यर्मिया
४ “ए इस्राएलका बासिन्दाहरू हो,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मकहाँ फर्क्यौ भने,
तिमीहरू साँच्चै फर्क्यौ
अनि घिनलाग्दा मूर्तिहरूलाई मेरो नजरबाट हटायौ भने
तिमीहरूले भगुवा जीवन बिताउनुपर्ने छैन।+
२ अनि ‘जीवित परमेश्वर यहोवाको कसम’ भन्दै
सत्य, न्याय र धार्मिकतामा शपथ खायौ भने
जातिजातिका मानिसहरूले उहाँबाट आशिष् पाउनेछन्
अनि उहाँमै तिनीहरूले गर्व गर्नेछन्।”+
३ किनभने यहोवा यहुदा र यरुसलेमका मानिसहरूलाई यसो भन्नुहुन्छ:
“खेतीयोग्य जमिनमा हलो जोत,
काँडाहरूको बीचमा बिउ नछर।+
४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो,
शरीरको खतना* गरेर पवित्र भएजस्तै
हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+
नत्र त तिमीहरूको दुष्ट्याइँको कारण
तिमीहरूमाथि मेरो रिस दन्कनेछ
र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+
५ यो कुरा यहुदामा प्रचार गर अनि यरुसलेममा घोषणा गर।
चारैतिर सुनिनेगरि ठूलो स्वरले कराओ अनि चर्को स्वरले सिङ फुक।+
जोडले यसो भन: “एकै ठाउँमा भेला होऔँ
अनि किल्लाहरू भएका सहरहरूमा भागेर जाऔँ।+
६ सियोनको बाटो देखाउन एउटा झन्डा ठड्याओ।
सुरक्षाको निम्ति शरण खोज, एकै ठाउँमा ठिङ्ग नउभिओ”
किनभने म उत्तरबाट ठूलो विपत्ति,+ महाविनाश ल्याउँदै छु।
७ तिमीहरूको शत्रु झाडीबाट सिंह निस्केझैँ निस्केको छ;+
जातिजातिका मानिसहरूलाई नाश गर्ने शत्रु तयार भएको छ।+
त्यसले तिमीहरूको देशको हालत यस्तो बनाइदिनेछ, त्यो देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।
तिमीहरूका सहरहरू तहसनहस हुनेछन्, त्यहाँ कोही पनि बस्नेछैन।+
८ त्यसकारण भाङ्ग्रा लगाओ,+
रोओ,* कराओ
किनभने यहोवाको बल्दो रिस हामीबाट हटेको छैन।
९ यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन शासकको मुटु काँप्नेछ,+
भारदारहरूको मुटु पनि थरथराउनेछ;
पुजारीहरू डराउनेछन् र भविष्यवक्ताहरू पनि जिल्ल पर्नेछन्।”+
१० त्यसपछि मैले भनेँ, “हे ब्रह्माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”
११ त्यतिबेला यी मानिसहरू र यरुसलेमलाई यसो भनिनेछ:
“मरुभूमिका नाङ्गा डाँडाहरूबाट भतभती पोल्ने हावा बहनेछ
र त्यो मेरा मानिसहरूकी छोरीतर्फ* आउनेछ;
त्यो हावा न बत्ताउनलाई न त निफन्नलाई नै आउनेछ।
१२ त्यो ठूलो बतास मेरै आदेशले आउनेछ।
अब म तिनीहरूविरुद्ध न्यायदण्डको घोषणा गर्नेछु।
१३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्,
उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्।+
उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्।+
धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ।
१४ ए यरुसलेमका बासिन्दाहरू हो, आफ्नो हृदयबाट दुष्टता पखालिदेओ र तिमीहरू बाँच्नेछौ।+
तिमीहरू कतिन्जेल दुष्ट विचार पालिराख्छौ?
१५ किनभने एप्रैमका डाँडाहरूबाट विनाश आउँदै छ भनेर
दानबाट एउटा घोषणा गरिँदै छ।+
१६ जातिजातिका मानिसहरूलाई खबर गर;
यरुसलेमलाई चेतावनी देऊ।”
“टाढाको देशबाट जासुसहरू* आउँदै छन्
अनि तिनीहरू यहुदाका सहरहरूविरुद्ध चर्को स्वरले कराउनेछन्।
१७ खेतबारीमा पहरा दिने पहरेदारहरूले जस्तै तिनीहरूले यरुसलेमलाई चारैतिरबाट घेरेका छन्+
किनभने त्यस सहरले मेरो विद्रोह गरेको छ,”+ यहोवा घोषणा गर्नुहुन्छ।
१८ “तिमीहरूको आफ्नै कुकर्मले गर्दा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।+
त्यो साह्रै कठोर हुनेछ
किनकि तिमीहरूको हृदय विद्रोहले भरिएको छ।”
१९ हाय! मेरो हृदय!* मेरो हृदय बेचैन छ!
