हुरीबतास—बादलहरूका विस्मयकारी राजा
अस्ट्रेलियाको ब्यूँझनुहोस्! संवाददाताबाट
थुप्रै मानिसहरू बाल्यकालदेखि नै बादलदेखि आकर्षित हुन्छन्। एक ८० वर्षीय मानिसले आफू केटाकेटीदेखि नै चौरमा पल्टेर “आकाशमा बादलहरूले परेड खेलेको” हेर्थें भन्ने कुरा व्यक्त गरे। त्यसबेला बादलहरू केले बनेका होलान् भनी छक्क पर्ने गरेको कुरा पनि तिनी सम्झन्छन्। कपासले बनेको? अनि तिनीहरू किन भिन्नाभिन्नै देखिन्थे नि? कुनै सलल बगिरहेको जहाज जस्तो, कुनैचाहिं कुदिरहेको घोडा जस्तो। अनि कुनै विशाल किल्ला जस्तो। आकार बदलिरहने ती बादलहरूले तिनको बाल कल्पनालाई कुतकुत्याउँथ्यो। अहिले पनि तिनी आकाशमा आकार बदलिरहने “बादलको खेल” हेरेर रमाउने गर्छन्। हुनसक्छ तपाईंले पनि त्यसरी आनन्द उठाइरहनुभएको होला।
तथापि, बादलहरूमध्ये पनि अझ अचम्मलाग्दो र विस्मयकारीचाहिं सायद “बोल्न” सक्ने बादल होला। त्यसको नाम घना कपासी बादल अर्थात् गर्जने मेघ हो। यी काला अनि डरलाग्दा देखिने बादलहरू १६ किलोमिटर वा त्योभन्दा पनि धेरै माथिसम्म फैलिनसक्छ र यस्ता बादलहरूले गर्दा मेघ गर्जन सहित हुरीबतास आउने गर्छ। यी बादलहरू आकाशमा फैलँदै जाँदा बिजुली चम्कनुका साथै भयंकर गर्जन हुन्छ। अझ रातमा झिलिकझिलिक चम्कँदै गरेको बिजुली र गर्जन मानिसहरूले बनाएको आतसबाजीलाई माथ गर्ने खालका हुन्छन्। झिलिकझिलिक चम्कँदै गर्जनुसम्म गर्जेपछि पानी र असिना पनि पार्दछ र प्रायः पहिले सुक्खा भइरहेको जमिनलाई सफा पानीले भिजाएर अघि बढ्छ।
हुरीबतास कसरी सुरु हुन्छ
हालसालै मानिसले अन्तरिक्षबाट पृथ्वीको दृश्यावलोकन गर्न सकेको छ। अन्तरिक्षबाट हेर्दा पृथ्वीको धेरैभन्दा धेरै भाग बादलले ढाकेको देखिन्छ। लेखक फ्रेड हापगुडअनुसार “पृथ्वीको आधा भाग अर्थात् २५ करोड वर्ग किलोमिटर बराबरको भूभागलाई हरबखत बादलले ढाकेको हुन्छ। यी बादल तन्ना, गोलाकार, सिरक, धागो, फित्ता र फुलौराजस्तो विभिन्न आकारको हुन्छ भने कहिले उज्यालो, कहिले अँध्यारो, झुप्प परेको, फिजिएको, वा हावासँगसँगै सरर्र बग्दै गइरहेको जस्तो देखिन्छ।” यी बादलहरूमध्ये केहीभाग हुरीबतास ल्याउने खालको बादलले बनेको हुन्छ। वास्तवमा, पृथ्वीमा हरेक वर्ष १,५०,००,००० पटक हुरीबतास चल्ने गर्छ र झन्डै २,००० वटा हुरीबतास ल्याउने बादल सधैंभरि सक्रिय रहेको पाइन्छ।
