उपदेशक
२ त्यसपछि मैले मनमनै यसो भनेँ: “अब मोजमस्ती गरेर हेर्छु। अनि हेरौँ, के फाइदा हुँदो रहेछ।” तर त्यो पनि व्यर्थ रहेछ।
२ मैले हाँसोको विषयमा भनेँ, “यो पागलपन हो!”
अनि मोजमस्तीको विषयमा भनेँ, “यसबाट के फाइदा हुन्छ र?”
३ मैले रक्सीको मजा लिएर हेरेँ।+ तर आफ्नो होसहवास भने गुमाइनँ।* मैले मूर्ख भएर पनि हेरेँ किनकि दुई दिनको जिन्दगीमा मानिसले संसारमा के गर्दा सबैभन्दा राम्रो हुन्छ, म बुझ्न चाहन्थेँ। ४ मैले ठूलठूला कामहरू गरेँ।+ आफ्नो लागि महलहरू बनाएँ;+ अङ्गुरका बगानहरू लगाएँ।+ ५ मैले आफ्नो लागि बगैँचाहरू बनाएँ अनि त्यसमा थरिथरिका फलफूलका रूखहरू लगाएँ। ६ लहलहाउँदा रूखहरू भएको आफ्नो वनमा पानी लगाउन मैले पोखरीहरू बनाएँ। ७ मैले थुप्रै दासदासी राखेँ + र कति त मेरै घरमा पनि जन्मिए। मेरा थुप्रै वस्तुभाउ थिए।+ त्यति धेरै वस्तुभाउ त यरुसलेममा मेरा पुर्खासित पनि थिएन। ८ राजा-रजौटाहरूले आ-आफ्नो इलाकाबाट+ जम्मा गरेका सबै सुनचाँदी मैले थुपारेँ।+ मैले गायक-गायिकाहरू राखेँ। पुरुषहरूको मन बहलाउन स्त्रीहरूको सङ्गतभन्दा असल कुरो के होला र? त्यसैले मैले स्त्रीसित, हो, स्त्रीहरूसित सङ्गत गरेँ। ९ मसित के मात्र थिएन र? मसित जे-जति थियो, त्यो मभन्दा अघि यरुसलेममा अरू कसैसित थिएन।+ तैपनि मैले आफ्नो सुद्धीबुद्धि गुमाइनँ।
१० मैले आफूलाई इच्छा लागेको सबै कुरा गरेँ।+ मोजमस्ती गर्न मैले कुनै कसर बाँकी राखिनँ। कडा परिश्रम गरेबापत मैले आनन्द पाएँ। त्यो नै मेरो इनाम* थियो।+ ११ तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+
१२ त्यसपछि मैले बुद्धि, पागलपन र मूर्खता अपनाएर हेरेँ।+ (राजापछि आउने मानिसले के नै गर्न सक्छ र? त्यही, जुन पहिल्यै गरिसकिएको थियो।) १३ अँध्यारोभन्दा उज्यालो राम्रो भएझैँ मूर्खताभन्दा बुद्धि राम्रो रहेछ+ भनेर मैले बुझेँ।
१४ बुद्धिमान् मानिसले आफू कस्तो मार्गमा हिँडिरहेको छु भनेर राम्ररी देख्छ*+ तर मूर्खचाहिँ अन्धकारमा रुमलिन्छ।+ तर मैले के देखेँ भने, अन्तमा यी दुवैले एउटै नतिजा भोग्दा रहेछन्।+ १५ अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान् भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्ने लाग्यो। १६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+
१७ संसारमा* जे-जति काम भइरहेका छन्, ती सबै सम्झेर मलाई दुःख लाग्यो+ र आफ्नो जीवनलाई मैले घृणा गर्न थालेँ। किनकि सबै कुरा व्यर्थ रहेछ,+ केवल बतासलाई खेदेको जस्तो।+ १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+ १९ अनि त्यो मानिस मूर्ख हुने हो कि बुद्धिमान्, कसलाई के थाह?+ तैपनि मैले संसारमा* आफ्नो सारा बल अनि बुद्धि लगाएर प्राप्त गरेको कुरामाथि त्यसले नै राज गर्नेछ। यो पनि व्यर्थ रहेछ। २० त्यसैले संसारमा* मैले गरेको कडा परिश्रम सम्झेर मलाई विरक्त लाग्यो। २१ मानिसले आफ्नो बुद्धि, ज्ञान र सीप चलाएर कडा परिश्रम त गर्छ तर त्यसको फल भने उसले त्यस्तो मानिसलाई सुम्पिनुपर्ने हुन्छ, जसले त्यसको लागि मेहनत गरेकै हुँदैन।+ यो पनि व्यर्थ र साह्रै दुःखलाग्दो कुरा हो।
२२ संसारमा* ठूलठूला कुरा हासिल गर्न मरिमेटेर अनि कडा परिश्रम गरेर मानिसले आखिर के नै पाउँछ र?+ २३ बाँचुन्जेल उसले आफ्नो कामबाट दुःख-पीडा र दिक्दारीबाहेक अरू केही पाउँदैन।+ राती पनि ऊ मजाले निदाउन सक्दैन।+ त्यसैले यो पनि व्यर्थ रहेछ।
२४ मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्वरकै देन हो भनेर मैले बुझेँ।+ २५ आखिर मजति मीठो खाने र पिउने अरू को नै छ र?+
२६ साँचो परमेश्वरलाई खुसी तुल्याउने मानिसहरूलाई उहाँ बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ।+ तर पापीहरूलाई भने उहाँ जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ। यसरी जम्मा गरिएको र बटुलिएको कुरा पनि उहाँलाई खुसी पार्ने व्यक्तिले नै पाउँछ।+ यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।