परमेश्वरले तपाईंको फिक्री गर्नुहुन्छ
मरी ५० वर्ष पुग्नै लागेकी मसीही स्त्री हुन् र उनले जीवनमा निकै दुःख भोगेकी छिन्। पति व्यभिचारी भएकोले उनको पारपाचुके भएको दश वर्षभन्दा बढी भइसक्यो। त्यसपछि, मरी एक्लैले आमा र बाबु दुवैको भूमिका निर्वाह गरेर चार छोराछोरीलाई हुर्काउन संघर्ष गर्नुपऱ्यो। तर उनी अझै एक्लो छिन् र कहिलेकाहीं त्यो एकाकीपन असह्य महसुस गर्छिन्। मरी सोच्छिन्, ‘के यसको मतलब परमेश्वरले बुबाबिनाका मेरा छोराछोरीहरू वा मेरो फिक्री गर्नुहुन्न?’
तपाईंले त्यस्तैप्रकारको दुःख भोग्नुभए वा नभए तापनि तपाईं पक्कै मरीका भावनाहरूप्रति सहानुभूति देखाउन सक्नुहुन्छ। हामी सबैले कठिन परिस्थितिहरू सहेका छौं अनि यहोवाले कहिले र कसरी हाम्रो पक्षमा केही गर्नुहुनेछ भनी सोचेका पनि हौंला। यीमध्ये केही दुःखहरू हामीले परमेश्वरका नियमहरू पालन गरेकाले नै भएका हुन्। (मत्ती १०:१६-१८; प्रेरित ५:२९) अरू चाहिं शैतानले शासन गरेको संसारमा हामी असिद्ध मानवहरू बाँच्नु परेकोले भएका हुन्। (१ यूहन्ना ५:१९) प्रेरित पावलले यसप्रकार लेखे: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा . . . परेको छ।”—रोमी ८:२२.
तथापि, तपाईंले कठिन परीक्षा सामना गर्नुको अर्थ, यहोवाले तपाईंलाई त्याग्नुभएको छ वा तपाईंको हितबारे कुनै चासो राख्नुहुन्न भन्ने होइन। तपाईं यसबारे कसरी ढुक्क हुन सक्नुहुन्छ? परमेश्वरले तपाईंको फिक्री गर्नुहुन्छ भनेर कुन कुराले देखाउँछ?
पुरातन उदाहरण
यहोवाले व्यक्तिविशेषको फिक्री गर्नुहुन्छ भनेर बाइबलले स्पष्ट प्रमाण दिन्छ। दाऊदलाई विचार गर्नुहोस्। यहोवाले यस जवान गोठालोमा व्यक्तिगत चासो लिनुभयो र तिनलाई “परमप्रभुले आफैले रूचाउन भएको” थियो। (१ शमूएल १३:१४) पछि, राजाको हैसियतमा दाऊदले शासन गर्दा यहोवाले तिनलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “जहाँ जहाँ तँ गइस् म तँसँगै रहें।”—२ शमूएल ७:९.
के यसको मतलब परमेश्वरबाट विशेष सुरक्षा पाएर दाऊदले “समस्यामुक्त” जीवन बिताएको थियो त? थिएन किनभने दाऊदले तिनको शासनकाल अघि र दौडान गम्भीर समस्याहरू सामना गरे। राजा हुनुअघि निकै वर्षसम्म तिनको हत्या गर्ने उद्देश्य लिएर शाऊलले खेदे। यस समयावधिमा दाऊदले यसप्रकार लेखे: “मेरो प्राण ता सिंहहरूका बीचमा छ . . . यस्ता मानिसहरूका बीचमा, जसका दाँत भाला र काँड़जस्तै . . . छन्।”—भजन ५७:४.
