२.
“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”
नाओमी र रूथ बेतलेहेममा आइपुग्दा तिनीहरू सबैको आकर्षणको केन्द्र बन्छन्। दुई जनामध्ये बुढीचाहिंलाई देखाएर त्यस सहरका स्त्रीहरू भन्न थाल्छन्, “के यिनी नाओमीनै हुन्?” जवाफमा नाओमी यसो भन्छिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्तिमानले मसँग नमीठो व्यवहार गर्नुभएको छ। म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ।”—रूथ १:१९-२१.
इस्राएलमा परेको अनिकालले गर्दा आफ्नो परिवार बेतलेहेमबाट मोआबमा बसाइँ सर्न बाध्य हुँदा नाओमी “भरिपूर्ण” छिन् किनकि तिनका पति र दुई छोराहरू छन्। तर मोआबमा बसेको केही समयपछि तिनको पति एलीमेलेकको मृत्यु हुन्छ। पछि तिनीहरूका दुई छोराहरूले मोआबी स्त्रीहरू ओर्पा र रूथलाई विवाह गर्छन्। दस वर्षपछि तीन जना स्त्रीलाई एक्लो पारेर दुई छोराहरू निःसन्तान मर्छन्। सासु नाओमीले यहूदा फर्कने निर्णय गर्दा तिनका दुई छोराका विधवाहरू पनि तिनीसितै आउँछन्। बाटोमा आफ्ना बुहारीहरूलाई मोआबमा फर्कन अनि आफ्नै जातिका मानिसहरूबीच पति खोज्न नाओमी आग्रह गर्छिन्। ओर्पा मान्छिन्। तर रूथ भने नाओमीलाई छाड्नै मान्दिनन् र उनी यसो भन्छिन्: “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।”—रूथ १:१६.
बेतलेहेमा जौ कटनी सुरु भइरहेको बेला दुई जना विधवा नाओमी र रूथ टुप्लुक्क त्यहाँ आइपुग्छन्। परमेश्वरको व्यवस्थामा दिइएको प्रबन्धको सदुपयोग गर्दै रूथ खेतमा शिलाबाला बटुल्न थाल्छिन् जुन खेतको मालिक एलीमेलेकको एक जना कुटुम्ब अर्थात् बोअज नाउँ गरेका वृद्ध यहूदी हुन्। रूथले बोअजको निगाह पाउँछिन् अनि “जौ र गहुँका कटनी खतम नहोउञ्जेल” उनको खेतका शिलाबालाहरू बटुल्छिन्।—रूथ २:२३.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१:८, NW—नाओमीले आफ्ना बुहारीहरूलाई आफ्नो बुबाको घर नगई किन आमाको घर फर्कने अनुरोध गरिन्? ओर्पाको बुबा त्यसबेला जीवित थिए कि थिएनन्, सो बताइएको छैन। रूथको बुबा भने जीवितै थिए। (रूथ २:११) तर आमाको नाउँ लिंदा तिनीहरूको मनमा आमाको ममताको झझल्को आओस् भनेर सायद नाओमीले आमाको घरबारे बताएकी हुन सक्छिन्। आफ्नी प्यारी सासुबाट बिछोडिनुपर्दाको पीडाले पिरोलिएका छोरीहरूलाई विशेष गरी यो कुराले धेरै सान्त्वना दिने थियो। यस टिप्पणीद्वारा नाओमीले रूथ र ओर्पाको आमाको घर आफ्नोभन्दा सुविधा-सम्पन्न थियो भन्ने कुरालाई पनि सङ्केत गर्न खोजिरहेकी हुन सक्थिन्।
१:१३, २१—के यहोवाले नाओमीको जीवनलाई नमिठो बनाउनुका साथै तिनीमाथि विपत्ति ल्याउनुभएको थियो? अहँ, थिएन। नाओमीले परमेश्वरलाई कुनै गलत कामको लागि दोष दिइरहेकी थिइनन्। यद्यपि, आफूले भोग्नुपरेका सबै कुराहरूलाई विचार गर्दा यहोवा आफ्नो पक्षमा हुनुहुन्न भनेर तिनले सोचेकी थिइन्। तिनले नमिठो अनि निराश महसुस गरिन्। साथै, त्यतिबेला गर्भको फललाई परमेश्वरको आशिष् र बाँझोपनलाई श्राप मानिन्थ्यो। नातीनातिना नहुँदा र आफ्ना दुई छोराहरूको पनि निधन हुँदा यहोवाले तिनलाई तुच्छ ठान्नुभएको थियो भनी सोच्न तिनलाई उचित लागेको हुन सक्छ।
२:१२—रूथले यहोवाबाट कस्तो उचित “पुरस्कार” पाइन्? रूथको छोरो भयो र तिनले इतिहासकै सर्वमहत्त्वपूर्ण अर्थात् येशू खीष्टको वंशसित जोडिने सुअवसर पाइन्।—रूथ ४:१३-१७; मत्ती १:५, १६.