बाक्लो चिसो वायु त्योभन्दा पातलो तर आर्द्रता भएको बादलमाथि उकासिंदै जाँदा हुरीबतास उत्पन्न गर्ने बादल बन्छ। सौर्य तापमान, तातो र चिसो हावाको संगम हुने अवस्था अथवा उच्च भूभागका कारण उष्ण आर्द्र वायु, शीत वायुमाथि धकेलिन्छ। हावाको बहाउ तेज हुँदा बादल तातिन थाल्छ त्यसपछि उत्पन्न हुने बाफ आँधी र विद्युतशक्तिमा परिवर्तन हुन्छ।
तल्लो अक्षांशमा हुरीबतास तैयार हुने वायुमण्डलीय अवस्था धेरै पाइन्छ। धेरै हुरीबतास चल्नसक्ने महादेशहरू दक्षिण अमेरिका र अफ्रिका हुन् र विशेषगरी मध्य-अफ्रिका तथा इन्डोनेसिया हुरीबतासले चर्को क्षति पुऱ्याएउने देशहरू हुन् भनिनुका कारण यसैबाट स्पष्ट हुन्छ। युगान्डाको कम्पालामा वर्षको २४२ दिन हुरीबतास चलेको रिपोर्ट छ। तथापि, पृथ्वीको अन्य भागमा पनि हुरीबतास चल्छ।
आकाशमा आतसबाजी
हुरीबतास चल्दा सबैले स्पष्ट देख्ने दुइटा कुरा, हुरी र बिजुली हो। तर यस्तो सनसनीपूर्ण तथा डरलाग्दो दृश्य देखिनुको कारण के हो? दुई ठाउँमा भिन्नाभिन्नै विद्युत्शक्तिहरू अत्यधिक मात्रामा उत्पन्न भएर हावाजस्तो कुचालक माध्यमसमेत पार गरी प्रवाहित हुँदा बिजुली चम्कन्छ। बिजुली एउटै बादलमा, बादल बादलको बीचमा वा बादल अनि जमिनबीच पनि उत्पन्न हुनसक्छ। बिजुली चम्कँदा हावाको तापक्रम अचाक्लीसँग बढ्नजान्छ। अझ भनौं भने बिजुली झिलिक्क चम्केको बेला त तापक्रम झन्डै झन्डै ३०,००० डिग्री सेल्सियससम्म पुग्छ।
बिजुलीलाई धर्के बिजुली, हाँगे बिजुली र चादरी बिजुलीमा वर्गीकरण गर्न सकिन्छ। धर्के बिजुली चम्कँदा एउटै मात्र लामो रेखा देखिन्छ। अनि थुप्रै हाँगाबिंगाहरू छुट्टिएर गएको देखिन्छ भने त्यसलाई हाँगे बिजुली भनिन्छ। साथै बिजुली बादलभित्र चम्केको छ अर्थात् बिजुली चम्कँदा बादल उज्यालो हुन्छ भने त्यसलाई चादरी बिजुली भनिन्छ। आधिकारीक स्रोतले हामीलाई दिएको जानकारीअनुसार हामीले देख्ने प्रायजसो बिजुली बादलबाट जमीनमा खस्ने बिजुली हो।
बिजुलीले जीवजन्तुहरूलाई हानि पुऱ्याउँछ। यहाँसम्म कि मानिस तथा जनावरहरू मर्न वा घाइते हुनसक्छन्। समुद्र किनार र गल्फ खेल्ने मैदान अनि खुला क्षेत्रमा हुने मानिसहरू ज्यादै असुरक्षित हुन्छन् किनभने तिनीहरू घर बाहिर भएकाले कुनै पनि बेला विद्युत्शक्तिबाट प्रभावित हुनसक्छन्।—पृष्ठ १५ को पेटी हेर्नुहोस्।
चट्याङले लागेका ३० प्रतिशत मानिसहरू मात्र मर्छन् अनि समयमै प्राथमिक उपचार अपनाउन सकियो भने लामो समयसम्म असर गर्नसक्ने चोटलाई कम गर्नसकिन्छ। तथापि, प्रचलित धारणा विपरीत, एक चोटि चट्याङ परिसकेको ठाउँमा धेरै चोटि पर्नसक्छ र प्रायः परेको पनि पाइन्छ!
