विश्वदर्शन
एड्स-दूषित रगतले गर्दा दुर्घटनाहरू
एचआईभी सङ्क्रमित रगतले गर्दा चिकित्सा कार्यकर्त्ताहरूसित दुर्घटना हुने दरको नियमितताको रिपोर्ट पेश गर्न हालै जापानको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयले अस्पतालहरूलाई माग गऱ्यो। विशेषगरि गत दश वर्षभित्र घटेका दुर्घटनाहरूलाई ध्यानमा राख्दै यसो गरिएको थियो। द डेली योमुरी अनुसार प्रत्युत्तर दिने २७६ अस्पतालहरूमा “२,९९७ पटक आकस्मिक रगत सम्पर्कले गर्दा जम्मा १२,९१४ वटा सियोसम्बन्धी दुर्घटनाहरू रिपोर्ट गरियो।” यीमध्ये सयभन्दा बढी रिपोर्टहरू एचआईभी कलङ्कित रगतसित सम्बन्धित थिए। तर अहिलेसम्म यी सबै दुर्घटनाहरूले एड्सको कारक जीवाणु एचआईभी सङ्क्रमण नभएको रिपोर्ट दिएका छन्। (g94 6/22)
स्त्रीहरू विरूद्ध हिंसा
द ग्लोब एण्ड मेल अनुसार १६ वर्ष र त्यसभन्दा माथिका ५१ प्रतिशत क्यानेडियाली स्त्रीहरू आफ्नो वयस्क जीवनमा कमसे कम एक पटक पुरुष हिंसाको शिकार हुन्छन् भनी हालै गरिएको सर्वेक्षणले प्रकाश पार्छ। यसमा पचास लाखभन्दा बढी स्त्रीहरू समाविष्ट छन्। अन्तर्वार्ता लिइएका झन्डै आधा जति स्त्रीहरूको बयानअनुसार त्यस्तो आक्रमण “प्रेमी, पति, साथीहरू, परिवारका सदस्यहरू अथवा परिचित अन्य पुरुषहरूबाट आएको” रिपोर्ट यस क्यानेडियाली पत्रिकाले दियो। सर्वेक्षण गरिएकाहरूमध्ये दश प्रतिशत जति गत साल आक्रमित भए र पाँच वटामध्ये एउटा आक्रमण शारीरिक चोट पुऱ्याउने गम्भीर प्रकारको थियो। पति अथवा गैरकानूनी ढङ्गमा सङ्गै बसिरहेका पुरुष साथीहरूले घचेटेको, तानेको, चड्काएको, लात हानेको, टोकेको वा हिर्काएको थुप्रै स्त्रीहरूले रिपोर्ट गरे। (g94 6/22)
अनिदोहरूको लागि मदत
निदाउन गम्भीर कठिनाइ सामना गर्ने व्यक्तिहरूका लागि हाभर्ड मेडिकल स्कूलका अनुसन्धानकर्त्ताहरूले सुझावहरूको एउटा सूची तयार गरेका छन्। द हाभर्ड मेन्टल हेल्थ लेटर अनुसार निदाउन ८० मिनेट जति लाग्नेहरूले उल्लेखनीय प्रगति देखाएको पाइयो। त्यस पत्रले टिप्पणी गरेअनुसार यस उपचारविधि केही हप्तासम्म अपनाएपछि तिनीहरूलाई निदाउन औसतन उन्नाइस मिनेट (७५% कटौती) मात्र लाग्यो। सुझावित विधिहरू यसप्रकार छन्: ओछ्यानमा सात घण्टाभन्दा बढी समय नबिताउनुहोस्, औसतन सुत्ने समयभन्दा एकघण्टा बढी ओछ्यानमा नबस्नुहोस्; सप्ताहन्त लगायत हरेक दिन एउटै समयमा उठ्नुहोस्; निद्रा लागेपछि मात्र सुत्न जानुहोस्; सुत्न गएको २० मिनेटभित्र निद्रा नलागेमा पुनः निद्रा नलागेसम्म केही आरामदायी काम गर्न ओछ्यानबाट जुरूक्क उठ्नुहोस्। (g94 6/22)
हजारौं बोटबिरुवाहरू अवहेलित
संराको खाद्य तथा कृषि सङ्गठन यसो भन्छ: “इतिहासभरि मानव भोजनको लागि सयौं हजार जातका बोटबिरुवा प्रयोग गरिएका छन्। तर अहिले १५० वटा मात्र खेती गरिन्छ र तीमध्ये केवल तीन प्रकारको बोटले वनस्पतिबाट प्राप्त हुने प्रोटिन र क्यालोरी ६० प्रतिशत प्रदान गर्छ।” अन्तर्राष्ट्रिय कृषि अध्ययनहरूले यो कुराको पुष्टि दिन्छ। प्रकृतिमा पाइने अन्य हजारौं पोषक बिरुवाहरूलाई वास्तै नगरी मानिसहरू परिचित भोजन—चामल, मकै र गहुँ मात्र उपयोग गर्छन्। (g94 6/22)
