अध्याय १५
परमेश्वरको राज्यको प्रजा हुने
१, २. परमेश्वरको सरकारको प्रजा हुनकालागि के को आवश्यकता पर्दछ?
परमेश्वरको राज्यको अधीनमा के तपाईं सदा पृथ्वीमा अनन्त जीवन चाहनु हुन्छ? दुरूस्त दिमाग भएको कुनै पनि व्यक्तिले, हो, भनेरनै उत्तर दिनेछ! अद्भुत फायदाहरू उपभोग गर्न पाइने छ। तर, ती कुराहरू प्राप्त गर्न, तपाईंले हात उठाएर ‘म परमेश्वरको राज्यको प्रजा हुन चाहन्छु’ भनेर मात्रै पुग्दैन। त्यो भन्दा बढ़ी गर्नु पर्ने छ।
२ उदाहरणकालागि, मानिलिनु होस्, तपाईं अर्को देशको नागरिक हुन चाहनु हुन्छ। त्यो हुनकालागि, त्यस देशका शासकहरूले कायम गरेका आवश्यकताहरूको पूर्ति तपाईंले गर्नु पर्नेछ। तर त्यो गर्नु भन्दा पहिले, तपाईंले ती आवश्यकताहरू के हुन भनेर सिक्नु पर्दछ। त्यसै प्रकारले, उहाँको राज्यको प्रजा हुनकालागि परमेश्वरले कायम गर्नु भएका आवश्यकताहरू पनि तपाईंले सिक्नु पर्दछ। र अनि ती सिकेका आवश्यकताहरूको पूर्ति तपाईंले गर्नु पर्नेछ।
ज्ञानको आवश्यकता
३. परमेश्वरको सरकारको प्रजा हुनकालागि त्यो एउटा के आवश्यकता हो?
३ परमेश्वरको राज्यको प्रजा हुनकालागि त्यहाँको “भाषाको” ज्ञान प्राप्त गर्नु एउटा महत्वपूर्ण आवश्यकता हो। निश्चय यो उचित कुरा हो। कुनै-कुनै मानवीय सरकारहरू पनि चाहन्छन् कि तिनीहरूका नया नागरिकहरू त्यस देशको भाषा बोल्ने योग्यका हुन सकून्। त्यसो भए, परमेश्वरको राज्यको अधीनमा जीवन पाउँन चाँहनेहरूले कुन “भाषा” सिक्नु पर्ने हो?
४. कुन “शुद्ध भाषा” परमेश्वरका जनहरूले सिक्नु पर्दछ?
४ हेर्नुहोस्, यहोवाले आफ्नो वचन बाइबलमा के भन्नु भएको छ: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको (यहोवाको, न्यु.व.) नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।” (सपन्याह ३:९) यो “शुद्ध भाषा” बाइबलमा पाइने परमेश्वरको सच्चाइ हो। खासगरी, यो सच्चाइ परमेश्वरको राज्य सरकार वारे हो। त्यसकारण परमेश्वरको सरकारको प्रजा हुनकालागि, यहोवा र उहाँको राज्य व्यवस्था वारेको ज्ञान लिएर यो “भाषा” तपाईंले सिक्नु पर्दछ।—कलस्सी १:९, १०; हितोपदेश २:१-५.
५. (क) परमेश्वरको सरकार वारे हामीहरूले के जान्नु पर्दछ? (ख) अनन्त जीवन प्राप्त गर्नकालागि हामीहरूलाई कुन ज्ञानको आवश्यकता छ?
५ आज कुनै-कुनै मानव सरकार चाहन्छन् कि त्यस देशको नागरिकता पाएकाहरूले त्यहाँको सरकारको इतिहास, र साथै तिनको सञ्चालन विधिहरूवारे पनि जानकारी लिउन्। त्यसैगरि, यदि तपाईं परमेश्वरको सरकारको प्रजा हुन चाहनु हुन्छ भने, त्यस सरकारवारेको त्यस्ता कुराहरू तपाईंले जान्नु जरूरी छ। यस ज्ञानले अनन्त जीवन तर्फ डोऱ्याउने छ। आफ्नो पितालाई प्रार्थना गर्दा, येशूले भन्नुभयो: “औ अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात येशू ख्रीष्टलाई चिनून् (ज्ञान लिउन्, न्यु.व.)।”—यूहन्ना १७:३.
६. (क) ती केही प्रश्नहरू के हुन् जसलाई परमेश्वरको सरकारका प्रजाहरूले उत्तर दिन सक्नु पर्दछ? (ख) के तपाईंले तिनको उत्तर दिन सक्नु हुन्छ?
