यसैया
६२ सियोनको खातिर म चुप लागेर बस्नेछैनँ,+
यरुसलेमको खातिर म चुपचाप बस्नेछैनँ;
जबसम्म उसको धार्मिकता ज्योतिजस्तै चम्किदैन,+
जबसम्म उसको उद्धार राँकोजस्तै बल्दैन।+
२ “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्,+
सबै राजाले तिम्रो महिमा देख्नेछन्।+
तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+
यहोवाले नै दिनुभएको नयाँ नाम।
३ यहोवाको हातमा तिमी शोभाको सुन्दर मुकुट हुनेछ्यौ,
उहाँको हत्केलामा तिमी राजकीय पगरी हुनेछ्यौ।
४ तिमीलाई फेरि कहिल्यै त्यागिएकी स्त्री भनिनेछैन,+
तिम्रो भूमिलाई कसैले पनि उजाड भूमि भन्नेछैन।+
बरु तिमीलाई यस्तो नाम दिइनेछ, ‘ऊदेखि म खुसी छु’+
अनि तिम्रो भूमिलाई ‘विवाहित स्त्री’ भनिनेछ।
किनकि यहोवा तिमीदेखि खुसी हुनुहुनेछ
अनि तिम्रो भूमि विवाहित स्त्रीजस्तै हुनेछ।
५ युवकले कुमारी केटीसित विवाह गरेझैँ
तिम्रा मानिसहरूले तिमीसित विवाह गर्नेछन्।
दुलहीलाई देखेर दुलहा खुसी भएझैँ
तिम्रा परमेश्वर तिमीलाई देखेर खुसी हुनुहुनेछ।+
६ ए यरुसलेम, तिम्रा पर्खालहरूमा मैले पहरेदारहरू खटाएको छु।
तिनीहरू दिनरात पहरा दिइरहन्छन्, चुप लागेर बस्दैनन्।
हे यहोवाको प्रशंसा गर्ने मानिसहरू हो,
तिमीहरू चुपचाप नबस।
७ उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,
सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+
८ यहोवाले आफ्नो दायाँ हात, आफ्नो बलियो पाखुरा उचालेर शपथ खानुभएको छ:
“तिमीहरूको अन्न म तिमीहरूका शत्रुलाई फेरि कहिल्यै दिनेछैनँ,
तिमीहरूले मेहनत गरेर बनाएको नयाँ मद्य विदेशीहरूले फेरि कहिल्यै पिउनेछैनन्।+
९ ज-जसले अन्न कटनी गर्छन्, तिनीहरूले नै त्यो खानेछन् र यहोवालाई धन्यवाद चढाउनेछन्
अनि ज-जसले अङ्गुर बटुल्छन्, तिनीहरूले नै मेरो चोकमा त्यसको मद्य पिउनेछन्।”+
१० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।
मानिसहरूको लागि बाटो तयार पार।+
मूलबाटो बनाओ।
त्यसमा भएका ढुङ्गाहरू हटाओ।+
जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।+