झ्यालबाट देखिने दृश्यको महत्त्व
स.रा.अ.स्थित युनिभर्सिटि अफ मिशिगनका अनुसन्धानकर्त्ताहरूको अध्ययनअनुसार झ्यालबाट दृश्यावलोकन गर्न सक्ने कामदारहरूले राम्रो काम गर्न सक्छन्। लोकप्रिय विचारको विपरीत दृश्यले दिवास्वप्नलाई प्रोत्साहित नै गर्छ भन्ने छैन। बिज्नेस विक पत्रिकाअनुसार १,२०० जनामा गरिएको सर्वेक्षणमा “बाह्य संसारको दृश्य हेर्न सक्ने कामदारहरू आफ्नो कामप्रति बढी जोशिला, कम नैराश्यता, राम्रो एकाग्रता र शारीरिक बिमारीहरू कम भएको पाइयो।” यसको विपरीत, झ्यालविहीन कोठरीमा बस्नेहरूको “कल्पनाशक्ति कम र झट्टै रिसाइहाल्ने” र एकाग्र हुन समस्याहरू भएको पाइयो। (g94 6/22)
बौद्धिक खेलौनाहरू
क्यानेडियाली पत्रिका, द ग्लोब एण्ड मेल ले यस्तो टिप्पणी गर्छ: “भविष्यको प्रतिस्पर्धात्मक होडबाजीका लागि तयार पार्ने खेलौनाहरू आमाबाबुले किन्न रुचाउनाले सीपमूलक खेलौनाहरूको बिक्री आकासिंदो छ।” केही आमाबाबुहरू त “रमाइलोको लागि मात्र खेलिने खेलौनाहरूबाट आफ्ना छोराछोरीहरूलाई वञ्चित गराइरहेका छन्। बरु तिनीहरूको खेलको प्रत्येक क्षण सीपमूलक भएको” चाहन्छन्। यस्तो चलनले बच्चाहरूमा उच्च बौद्धिकता र सीपहरू विकास गर्न टेवा पुऱ्याउँछ भन्ने केहीको भनाइ छ भने केही विशेषज्ञहरू यसमा असहमत छन्। बच्चाहरूको मूल्यवान समय यसरी खोस्नाले तिनीहरूका सृजनात्मकता अवरोधित हुनेछ र “अन्ततः तिनीहरूले कम सिक्नेछन्” भन्ने सोचाइ तिनीहरूको छ भनी उक्त पत्रिकाले भन्छ। (g94 6/22)
भोकमरीले मानवजातिको ठूलो अंशलाई सताउँछ
मानवजातिलाई खुवाउन यस पृथ्वीले अहिले जति अन्न कहिल्यै उत्पादन गरेको छैन। यद्यपि, मानवजाति अहिले जति भोकले पीडित पनि कहिल्यै भएको छैन। विश्व बैङ्कबाट प्राप्त हालैको तथ्याङ्कअनुसार पहिलेभन्दा निकै बढी, लगभग १.१३ अरब मानिसहरूलाई भोकमरीले पिरोलेको छ भनी फ्रान्स प्रेस रिपोर्ट गर्छ। यसले विकासोन्मुख देशहरूका झन्डै ३० प्रतिशत मानिसहरूलाई असर गऱ्यो। संसारको सबैभन्दा बढी पीडित क्षेत्र दक्षिणी एसिया थियो जहाँ ५६.२ करोड मानिसहरू (जनसङ्ख्याको ४९ प्रतिशत) भोकमरीले पीडित छन्; अफ्रिकामा २१.६ करोड (जनसङ्ख्याको ४७.८ प्रतिशत); पूर्वी तथा उत्तरी अफ्रिकामा ७.३ करोड (जनसङ्ख्याको ३३.१ प्रतिशत); ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा १०.८ करोड (जनसङ्ख्याको २५.२ प्रतिशत) कुपोषणले पीडित छन्। (g94 7/8)
सनसनीपूर्ण ढङ्गमा आयश्रोत बढाउने
