प्रेम गर्न सिकाइएका मानिसहरू
प्रेम भनेको श्रद्धा, परोपकार र आपसी हितले भरिएको स्नेह हो। प्रेम, न्यानो सम्बन्ध हो। यो निःस्वार्थ र वफादार हुन्छ अनि यसले अरूको भलाइप्रति परोपकारी चासो राख्छ। प्रेमको ठीक विपरीत घृणा हो। घृणाले प्रभावित भएको व्यक्ति आफ्नै दुनियाँमा मग्नमस्त हुन्छ भने, प्रेमले प्रेरित भएको व्यक्तिले अरूको पनि ख्याल राख्छ।
तपाईंको जीवनमा प्रेमले प्रभुत्व जमाएको छ कि घृणाले? यो कुनै सैद्धान्तिक प्रश्न मात्र होइन, किनकि यसैको जवाफमा तपाईंको अनन्त भविष्य निर्भर छ। घृणा गर्न सिकाइएको संसारमा रहेर पनि लाखौं मानिसहरूले प्रेम गर्न सिकिरहेका छन्। तिनीहरूले नयाँ व्यक्तित्व धारण गरेर यसो गरिरहेछन्। तिनीहरूले प्रेमबारे गफ हाँक्ने मात्र होइनन् तर त्यसलाई व्यवहारमा उतार्ने हर प्रयास गरिरहेका छन्।
तपाईं यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनुभएको छ भने, त्यहाँ जे देख्नुभयो त्यसद्वारा प्रभावित हुनुभयो होला। जुनसुकै राष्ट्रियताको भए तापनि उपासनामा यहोवाका साक्षीहरू एकताबद्ध छन्। तिनीहरूमा साँचो अन्तरराष्ट्रिय भातृत्व छ। स्थानीय मण्डलीहरू र अधिवेशनहरूमा तिनीहरूको यस्तो भातृत्व देख्न पाइन्छ। तर सबैभन्दा उत्तम नमुना भने तिनीहरूको बेथेल परिवारमा देख्न सकिन्छ। तिनीहरू स्वयंसेवकहरू हुन् जो परिवारको रूपमा एकसाथ बस्छन् अनि बाइबल साहित्यहरू उत्पादन र वितरणमा काँधमा काँध मिलाएर काम गर्छन्। प्रत्येक देशमा तिनीहरूमध्ये कसै कसैले यहोवाका साक्षीहरूले त्यहाँ गर्ने कार्यको निरीक्षण गर्छन्। यो काम निश्चय पनि चानचुने होइन, किनभने १९९७ सम्ममा विश्वका २३३ देशहरूमा ८२,००० मण्डलीहरू भइसकेका छन्। यस आवश्यकतालाई पूरा गर्न विश्व मुख्यालय र १०३ देशहरूका स-साना शाखा कार्यालयमा गरेर १६,००० भन्दा बढीले बेथेल सेवा गरिरहेका छन्।
जुन देशमा शाखा कार्यालय अवस्थित छ, त्यही देशका नागरिकहरू प्रायजसो बेथेल परिवारका सदस्य हुन्छन्। तर सबै ठाउँमा यस्तो हुँदैन। कुनै कुनै बेथेल परिवारहरूमा विभिन्न राष्ट्र, जनजाति वा जातीय मूल एवं विगतमा छुट्टाछुट्टै धार्मिक पृष्ठभूमि भएका साक्षीहरू छन्। उदाहरणका लागि, जर्मनीस्थित सेल्टर्स बेथेल परिवारमा १,२०० जना जति छन्। तिनीहरू करिब ३० राष्ट्रका हुन्। कुन कुराले गर्दा तिनीहरू घृणारहित वातावरणमा शान्तिसित एकतावद्ध रूपमा बस्न, काम गर्न र उपासना गर्न सकेका छन्? तिनीहरूले कलस्सी ३:१४ को बाइबलको सल्लाहलाई व्यवहारमा उतार्छन्। त्यहाँ यसो भनिएको छ:
“प्रेम धारण गर”
कोही पनि लुगा लगाएर जन्मँदैनन्। नता लुगाको चर्चा गर्दैमा त्यो कसैले पाउने कुरा हो। लुगा प्राप्त गर्न त कुनै ठोस कदम चाल्नुका साथै उद्यमी भई परिश्रम गर्नुपर्छ। त्यसैगरि, कोही पनि प्रेम धारण गरेर जन्मंदैनन्। प्रेमको विषयमा कुरा गरेर मात्र पनि यथेष्ट छैन। यसको निम्ति त प्रयत्न गर्नुपर्छ।
लुगा लगाउनुको अनेकन् फाइदाहरू छन्। यसले शरीरलाई सुरक्षा गर्छ, गुप्तांग वा असिद्धताहरूलाई ढाक्छ। साथै त्यसले केही हदसम्म व्यक्तिविशेषको व्यक्तित्व पनि झल्काउँछ। प्रेम पनि त्यस्तै हो। यसले सुरक्षाको काम गर्छ, किनभने धार्मिक सिद्धान्तहरू र सही संगतिप्रतिको प्रेमले सम्भाव्य खतरनाक संगति र स्थानहरूबाट अलग रहन उत्प्रेरित गर्छ। यसले अरूसितको हाम्रो आत्मीय सम्बन्धलाई पनि जोगाउँछ। अरूलाई प्रेम गर्नेले निश्चय प्रेम नै पाउनेछ अनि अरूको हानि नगर्नेको निश्चय हानि हुनेछैन।
सहमानवहरूको निम्ति ठोकरको कारण बन्न सक्ने हाम्रा अभद्र व्यक्तित्वलाई पनि प्रेमले ढाकछोप गर्छ। के प्रेमिलो व्यक्तिहरूको भन्दा अभिमानी, अहंकारी, स्वार्थी र प्रेमरहित व्यक्तिहरूको स-साना भूलहरू नियाल्ने हाम्रो झुकाउ हुँदैन र?