यद्यपि, यी समस्याहरू भोग्दा पनि यहोवाले व्यक्तिगत तवरमा फिक्री गर्नुहुन्छ भनेर दाऊद निर्धक्क थिए। तिनले यहोवालाई यसरी प्रार्थना गरे, “म भागी हिंड़ेको वृतान्त तपाईंले लेख्नुभएको छ।” हो, यहोवाले लेख्नुभएझैं दाऊदको दुःखद अनुभव उहाँलाई सविवरण थाह थियो। त्यसपछि दाऊदले अझै यसो भने: “मेरो आँसु तपाईंको [छालाको, न्युव] भाँड़ामा हालिराख्नुहोस्, ती सबै तपाईंको पुस्तकमा छन्?”a (भजन ५६:८) यहोवालाई तिनको परिस्थिति मात्र होइन तर त्यसको भावनात्मक असरबारे पनि थाह थियो भनेर यो दृष्टान्तद्वारा दाऊदले भरोसा व्यक्त गरे।
आफ्नो जीवनको अन्ततिर दाऊदले आफ्नै अनुभवबाट यस्तो लेख्नसके: “सज्जनका पाइला परमप्रभुबाटै स्थिर रहन्छ। र उहाँ तिनको मार्गमा प्रसन्न हुनुहुन्छ। तिनी लड़िहाल्यो भने पनि लोटिएरै रहँदैनन्। किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ।” (भजन ३७:२३, २४) तपाईंले लगातार परीक्षाहरू सामना गरिरहनु परे तापनि यहोवाले तपाईंको धीरज देख्नुहुन्छ र त्यसलाई मूल्यवान् ठान्नुहुन्छ भनेर तपाईं पनि ढुक्क हुन सक्नुहुन्छ। पावलले यसप्रकार लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखेका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.
यसबाहेक, जीवनमा आइपर्ने जस्तोसुकै अवरोध सहने बल प्रदान गर्नुभएर यहोवाले तपाईंको पक्षमा केही गर्न सक्नुहुन्छ। दाऊदले यसप्रकार लेखे: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१९) निस्सन्देह, “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै [यहोवाको] दृष्टि रहिरहन्छ” भनेर बाइबलले हामीलाई बताउँछ।—२ इतिहास १६:९.
यहोवाले तपाईंलाई खिंच्नुभएको छ
यहोवाले व्यक्तिगत तवरमा फिक्री गर्नुहुन्छ भन्ने थप प्रमाण येशूका शब्दहरूमा पाउन सकिन्छ। उहाँले यसो भन्नुभयो, “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” (यूहन्ना ६:४४) हो, ख्रीष्टको बलिदानका लाभहरू प्राप्त गर्न यहोवाले मानिसहरूलाई व्यक्तिगत तवरमा मदत गर्नुहुन्छ। कसरी? निकै हदसम्म त, परमेश्वरको राज्यको प्रचार कार्यद्वारा। हुन त यो कार्य “सारा संसारमा सब जातिहरूलाई साक्षी” दिने भए तापनि व्यक्तिगत तवरमा त्यो दिइन्छ। सुसमाचार सुनेर त्यसप्रति सकारात्मक प्रतिक्रिया देखाउनुको अर्थ नै यहोवाले तपाईंको व्यक्तिगत तवरमा फिक्री गर्नुहुन्छ भन्ने प्रमाण हो।—मत्ती २४:१४.
