आनन्दित हुन किन यत्तिको गाह्रो
रीस, चिन्ता र निराशाजस्ता विषयहरूबारे वैज्ञानिक अनुसन्धान गरिंदै आएको निकै भइसक्यो। तथापि, अहिले आएर भने विज्ञान क्षेत्रमा अग्रभूमिका निर्वाह गरिरहेका वैज्ञानिकहरूले मानिसहरूको उत्थान हुने तथा मनमोहक एउटा गुणमा अनुसन्धानहरू केन्द्रित गरिरहेका छन्। त्यो गुण हो, आनन्द।
के गरेमा मानिसहरू बढी आनन्दित हुनसक्छन् होला? अहिलेभन्दा जवान, धनी, सुस्वस्थ, अग्लो वा पातलो भए आनन्दित हुनेथिए कि? साँचो आनन्द कसरी प्राप्त गर्न सकिन्छ? धेरै मानिसहरूलाई ती प्रश्नहरूको जवाफ पाउन असम्भव जस्तो लाग्छ र जवाफ पाउन सकिन्छ भने पनि असाध्यै गाह्रो होला भन्ठान्छन्। आनन्दित हुन कोही पनि सफल नभएको देख्दा बरु कसै कसैलाई यो प्रश्नको जवाफ दिन सजिलो लाग्ला। प्रश्न हो, आनन्द प्राप्त नहुने तरिकाहरू के के हुन्?
केही प्रमुख मनोवैज्ञानिकहरूले आत्मकेन्द्रित मनोवृत्ति नै आनन्द प्राप्त गर्ने तरिका हो भन्दै आएको धेरै भइसक्यो। तिनीहरूले खिन्न मानिसहरूलाई आफ्ना स्वार्थ पूरा गर्न दत्तचित्त हुनु भनेर प्रोत्साहन दिए। “आफूखुसी गर्नुहोस्,” “आत्मसजग हुनुहोस्” र “आफ्नो भित्री मनुष्यत्व चिन्नुहोस्” इत्यादि मुखैमा झुन्डिने वा दिमागमा ठप्प बस्ने अभिव्यक्तिहरू मनोवैज्ञानिक उपचारविधिमा प्रयोग गरिन्छ। यद्यपि, यस्तो सोचाइलाई बढावा दिने निपुण मनोवैज्ञानिकहरूसमेत त्यस्तो आफूखुसी गर्ने मनोवृत्तिले चिरस्थायी आनन्द ल्याउँदैन भन्ने कुरामा अहिले सहमत भएका छन्। अहम्भावनाले पीडा तथा दुःख ल्याउनेछ भन्ने कुरामा कुनै शंका छैन। स्वार्थीपनले आनन्द दिन सक्दैन।
खिन्न तुल्याउने कुराहरू
सुखविलासको पछि लाग्नेहरूले गलत ठाउँमा आनन्द खोजिरहेका हुन्छन्। पुरातन इस्राएलका बुद्धिमान् राजा, सुलेमानलाई विचार गर्नुहोस्। उपदेशकको पुस्तकमा तिनी यसरी वर्णन गर्छन्: “लोभ लागेको कुरो प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ, नता मैले कुनै किसिमको सुख-चैनलाई इन्कार गरें। साँच्चिनै मैले मेरा सबै मेहनतबाट सुख पाएँ, औ मेरा सबै मेहनतको फल यही थिए।” (उपदेशक २:१०) सुलेमानले आफ्नो सुखविलासको लागि घरहरू बनाए, दाखबारीहरू लगाए, बगैंचा, उद्यान तथा पोखरीहरू बनाए। (उपदेशक २:४-६) तिनले एकचोटि यस्तो प्रश्न गरे: “खाने र पिउने सन्दर्भमा मैले जत्तिको उपभोग त कसले गर्न पाएको होला र?” (उपदेशक २:२५, NW) सर्वोत्तम गायक तथा संगीतकारहरूले तिनको मन बहलाउँथे र असाध्यै सुन्दरी केटीहरू तिनको चारैतिर हुन्थे।—उपदेशक २:८.
सुलेमानले आमोदप्रमोद दिने कुनै पनि कुरा बाँकी छोडेनन्। यति बिघ्न सुखसयल गरिसकेपछि तिनी कस्तो निष्कर्षमा पुगे? तिनले यसो भने: “तब फर्केर मैले गरेका सबै हातका कामलाई विचारें, मेरा सबै परिश्रम र मेहनतलाई—औ के देखें भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ ती सबै संसारमा बेफायदाका कुरा रहेछन्।”—उपदेशक २:११.