प्रेम धारण गर्ने व्यक्तिले ख्रीष्टको जस्तो व्यक्तित्व झल्काउँछ। शारीरिक सौन्दर्य त सतही मात्र हुन्छ तर आध्यात्मिक सौन्दर्य सम्पूर्ण व्यक्तिमा नै झल्किन्छ। शारीरिक बनावटको आधारमा नभई तिनीहरूको न्यानो व्यक्तित्वको कारण तपाईंलाई असल लागेका व्यक्तिहरू निश्चय पनि छ होला। अर्कोतर्फ, प्रायः हामी सबैले सुन्दरी स्त्रीहरू तथा रूपवान् पुरुषहरू भेटेका छौं। तर तिनीहरूको वास्तविक व्यक्तित्व थाह पाउने बित्तिकै तिनीहरूको सौन्दर्य हाम्रो नजरमा मूल्यहीन भएर गयो। प्रेम धारण गर्ने मानिसहरूमाझ बस्नु कत्ति आनन्ददायी कुरा हो!
घृणाको ठाउँमा प्रेम राख्ने
घृणाको बदला प्रेम गर्न सकिन्छ भनेर १९९४ मा जर्मनीका १,४५,९५८ यहोवाका साक्षीहरूसँग लिइएको सर्वेक्षणले देखायो।
अत्यधिक मद्यपान, लागू पदार्थको दुर्व्यसन अपराध, जुवा खेल्ने र समाजविरोधी तथा हिंसात्मक आचरणजस्ता कुराहरूले कुनै न कुनै तरिकामा स्वार्थपना झल्काउँछ र यसले सजिलै घृणालाई बढावा दिनसक्छ। तर अन्तरवार्ता लिइएकाहरूमध्ये ३८.७ प्रतिशतले भनेअनुसार साक्षीहरूले जोड दिने बाइबलका उच्च सिद्धान्तहरू पालन गर्न तिनीहरूले उक्त कुराहरू त्याग्नु पऱ्यो। परमेश्वर तथा आचरणसम्बन्धी उहाँका धार्मिक स्तरहरूप्रतिको प्रेमले गर्दा यसो गर्न तिनीहरू उत्प्रेरित भएका हुन्। तिनीहरूलाई अक्सर व्यक्तिगत रूपमा यहोवाका साक्षीहरूले कोमलतासाथ सहयोग गरे। विगत पाँच वर्षको दौडान (१९९२-१९९६), २३३ देशहरूका १६,१६,८९४ व्यक्तिहरूले घृणालाई सर्वविजयी प्रेममा परिवर्तन गर्ने मदत पाएका छन्।
वैवाहिक जीवनमा निःस्वार्थ प्रेम लागू गरेको हुँदा यहोवाका साक्षीहरूले दिगो सम्बन्ध कायम गर्न सकेका छन्। कुनै कुनै मुलुकहरूमा दुइ वा तीन विवाहमध्ये एउटाको पारपाचुके हुन्छ। तर माथि उल्लिखित सर्वेक्षणअनुसार यहोवाका साक्षीहरूमा ४.९ प्रतिशतले मात्र पारपाचुके भएका छन् वा लोग्नेस्वास्नी छुट्टिएका छन्। तथापि, यो कुरा पनि बिर्सनु हुँदैन कि तिनीहरूमध्ये धेरैजसोले यहोवाका साक्षी हुनुअघि नै पारपाचुके गरेका थिए।
प्रेमको परमेश्वर महान् शिक्षक पनि हुनुहुन्छ। यहोवालाई प्रेम गर्नेहरूलाई उहाँले आफ्नो तौरतरिकाहरू सिकाउनुहुन्छ र उहाँका साक्षीहरू प्रथमतः उहाँलाई नै प्रेम गर्छन्। अन्य मानिसहरू अर्थात् “परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” जस्तो नभई यहोवाका साक्षीहरूले परमेश्वरलाई पहिलो स्थानमा राख्छन्। (२ तिमोथी ३:४) यस नैतिकताहीन संसारका तौरतरिकाहरूको विपरीत साक्षीहरूले जर्मनीमा प्रत्येक हप्ता औसत १७.५ घण्टा धार्मिक क्रियाकलापहरूमा बिताउँछन्। साक्षीहरूले स्पष्टतः आध्यात्मिक कुराहरूमा मन लगाउँछन्। यसकारण तिनीहरू आनन्दित छन्। येशूले यसो भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।”—मत्ती ५:३.