६ यस पुस्तकको अगाड़िका अध्यायहरू तपाईंले अध्ययन गर्नु भएको भए, अहिले सम्म यो अति महत्वपूर्ण ज्ञान धेरै मात्रामा प्राप्त गरी सक्नु भएको होला। हो कि होइन? के निम्नलिखित प्रश्नहरूको उत्तर दिएर, तपाईंले सो ज्ञान प्राप्त गर्नु भएको छ भनेर देखाउन सक्नु हुनेछ? परमेश्वरको पार्थिव प्रजा हुने आकाँक्षा राख्ने उहाँका केही सेवकहरू को थिए? परमेश्वरको सरकारमा कति जना शासक वा राजाहरू हुनेछन्? यी राजाहरूले कहाँबाट शासन गर्नेछन्? परमेश्वरको सरकारमा राजाहरू हुन सर्व प्रथम को छानिए? येशू एउटा असल राजा हुनुहुनेछ भनेर उहाँले कसरी प्रमाण दिनु भयो? तथापि, परमेश्वरको सरकारको प्रजा हुनकालागि त्यसवारेको यति मात्र ज्ञान लिएर पुग्दैन।
धार्मिक आचरण चाहिन्छ
७. मानवीय सरकारहरूका नागरिकता सम्बन्धी आवश्यकताहरू कसरी भिन्न छन्?
७ आजका सरकारहरू पनि नया नागरिकहरूबाट एउटा निश्चित स्तरको आचरणको अपेक्षा गर्दछन्। उदाहरणकालागि, तिनीहरूले भन्न सक्छन् कि एउटा पुरूषको एउटी स्वास्नी र एउटी स्वास्नी मान्छेको एउटा पति मात्र हुनु पर्छ। तथापि, अन्य कुनै सरकारको यसवारे भिन्न कानून हुन पनि सक्छ। तिनीहरूले आफ्ना नागरिकहरूलाई एक भन्दा बढ़ी लोग्ने वा स्वास्नी राख्ने अनुमति दिएकाछन्। परमेश्वरको सरकारको नागरिक हुन चाहनेहरूबाट कुन प्रकारको आचरणको अपेक्षा गरिन्छ? विवाह सम्बन्धमा के ठीक हो भनेर परमेश्वरले के भन्नुहुन्छ?
८. (क) विवाहको सम्बन्धमा परमेश्वरको सिद्धान्त के हो? (ख) व्यभिचार के हो, र यसवारे परमेश्वरले के भन्नु हुन्छ?
८ आदमलाई एउटी मात्र स्वास्नी दिएर प्रारम्भमानै परमेश्वरले विवाहको एउटा स्तर निर्धारित गर्नुभयो। परमेश्वरले भन्नुभयो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२१-२४) मसीहीहरूकालागि यहीनै सही स्तर हो भनेर येशूले व्याख्या गर्नु भएको छ। (मत्ती १९:४-६) विवाहित दम्पती “एउटै जिउ” भएका हुनाले, तिनीहरूले अन्य अरूहरूसँग मैथुनिक सम्बन्ध राखेमा विवाहलाई अपमान गरेको हुनेछ। यस कार्यलाई व्यभिचार भनिन्छ, र परमेश्वरले भन्नु भएको छ कि उहाँले यस्ता व्यभिचारीहरूलाई दण्ड दिनु हुनेछ।—हिब्रू १३:४; मलाकी ३:५.
९. (क) विवाहै नगरी मैथुनिक सम्बन्ध राख्ने व्यक्तिहरू वारे परमेश्वरको दृष्टिकोण के छ? (ख) कुन प्रकारको सम्बन्धलाई पनि व्यभिचार भनिन्छ?
९ साथै, धेरै यस्ताहरू पनि छन् जो सँगै बस्छन् र मैथुनिक सम्बन्ध पनि राख्दछन् तर विवाह चाहिं गर्दैनन्। पुरूष र स्त्री बीचको यस्तो घनिष्ठ सम्बन्ध, एउटा प्रयोगात्मक रूपमा कायम होस् भन्ने धारणा परमेश्वरको थिएन। त्यसकारण, विवाहै नगरी एकसाथ बस्नु, विवाहको व्यवस्था खड़ा गर्नु हुने परमेश्वरको विरूद्ध पाप गर्नु हो। यसलाई पनि व्यभिचारनै भनिन्छ। विवाह नगरेका व्यक्तिहरूका बीचमा मैथुनिक सम्बन्ध राख्दा यस प्रकारको व्यभिचार हुन्छ। र बाइबल भन्दछ: “किनकि परमेश्वरको इच्छा यही हो . . . कि तिमीहरू व्यभिचारबाट अलग बस।” (१ थिस्सलोनिकी ४:३-५) त्यसकारण, विवाह नगरेको व्यक्तिले कसैसँग पनि मैथुनिक सम्बन्ध राख्नु गलत हुनेछ।
१०. अरू कुन प्रकारका योन क्रियाहरू परमेश्वरको नियम विपरीत हुन्?
