यसैया
६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो। २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्ने गर्थे।
३ अनि एउटाले अर्कोलाई यसो भने:
“सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+
सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
४ तिनीहरूको आवाजले ढोकाका चौकोसहरू हल्लिए अनि मन्दिर धुवाँले भरियो।+
५ तब मैले यसो भनेँ: “धिक्कार छ मलाई!
म त मरेतुल्य भएँ
किनकि म अशुद्ध ओठ भएको मानिस हुँ
अनि अशुद्ध ओठ भएका मानिसहरूसित बस्छु।+
मेरा आँखाले सेनाहरूका यहोवा, महाराजालाई देखेका छन्!”
६ तब एक जना सराफ उडेर मकहाँ आए। तिनले चिम्टामा आगोको भुङ्ग्रो बोकेका थिए,+ जुन तिनले वेदीबाट ल्याएका थिए।+ ७ तिनले त्यो भुङ्ग्रोले मेरो मुख छोए र यसो भने:
“हेर, अब तिम्रो दोष मेटिएको छ
अनि तिम्रो पाप क्षमा भएको छ
किनकि मैले यो भुङ्ग्रोले तिम्रो ओठ छोएको छु।”
८ त्यसपछि मैले यहोवाको स्वर सुनेँ। उहाँले यसो भन्नुभयो: “म कसलाई पठाऊँ? हाम्रो निम्ति को जान्छ?”+ मैले भनेँ: “म हाजिर छु! मलाई पठाउनुहोस्!”+
९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:
१० तिनीहरूको मन बोधो बनाइदेऊ,+
तिनीहरूको कान बन्द गरिदेऊ+
र तिनीहरूको आँखा टालिदेऊ
ताकि तिनीहरूले केही पनि नदेखून्,
तिनीहरूले केही पनि नसुनून्
र तिनीहरूको मनले केही पनि नबुझोस्
अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।”+
११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्नुभयो:
“जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्,
घरहरू खाली हुँदैनन्
र भूमि उजाड हुँदैन;+
१२ जबसम्म म यहोवाले मानिसहरूलाई निकालेर टाढा पठाउँदिनँ+
र पूरै देश सुनसान हुँदैन, तबसम्म।
१३ “तर इस्राएलीहरूको १० औँ भाग त्यहाँ अझै बाँकी रहनेछ। अनि फलाँटको रूख र ठूलो रूखलाई जस्तै त्यस देशलाई फेरि जलाइनेछ। रूख काट्दा ठुटो बाँकी रहेझैँ त्यसको ठुटो पनि बाँकी रहनेछ। अनि त्यस ठुटोमा एउटा पवित्र पालुवा* पलाउनेछ।”