यहोवाले व्यक्तिविशेषलाई आफ्नो पुत्रतर्फ अनि पवित्र आत्माद्वारा अनन्त जीवनको आशातर्फ पनि खिंच्नुहुन्छ। यसले प्रत्येकलाई आफ्ना अन्तरनिहित सीमितता तथा असिद्धताको बावजूद आध्यात्मिक सच्चाइ बुझ्न र त्यो व्यवहारमा उतार्न मदत दिन्छ। वास्तवमा, परमेश्वरको आत्माको मदत नपाई कसैले परमेश्वरका उद्देश्यहरू बुझ्न सक्दैन। (१ कोरिन्थी २:११, १२) पावलले थिस्सलोनिकीहरूलाई लेखेझैं “सबैमा विश्वास छैन।” (२ थिस्सलोनिकी ३:२) यहोवातर्फ खिंचिन चाहनेहरूलाई मात्र उहाँले आफ्नो आत्मा प्रदान गर्नुहुन्छ।
यहोवाले मानिसहरूलाई आफूतर्फ खिंच्नुहुन्छ। किनभने उहाँ तिनीहरूलाई व्यक्तिगत तवरमा प्रेम गर्नुहुन्छ र तिनीहरूले मुक्ति पाओस् भनी चाहनुहुन्छ। यहोवाले व्यक्तिविशेषको फिक्री गर्नुहुन्छ भन्ने कस्तो मजबुत प्रमाण! येशूले यसो भन्नुभयो: “यी सानाहरूमध्ये एउटा पनि नष्ट नहोस् भन्ने तिमीहरूका स्वर्गमा हुने पिताको इच्छा छ।” (मत्ती १८:१४) हो, परमेश्वरको नजरमा प्रत्येक व्यक्तिको आफ्नै महत्त्व छ। त्यसैकारण पावलले लेख्न सके: उहाँले “हरेक मानिसलाई आफ्नो कामअनुसार इनाम दिनहुनेछ।” (रोमी २:६) अनि प्रेरित पत्रुसले यसप्रकार लेखे: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो [व्यक्तिविशेष] उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
येशूका चमत्कारहरू
परमेश्वरले मानिसहरूप्रति व्यक्तिगत चासो राख्नुहुन्छ भनेर उहाँको पुत्र, येशूका चमत्कारहरूले मर्मस्पर्शी ढंगमा प्रदर्शित गरे। यी निवारणहरूमा गहिरो भावना मुछिएको हुन्थ्यो। (मर्कूस १:४०, ४१) “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन।” त्यसकारण आफ्ना प्रत्येक सेवकहरूप्रति यहोवाले देखाउनुहुने मायालु चासो येशूको अनुकम्पाबाट झल्कन्छ।—यूहन्ना ५:१९.
मर्कूस ७:३१-३७ मा उल्लेख गरिएअनुसार येशूले गर्नुभएको चमत्कारलाई विचार गर्नुहोस्। येशूले बहिरो तथा भक्भके मानिसलाई निको पार्नुभयो। बाइबलले बताएअनुसार उहाँले “त्यसलाई भीड़बाट अलग्गै एकान्तमा” लैजानुभयो। त्यसपछि, “स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, ‘इफ्फाता,’ अर्थात् ‘खोलिजा।’”
येशूले यस मानिसलाई भीडबाट अलग किन लैजानुभयो? कुरा के हो भने, एकदमै कम मात्र बोल्न तथा सुन्नसक्ने व्यक्तिले भीडसामु अप्ठ्यारो महसुस गर्नेथियो। येशूले त्यस मानिसको अप्ठ्यारोपनलाई देख्नुभयो। त्यसैकारण उहाँले एकान्तमा निको पार्न चाहनुभएको हुनसक्छ। एक बाइबल शास्त्रविद्को अवलोकनअनुसार “सम्पूर्ण घटनाले के देखाउँछ भने, येशूले त्यो मानिसलाई एक रोगी मात्र सम्झनुभएन तर त्यसलाई एक व्यक्तिविशेष ठान्नुभयो भनेर ज्वलन्त प्रमाण दिन्छ। यो मानिसको विशेष आवश्यकता तथा विशेष समस्या थियो र येशूले तिनीप्रति असाध्यै कोमल दयापूर्ण ढंगमा व्यवहार गर्नुभयो। उहाँले तिनका भावनाहरूमा कुनै आघात पुऱ्याउनुभएन र तिनले बुझ्नसक्ने ढंगमा व्यवहार गर्नुभयो।”
येशूले मानिसहरूमा व्यक्तिगत चासो राख्नुहुन्थ्यो भनी यो विवरणले देखाउँछ। उहाँले तपाईंप्रति पनि उत्तिकै रुचि लिनुहुन्छ भनेर ढुक्क हुन सक्नुहुन्छ। हो, उहाँको बलिदानरूपी मृत्यु नै छुटकारा पाउनसक्ने सम्पूर्ण मानवजातिप्रति प्रेमको अभिव्यक्ति थियो। यद्यपि, त्यो तपाईंकै लागि गरिएको ठान्न सक्नुहुन्छ। पावलले पनि त्यसै ठानेका थिए। तिनले लेखे: “परमेश्वरको पुत्र[ले] . . . मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।” (गलाती २:२०) “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ” भनी येशूले भन्नुभएको हुँदा यहोवाले आफ्ना सेवकहरूप्रति त्यस्तै चासो राख्नुहुन्छ भनेर हामी निश्चित हुनसक्छौं।—यूहन्ना १४:९.
