पहिलो राजा
२ दाउदको मृत्यु हुने समय नजिकै आएपछि तिनले आफ्नो छोरा सुलेमानलाई यस्तो निर्देशन दिए: २ “छोरा, अब मेरो मर्ने बेला नजिक आइसक्यो।* तिमी बलियो+ र साहसी+ होऊ! ३ यहोवा तिम्रा परमेश्वरप्रति आज्ञाकारी भएर सधैँ उहाँले देखाउनुभएको बाटोमा हिँड अनि उहाँले मोसाको व्यवस्थामा जे-जस्ता विधिविधान, आज्ञा, नीतिनियम र सम्झौटा दिनुभएको छ, ती सबै पालन गर।+ यसो गऱ्यौ भने जे गरे पनि र जहाँ गए पनि तिमी सफल हुनेछौ। ४ अनि यहोवा परमेश्वरले मेरो विषयमा गर्नुभएको यो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ: ‘यदि तिम्रा सन्तान आफ्नो सारा हृदयले र सारा ज्यानले मसामु वफादार भई हिँडिरहे र आफ्नो चालचलनमा ध्यान दिइरहे भने+ इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+
५ “जेरुयाहको छोरा योआबले मलाई र इस्राएली सेनाका दुई जना सेनापति नेरको छोरा अब्नेर+ अनि यथेरको छोरा अमासालाई+ के गरेको थियो, त्यो पनि तिमीलाई राम्ररी थाह छ। उसले युद्ध नै नभएको समयमा तिनीहरू दुवैलाई माऱ्यो।+ यसरी उसले आफ्नो कम्मरपेटीमा र जुत्तामा तिनीहरूको रगतको दाग लगायो। ६ तिमी बुद्धिमान् भई काम गर, उसलाई बुढेसकालमा चैनसित चिहानमा* जान नदेऊ।+
७ “तर गिलादी बार्जिलैका सन्तानलाई+ चाहिँ दया* देखाऊ। उनीहरूले तिम्रो टेबुलमा तिमीसितै खाऊन्। किनकि तिम्रा दाइ अब्सालोमबाट म भागेर हिँड्नुपर्दा+ उनीहरूले नै मलाई साथ दिएका थिए।+
८ “बिन्यामिनी गेराको छोरा सिमि पनि यहीँ नजिकै बाहुरिममा छ। म महनैमतिर गइरहेको बेला+ उसले मलाई सराप्नुसम्म सरापेको थियो।+ तर ऊ मलाई यर्दन नदीमा भेट्न आउँदा मैले यहोवा परमेश्वरको नाममा ऊसित यस्तो कसम खाएको थिएँ: ‘म तिमीलाई मार्नेछैनँ।’+ ९ छोरा, तिमी बुद्धिमान् छौ। उसलाई के गर्नुपर्ने हो, तिमीलाई राम्ररी थाह छ। उसलाई उम्कन नदेऊ,+ बुढेसकालमा ऊ चैनसित चिहानमा* जान नपाओस्।”+
१० त्यसपछि दाउद आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा गाडियो।+ ११ दाउदले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनमा+ सात वर्ष र यरुसलेममा ३३ वर्ष शासन गरे।+
१२ त्यसपछि सुलेमान आफ्नो बुबा दाउदको सिंहासनमा विराजमान भए। अनि तिनको शासन स्थिर हुँदै गयो।+
१३ केही समय बितेपछि हग्गिथको छोरा अदोनियाह सुलेमानकी आमा बेतसेबाकहाँ आयो। बेतसेबाले उसलाई भनिन्: “तिमी राम्रै मनसायले यहाँ आएका हौ?” उसले जवाफ दियो: “हो हजुर!” १४ त्यसपछि उसले बेतसेबालाई भन्यो: “हजुरसित एउटा बिन्ती गर्नु थियो।” तिनले भनिन्: “के हो, भन।” १५ उसले यसो भन्यो: “हजुरलाई राम्ररी थाह छ, सिंहासनको हकदार म थिएँ अनि इस्राएलीहरूले म नै राजा हुनेछु भनेर आस गरिरहेका थिए।+ तर सिंहासन मेरो होइन, मेरो भाइको पो भयो। किनकि यो यहोवा परमेश्वरकै इच्छा थियो।+ १६ तर अब म हजुरसित एउटा बिन्ती गर्न चाहन्छु। कृपया, इन्कार नगर्नुहोस्।” तब तिनले भनिन्: “कस्तो बिन्ती हो, भन।” १७ उसले भन्यो: “कृपया, राजा सुलेमानसित मेरो निम्ति सुनेम्मी अबिसाग+ मागिदिनुहोस्। म ऊसित विवाह गर्न चाहन्छु। मलाई विश्वास छ, उहाँले तपाईँको कुरा मान्नुहुनेछ।” १८ तब बेतसेबाले भनिन्: “हुन्छ, तिम्रो बिन्ती म राजाकहाँ पुऱ्याउनेछु।”