मेरो हृदय पीडाले छटपटाइरहेको छ।
मुटुको धड्कन झन्झन् बढ्दै छ।
म चुप लाग्न सक्दिनँ
किनभने मैले सिङ फुकेको आवाज सुनेको छु,
युद्धको बिगुल फुकेको आवाज* सुनेको छु।+
२० एकपछि अर्को विनाशको खबर आएको छ;
पूरै देश उजाड पारिएको छ।
मेरो आफ्नै पाल एक्कासि च्यातचुत पारिएको छ,
क्षणभरमै मेरा पालका पर्दाहरू धुजाधुजा भएका छन्।+
२१ सियोनको बाटो देखाउने झन्डालाई म कतिन्जेल हेरूँ?
सिङ फुकेको आवाज कतिन्जेल सुनूँ?+
२२ “किनभने मेरा मानिसहरू मूर्ख छन्;+
तिनीहरू मलाई वास्तै गर्दैनन्।
तिनीहरू बुद्धि नभएका मूर्ख छोराहरू हुन्।
खराबी गर्न त तिनीहरूलाई कसैले सिकाउनै पर्दैन।
तर असल काम गर्न भने तिनीहरूलाई आउँदै आउँदैन।”
२३ मैले त्यो देशको चारैतिर हेरेँ, त्यो बिलकुलै उजाड र रित्तो भइसकेछ।+
आकाशतिर पनि हेरेँ, त्यहाँ निस्पट्ट अन्धकार छाइसकेछ।+
२४ पर्वतहरूलाई हेरेँ, ती काँपिरहेका थिए;
डाँडाहरूलाई हेरेँ, ती थरथराइरहेका थिए।+
२५ हेर, देशमा कुनै मानिस थिएन,
आकाशका चराचुरुङ्गी पनि भागिसकेका थिए।+
२६ हेर, त्यहाँका बगैँचाहरू मरुभूमि भइसकेछन्,
त्यहाँका सहरहरू ध्वस्त भइसकेछन्।+
यो सब यहोवाले नै गर्नुभएको हो,
उहाँको बल्दो रिसले गर्दा यस्तो भएको हो।
२७ किनकि यहोवा यसो भन्नुहुन्छ: “म पूरै देशलाई उजाड पार्नेछु+
तर त्यसको नामोनिसानचाहिँ मेटाउनेछैनँ।
२८ त्यसैले त्यो भूमि धुरुधुरु रुनेछ,+
आकाश अँध्यारो हुनेछ+
किनकि मैले नै यो बोलेको हुँ, मैले नै यो निर्णय गरेको हुँ।
म आफ्नो विचार बदल्नेछैनँ न त पछि नै हट्नेछु।+
२९ घोडचढीहरू र धनुर्धारीहरूको हल्ला सुनेर
पूरै सहर भागेको छ।+
तिनीहरू झाडीहरूमा लुक्छन्
अनि चट्टानहरूमा उक्लिन्छन्।+
त्यहाँको हरेक सहर सुनसान भएको छ,
त्यहाँ कोही पनि बस्दैन।”
३० तिमी उजाड पारिएकी छ्यौ, अब के गर्छ्यौ?
तिमी पहिले-पहिले सिन्दूरे रङ्गको पोसाक लगाएर चिटिक्क पर्थ्यौ,
सुनका गरगहनाले सजिएर झकिझकाउ हुन्थ्यौ
अनि गाजल लगाएर आफ्ना आँखा ठूलठूला बनाउँथ्यौ।
तर अब तिम्रो शृङ्गारको के काम?+
किनभने तिमीलाई देखेर भुतुक्कै हुनेहरू अहिले तिमीलाई घृणा गर्छन्;
तिनीहरू तिमीलाई मार्न खोज्दै छन्।+
३१ किनभने मैले पीडाले छटपटाइरहेकी स्त्रीको आवाज सुनेँ;
पहिलो पटक सुत्केरी बेथाले छटपटाइरहेकी स्त्रीको जस्तै आवाज,
सियोनकी छोरीको* आवाज, जसलाई सास फेर्न निकै गाह्रो भएको छ।
हात फैलाएर तिनी यसो भन्दै थिइन्:+
“धिक्कार छ मलाई! हत्याराहरूले गर्दा म लखतरान भएकी छु।”