सन् १९९३ को सुरुतिर, एसोसिएशन फर साइन्टिफिक रिसर्च इन्टु द प्यारासाइन्सेज इन जर्मनीले ज्योतिषीहरूका ७० भविष्यवाणीहरू जम्मा गऱ्यो र वर्षको अन्ततिर त्यसका परिणामहरू जाँच गऱ्यो। अघिल्ला वर्षमा गरेका भविष्यवाणीहरूको असफलताको तुलनामा (अवेक! जून ८, १९९२, पृष्ठ २९ र जुलाई ८, १९९३, पृष्ठ २९ हेर्नुहोस्) सन् १९९३ मा ज्योतिषीहरूले के प्रगति गरे त? नोसोइच नोय प्रेस को रिपोर्टअनुसार तिनीहरूले “थुप्रै झूटहरू बोले।” त्यस एसोसिएशनका प्रवक्ताले यो टिप्पणी गरे: “थुप्रै ज्योतिषीहरूले त आफ्नै वार्षिक भविष्यवाणीहरूमा समेत विश्वास गर्दैनन्।” तर जर्मनीमा ज्योतिषविद्याद्वारा थुप्रै पैसा कमाइन्छ, प्रतिवर्ष ५.७ करोड अमेरिकी डलर (१० करोड जर्मनी मार्क) आर्जन हुन्छ। समाचार पत्रिकाले रिपोर्ट गरेअनुसार आयस्रोत बढाउन थुप्रै भावी बताउने व्यक्तिहरूले सनसनीपूर्ण भविष्यवाणीहरूलाई “प्रचार प्रसार गर्ने माध्यमको रूपमा प्रयोग गरेका छन्।” (g94 7/8)
बच्चाहरूको रोजगार बजार
ओ इस्टाडो डे साउ पाउलो पत्रिकाको रिपोर्टअनुसार ब्राजिलमा लगभग ८० लाख बच्चाहरू रोजगार बजारमा सम्मिलित छन्। यी नाबालिगहरूले वयस्कहरूले जस्तै काम गर्न सक्छन्। तर प्रायजसो तिनीहरूले कम पारिश्रमिक पाउँछन् र फलस्वरूप पारिवारिक आयस्रोतमा कम योगदान पुऱ्याउँछन्। सम्भवतः, अपुग शिक्षाको कारण यी जवान कामदारहरू अर्धशिक्षित रहन्छन् र आफ्ना आमाबाबु जत्तिकै गरीब हुन्छन्। यस अलावा “यी जवान कामदारहरूले अरू परिवारका मूलीहरूको सट्टा काम गरिदिन्छन् किनभने उनीहरूले वयस्कको तलबको एक तिहाइ मात्र लिएर पनि काम गर्न इच्छुक हुन्छन्” भनी लुइज क्लड्यु डे भास्कोन्सेलोस भन्छन्। (g94 7/8)
फल टिप्ने यन्त्रमानव
इटालेली कृषि प्रविधिले गरेको नवीनतम प्रगति कम्प्युटरद्वारा स्वचालित यन्त्रमानव हो जसले “रूखबाट सोझै प्रतिघण्टा २,५०० जति सुन्तला टिप्न सक्छ।” ला स्टाम्पा अनुसार यस यन्त्रमा “अति संवेदनशील” आठ वटा यान्त्रिक हातहरू छन् र प्रत्येकमा एउटा इलेक्ट्रोनिक आँखा छ जसले “रङ्गको गाढापनलाई छुट्याउन सक्छ” अनि “हलकासित छोइसकेपछि अचूक रूपमा काँचो फल नटिपीकन पाकेको फल टिप्छ।” डिजेल इन्जिनबाट चल्ने “यी यन्त्रमानवहरू खराब मौसममा पनि दिनरात काम गर्न सक्छन् र साढे तीन मीटर अग्ला रूखहरूबाट [११ फिट] सुन्तला टिप्न सक्छन्। . . . फल टिप्दा यो प्रतिघण्टा आठ किलोमिटरको [५ माइल] गतिले चल्छ र ५०० किलो [१,१०० पाउण्ड] बोकेको मालगाडीलाई प्रतिघण्टा १४ किलोमिटरको दरले [प्रतिघण्टा ९ माइल] तान्न सक्छ।” (g94 7/8)
मानव अधिकारको अवस्था—“दुःखदायी”
संरा को मानव अधिकार विश्व सम्मेलनका सहायक सचिव, इब्राहिम फलले यसो भने: “मानवताको भावी जनकल्याणको लागि मानव अधिकारप्रति आदर महत्त्वपूर्ण छ।” तर तिनले टिप्पणी गरे: “थुप्रै [देशहरूमा] मानव अधिकारको उल्लङ्घनको स्तर असाध्यै दुःखदायी छ।” विश्वको आधी जनसङ्ख्याले मानव अधिकारको उल्लङ्घन सहनु परेको पुष्टि संरा को समाचारपत्रिका, वर्ल्ड कन्फरेन्स अन ह्युमन राइट्स ले गर्छ। श्री फल थप टिप्पणी गर्छन्: “मृत्यु, विनाश, पक्षपात, सतावट, बलात्कार, दासत्व र अवरोधित जीवनले लाखौं मानिसको जीवनलाई दिनहुँ आघात पुऱ्याइरहेको छ।” योभन्दा अझ नाजुक त, “अधिकारको समस्या चुल्लिएको हुनाले” ती आघातहरू फैलिरहेका छन् भनी संरा ले चेताउनी दिन्छ। (g94 7/8)