मर्कुसका अनुसार
७ तब यरुसलेमबाट आएका फरिसीहरू अनि केही शास्त्रीहरू उहाँकहाँ भेला भए।+ २ अनि तिनीहरूले उहाँका केही चेलाहरूले अशुद्ध हातले अर्थात् हात नधोई* खाना खाएको देखे। ३ (फरिसीहरू अनि सबै यहुदी आफ्ना पुर्खाहरूले बसालेको परम्पराअनुसार कुहिनासम्म हात नधोई खाँदैनन्। ४ त्यसैगरि बजारबाट फर्केपछि पानीले आफूलाई नचोख्याएसम्म तिनीहरू खाँदैनन्। तिनीहरू यस्तै-यस्तै अरू थुप्रै रीतिथिति मान्छन्। जस्तै: तिनीहरू कचौरा, सुराही र तामाका भाँडाहरूलाई पानीमा डुबाएर चोख्याउँछन्।)+ ५ त्यसैले यी फरिसीहरू अनि शास्त्रीहरूले उहाँलाई सोधे: “तपाईँका चेलाहरू पुर्खाहरूले बसालेको परम्पराअनुसार नचलेर किन अशुद्ध हातले खाना खान्छन्?”+ ६ उहाँले तिनीहरूलाई भन्नुभयो: “ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए, जस्तो लेखिएको छ: ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन् तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।+ ७ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन् किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्।’+ ८ तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्वरको आज्ञालाई लत्याउँछौ।”+
९ उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “आफ्नो परम्परा टिकाइराख्न तिमीहरू परमेश्वरको आज्ञालाई चतुऱ्याइँसित पन्छाउँछौ।+ १० उदाहरणका लागि, मोसाले भनेका थिए: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ ११ तर तिमीहरू भन्छौ: ‘यदि कसैले आफ्नो बुबा वा आमालाई “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्, ती सबै कुर्बानी (अर्थात्, परमेश्वरलाई अर्पण गरेको भेटी) हो” भन्छ भने त्यो ठीकै हो।’ १२ अनि तिमीहरू उसलाई आफ्नो बुबा वा आमाको निम्ति केही पनि गर्न दिँदैनौ।+ १३ यसरी तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ+ अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।”+ १४ अनि भीडलाई नजिक बोलाएर उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू सबै मेरो कुरा सुन अनि त्यसको अर्थ बुझ।+ १५ यस्तो कुनै कुरा छैन, जसले मानिसभित्र पसेर उसलाई अशुद्ध बनाउन सक्छ। बरु मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।”+ १६ *—
१७ जब उहाँ भीडबाट टाढा एउटा घरमा पस्नुभयो, तब चेलाहरूले उहाँलाई त्यस उदाहरणको अर्थ सोध्न थाले।+ १८ त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरूले पनि तिनीहरूले जस्तै अझै बुझेनौ? मानिसभित्र पस्ने कुनै पनि कुराले उसलाई अशुद्ध बनाउन सक्दैन भनेर के तिमीहरूलाई थाह छैन? १९ किनकि त्यो उसको हृदयमा होइन तर पेटमा पुग्छ र शरीरबाट बाहिर निस्कन्छ।” यसप्रकार उहाँले सबै खानेकुरालाई शुद्ध ठहराउनुभयो। २० उहाँले अझै यसो भन्नुभयो: “जे कुरा मानिसबाट बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।+ २१ किनकि भित्रबाट, मानिसको हृदयबाटै+ यी कुराहरू निस्कन्छन्: हानिकारक विचार, अवैध यौनसम्बन्ध,* चोरी, हत्या, २२ व्यभिचार,* लोभ, दुष्ट्याइँ, छल, निर्लज्ज आचरण,* ईर्ष्यालु नजर, निन्दा, अहङ्कार र मूर्खता। २३ यी सबै दुष्ट कुरा भित्रबाटै निस्कन्छन् र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।”
२४ त्यहाँबाट उठेर उहाँ टायर र सिदोनको इलाकामा जानुभयो+ अनि एउटा घरमा पस्नुभयो। आफू त्यहाँ छु भनी कसैले थाह नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो। तर उहाँ मानिसहरूको नजरबाट लुक्न सक्नुभएन। २५ त्यसै इलाकामा बस्ने एउटी स्त्रीकी छोरीलाई प्रेतले* सताइरहेको थियो। त्यसैले उहाँको विषयमा सुन्नेबित्तिकै त्यो स्त्री उहाँकहाँ आई र उहाँको पाउ परी।+ २६ ऊ सिरियाको फोनिसियामा बस्ने ग्रीक थिई। उसले आफ्नी छोरीलाई सताइरहेको प्रेतलाई धपाइदिन उहाँलाई बिन्ती गरेको गऱ्यै गरी। २७ तर उहाँले उसलाई यस्तो जवाफ दिनुभयो: “पहिला केटाकेटीले पेटभरि खान पाउनुपर्छ। किनकि केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।”+ २८ तर उसले उहाँलाई जवाफ दिई: “हो हजुर तर टेबुलमुनि बसेका छाउराहरूले पनि त साना केटाकेटीले झारेका टुक्राटाक्री खान पाउँछन्।” २९ उहाँले उसलाई भन्नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, प्रेत तिम्री छोरीबाट निस्केर गइसकेको छ।”+ ३० त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी भेट्टाई। प्रेतले तिनलाई छोडेर गइसकेको थियो।+
३१ टायरको इलाकाबाट फर्केर उहाँ सिदोन र डेकापोलिसको इलाका* हुँदै गालिल समुद्र जानुभयो।+ ३२ यहाँ तिनीहरूले उहाँकहाँ एक जना बहिरो अनि भकभके मानिस ल्याए+ र त्यस मानिसमाथि आफ्नो हात राखिदिन उहाँलाई अनुरोध गरे। ३३ उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो र उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।+ ३४ त्यसपछि उहाँले आकाशतिर हेरेर लामो सास तान्नुभयो र उसलाई भन्नुभयो: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” ३५ तब ऊ फेरि सुन्न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन् त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्थे।+ ३७ हुन पनि उहाँका कामहरू देखेर तिनीहरू असाध्यै छक्क परेका थिए+ र भन्थे: “उहाँले गर्नुभएका सबै कुरा असल छन्। यहाँसम्म कि उहाँ बहिरोलाई सुन्न सक्ने र गुँगोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”+