यसैया
४८ ए याकुबको घराना, सुन!
आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+
तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,
जो यहोवाको नाममा शपथ खान्छौ+
अनि इस्राएलका परमेश्वरलाई पुकार्छौ
तर सत्यबमोजिम र इमानदारीसाथ होइन।+
२ तिनीहरू आफूलाई पवित्र सहरका बासिन्दा भन्छन्+
अनि इस्राएलका परमेश्वरसित मदत माग्छन्,+
जसको नाम सेनाहरूका यहोवा हो।
३ “मैले वर्षौँअघि तिमीहरूलाई पहिलेका कुराहरू बताएको थिएँ।
मैले आफ्नै मुखले ती कुराहरू तिमीहरूलाई बताएँ
र मबाटै तिमीहरूले ती थाह पायौ।+
मैले तुरुन्तै कदम चालेँ र ती पूरा भए।+
४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।
तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+
५ त्यसैले वर्षौँअघि मैले ती कुराहरू तिमीहरूलाई बताएँ।
‘हाम्रो देवताले पो यो गरेको हो,
हामीले कुँदेर बनाएका मूर्तिले र धातुका मूर्तिले* यो आज्ञा दिएको हो’ भनी तिमीहरूले भन्न नपाओ भनेर
ती हुनुभन्दा अघि नै मैले ती कुराहरू तिमीहरूलाई सुनाएँ।
६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।
के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+
अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+
तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।
७ ती कुराहरू मैले भर्खरै रचेको हुँ।
तिमीहरूले पहिला कहिल्यै ती कुराहरू सुनेका थिएनौ।
त्यसैले तिमीहरूले यसो भन्नेछैनौ, ‘ए! यो त हामीलाई पहिल्यै थाह थियो।’
८ तर तिमीहरू सुन्नै चाहँदैनौ,+ त्यसबारे बुझ्नै चाहँदैनौ।
पहिले पनि तिमीहरूले आफ्नो कान थापेनौ।
किनकि मलाई थाह छ, तिमीहरू साह्रै धूर्त छौ+
र जन्मैदेखि बागी भन्ने नाम कमाएका छौ।+
९ तर मेरो आफ्नै नामको खातिर म आफ्नो रिस थाम्नेछु।+
मेरो महिमा होस् भनेर म आफूलाई रोक्नेछु
र तिमीहरूको अस्तित्व मेट्नेछैनँ।+
१० मैले तिमीहरूलाई खारेको छु तर चाँदीलाई जसरी होइन।+
११ म आफ्नै खातिर, हो, आफ्नै नामको खातिर कदम चाल्नेछु।+
किनकि आफ्नो नामलाई म कसरी अपवित्र हुन दिऊँ?+
मेरो महिमा म अरू कसैलाई दिन्नँ।*
१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।
१३ मैले आफ्नै हातले पृथ्वीको जग बसालेँ।+
आफ्नो दायाँ हातले आकाशलाई फैलाएँ।+
जब-जब म तिनीहरूलाई बोलाउँछु, तब-तब तिनीहरू मेरो अगाडि हाजिर हुन्छन्।
१४ तिमीहरू सबै भेला होओ र सुन।
के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?
यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+
तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्।+
तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्।+
१५ मैले नै यसो भनेको हुँ, मैले नै तिनलाई बोलाएको हुँ।+
तिनलाई ल्याउने मै हुँ, तिनी आफ्नो काममा सफल हुनेछन्।+
१६ मेरो नजिक आओ र यो कुरा सुन।
मैले पहिलादेखि नै यो कुरा खुलेआम भन्दै आएको छु।+
त्यो पूरा भएको समयदेखि नै म त्यहीँ थिएँ।”
अहिले ब्रह्माण्डका मालिक यहोवाले आफ्नो पवित्र शक्ति दिएर मलाई पठाउनुभएको छ।
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+
“म यहोवा तिमीहरूका परमेश्वर हुँ।
तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+
तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+
तिमीहरूको शान्ति नदीझैँ हुनेछ+
र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+
१९ तिमीहरूका सन्तान समुद्रको बालुवाजत्तिकै हुनेछन्,
तिनीहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्।+
मेरो सामनेबाट तिनीहरूको नाम कहिल्यै बिलाएर वा मेटिएर जानेछैन।”
२० बेबिलोनबाट निस्केर जाओ!+
कल्दियालीहरूदेखि भाग!
खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+
पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+
“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+
२१ उहाँले तिनीहरूलाई निर्जन ठाउँ हुँदै लैजानुभयो तर तिनीहरू तिर्खाएनन्।+
उहाँले तिनीहरूका लागि चट्टानबाट पानी निकालिदिनुभयो।
चट्टानलाई फोरेर त्यसबाट पानीको मूल फुटाउनुभयो।”+
२२ यहोवा भन्नुहुन्छ, “दुष्ट भने चैनसित बस्न पाउनेछैन।”+