चट्याङ पर्दा आगलागी पनि हुनसक्छ। यसले ठूलो भूभागलाई ध्वस्त पार्नसक्छ। संयुक्त राज्यको वनमा हुने लगभग दस प्रतिशत आगलागीको कारण चट्याङ पर्नु नै हो। संयुक्त राज्यको ३५ प्रतिशतभन्दा धेरै वन-जंगल तथा झाडीहरू यसरी हुने आगलागीको कारण नष्ट हुने गर्छन्।
तर चट्याङ लाभदायी पनि हुन्छन्। उदाहरणका लागि, यसले घनाजंगलहरूलाई विभिन्न तरिकाले फाइदा पुऱ्याउँछ। चट्याङ खसेर सुरु भएको सानोतिनो आगलागिले जमिनमा फैलिएका स-साना झारपातहरूलाई जलाइदिन्छ। फलतः रूखको टुप्पोसम्मै पुग्नसक्ने भयानक आगलागी हुने खतरा कम गराउँछ। चट्याङले ग्याँसको रूपमा रहेको नाइट्रोजनलाई पनि परिवर्तन गरेर बोटबिरुवाले उपभोग गर्नसक्ने नाइट्रोजनमा परिवर्तन गरिदिन्छ। चट्याङले ग्याँसलाई यौगिक नाइट्रोजनमा परिवर्तन गरिदिन्छ। यसैबाट बिरुवाका तन्तुहरूको निर्माण र बीउको विकासका लागि परिवर्तन अपरिहार्य प्रोटिन जीवजन्तुहरूले पाउँछन्। आकाशबाट परेको पानीमा पाइने ३० देखि ५० प्रतिशत नाइट्रोजन अक्साइड चट्याङकै कारण उत्पन्न भएको हुनुपर्छ र यसै प्रक्रियाद्वारा पृथ्वीभरि वर्षेनी तीन करोड टन यौगिक नाइट्रोजन उत्पादन हुन्छ भन्ने अनुमान गरिएको छ।
हुरीबतासबाट ठूलो फाइदा
हुरीबतासले प्रशस्तमात्रामा पानी पार्नसक्छ। हुरी चल्दा छोटो समयमै यतिविघ्न पानी पर्नुको खास कारण पानीका थोपाहरूलाई माथितिर ठेल्नु र त्यसलाई एकै चोटि छोड्नु हो। त्यस्तो वर्षा प्रतिघण्टा २० सेन्टिमिटरका दरले भएको समेत पाइएको छ। तथापि, त्यस्तो भारी वर्षाले प्रतिकूल असर पनि पार्नसक्छ।
एउटै इलाकामा मात्र धेरै बेर हुरी चल्दा सानो ठाउँमा मात्र भारी वर्षा हुने हुनाले बाढी आउनसक्छ। त्यस्तो हुरी चलिरहेको बेला जमिनमा परेको पानीले गर्दा नदी वा खोलानाला पानी बढ्नसक्छ। संयुक्त राज्यमा बाढीबाट हुने क्षतिमध्ये एक तिहाइ क्षति हुरीबतासद्वारा अचानक सुरु भएको बाढीले गर्दा हुने गरेको अनुमान छ।
तथापि, हुरीले गर्दा परेको पानीले थुप्रै फाइदा पनि पुऱ्याउँछ। यसले गर्दा जमिन, जलाशय अनि बाँधले प्रशस्त पानी पाउँछ। अनुसन्धानले देखाएअनुसार कुनै कुनै ठाउँमा विभिन्न तरिकामा ५० देखि ७० प्रतिशत पानी हुरीबतासले गर्दा नै प्राप्त हुन्छ। त्यसैले, ती ठाउँहरूमा हुरीका कारण पर्ने पानी जीवनका लागि नभई नहुने कुरा हो।
असिना नि?
