पहिलो समुएल
१३ साउल राजा हुँदा तिनी . . .* वर्षका थिए।+ इस्राएलमा शासन गर्न थालेको दुई वर्षपछि २ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए। ३ त्यसपछि जोनाथनले गेबामा+ रहेको पलिस्तियालीहरूको+ सैन्य चौकीमा आक्रमण गरे र तिनीहरूलाई हराए। यो कुरा अरू पलिस्तियालीहरूले पनि थाह पाए। अनि साउलले पूरै इस्राएलमा सन्देशवाहकहरू पठाए। ती सन्देशवाहकहरूले सिङ फुक्दै+ यसो भने: “हे हिब्रूहरू हो, सुन!” ४ सबै इस्राएलीलाई यस्तो खबर दिइयो: “साउलले पलिस्तियालीहरूको एउटा सैन्य चौकीमा आक्रमण गरे र तिनीहरूलाई हराए; त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूलाई घृणा गर्न थालेका छन्।” त्यसकारण इस्राएलीहरूलाई गिलगालमा+ साउलकहाँ जम्मा हुने आदेश दिइयो।
५ इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरू पनि जम्मा भए। तिनीहरूले ३० हजार रथ र ६ हजार घोडचढी सिपाही लिएर आएका थिए। तिनीहरूसँग भएका सिपाहीहरू समुद्र किनारका बालुवासरी अनगिन्ती थिए।+ माथि उक्लेर तिनीहरूले बेथ-आवेनको+ पूर्वतिर मिक्मासमा छाउनी हाले। ६ आफूमाथि ठूलो सङ्कट आइपर्न लागेको छ भन्ने देखेर इस्राएलीहरू आकुलव्याकुल भए। त्यसैले तिनीहरू गुफाहरूमा,+ ओडारहरूमा, चट्टानहरूमा, खाडलहरूमा र सुक्खा इनारहरूमा लुके। ७ केही हिब्रू भने यर्दन नदी तरेर गाद र गिलादको इलाकासम्म पुगे+ तर साउलचाहिँ गिलगालमै बसिरहे। साउलसँग जति जना बाँकी थिए, तिनीहरू पनि डरले थरथर काँपिरहेका थिए। ८ समुएलले तोकेको समयअनुसारै साउलले उनलाई सात दिनसम्म पर्खे तर समुएल गिलगाल आइपुगेनन्। साउलसित भएका मानिसहरू पनि तिनलाई छोडेर भाग्न थाले। ९ अन्तमा साउलले यस्तो आदेश दिए: “अग्निभेटी र मेलबलि मकहाँ ल्याओ।” त्यसपछि तिनले अग्निभेटी चढाए।+
१० तर साउलले अग्निभेटी चढाइसकेका मात्र के थिए, समुएल त्यहाँ आइपुगे। त्यसैले साउल समुएललाई भेटेर तिनलाई स्वागत गर्न गए। ११ त्यसपछि समुएलले सोधे: “तपाईँले किन यस्तो गर्नुभयो?” साउलले जवाफ दिए: “मानिसहरूले मलाई छोडेर जान थालिसकेका थिए,+ तपाईँ पनि आफूले तोकेको समयमा आइपुग्नुभएन अनि पलिस्तियालीहरू मिक्मासमा जम्मा हुन थालिसकेका थिए।+ १२ तब मैले सोचेँ, ‘अब पलिस्तियालीहरू मलाई आक्रमण गर्न तल गिलगालमा आउनेछन् र मैले मदतको लागि यहोवा परमेश्वरसँग बिन्ती पनि गरेको छैनँ।’ त्यसैले म अग्निभेटी चढाउन बाध्य भएँ।”
१३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो। १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+
१५ त्यसपछि समुएल गिलगालबाट निस्केर बिन्यामिनीहरूको इलाका गिबाहमा गए। साउलले आफूसँग भएका मानिसहरू गने। तिनीसँग ६०० जनाजति बाँकी थिए।+ १६ साउल, तिनका छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरूले बिन्यामिनीहरूको इलाका गेबामा+ छाउनी हाले। पलिस्तियालीहरूचाहिँ मिक्मासमा छाउनी हालेर बसेका थिए।+ १७ पलिस्तियालीहरूको छाउनीबाट लुटपाट गर्नेहरूका तीन वटा दल निस्कन्थे। एउटा दल सुआलको इलाकामा भएको ओप्रा जाने बाटोतिर लाग्थ्यो। १८ अर्को दल बेथ-होरोन+ जाने बाटोतिर लाग्थ्यो र तेस्रो दलचाहिँ निर्जनभूमितिर अर्थात् सिमानातर्फ जाने बाटोतिर लाग्थ्यो, जसको अगाडि जेबोइम् बेँसी पर्थ्यो।
१९ त्यतिखेर इस्राएलमा धातुको काम गर्ने एक जना पनि थिएन किनभने पलिस्तियालीहरूले यसो भनेका थिए: “ती हिब्रूहरूले तरबार र भाला बनाउन नपाऊन्!” २० त्यसैले हलोको फाली तिखार्न अनि गैँती, बन्चरो र हँसियामा धार लगाउन इस्राएलीहरू पलिस्तियालीहरूकहाँ जानुपर्थ्यो। २१ हलोको फाली तिखार्न, गैँती, तीन-दन्ते औजार र बन्चरोमा धार लगाउन अनि गोरु धपाउने सुइरो मर्मत गर्न एक पिम* तिर्नुपर्थ्यो। २२ त्यसैले लडाइँको दिनमा साउल र जोनाथनसँग भएका मानिसहरूमध्ये कसैसित पनि भाला वा तरबार थिएन।+ साउल र जोनाथनसँग मात्र हतियार थियो।
२३ पलिस्तियाली सिपाहीहरूको एउटा दल भने मिक्मासको+ खोँचमा गइसकेको थियो।