त्यस बुद्धिमान् राजाले बुझेका कुराहरू आज हाम्रो समयमा पनि सत्य साबित हुन्छन्। उदाहरणका लागि, संयुक्त राज्यजस्तो धनी मुलुकलाई लिनुहोस्। गत ३० वर्षको दौडान अमेरिकीहरूको सवारीसाधन तथा टेलिभिजनजस्ता भौतिक सम्पत्तिहरू झन्डै दुगुणा भएको छ। यद्यपि, मानसिक-स्वास्थ्य विशेषज्ञहरूअनुसार अमेरिकीहरू बढी आनन्दित भने हुन सकेका छैनन्। एउटा पत्रिकाअनुसार, “त्यही ३० वर्षको दौडान निराशाको चपेटामा पर्नेहरूको संख्यामा तीव्र वृद्धि आइरहेको छ। किशोरकिशोरीहरूको आत्महत्या दर तीनगुणा बढेको छ। पारपाचुके दर दुगुणा भएको छ।” अनुसन्धानकर्ताहरूले ५० वटा बेग्लाबेग्लै राष्ट्रका मानिसहरूको दृष्टिकोणमा पैसा र आनन्दबीचको सम्बन्धबारे अध्ययन गरेपछि त्यस्तै निष्कर्षमा पुगेका छन्। सरल भाषामा भन्ने हो भने, पैसाले आनन्द किन्न सकिंदैन।
त्यसको विपरीत, धनसम्पत्तिको पछि लाग्नेहरू खिन्न भने अवश्य हुन्छन्। त्यसकारण, प्रेरित पावलले यस्तो चेताउनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०.
धनसम्पत्ति, स्वास्थ्य, जवानी, सौन्दर्य, शक्ति वा यीमध्ये दुइ चारवटा कुराहरू हासिल गर्दैमा चिरस्थायी आनन्द पाइन्छ नै भन्ने ग्यारेन्टी दिन सकिंदैन। किन? किनभने हामी खराब कुराहरू रोक्न सक्दैनौं। राजा सुलेमानले यसो भन्नु उचित थियो: “आफ्नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्दैन। माछा जालमा र चरा पासोमा परेझैं मानिसहरू पनि झट्टै दुर्दशामा फेला पर्छन्।”—उपदेशक ९:१२.
प्राप्त गर्न नसकिने लक्ष्य
जतिसुकै वैज्ञानिक अनुसन्धानहरू गरे तापनि आनन्द प्राप्त गर्न मानिसले कुनै सूत्र वा नीति तयार पार्न सक्दैन। सुलेमानले यसो पनि भने: “मैले संसारका अझै एउटा कुरो देखें—वेग कुदाइले दौड़ जित्नसक्तैन, औ शक्तिले लड़ाइँ जित्नसकिन्न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.
उक्त कुरासित सहमत हुने थुप्रै मानिसहरू यस्तो निष्कर्षमा पुगेका छन्, साँच्चै आनन्दित जीवनको आशा गर्नु व्यवहारिक होइन। नाउँ चलेका प्रशिक्षकले भनेअनुसार “आनन्द भनेको काल्पनिक अवस्था” हो। अरू कतिपयको विचारमा आनन्द प्राप्त गर्नु भनेको रहस्यमय गोप्य हो र त्यो गोप्य कुरा खोल्नसक्ने क्षमता त औंलामा गन्नसक्ने रहस्यवादीहरूसित मात्र होला।
तैपनि, आनन्द प्राप्त गर्ने खोजमा मानिसहरूले विभिन्न प्रकारका जीवनशैली अपनाएर हेरेका छन्। आफ्ना पितापुर्खाहरूको असफलताको बावजूद आनन्दको खोजमा आज थुप्रै मानिसहरू धनसम्पत्ति, शक्ति, स्वास्थ्य वा आमोदप्रमोदको पछि दौडन्छन्। तैपनि, मानिसहरू आनन्द प्राप्त गर्ने यो खोज त्याग्न तयार छैनन् किनभने धेरैजसो मानिसहरू चिरस्थायी आनन्द काल्पनिक अवस्था मात्र हो भन्ने विश्वास गर्दैनन्। आनन्द भनेको प्राप्त गर्न सकिने लक्ष्य होस् भन्ने आशा गर्छन्। त्यसोभए, तपाईंको मनमा प्रश्न उठ्ला, ‘म कसरी आनन्द प्राप्त गर्नसक्छु त?’