यर्मिया
१५ त्यसपछि यहोवाले मलाई यसो भन्नुभयो: “अहिले मसामु मोसा र समुएल नै भएको भए पनि+ म ती मानिसहरूलाई रतीभर दया देखाउने थिइनँ। ती मानिसहरूलाई मेरो सामनेबाट निकालिदेऊ। तिनीहरू यहाँबाट अन्तै जाऊन्। २ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्नुहुन्छ:
“ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्!
ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्!+
ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्!
ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्!”’+
३ “यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्गी र पृथ्वीका जनावरहरू।+ ४ हिजकियाहका छोरा, यहुदाका राजा मनस्सेले यरुसलेममा गरेका पापहरूको कारण म तिनीहरूलाई सजाय दिनेछु।+ त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्।+
५ ए यरुसलेम, तिमीलाई कसले दया देखाउला?
कसले तिमीमाथि टिठाउला?
तिम्रो हालखबर बुझ्न को तिमीकहाँ आउला?’
६ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीले मलाई त्यागेका छौ।+
तिमीले बारम्बार मलाई पीठ फर्काएका छौ।*+
त्यसैले म आफ्नो हात पसारेर तिमीलाई नाश गर्नेछु।+
तिमीलाई दया देखाउँदा-देखाउँदा* म थाकिसकेँ।
७ देशका मूलढोकाहरूमा अन्न बत्ताएझैँ म तिनीहरूलाई बत्ताउनेछु।
तिनीहरूले छोराछोरीको वियोग सहनुपर्नेछ।+
म आफ्ना मानिसहरूलाई नाश गर्नेछु
किनकि तिनीहरू आफ्नो खराब मार्ग त्याग्न मान्दैनन्।+
८ तिनीहरूका विधवाहरू समुद्रका बालुवाभन्दा धेरै हुनेछन्।
मध्यदिनमा त्यहाँका आमाहरू र बालबच्चालाई नाश गर्न म एक जना पठाउनेछु।
म अचानक तिनीहरूलाई नैराश्य र त्रासले छोप्नेछु।
९ सात जना छोराछोरी जन्माएकी स्त्री शिथिल भएकी छे।
ऊ सकीनसकी सास फेर्दै छे।
दिउँसै उसको घाम डुब्यो,
त्यसैले ऊ लज्जित र अपमानित भएकी छे।’*
यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिनीहरूमध्ये बाँकी रहेका थोरैलाई
म शत्रुको तरबारको सिकार बनाउनेछु।’”+
१० हे मेरी आमा, धिक्कार छ मलाई! तपाईँले किन मलाई जन्म दिनुभयो?+
पूरै देशका मानिसहरूसित मेरो बाझाबाझ र झैझगडा मात्र पर्छ।
न मैले कसैको ऋण खाएको छु न कसैलाई ऋण दिएको नै छु
तैपनि सबै जना मलाई नै सराप्छन्।
११ यहोवाले यसो भन्नुभयो: “म तिमीलाई अवश्य मदत गर्नेछु।
विपत्ति र सङ्कष्टको समयमा
म निश्चय नै तिम्रो पक्षमा भएर शत्रुसित कुरा गर्नेछु।
१२ के कसैले फलामलाई टुक्राटुक्रा पार्न सक्छ?
तामालाई र उत्तरबाट आएको फलामलाई कसैले धुलोपिठो पार्न सक्छ?
१३ तिनीहरूले देशभरि गरेका पापहरूको सजायस्वरूप
म तिनीहरूका धनसम्पत्ति र खजाना शत्रुहरूलाई लुट्न दिनेछु;+ उनीहरूले ती सब सित्तैँमा लैजानेछन्।
१४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु
र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्।+
किनकि मेरो रिसको आगो सल्किएको छ
र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+
१५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ।
मलाई सम्झनुहोस् र मतर्फ ध्यान दिनुहोस्।
मेरा शत्रुहरूसित बदला लिनुहोस्।+
तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्, नत्र त म नाश हुनेछु।
तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्।+
१६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+
त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो।
किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।
१७ मैले मोजमस्ती गर्नेहरूसित बसेर रमझम गरेको छैनँ।+
तपाईँले ममाथि आफ्नो हात राख्नुभएकोले म एक्लै बसेको छु।
किनकि तपाईँले मलाई रिसले* भरिदिनुभएको छ।+
१८ मेरो पीडा किन कम हुँदैन? किन मेरो घाउ निको हुँदैन?
त्यो बिसेक हुनै मान्दैन।
के तपाईँ मेरो लागि धोका दिने मुहानजस्तै बन्नुहुन्छ,
जसमाथि भर पर्नै सकिँदैन?
१९ त्यसैले यहोवा यसो भन्नुहुन्छ:
“तिमी फर्कियौ भने म तिमीलाई स्वीकार गर्नेछु
र तिमीले मेरो सेवा गरिरहनेछौ।
तिमीले व्यर्थका कुराहरूबाट बहुमूल्य कुराहरूलाई छुट्ट्यायौ भने
तिमी मेरो प्रवक्ता हुनेछौ।
तिनीहरू तिमीकहाँ फर्कन बाध्य हुनेछन्
तर तिमी भने तिनीहरूकहाँ जानुपर्नेछैन।”
२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+
तिनीहरू तिमीसित अवश्य लड्नेछन्
तर तिमीलाई जित्न सक्नेछैनन्।+
किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।
२१ म तिमीलाई दुष्टहरूको हातबाट जोगाउनेछु
र निष्ठुरहरूको पन्जाबाट छुटाउनेछु।”