हाम्रो लागि पाठ:
१:८; २:२०. आफूले सहनुपरेका वियोगहरूको बावजुद नाओमीले यहोवाको करुणामाथि आफ्नो विश्वस्तता कायम राखिन्। हामी सबैले यस्तै गर्नुपर्छ विशेष गरेर कठिन परीक्षाहरू सामना गर्नुपर्दा यसो गर्नु झनै आवश्यक हुन्छ।
१:९. घर भनेको परिवारका सदस्यहरू खाने र सुत्ने ठाउँ मात्र हुनु हुँदैन। यो आराम र आनन्दको शान्तिमय स्थल हुनुपर्छ।
१:१४-१६. ओर्पा “आफ्ना मानिस र आफ्ना देवताहरूकहाँ फर्केर गइन्।” रूथले त्यसो गरिनन्। तिनले आफ्नो मातृभूमिको सुखसुविधा र सुरक्षा त्यागिन् अनि यहोवाप्रति वफादार रहिन्। परमेश्वरप्रति वफादार प्रेम र आत्मत्यागको मनोभाव देखाउँदा स्वार्थी इच्छाको सामु घुँडा टेक्न तथा ‘विनाशसम्म पुग्ने गरी पछि हट्नबाट’ जोगिन मदत मिल्नेछ।—हिब्रू १०:३९.
२:२. रूथ विदेशी तथा दुःखीहरूको हितको लागि मिलाइएको शिलाबाला बटुल्ने प्रबन्धबाट फाइदा उठाउन चाहन्थिन्। तिनी नम्र थिइन्। सँगी विश्वासीहरूले गरिदिएको मायालु प्रबन्ध अथवा आफूले पाउन सक्ने कुनै सरकारी सुविधाहरू स्वीकार्न खाँचोमा परेको कुनै मसीही घमन्डी बन्नु हुँदैन।
२:७. शिलाबाला बटुल्ने आफ्नो हक हुँदा हुँदै पनि रूथले शिलाबाला बटुल्नअघि अनुमति मागिन्। (लेवी १९:९, १०) यो तिनको नम्रताको एउटा चिह्न थियो। “नम्रता” खोज्नुमा हाम्रै भलाइ छ किनकि “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—सपन्याह २:३; भजन ३७:११.
२:११. रूथले आफूलाई नाओमीको केवल नातेदार साबित गरिनन्। तिनी एक जना असल मित्र पनि थिइन्। (हितोपदेश १७:१७, NW) तिनीहरूको मित्रताको गाँठो कसिलो थियो किनकि त्यो प्रेम, वफादारिता, समानुभूति, दया र आत्मत्यागी मनोभावजस्ता गुणहरूमा आधारित थियो। मुख्य कुरा, यो तिनीहरूको आध्यात्मिकता अर्थात् यहोवालाई सेवा गर्ने र उहाँका उपासकहरूबीच रहने इच्छामा आधारित थियो। साँचो उपासकहरूसित साँचो मित्रता खेती गर्ने राम्रा अवसरहरू हामीसित पनि छन्।
२:१५-१७. बोअजले तिनको कामको बोझलाई हल्का बनाइदिंदा समेत “रूथ साँझसम्मै खेतमा शिला-बाला बटुल्दैरहिन्।” रूथ मेहेनती कामदार थिइन्। एक जना मसीहीले मेहेनती कामदार भएकोमा असल नाउँ कमाएको हुनुपर्छ।
२:१९-२२. साँझपख नाओमी र रूथले रमाइलो कुराकानीको आनन्द उठाए, पाको स्त्रीले कम उमेरकी स्त्रीको गतिविधिमा चासो देखाइन्, तिनीहरू दुवैले खुला भएर आफ्ना विचार र भावनाहरू व्यक्त गरिरहेका थिए। के मसीही परिवारमा पनि यस्तै हुनुपर्ने होइन र?
२:२२, २३. याकूबकी छोरी दिनाजस्तो नभई रूथले यहोवाका उपासकहरूसित संगति खोजिन्। हाम्रो लागि कस्तो राम्रो पाठ!—उत्पत्ति ३४:१, २; १ कोरिन्थी १५:३३.
