यर्मिया
२ यहोवाको यो वचन मकहाँ आयो: २ “जाऊ र यरुसलेमले सुन्नेगरि यस्तो घोषणा गर, ‘यहोवा यसो भन्नुहुन्छ:
“युवावस्थामा तिमीले मप्रति देखाएको भक्ति,*+
मसित मगनी गर्दा तिमीले देखाएको प्रेम+
अनि उजाड भूमिमा, बिउ नछरिएको भूमिमा+
तिमी मेरो पछिपछि हिँडेको दिन म सम्झन्छु।
३ इस्राएल यहोवाको कटनीको पहिलो फल थियो, उहाँको नजरमा पवित्र।”’+
‘इस्राएललाई नाश गर्न खोज्ने कोही पनि उम्कँदैनथ्यो।
त्यसमाथि विनाश आइपर्थ्यो,’ यहोवा घोषणा गर्नुहुन्छ।”+
४ हे याकुबको घराना, हे इस्राएलका सबै कुल,
यहोवा के भन्नुहुन्छ, सुन।
५ यहोवा यसो भन्नुहुन्छ:
“तिमीहरूका पुर्खाले ममा के दोष देखे,+
जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए
र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+
६ तिनीहरूले यसो भनेनन्, ‘हामी यहोवाको खोजी गरौँ,
हामीलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने,+
हामीलाई निर्जनभूमिबाट डोऱ्याएर ल्याउनुहुने,
मरुभूमि+ र गहिरो खाडल भएको ठाउँबाट,
खडेरी+ र घोर अन्धकारले छोपेको ठाउँबाट,
कोही पनि नहिँड्ने र कोही पनि नबस्ने एकलास ठाउँबाट
हामीलाई पार गराउनुहुने हाम्रा परमेश्वरलाई खोजौँ।’
७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन
मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+
तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्यौ;
मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+
८ तिमीहरूका पुजारीहरूले यसो भनेनन्, ‘हामी यहोवाको खोजी गरौँ।’+
व्यवस्था सिकाउनेहरूले समेत मलाई चिनेनन्,
तिमीहरूका गोठालाहरू मविरुद्ध खडा भए,+
तिमीहरूका भविष्यवक्ताहरूले बाआल देवताको नाममा भविष्यवाणी गरे,+
तिनीहरू फिटिक्कै मदत गर्न नसक्नेहरूको पछि लागे।
९ ‘त्यसैले म फेरि तिमीहरू+
र तिमीहरूका शाखासन्तानविरुद्ध खडा हुनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।
१० ‘कित्तिमका टापुहरूमा जाऊ+ र हेर;
केदारमा+ पनि सन्देशवाहक पठाऊ र राम्ररी नियाल;
कहीँ कतै यस्तो भएको छ र?
११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन?
तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+
१२ हे आकाश, यो कुरामा अचम्म मान;
डरले थरथर काँप,’ यहोवा घोषणा गर्नुहुन्छ।
१३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्।
म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्।+
अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्,*
यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’
१४ ‘के इस्राएल नोकर हो र? अथवा कसैको घरमा जन्मेको दास हो र?
त्यसोभए ऊ किन लुटियो त?
१५ ऊविरुद्ध जवान सिंहहरू गर्जन्छन्;+
ती सिंहहरू अझै ठूलो स्वरले गर्जन्छन्।
तिनीहरूले उसका सहरहरूमा आगो लगाएर खरानी बनाइदिएका छन्; अहिले त्यहाँ कोही बस्दैन।
उसको भूमिको हालत देख्नेहरू डरले थरथर काँप्छन्।
१६ नोफ*+ र तपनेसका मानिसहरूले+ तिम्रो केश खौरिदिएका छन्।
१७ यहोवा तिम्रा परमेश्वरले बाटो देखाउनुहुँदा
उहाँलाई इन्कार गरेर+
तिमी आफैले यस्तो अवस्था निम्त्याएका होइनौ र?
१८ सिहोर नदीको* पानी पिउन
तिमी किन मिश्र जान चाहन्छौ?+
अनि युफ्रेटिस नदीको पानी पिउन
किन अस्सेरिया जान चाहन्छौ?+
१९ तिम्रो दुष्ट्याइँले तिमीलाई सच्याउनुपर्ने हो।
तिम्रो विश्वासघातले तिमीलाई हप्काउनुपर्ने हो।
यहोवा तिम्रा परमेश्वरलाई त्याग्दा
नतिजा कत्ति नमीठो र दुःखलाग्दो हुन्छ, त्यो जान र बुझ।+
किनकि तिमीले मेरो डर मानेनौ,’+ ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
२० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+
अनि तिम्रो बन्धन फुकाएको थिएँ।
तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।”
किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+
तिमी उत्तानो पऱ्यौ र तिमीले वेश्यावृत्ति गऱ्यौ।+
२१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ
तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+
२२ ‘तिमीले आफूलाई क्षार* वा खरानीले* बेसरी घोटे पनि
तिम्रो दाग, तिम्रो दोष मेरो नजरबाट मेटिनेछैन,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
२३ तिमी कसरी यसो भन्न सक्छ्यौ, ‘म अशुद्ध भएकी छैनँ।
म बाआल देवताहरूको पछि लागेकी छैनँ’?