यहोवा इनामदाता बन्नुहुन्छ
परमेश्वरको ज्ञान लिनु भनेको बाइबलमा प्रकट गरिएअनुसार उहाँको व्यक्तित्वको हरेक पक्षलाई चिन्नु हो। यहोवा नाउँको अर्थ नै “उहाँले हुन दिनुहुन्छ” हो। त्यसको अर्थ, आफ्नो इच्छा पूरा गर्न यहोवा आफूलाई जस्तोसुकै पनि हुन दिनुहुन्छ। इतिहासभरि उहाँले विभिन्न भूमिका निर्वाह गर्नुभएको छ। जस्तै, सृष्टिकर्ता, पिता, सार्वभौम प्रभु, गोठाला, सेनाहरूका परमप्रभु, प्रार्थना सुन्नुहुने, न्यायकर्ता, महान् निर्देशक तथा छुटाउनुहुने।b
परमेश्वरको नाउँको पूरा अर्थ बुझ्न यहोवाले निर्वाह गर्नुहुने इनामदाताको भूमिका पनि हामीले बुझ्नैपर्छ। पावलले यसप्रकार लेखे: “विना विश्वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।”—हिब्रू ११:६.
अहिले पूरा मनतनले यहोवाको सेवा गर्न रोज्नेहरूलाई उहाँले पार्थिव प्रमोदवनमा अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। त्यस महान् प्रतिज्ञाको पूर्तिको प्रतीक्षा गर्नु स्वार्थी हुनु होइन नता आफू त्यहाँ जीवन बिताइरहेको कल्पना गर्नु दुराशा हो। मोशाले “आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए।” (हिब्रू ११:२६) त्यस्तैगरि पावलले पनि विश्वासी अभिषिक्त मसीहीहरूको लागि परमेश्वरको प्रतिज्ञाको पूर्ति उत्सुकतापूर्वक पर्खे। तिनले यसप्रकार लेखे: “ख्रीष्ट येशूमा परमेश्वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु।”—फिलिप्पी ३:१४.
धैर्य धारण गर्नेहरूका निम्ति यहोवाले प्रतिज्ञा गर्नुभएको प्रतिफल पाउने प्रत्याशा तपाईंले पनि गर्न सक्नुहुन्छ। त्यो प्रतिफलको प्रत्याशा गर्नु परमेश्वरबारे तपाईंको ज्ञान र उहाँको सेवामा धीरजको अभिन्न भाग हो। अतः यहोवाले तपाईंको निम्ति राख्नुभएका आशिष्हरूमा दिनहुँ मनन गर्नुहोस्। सुरुमा उल्लिखित मरीले यसो गर्ने विशेष प्रयास गरिन्। उनी भन्छिन्, “येशूको छुडौतीको बलिदान मेरोलागि हो भनेर मैले जीवनमा पहिलो चोटि स्वीकारें। यहोवाले व्यक्तिगत तवरमा मेरो फिक्री गर्नुभएको महसुस मैले गर्न थालेकी छु। म मसीही भएको २० वर्षभन्दा बढी भइसक्यो तर हालै मात्र मैले यसमा साँच्चै विश्वास गर्न थालें।”
यहोवाले सामूहिक तवरमा मात्र होइन तर व्यक्तिगत तवरमा पनि मानिसहरूको फिक्री गर्नुहुन्छ भनेर मरीलगायत लाखौंले बाइबल अध्ययन तथा त्यसको हृदयस्पर्शी मनन गरेर सिकिरहेका छन्। प्रेरित पत्रुस यसबारे यति विश्वस्त थिए, तिनले यसप्रकार लेखे: “तिमीहरूका सारा फिक्री [परमेश्वरमाथि] राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) हो, परमेश्वरले तपाईंको फिक्री गर्नुहुन्छ!