नाओमी “भरिपूर्ण” बन्छिन्
बच्चा जन्माउन नाओमी असाध्यै बुढी भइसकेकी छिन्। अतः तिनले आफ्नो सट्टा रूथलाई मोल तिरेर छुटकारा दिने नजिकको नातेदार अथवा देवरसित विवाह गर्न निर्देशन दिन्छिन्। नाओमीको कुरा मान्दै रूथले बोअजलाई मोल तिरेर छुटकारा दिने नजिकको नातेदारको कर्तव्य निर्वाह गर्न आग्रह गर्छिन्। बोअज राजी हुन्छन्। तथापि, बोअजभन्दा एक जना अझ नजिकका नातेदार छन्, जसलाई पहिलो अवसर दिइनुपर्छ।
यो मामिलालाई सुल्झाउन बोअज ढिला-सुस्ती गर्दैनन्। भोलिपल्ट बिहानै तिनले नातेदारहरूको अगाडि दस जना बूढाप्रधान भेला गराउँछन् अनि उक्त मोल तिरेर छुटकारा दिने नजिकको नातेदारलाई तिनी इच्छुक छन् कि छैनन् भनेर सोध्छन्। ती मानिसले त्यसो गर्न इन्कार गर्छन्। तसर्थ, बोअजले मोल तिरेर छुटकारा दिने नजिकको नातेदारको कर्तव्य निर्वाह गर्छन् र रूथसित विवाह गर्छन्। तिनीहरूको विवाहबाट एउटा छोरा ओबेदको जन्म हुन्छ जो पछि दाऊदको हजुरबुबा हुन्छन्। अब बेतलेहेमका स्त्रीहरूले नाओमीलाई भन्छन्: “परमप्रभु धन्यका हुनुहुन्छ। . . . यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बूढेसकालमा तपाईंको पोलन-पोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल सिद्ध भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्।” (रूथ ४:१४, १५) “रित्तो” भएर बेतलेहेम फर्किएकी त्यस स्त्री फेरि “भरिपूर्ण” भइन्!—रूथ १:२१.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
३:११—रूथले “गुणवती” भन्ने असल नाउँ कमाउनुको कारण के थियो? “सिंगार, कपाल बाट्ने” अथवा “सुनको गहना लाउने अथवा किसिम किसिमको पोशाकले” रूथ अरूको प्रशंसाको पात्र बनेकी थिइनन्। बरु, त्यो त “हृदयको त्यो गुप्त मानिस” अर्थात् तिनको वफादारिता र प्रेम, विनय र नम्रता, उद्यमी र आत्मत्यागी मनोभावको नतिजा थियो। रूथको जस्तै असल नाउँ कमाउन चाहने सबै ईश्वरभीरू स्त्रीले यी गुणहरू खेती गर्न कडा मेहेनत गर्नै पर्छ।—१ पत्रुस ३:३, ४; हितोपदेश ३१:२८-३१.
३:१४—बोअज र रूथ सबेरै उठ्नुको कारण के थियो? रातमा कुनै अनैतिक काम भएकोले त्यसलाई गुपचुप राख्ने अभिप्रायले तिनीहरू सबेरै उठेका थिएनन्। देवरसित विवाह गर्ने आफ्नो हक खोज्दा प्रचलनअनुसारै एउटी स्त्रीले गर्नुपर्ने कर्तव्य नै रूथले त्यस रात निभाएकी थिइन्। नाओमीले अऱ्हाएबमोजिम रूथले गरिन्। साथै, रूथले कुनै गल्ती गरेकी थिइनन् भन्ने कुरा बोअजले दिएको जवाफबाट पनि स्पष्ट हुन्छ। (रूथ ३:२-१३) हो, झुटो निन्दोचर्चो गर्ने कसैले आधार नपाओस् भनेर रूथ र बोअझ सबेरै उठे।
३:१५—बोअजले रुथलाई छ पाथी जौ बोकाइदिनुको अर्थ के थियो? छ दिनको कामपछि विश्रामको दिन आएजस्तै रूथको लागि पनि विश्रामको दिन आउनै लागेको कुरालाई यसले सङकेत गर्न खोजेको हुन सक्छ। आफ्नो पतिको घरमा तिनी “सुरक्षित रहुन्” भनी बोअज चाहन्थे। (रूथ १:९; ३:१) यो पनि हुन सक्छ, रूथले आफ्नो टाउकोमा छ पाथीभन्दा धेरै जौ बोक्न सक्दिन थिइन्।