१९ अनि बेतसेबा अदोनियाहको बिन्ती लिएर राजा सुलेमानकहाँ गइन्। आफ्नी आमालाई देखेपछि राजा सुलेमान उठे र तिनलाई दण्डवत् गरे। त्यसपछि सुलेमान आफ्नो सिंहासनमा बसे। उनले आफ्नी आमाको निम्ति आफ्नो सिंहासनको दाहिनेपट्टि अर्को सिंहासन राख्ने आदेश दिए। २० अनि बेतसेबाले भनिन्: “म एउटा सानो बिन्ती लिएर आएकी हुँ। त्यसलाई अस्वीकार नगर।” तब राजाले भने: “भन्नुहोस् आमा, के कुरा हो। म तपाईँको बिन्ती अस्वीकार गर्नेछैनँ।” २१ तिनले भनिन्: “सुनेम्मी अबिसाग तिम्रो दाइ अदोनियाहलाई देऊ। ऊ अबिसागसँग विवाह गर्न चाहन्छ।” २२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्।”+
२३ तब राजा सुलेमानले यहोवा परमेश्वरको नाममा यस्तो कसम खाए: “यस्तो बिन्तीको मोल अदोनियाहले आफ्नो ज्यान दिएर चुकाउनुपर्नेछ। यदि मैले उसको ज्यान लिइनँ भने परमेश्वरले मलाई त्यसै गरून्, अझ त्योभन्दा बढ्ता गरून्। २४ म जीवित परमेश्वर यहोवाको कसम खान्छु, जसले आफ्नो प्रतिज्ञाअनुसारै मलाई मेरो बुबा दाउदको सिंहासनमा बसाउनुभयो, मेरो राज्यलाई स्थिर पार्नुभयो+ अनि मेरो लागि राजघराना खडा गर्नुभयो।+ म उहाँको नाममा कसम खाएर भन्छु, आज अदोनियाहको ज्यान लिइनेछ।”+ २५ त्यसपछि राजा सुलेमानले अदोनियाहलाई मार्न यहोयादाका छोरा बेनायाहलाई+ पठाए अनि बेनायाहले उसलाई मारे।
२६ राजाले पुजारी अबियातारलाई+ भने: “तपाईँ अनातोतमा भएको आफ्नै जग्गामा जानुहोस्।+ हुनत तपाईँलाई पनि मृत्युदण्ड दिनुपर्ने हो तर आज म तपाईँलाई मार्नेछैनँ। किनकि तपाईँ मेरो बुबा दाउदसँग हुनुभएको बेला तपाईँले ब्रह्माण्डका मालिक यहोवाको सन्दुक* बोक्नुभएको थियो+ अनि तपाईँले मेरो बुबालाई हरेक सङ्कष्टमा पनि साथ दिनुभएको थियो।”+ २७ अबियातार यहोवा परमेश्वरको पुजारी थिए। तर सुलेमानले उनलाई पुजारी पदबाट हटाइदिए। यसरी यहोवा परमेश्वरले एलिको घरानाविरुद्ध+ सिलोमा+ भन्नुभएको कुरा पूरा भयो।
२८ जब यो खबर योआबकहाँ पुग्यो, तब ऊ यहोवा परमेश्वरको पालमा गयो+ र वेदीको सिङ समातेर बस्यो। किनकि ऊ पहिले अब्सालोमपट्टि नलागेको भए+ तापनि यसपालि अदोनियाहपट्टि भने लागेको थियो।+ २९ अनि राजा सुलेमानलाई यस्तो खबर दिइयो: “योआब भागेर यहोवा परमेश्वरको पालमा गएको छ र त्यहाँ वेदीको छेउमा बसिरहेको छ।” त्यसैले सुलेमानले यहोयादाका छोरा बेनायाहलाई यस्तो आदेश दिए: “जाऊ, त्यसलाई मार।” ३० त्यसपछि यहोवा परमेश्वरको पालमा गएर बेनायाहले योआबलाई यसो भने: “राजाले तिमीलाई यहाँबाट निस्कन हुकुम दिनुभएको छ।” तर उसले भन्यो: “अहँ, म आउँदिनँ! म यहीँ मर्छु।” अनि बेनायाह राजाकहाँ गए र योआबले भनेको सबै कुरा बताइदिए। ३१ त्यसपछि राजाले बेनायाहलाई भने: “जाऊ, उसले भनेअनुसारै गर। उसलाई त्यहीँ मार र लगेर गाडिदेऊ। उसले निर्दोषहरूको रगत बगाएको छ। त्यसको दोष म र मेरो बुबाको घरानाबाट हटोस्।