हुरीबतासको सबैभन्दा ठूलो हानिकारक पक्ष यससँगसँगै पर्ने असिना हो। चिसोले गर्दा पानीका थोपाहरू जमेपछि असिना बन्छ र ती जमेका थोपाहरू कहिले माथि त कहिले तल ठेलिन पुग्दा त्यसको आकार झन् झन् ठूलो हुँदैजान्छ। असिनाको अपत्यारिलो आकार तथा वजन अभिलेख गरिएको पाइन्छ। जस्तै, जर्मनीमा सन् १९२५ मा २६ सेन्टिमिटर लामो १४ सेन्टिमिटर चौडा र १२ सेन्टिमिटर उचाइको असिना परेको रिपोर्टले देखाउँछ। यसको तौल दुई किलोग्राम भन्दा बढी भएको अनुमान गरिएको छ। संयुक्त राज्यमा अहिलेसम्म परेका असिनाहरूमध्ये सबैभन्दा ठूलो १९७० मा कन्सास राज्यमा परेको थियो। यसको परिधि ४४ सेन्टिमिटर, तौल ७७६ ग्राम थियो। त्यत्रो आकारको असिनाको प्रहारले मानिस सजिलै मर्नसक्छ।
खुसीको कुरा, असिना प्रायजसो त्योभन्दा सानै हुन्छ। त्यसकारण त्यसको प्रहारले ज्यान लिनेभन्दा पनि बरु दुःख दिने गरेको हामी पाउँछौं। त्यस्तै, असिना पार्ने हुरीबतासको प्रकृतिले गर्दा विनाशकारी असिनाले प्रभाव पार्ने क्षेत्रहरू सीमित हुन्छन्। तथापि, वर्षेनी असिनाले करोडौं डलर बराबरको बालीनालीलाई नोक्सानी पुऱ्याउने गरेको अनुमान छ।
भुमरी अनि हुरीबतास
हुरीबतासले गर्दा हुनसक्ने सबैभन्दा विनाशकारी कुराचाहिं भुमरी हो। प्रायजसो भुमरीको हुरीबताससित सम्बन्ध भएको पाइए तापनि भुमरीसँगसँगै सबै हुरीबतास चलेको भने पाइँदैन। भुमरी आउँदा बतास साँघुरो घेरा बनाएर विनाशकारी रूपमा घुम्छ र जमिनदेखि बादलसम्म पुग्छ। यस्तो बेला भुमरीको व्यास सयौं मिटरसम्मको हुनसक्छ। भुमरी चल्दा हावाको वेग ४०० वा ५०० किलोमिटर प्रतिघण्टासम्म पुग्नसक्छ। भुमरी चल्दा हावाले एकदम जोडसित फन्को मार्नुका साथै जमिनमा भएको सबै कुरा माथि हुत्याउँदै लैजान्छ। भुमरीले आफ्नो बाटोमा पर्नेजति घर अनि अरू ठूलठूला कुराहरू समेतलाई सजिलै उखेलेर हावामा उडाउनसक्छ। यस्ता कुराहरू आकाशबाट तल झर्दा सजिलै मानिसहरूको ज्यान जानसक्छ। संसारका थुप्रै देशहरूमा भुमरी चल्छ।
हेर्दा भुमरीजस्तो विस्मयकारी नदेखिने तर त्यति नै मात्रामा क्षति पुऱ्याउनसक्ने हुरीबतासको अर्को रूप सीधा दिशामा तल्तिर चल्ने हुरी र माइक्रोबर्स्ट हुरी हो। यस्तो १५० किलोमिटर प्रतिघण्टाभन्दा पनि बढी वेगले चल्नसक्ने हुरीले हावालाई माथिबाट तल्तिर बेस्सरी ठेल्दा जमिनको सतह वा सतहभन्दा केही माथि निकै नोक्सान पुऱ्याउनसक्छ। माइक्रोबर्स्ट झनै तेजगतिमा चल्छ र त्यसको वेगले २०० किलोमिटर प्रतिघण्टालाई नाघ्नसक्छ।