भजन ११८ का लेखकले परमेश्वरका साँचो सेवक मानिसहरूसित डराउनु खाँचो छैन भने। “परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (पद ६) परमेश्वरमा पूर्ण भरोसा राख्नाले मानिसहरूलाई गर्ने घृणा र तिनीहरूसित डराउने प्रवृत्तिबाट मुक्त हुन सकिन्छ।
परमेश्वर “रीस गर्नमा धीरजी, कृपा र सत्यतामा भरिपूर्ण हुनुहुन्छ” भन्ने जानेर आफ्नो रीस नियन्त्रण गर्न मसीहीले यथाशक्य प्रयास गर्छन्। किनभने रीसले घृणा उत्पन्न गर्नसक्छ। नम्रता र संयमलगायत परमेश्वरको आत्माको अन्य फल फलाएर रीस नियन्त्रण गर्ने मदत पाउन सकिन्छ।—भजन ८६:१५; गलाती ५:२२, २३.
साँचो मसीही नम्र हुन्छ र उसले आफूलाई जस्तो सम्झनुपर्छ, त्यसभन्दा बढी सम्झँदैनन्। (रोमी १२:३) अरूप्रति उसले प्रेमपूर्ण व्यवहार गर्छ। प्रेम घृणाजस्तो “रिसाउँदैन खराबीको वास्ता गर्दैन।”—१ कोरिन्थी १३:५.
हो, डर, रीस वा हानिको भयले मानिसहरूलाई घृणा गर्न उक्साउँछ। तर प्रेमले घृणाको जड नै उखेलेर त्यसमाथि विजयी हुन्छ। वास्तवमा भन्ने हो भने, ब्रह्माण्डमा प्रेम नै सबैभन्दा बलियो शक्ति हो किनभने “परमेश्वर प्रेम हुनुहुन्छ।”—१ यूहन्ना ४:८.
सधैंको निम्ति चाँडै घृणाको अन्त हुनेछ
स्वार्थीपना र घृणा परमेश्वरको व्यक्तित्वको भाग नभएको हुनाले त्यो सधैंभरि टिक्न सक्दैन। यसको स्थान निश्चय नै प्रेमले ओगट्नेछ र त्यो सदा सर्वदै रहिरहनेछ। तपाईंले चाहनुभएको संसार घृणाको नामोनिसान नभएको र प्रेमले परिपूर्ण भएको संसार हो भने, त्यस्तो संसारमा प्रवेश गर्नको निम्ति आवश्यक कुराहरू यहोवाका साक्षीहरूले तपाईंलाई बाइबलबाट सिकाउन सक्छन्।
हो, हामी प्रत्येकले आफूलाई यो प्रश्न सोध्नु बेस हुन्छ, ‘मेरो जीवनमा प्रेमले प्रभुत्व जमाएको छ कि घृणाले?’ यो कुनै सैद्धान्तिक प्रश्न मात्र होइन। परमेश्वरको वैरी अर्थात् घृणाको देवलाई पछ्याउनेहरू धेरै बेर टिक्ने छैनन्। यहोवा अर्थात् प्रेमको परमेश्वरलाई पछ्याउनेहरू चाहिं सधैंभरि रहिरहनेछन्!—१ यूहन्ना २:१५-१७.
[पृष्ठ १०-मा भएको चित्र]
मानिसहरू अहिले पनि प्रेम धारण गर्नसक्छन्