गन्ती
१४ तब त्यहाँ भेला भएका सबै मानिसले हल्लीखल्ली गर्न थाले अनि तिनीहरू रातभरि ठूलठूलो स्वरले रोइरहे।+ २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+ ४ तिनीहरूले एकअर्कालाई यसो समेत भने: “अब हामी एक जना नाइके छानौँ र मिश्र फर्कौँ!”+
५ यो सुनेर मोसा र हारुन इस्राएलीहरूको सारा समुदायको अगाडि भुईँमा घोप्टो परे। ६ अनि कनान देशको अवस्था बुझ्न गएका जासुसहरूमध्ये नुनको छोरा यहोसु+ र यपुन्नेको छोरा कालेबले+ दुःखी हुँदै आफ्नो लुगा च्याते। ७ अनि तिनीहरूले इस्राएलीहरूका सारा समुदायलाई यसो भने: “हामीले जाँचबुझ गर्न गएको देश राम्रो छ, एकदम राम्रो छ!+ ८ यहोवा परमेश्वर हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यो देशसम्म अवश्य पुऱ्याउनुहुनेछ, दूध र मह बग्ने त्यो देश हामीलाई पक्कै दिनुहुनेछ।+ ९ तर तिमीहरू यहोवा परमेश्वरविरुद्ध खडा नहोओ अनि त्यहाँका मानिसहरूसित नडराओ+ किनभने हामी उनीहरूलाई सजिलै हराउन सक्छौँ।* उनीहरूको सुरक्षा गर्ने कोही छैन तर हाम्रो साथमा यहोवा परमेश्वर हुनुहुन्छ।+ त्यसैले उनीहरूसित नडराओ।”
१० तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने सल्लाह गऱ्यो।+ तब भेट हुने पालमा* सारा इस्राएलीसामु यहोवा परमेश्वरको महिमा देखा पऱ्यो।+
११ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्वास गर्दैनन्?+ १२ महामारी ल्याएर म यिनीहरूलाई नाश गर्नेछु अनि तिमीबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली राष्ट्र बनाउनेछु।”+
१३ तर मोसाले यहोवा परमेश्वरलाई भने: “यदि तपाईँले यसो गर्नुभयो भने यो कुरा मिश्रीहरूको कानमा पुग्नेछ, जसको माझबाट तपाईँले यी मानिसहरूलाई आफ्नो शक्तिद्वारा छुटाएर ल्याउनुभएको थियो।+ १४ अनि यो कुरा तिनीहरूले कनान देशका बासिन्दाहरूलाई सुनाउनेछन्। हे यहोवा, तपाईँ यी मानिसहरूको साथमा हुनुहुन्छ+ र तपाईँ यिनीहरूसित आमनेसामने प्रकट हुनुभएको छ+ भनेर तिनीहरूले सुनेका छन्। तपाईँ यहोवा परमेश्वर हुनुहुन्छ र यिनीहरूमाथि तपाईँको बादल खडा हुन्छ अनि तपाईँ दिउँसो बादलको खामोमा र राती आगोको खामोमा यिनीहरूको अघिअघि जानुहुन्छ भनेर पनि तिनीहरूले सुनेका छन्।+ १५ तपाईँले यिनीहरूलाई एकै प्रहारमा* नाश गर्नुभयो भने तपाईँको ख्यातिबारे सुनेका राष्ट्रहरूले यसो भन्नेछन्: १६ ‘यहोवाले यी मानिसहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। त्यसैले उहाँले यिनीहरूलाई यस निर्जनभूमिमा मार्नुभयो।’+ १७ त्यसैले हे यहोवा, बिन्ती छ, आफ्नो प्रतिज्ञाअनुसारै आफ्नो महान् शक्ति प्रकट गर्नुहोस् किनभने तपाईँले यसो भन्नुभएको थियो: १८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्नुहुन्न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+ १९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्।”+
२० तब यहोवा परमेश्वरले भन्नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+ २१ तर यो कुरा नबिर्स, म यहोवा आफ्नै कसम खाएर भन्छु, सारा पृथ्वी मेरो महिमाले भरिनेछ।+ २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्।+ २३ मैले यिनीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देश यिनीहरूमध्ये कसैले पनि देख्न पाउनेछैन। मेरो अनादर गर्ने कसैले पनि त्यो देश देख्न पाउनेछैन।+ २४ तर मेरो सेवक कालेबले+ फरक मनोभाव देखाएकोले र पूरा तनमनले मेरो आज्ञा पालन गरेकोले तिनी गएको देश म तिनलाई पक्कै दिनेछु र तिनका सन्तानले त्यो देश अधिकार गर्नेछन्।+ २५ अमालेकी र कनानीहरू+ बेँसीमा बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर लाग।”+
२६ त्यसपछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २७ “यस दुष्ट समुदायले कहिलेसम्म मविरुद्ध गनगन गरिरहने?+ यी इस्राएलीहरूले मविरुद्ध गरेको गनगन मैले सुनेको छु।+ २८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+ २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+ ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+
३१ “‘“अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन् भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु+ र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्।+ ३२ तर तिमीहरूको लासचाहिँ यही निर्जनभूमिमा छोडिनेछ। ३३ अनि तिमीहरू विश्वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+ ३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।
३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्।+ ३६ ती जासुसहरू खतम गरिनेछन्, जसलाई मोसाले त्यस देशबारे जाँचबुझ गर्न पठाए र जसले सुनाएको नराम्रो खबरले गर्दा सारा समुदायले परमेश्वरविरुद्ध गनगन गरे।+ ३७ हो, त्यो देशबारे जाँचबुझ गरेर नराम्रो खबर ल्याउने ती पुरुषहरूले सजाय भोग्नेछन् र तिनीहरू यहोवा परमेश्वरकै सामने मर्नेछन्।+ ३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्।”’”+
३९ मोसाले यी सबै कुरा इस्राएलीहरूलाई सुनाउँदा तिनीहरूले असाध्यै बिलौना गर्न थाले। ४० यति मात्र होइन, तिनीहरू बिहान सबेरै उठे अनि पहाडको टुप्पोतिर उक्लन लागे। तिनीहरूले एकअर्कालाई यसो भने: “हामीले पाप गरेका छौँ तर अब हामी यहोवा परमेश्वरले भन्नुभएको ठाउँमा जान तयार छौँ।”+ ४१ यो सुनेपछि मोसाले भने: “तिमीहरू किन यहोवा परमेश्वरले भन्दै नभन्नुभएको कुरा गर्न अघि सर्छौ? तिमीहरू कुनै हालतमा सफल हुनेछैनौ। ४२ तिमीहरू त्यहाँ नजाओ किनभने यहोवा परमेश्वर तिमीहरूको साथमा हुनुहुन्न; तिमीहरूलाई शत्रुहरूले परास्त गर्नेछन्।+ ४३ त्यहाँ तिमीहरूले अमालेकी र कनानीहरूसित लड्नुपर्नेछ+ र तिनीहरूले तिमीहरूलाई तरबारले खतम गर्नेछन्। तिमीहरू यहोवा परमेश्वरविरुद्ध खडा भएकोले यहोवाले तिमीहरूलाई साथ दिनुहुनेछैन।”+
४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्।+ ४५ तब त्यस पहाडमा बसोबास गर्ने अमालेकी र कनानीहरूले तल ओर्लेर तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई खेदेर होर्माहसम्म पुऱ्याए।+