३:१६—नाओमीले किन रूथलाई यस्तो प्रश्न सोधिन्: “हे मेरी छोरी, [तिमी को हौ, NW]?” के तिनले आफ्नी बुहारीलाई पनि चिनिनन्? यसो हुन सक्थ्यो किनकि रूथ फर्केर नाओमीकहाँ आउँदा अझ उज्यालो नभएको हुनसक्छ। अनि मोल तिरेर छुटकारा दिने नजिकको नातेदारसित जोडिएको रूथको सम्भाव्य नयाँ परिचयबारे पनि नाओमीले चर्चा गरिरहेकी हुन सक्छिन्।
४:६—मोल तिरेर छुटकारा दिने नजिकको नातेदारले आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी आफ्नो सम्पत्ति ‘गुमाउन’ सक्थ्यो? पहिलो कुरा त, गरिबीको कारण कसैले आफ्नो पैतृक सम्पत्ति बेच्दा उक्त जमिन निखनिदिने नजिकको नातेदारले अर्को विशेष उत्सव आउनको लागि जम्मा कति वर्षहरू बाँकी छन्, ती सबै वर्षहरू गनेर तोकिएको मूल्य तिरी उक्त सम्पत्ति किन्नु पर्थ्यो। (लेवी २५:२५-२७) त्यसो गर्दा निखनिदिने त्यस व्यक्तिको सम्पत्ति घट्ने थियो। साथै, रूथको छोरा जन्मिएको खण्डमा, किनेको उक्त खेत मोल तिरेर छुटकारा दिने नजिकको नातेदारको हालको कुनै नजिकको आफन्तले नभई रूथको छोराले नै पाउने थियो।
हाम्रो लागि पाठ:
३:१२; ४:१-६. बोअजले बडो होसियारसाथ यहोवाको प्रबन्धअनुसार गरे। ईश्वरतान्त्रिक पद्धतिहरू पालन गर्न के हामी सचेत छौं?—१ कोरिन्थी १४:४०.
३:१८. बोअजमाथि नाओमीको भरोसा थियो। वफादार सँगी विश्वासीहरूमाथि के हाम्रो पनि त्यस्तै भरोसा हुनु पर्दैन र? बाइबलमा नाउँसम्म उल्लेख नगरिएको अनि आफूले चिन्दै नचिनेको मानिससित व्यवस्था अनुरूपको देवरसित विवाह गर्न रूथ इच्छुक थिइन्। (रूथ ४:१) किन? किनकि ईश्वरीय प्रबन्धमाथि तिनको भरोसा थियो। के हामीमा पनि त्यस्तै भरोसा छ? उदाहरणको लागि, वैवाहिक जोडी खोज्दा के हामी “प्रभुमा मात्र” विवाह गर्ने सल्लाह पछ्याउँछौं?—१ कोरिन्थी ७:३९.
४:१३-१६. एक मोआबी स्त्री अनि पहिला कमोश देवताको उपासक भए तापनि रूथले कस्तो महान् सुअवसर पाइन्! यस कुराले यो सिद्धान्तलाई पुष्टि गर्छ, “यो नता इच्छा गर्नेको, न काम चलाउनेको, तर कृपा देखाउने परमेश्वरको हो।”—रोमी ९:१६.
परमेश्वरले “समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ”
रूथको पुस्तकले यहोवालाई करुणामयी परमेश्वरको रूपमा चित्रण गरेको छ र उहाँले आफ्ना वफादार सेवकहरूको खातिर कदम चाल्नुहुन्छ। (२ इतिहास १६:९) जब हामी परमेश्वरले रूथलाई कसरी आशिष् दिनुभयो भन्ने कुरामा मनन गर्छौं “खोज्नेहरूलाई प्रतिफल दिनुहुने” परमेश्वरलाई कुनै शङ्का नगरी पूर्ण विश्वास राख्दै तनमनले उहाँमाथि भरोसा राख्नुपर्ने महत्त्वबारे बुझ्छौं।—हिब्रू ११:६.
रूथ, नाओमी र बोअजले यहोवाको प्रबन्धमा पूर्ण भरोसा राखे अनि असल परिणामहरू हात पारे। त्यसरी नै परमेश्वरलाई “परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छाअनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्।” (रोमी ८:२८) त्यसोभए आउनुहोस्, प्रेरित पत्रुसको यस सल्लाह पालन गरौं: “यसकारण परमेश्वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६, ७.
[पृष्ठ २६-मा भएको चित्र]
रूथले नाओमीलाई नत्याग्नुको कारण के तपाईंलाई थाह छ?
[पृष्ठ २७-मा भएको चित्र]
रूथले “गुणवती” भन्ने असल नाउँ कमाउनुको कारण के थियो?
[पृष्ठ २८-मा भएको चित्र]
यहोवाबाट रूथको लागि उचित “पुरस्कार” के थियो?