तिमीले के गरेकी छ्यौ, विचार गर।
बेँसीमा तिमीले गरेका कामहरूलाई सम्झ।
तिमी लम्केर हिँड्ने पोथी उँटजस्तै* भएकी छ्यौ,
जो यताउता बरालिन्छे।
२४ निर्जनभूमिमा घुमेर हिँड्ने जङ्गली गधैनीजस्तै तिमी भएकी छ्यौ,
जो भालेको गन्ध खोज्दै यताउता हिँड्छे।
त्यो मात्तिएको बेला कसले त्यसलाई वशमा राख्न सक्छ र?
त्यसलाई खोज्न भालेहरूले मेहनत गर्नै पर्दैन।
किनकि त्यो मात्तिएको बेला तिनीहरूले त्यसलाई सजिलै भेट्टाउँछन्।
२५ व्यर्थका कुराहरूको पछि लाग्दा-लाग्दा
तिम्रो गोडा नथाकोस् र तिम्रो घाँटी तिर्खाले नसुकोस्।
तर तिमीले भन्यौ, ‘मलाई नरोक्नुहोस्।+
म परदेशीहरूको* प्रेममा पागल भएकी छु,+
म तिनीहरूकै पछि लाग्नेछु।’+
२६ पक्राउ पर्दा चोर लाजमा परेझैँ
इस्राएलको घराना पनि लज्जित भएको छ।
तिनीहरूसँगसँगै तिनीहरूका राजाहरू र राजकुमारहरू
अनि पुजारीहरू र भविष्यवक्ताहरू पनि लज्जित भएका छन्।+
२७ तिनीहरू रूखलाई यसो भन्छन्, ‘तपाईँ नै मेरो बुबा हुनुहुन्छ’+
अनि ढुङ्गालाई यसो भन्छन्, ‘तपाईँले नै मलाई जन्माउनुभयो।’
तर मतिर भने तिनीहरूले आफ्नो अनुहार होइन, पिठिउँ फर्काएका छन्।+
अनि जब तिनीहरू आपत्-विपद्मा पर्छन्, तब तिनीहरू मलाई भन्छन्,
‘आउनुहोस् र हामीलाई बचाउनुहोस्!’+
२८ तिमीहरूले आफ्नो निम्ति बनाएका तिमीहरूका देवताहरू खोइ?+
सक्छन् भने आपत्-विपद् पर्दा तिनीहरूले तिमीहरूलाई बचाएर देखाऊन्
किनकि हे यहुदा, तिमीहरूका देवताहरू तिमीहरूका सहरजत्तिकै धेरै भइसकेका छन्।+
२९ यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरू किन मसित झगडा गरिरहन्छौ?
तिमीहरू सबै मिलेर किन मेरो विद्रोह गर्छौ?’+
३० मैले व्यर्थैमा तिमीहरूका छोराहरूलाई सुधार्न खोजेँ।+
तिनीहरूले मेरो अनुशासन स्विकारेनन्;+
तिमीहरूका भविष्यवक्ताहरूलाई तिमीहरूले आफ्नै तरबारले काट्यौ,+
भोको सिंहझैँ तिमीहरू उनीहरूमाथि जाइलाग्यौ।
३१ ए इस्राएलको पुस्ता, यहोवाले भन्नुभएको कुरा विचार गर।
के म इस्राएलको लागि उजाड ठाउँसरह
वा निस्पट्ट अन्धकार छाएको ठाउँसरह भएको छु?
मेरा यी मानिसहरू किन यसो भन्छन्, ‘हामीलाई जहाँ डुल्न मन लाग्छ, त्यहीँ डुल्छौँ।
तपाईँकहाँ फर्केर आउनेछैनौँ’?+
३२ के कुनै कन्याले आफ्नो गरगहना
अनि दुलहीले आफ्नो वस्त्र* बिर्सन सक्छे र?
तर मेरा आफ्नै मानिसहरूले मलाई बिर्सेको वर्षौँ भइसक्यो।+
३३ ए बरालिएकी स्त्री! अनेक जुक्ति लगाएर तिमीले प्रेमीहरू खोज्यौ!
खराबीको मार्गमा हिँड्न तिमी सिपालु भइसक्यौ।+
३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+
तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्।
तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+
३५ तर तिमी भन्छ्यौ, ‘म निर्दोष छु।
अनि उहाँको रिस मरिसकेको छ।’
तर म तिमीलाई न्यायदण्ड सुनाउनेछु
किनकि तिमीले भन्यौ, ‘मैले पाप गरेकी छैनँ।’
३६ तिमी किन घरीघरी आफ्नो चाल बदल्छ्यौ?
अस्सेरियाले तिमीलाई निराश तुल्याएझैँ+
मिश्रले पनि तिमीलाई निराश तुल्याउनेछ।+
३७ त्यसैले आफ्नो हात पुर्पुरोमा राख्दै तिमी थकथकाउनेछ्यौ+
किनकि जसलाई तिमीले भरोसा गरेका थियौ, तिनीहरूलाई यहोवाले त्याग्नुभएको छ;
तिनीहरूले तिमीलाई कुनै सहायता गर्नेछैनन्।”