[फुटनोटहरू]
a सिसीजस्तो छालाको भाँडा जनावरको छालाबाट बनाइन्थ्यो र त्यो पानी, तेल, दूध, रक्सी, मखन तथा चीज राख्न प्रयोग गरिन्थ्यो। पुरातन सिसीहरू एकदमै बेग्लाबेग्लै माप र आकारका हुन्थे। तिनीहरूमध्ये केही छालाको झोलाजस्तै हुन्थे त केही बिर्को लगाउन मिल्ने लामा घाँटीहरू भएको भाँडाजस्तै हुन्थे।
b न्यायकर्त्ता ११:२७; भजन २३:१; ६५:२; ७३:२८; ८९:२६; यशैया ८:१३; ३०:२०; ४०:२८; ४१:१४ हेर्नुहोस्। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स—विथ रेफरेन्सेस, (पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद—सन्दर्भिकासहित) (नेपालीमा उपलब्ध छैन) परिशिष्ट 1J, पृष्ठ १५६८ पनि हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी]
पुनरुत्थान—परमेश्वरले फिक्री गर्नुहुन्छ भन्ने प्रमाण
परमेश्वरले हरेक व्यक्तिविशेषमा रुचि लिनुहुन्छ भन्ने विश्वसनीय प्रमाण यूहन्ना ५:२८, २९ मा पाइन्छ: “बेला आउँछ, जब [सम्झनाको, न्युव] चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्नेछन् . . . [र] निस्किआउनेछन्।”
चाखलाग्दो कुरा, यहाँ युनानी शब्द, टाफोस-को (चिहान) साटो नेमियोन (सम्झनाका चिहानहरू) प्रयोग गरिएको छ। टाफोस शब्दले मुर्दा गाड्ने भन्ने अर्थ मात्र बुझाउँछ। तर नेमियोन-ले मृत व्यक्ति स्मरणमा छ भन्ने संकेत गर्छ।
यस सन्दर्भमा यसो विचार गर्नुहोस्, पुनरुत्थान गर्न यहोवा परमेश्वरले के के गर्नुपर्ला। कुनै मानिसलाई पुनः जीवित पार्न उहाँलाई त्यस व्यक्तिको अन्तरनिहित गुन तथा पूर्ण स्मरणलगायत सबै कुरा थाह हुनुपर्छ। तब मात्र त्यस व्यक्तिविशेषलाई पुरानै चिनारीसहित पुनः जीवित पार्न सकिनेछ।
निस्सन्देह, मानव दृष्टिकोणबाट यो कुरा असम्भव छ तर “परमेश्वरलाई सबै सम्भव हुन्छ।” (मर्कूस १०:२७) उहाँले मानिसको हृदयको कुरासमेत पत्ता लगाउन सक्नुहुन्छ। कुनै व्यक्ति मरेको निकै शताब्दी भइसके तापनि त्यो व्यक्तिबारे परमेश्वरको स्मरण अचूक छ। उहाँले कुनै कुरा बिर्सनुहुन्न। (अय्यूब १४:१३-१५) तसर्थ, अब्राहाम, इसहाक र याकूबबारे उल्लेख गर्दा तिनीहरू मरेको शताब्दीयौंपछि पनि येशूले यसो भन्न सक्नुभयो, यहोवा “मुर्दाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्।”—लूका २०:३८.
तसर्थ, यहोवा परमेश्वरले मरिसकेका अरबौं मानिसहरूको पूर्ण जानकारी स्मरणमा राख्नुहुन्छ। परमेश्वरले व्यक्तिगत तवरमा मानिसहरूको फिक्री गर्नुहुन्छ भन्ने कस्तो प्रभावशाली प्रमाण!
[पृष्ठ ७-मा भएको चित्र]
आफूले निवारण गर्नुभएकाहरूप्रति येशूले व्यक्तिगत चासो राख्नुभयो