+ ३२ यहोवा परमेश्वरले उसको रगतको दोष उसकै थाप्लोमा पारिदेऊन्। किनकि उसले मेरो बुबा दाउदलाई पत्तै नदिई आफूभन्दा धर्मी दुई जना सेनापतिलाई तरबारले मारेको थियो। तिनीहरू नेरका छोरा इस्राएलका सेनापति+ अब्नेर+ र यथेरका छोरा यहुदाका सेनापति+ अमासा+ थिए। ३३ तिनीहरूको रगतको दोष सदाको लागि योआब र उसको सन्तानको शिरमा पर्नेछ।+ तर दाउद, तिनको सन्तान, तिनको घराना र तिनको सिंहासनमाथि चाहिँ यहोवा परमेश्वरको शान्ति रहिरहोस्।” ३४ त्यसपछि यहोयादाका छोरा बेनायाह गए र योआबलाई मारे। अनि योआबको लास निर्जनभूमिमा भएको उसकै घरको छेउमा गाडियो। ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्त गरे।+
३६ अनि राजाले सिमिलाई बोलाउन लगाए।+ राजाले सिमिलाई भने: “यरुसलेममै एउटा घर बनाऊ र यहीँ बस। यहाँबाट तिमी कतै पनि जान पाउँदैनौ। ३७ जुन दिन यहाँबाट निस्केर तिमीले किद्रोन बेँसी पार गर्नेछौ,+ त्यही दिन तिमीलाई मारिनेछ। तिम्रो रगतको दोष तिम्रै शिरमा पर्नेछ।” ३८ सिमिले राजालाई यस्तो जवाफ दियो: “हे मेरा प्रभु! मेरा महाराज! हजुरले भन्नुभएझैँ होस्। हजुरको यस दासले हजुरको आज्ञा पालन गर्नेछ।” त्यसैले सिमि धेरै दिनसम्म यरुसलेममै बस्यो।
३९ तीन वर्ष पुग्नै लाग्दा सिमिका दुई जना दास भागेर गाथका राजा आकिसकहाँ गए,+ जो माकाहका छोरा थिए। सिमिलाई यस्तो खबर दिइयो: “तपाईँका दासहरू गाथमा गएका छन्।” ४० यो खबर सुन्नेबित्तिकै सिमिले आफ्नो गधामा काठी कस्यो अनि आफ्ना दासहरूलाई खोज्न गाथमा आकिसकहाँ गयो। सिमि आफ्ना दासहरूलाई लिएर गाथबाट फर्केपछि ४१ सुलेमानकहाँ यस्तो खबर पुग्यो: “सिमि यरुसलेमबाट निस्केर गाथ गएको थियो र अहिले ऊ फर्केको छ।” ४२ राजाले सिमिलाई बोलाउन लगाए। अनि राजाले सिमिलाई भने: “मैले तिमीलाई यहोवा परमेश्वरको नाममा कसम खान लगाएको थिएँ र तिमीलाई यस्तो चेतावनी दिएको थिएँ: ‘तिमी जुन दिन यहाँबाट निस्केर अन्त जान्छौ, त्यही दिन तिमीलाई मारिनेछ।’ अनि तिमीले मलाई यसो भनेका थियौ: ‘हजुरले भन्नुभएझैँ होस्। म हजुरको आज्ञा पालन गर्नेछु।’+ ४३ तिमीले यहोवा परमेश्वरको नाममा खाएको कसम किन पूरा गरेनौ? तिमीले मेरो आज्ञा किन उल्लङ्घन गऱ्यौ?” ४४ त्यसपछि राजाले सिमिलाई भने: “तिमीले मेरो बुबा दाउदलाई कस्तो व्यवहार गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाह छ।+ अब यहोवा परमेश्वरले तिमीसित त्यसको साटो फेर्नुहुनेछ।+ ४५ तर यहोवा परमेश्वरले राजा सुलेमानलाई आशिष् दिनुहुनेछ+ र दाउदको सिंहासनलाई सदाको लागि स्थिर गर्नुहुनेछ।” ४६ यति भनिसकेपछि राजाले सिमिलाई मार्न यहोयादाका छोरा बेनायाहलाई आदेश दिए। तब बेनायाह गए र सिमिलाई मारे।+
यसरी सारा इस्राएलमा सुलेमानको शासन स्थिर भयो।+