हाग्गै
१ राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्वरको यो वचन आयो:
२ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘यी मानिसहरू भन्छन्, “यहोवा परमेश्वरको भवन* बनाउने* बेला अझै भएको छैन।”’”+
३ अनि भविष्यवक्ता हाग्गैमार्फत+ फेरि यहोवा परमेश्वरको यो वचन आयो: ४ “हेर, मेरो भवन उजाड भएको छ। यस्तो बेला तिमीहरूचाहिँ सुन्दर-सुन्दर काठले सजिएको आफ्नो घरमा बस्न सुहाउँछ र?+ ५ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर। ६ तिमीहरू प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ।+ तिमीहरू खान त खान्छौ तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ तर तिमीहरू कसैलाई पनि न्यानो हुँदैन। ज्यालामा काम गर्नेले आफ्नो ज्याला प्वाल परेको थैलीमा राख्छ।’”
७ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर।’
८ “‘जाओ, पहाडहरूमा गएर काठ ल्याओ।+ अनि मेरो भवन निर्माण गर।+ त्यो देखेर म खुसी हुनेछु र मेरो महिमा हुनेछ,’+ यहोवा परमेश्वर भन्नुहुन्छ।”
९ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरूले आफ्नो उब्जनी प्रशस्तै होला भनेर आस गर्दै थियौ तर थोरै मात्र कटनी गर्न पायौ। तिमीहरूले आफ्नो बाली भित्र्याउँदा मैले त्यसलाई फुकेर उडाइदिएँ।+ किन, तिमीहरूलाई थाह छ? किनकि मेरो भवन उजाड भएको छ तर तिमीहरू भने आ-आफ्नै घरको लागि दौडधूप गरिरहन्छौ।+ १० त्यसैले आकाशबाट शीत पर्न बन्द भयो अनि जमिनले उब्जनी दिन छोड्यो। ११ अनि मैले जमिन र पहाडहरूमाथि, अन्न, नयाँ मद्य र तेलमाथि, जमिनको हरेक उब्जनीमाथि, मानिस र वस्तुभाउमाथि अनि तिमीहरूका हातका सबै परिश्रममाथि खडेरी निम्त्याउन छोडिनँ।’”
१२ सालतिएलका+ छोरा यरुबाबेल+ र यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसु र बाँकी सबै मानिसले यहोवा तिनीहरूका परमेश्वरको वचन सुने अनि भविष्यवक्ता हाग्गैको कुरा सुने किनकि यहोवा तिनीहरूका परमेश्वरले नै तिनलाई पठाउनुभएको थियो। अनि मानिसहरूले यहोवा परमेश्वरको भय मान्न थाले।
१३ तब यहोवा परमेश्वरका सन्देशवाहक हाग्गैले यहोवाबाट आफूले पाएको आदेशअनुसारै मानिसहरूलाई यस्तो सन्देश सुनाए: “‘म तिमीहरूसित छु,’+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।”
१४ तब यहोवा परमेश्वरले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेललाई+ अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुका+ साथै बाँकी सबै मानिसको मनलाई उत्प्रेरित गर्नुभयो+ र तिनीहरूले सेनाहरूका यहोवा, आफ्ना परमेश्वरको भवन निर्माण गर्न थाले।+ १५ तिनीहरूले राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको २४ औँ दिनमा काम सुरु गरे।+