पहिलो राजा
९ सुलेमानले यहोवा परमेश्वरको भवन, राजमहल र आफूले चाहेको सबै कुरा बनाइसकेपछि+ २ यहोवा परमेश्वर दोस्रो पटक सुलेमानकहाँ प्रकट हुनुभयो, जसरी उहाँ गिबोनमा प्रकट हुनुभएको थियो।+ ३ यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “मैले तिम्रो प्रार्थना र मेरो कृपाको लागि तिमीले गरेको बिन्ती सुनेँ। तिमीले मेरो लागि बनाएको यस भवनसित सधैँभरि आफ्नो नाम जोडेर मैले यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+ ४ अनि मैले दिएको हरेक आज्ञा मानेर+ तिमी आफ्नो बुबा दाउदजस्तै सत्यनिष्ठ भयौ+ र सोझो हृदयले+ मेरो मार्गमा चल्यौ+ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्यौ+ भने ५ म इस्राएलमा तिम्रो सिंहासनलाई सधैँभरि स्थिर पार्नेछु र तिम्रो बुबा दाउदसित गरेको यो प्रतिज्ञा पूरा गर्नेछु, ‘इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ ६ तर तिमी र तिम्रा छोराहरूले मलाई पछ्याउन छोड्यौ अनि मैले तिमीहरूसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्यौ अनि तिनीहरूलाई दण्डवत् गऱ्यौ भने+ ७ म इस्राएलीहरूलाई यस देशबाट नामेट पारिदिनेछु, जुन देश मैले तिनीहरूलाई दिएको थिएँ+ अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु।+ तब सबै जातिका मानिसहरूमाझ इस्राएल हाँसोको* पात्र हुनेछ र इस्राएलको हालत देखेर सबै जना हाँस्नेछन्।+ ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन् र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ ९ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत् गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
१० सुलेमानलाई यहोवा परमेश्वरको भवन र आफ्नो महल बनाउन २० वर्ष लाग्यो।+ ११ टायरका राजा हिरामले+ सुलेमानलाई देवदार र धुपीका काठ दिएका थिए। साथै उनले सुलेमानलाई मनग्गे सुन पनि दिएका थिए।+ त्यसैले राजा सुलेमानले हिरामलाई गालिलको इलाकामा पर्ने २० वटा सहर दिए। १२ तब हिराम सुलेमानले दिएका सहरहरू हेर्न टायरबाट निस्के तर उनलाई ती सहरहरू चित्त बुझेन। १३ उनले भने: “हे मेरो भाइ, तिमीले मलाई किन यस्ता सहरहरू दियौ?” त्यसैले ती सहरहरूको इलाकालाई आजसम्मै ‘काबुल देश’* भनेर चिनिन्छ। १४ अनि हिरामले राजा सुलेमानकहाँ १२० टालेन्ट* सुन पठाए।+
१५ यहोवा परमेश्वरको भवन,+ राजमहल, ‘ढिस्को,’*+ यरुसलेमको पर्खाल अनि हजोर,+ मगिद्दो+ र गेजेर+ सहर बनाउने काममा मजदुरी गर्न राजा सुलेमानले खटाएकाहरूको कामको विवरण यही हो।+ १६ (मिश्रका फारोले गेजेरलाई कब्जा गरेर आगो लगाइदिएका थिए अनि त्यहाँ बस्ने कनानीहरूलाई पनि मारेका थिए।+ उनले आफ्नी छोरी,+ जो सुलेमानकी पत्नी थिइन्, तिनलाई दाइजोको रूपमा गेजेर दिएका थिए।) १७ सुलेमानले यी सहरहरू बसाले:* गेजेर, तल्लो बेथ-होरोन,+ १८ बालाथ+ अनि इस्राएलको* निर्जनभूमिमा पर्ने तामार। १९ साथै सुलेमानले भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू र घोडचढी बस्ने सहरहरू पनि बनाए।+ तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए। २० एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूमध्ये+ बाँकी रहेकाहरू, जो इस्राएली थिएनन्+ २१ र जसलाई इस्राएलीहरूले नाश गर्न सकेका थिएनन्, तिनीहरूका सन्तान देशमा अझै बाँकी थिए। सुलेमानले उनीहरूलाई दास बनाए र मजदुरी गर्न लगाए; उनीहरू आजसम्मै त्यही काम गर्दै छन्।+ २२ तर सुलेमानले इस्राएलीहरू कसैलाई पनि दास बनाएनन्।+ बरु तिनले इस्राएलीहरूलाई आफ्नो योद्धा, सेवक, भारदार, सैन्य अफिसर अनि सारथिहरूका तथा घोडचढीहरूका कप्तान बनाए। २३ सुलेमानको कामको रेखदेख गर्न ५५० जना निरीक्षक थिए र तिनीहरू कामदारहरूको निगरानी गर्न खटाइएका थिए।+
२४ अनि फारोकी छोरी+ दाउदनगर+ छोडेर सुलेमानले उनको निम्ति बनाइदिएको महलमा आइन्। त्यसपछि सुलेमानले ‘ढिस्को’* बनाए।+
२५ सुलेमान वर्षको तीन चोटि+ यहोवा परमेश्वरको लागि आफूले बनाएको वेदीमा अग्निभेटी र मेलबलि चढाउँथे।+ तिनले यहोवा परमेश्वरसामु भएको वेदीमा माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउँथे। यसरी तिनले भवन बनाउने काम पूरा गरे।+
२६ राजा सुलेमानले एज्योन-गेबेरमा थुप्रै जहाज पनि राखे।+ एज्योन-गेबेर एदोम देशमा+ लाल समुद्रको किनारमा रहेको एलोथनजिकै पर्छ। २७ आफ्ना अनुभवी नाविकहरूले सुलेमानका सेवकहरूसँग मिलेर काम गरून् भनेर हिरामले आफ्ना नाविकहरूलाई जहाजहरूसँगै पठाए।+ २८ तिनीहरू ओपिर गए+ र त्यहाँबाट तिनीहरूले ४२० टालेन्ट सुन सुलेमानकहाँ ल्याए।