हुरीबतास र यसका खतराहरूदेखि होसियार रहनुपर्छ भन्ने कुरा यसबाट प्रस्टै हुन्छ। यो पनि हामीले सिक्न बाँकी सृष्टिका थुप्रै मोहडाहरूमध्ये एक हुन्।
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
चट्याङ पर्दा अपनाउनुपर्ने सतर्कता
इमर्जेन्सी म्यानेजमेन्ट अस्ट्रेलियाले हुरीबतास चल्दा निम्न सतर्कताहरू अपनाउने सल्लाह दिन्छ।
घरबाहिर हुनेहरूको सुरक्षा
◼ पक्की छाना भएको सवारी साधन वा घरमा लुक्नुहोस्; पाल वा रूखमुनि वा दुई चारवटा मात्र रूख भएको ठाउँमा ओत नलाग्नुहोस्।
◼ खुला मैदानमा दुवै खुट्टा जोड्नेगरी भुइँमा टुक्रुक्क बस्नुहोस् र टाउको वा जीउमा भएका धातुका सामानहरू हटाउनुहोस्। भुइँमा लम्पसार नपर्नुहोस् र जमिन वरपर सबैभन्दा अग्लो वस्तु तपाईं नै हुनदेखि पनि जोगिनुहोस्।
◼ तपाईंको रौं ठाड्ठाडो हुनथाल्यो वा नजिकैको ढुंगा वा बारहरू हुनहुनाएको जस्तो सुन्नुभयो भने तुरुन्तै नयाँ ठाउँमा सर्नुहोस्।
◼ लामो तार जोडेर उडाउने खेलौना हवाईजहाजहरू वा चंगा नउडाउनुहोस्।
◼ खुल्ला ठाउँमा माछा मार्ने धातुका लट्ठी अथवा छाता वा गल्फ खेल्ने डण्डीजस्ता कुराहरू नसमात्नुहोस्।
◼ फलामले बनेका चीजहरू जस्तै तारका बारहरू वा लुगा सुकाउने फलामका तारहरू नछुनुहोस् र नचलाउनुहोस्।
◼ घोडा वा साइकल अथवा छत नभएका सवारी साधनहरू नचढ्नुहोस्।
◼ गाडी चलाउँदै हुनुहुन्छ भने बिस्तारै हाँक्नुहोस् वा रूख अनि बिजुलीका खम्बाजस्ता अग्ला अग्ला चीजहरू नभएको ठाउँमा रोक्नुहोस्। पक्की छत भएको सवारी साधन भित्रै बस्नुहोस् तर त्यसका फलामे भागहरूमा अडेस नलगाउनुहोस् र नछुनुहोस्।
◼ पौडदै हुनुहुन्छ वा समुद्रमा खेल्दै हुनुहुन्छ भने तुरुन्तै पानीबाट निस्केर कुनै आश्रयस्थलमा जानुहोस्।
◼ डुंगा खियाउँदै हुनुहुन्छ भने छिटोभन्दा छिटो किनारा लगाउनुहोस्। त्यसो गर्न संभव नभए पुल अथवा घाट जस्ता ठूलठूला चीजहरू मुनि ओत लाग्नुहोस्। डुंगाको मस्तुल र मस्तुलको तारहरूलाई पानीमा सर्ट गरिएको छ कि छैन पक्का गर्नुहोस्।
घरभित्र हुनेहरूको सुरक्षा
◼ झ्याल, विद्युतीय उपकरण, पाइप र अन्य फलामे जडानहरूदेखि टाढा बस्नुहोस्।
◼ टेलिफोन प्रयोग नगर्नुहोस्। गर्नै पर्ने भयो भने पनि सकेसम्म छोटो कुराकानी गर्नुहोस्।
◼ बतास आउनुअघि नै बाह्य एन्टिना र रेडियो अनि टेलिभिजन सेटको प्लग छुटाउनुहोस्। कम्प्युटरको मोडेम र प्लग छुटाउनुहोस्। त्यसपछि विद्युतीय उपकरणहरूदेखि टाढा बस्नुहोस्।
[स्रोत]
खतरनाक हुरीबतास: तथ्य, चेताउनी र सुरक्षा (अंग्रेजी) नामक प्रकाशनबाट लिइएको।