१० आजकाल धेरै पुरूष र महिलाहरू आफ्नै समलिङ्गिहरू सँग यौन क्रिया गर्दछन्—पुरूषसँग पुरूष र महिलासँग महिला। यस्ता व्यक्तिहरूलाई समयोनि मैथुन गर्ने भनिन्छ। तर तिनीहरूले जे गरिरहेका छन्, परमेश्वरको वचनमा त्यसलाई गलत हो र त्यो “घिनलाग्दो” हो भनिएको छ। (रोमी १:२६, २७) अरू, कसैले पशुसँग यौन क्रिया गर्छ भने, त्यो पनि परमेश्वरको नियम विपरीत हो। (लेवी १८:२३) परमेश्वरको सरकारको अधीनमा बस्न चाहनेहरूले यस प्रकारका अनैतिक क्रियाकलापबाट आफूलाई टाढ़ा राख्नु पर्नेछ।
११. (क) मदिरापानको प्रयोग वारे परमेश्वरको दृष्टिकोण के छ? (ख) परमेश्वरको सरकारको प्रजा हुन चाहनेहरूले स्वास्थ्यलाई हानि हुने कुन कुराहरूबाट अलग बस्नु पर्दछ?
११ परिमित मात्रामा मदिरा, जाँड़ वा रक्सी पिउनु परमेश्वरको नियम विपरीत होइन। यथार्थमा, अलिकता मदिरा स्वास्थ्यकालागि फायदा जनक हुन्छ भनेर बाइबलले बताएको छ। (भजन संग्रह १०४:१५; १ तिमोथी ५:२३) तर मतवाला हुनु, वा अनैतिक आचरणमा संलग्न हुने खालका उत्ताउला भोजहरूमा भाग लिनु चाहिं परमेश्वरको नियम विपरीत हो। (एफिसी ५:१८; १ पत्रुस ४:३, ४) जाँड़ रक्सीले मात्तिन नपुगेर, आजकाल धेरैजना विभिन्न प्रकारका लागू पदार्थहरूको प्रयोग गरेर “अझ मात्तिन” खोज्दछन्। तिनीहरू आनन्दकालागि गाँजा, भाङ्ग, वा सुर्तीको धुँआ पिउँछन्। कोइचाहिं पानको पात वा कोकाको पातहरू चपाउँछन्। तर यी चीजहरूले तिनीहरूको शरीरलाई अशुद्ध पार्दछ र तिनको स्वास्थ्यलाई हानि पुऱ्याउँछ। त्यसकारण, परमेश्वरको राज्यको तपाईं प्रजा हुन चाहनु हुन्छ भने, यस्ता हानिकारक वस्तुहरूबाट आफूलाई अलग्ग राख्नु पर्दछ।—२ कोरिन्थी ७:१.
१२. (क) परमेश्वरको नियम विपरीत हुने बेइमानी काम-कुराहरू के के हुन्? (ख) यस्ता काम-कुरामा लाग्नेहरूले परमेश्वरको कृपा कसरी पाउन सक्छन्?
१२ मानव सरकारहरू पनि अपराधीहरू तिनका नया नागरिकहरू भएका चाँहदैनन् भन्ने कुरा स्पष्ट छ। र यहोवाको सिद्धान्तहरू ता झन उँचा छन्। हामी “सबै कुरामा इमान्दारीसाथ” रहौं भन्ने उहाँको चाहना छ। (हिब्रू १३:१८) परमेश्वरका नियमहरूको पालन नगर्नेहरूले उहाँको राज्य अन्तर्गत बस्ने अनुमति पाउँने छैनन्। आज मानिसहरू एकातिर इमान्दार हुने स्वाँग गर्दछन् भने अर्कातिर तिनीहरूनै धेरै नियमहरू भङ्ग गर्दछन्। तथापि, परमेश्वर सबै थोक देख्नु हुन्छ। कसैले उहाँलाई ठग्न सक्दैन। (हिब्रू ४:१३; हितोपदेश १५:३; गलाती ६:७, ८) झूट र चोरी जस्ता कामहरू गर्दै परमेश्वरका नियमहरू भङ्ग गर्नेहरू, उहाँको सरकारको प्रजा कदापि हुन पाउने छैनन्। (एफिसी ४:२५, २८; प्रकाश २१:८) तथापि परमेश्वर धैर्य धारण गर्नुहुने र दयावन्त हुनुहुन्छ। त्यसकारण, गलत काम गर्नेहरूले आफ्नो खराब चलनहरूलाई छाड़ेर असल काम तिर फर्केमा परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नु हुनेछ।—यशैया ५५:७.
१३. मानव सरकारहरूका नियमहरू प्रति परमेश्वरका सेवकहरूको के दृष्टिकोण हुनु पर्दछ?
१३ मानव सरकारहरूका नियमहरू पालन गर्ने वारे के भन्न सकिन्छ? मानव सरकारहरू रहुञ्जेल, तिनका “उच्च अख्तियारवालाहरूका” अधीनमा उहाँका प्रजाहरू रहुँन् भनेर परमेश्वर चाहनुहुन्छ। करहरू कत्तिनै धेरै भएता पनि र त्यो करबाट असुल गरिएको धन खर्च गरिने ढङ्गसँग तपाईंको सहमति नभएता पनि, सरकारहरूलाई कर तिर्नु पर्छ। साथै सरकारका कानुनहरूलाई पालन गर्नु पर्छ। (रोमी १३:१, ७; तितस ३:१) तर त्यस्ता कानुनको पालन गर्दा परमेश्वरको नियमको अवहेलना हुने रहेछ भने मात्र सो कानूनलाई पालन गर्नु हुँदैन। त्यस्तो अवस्थामा, पत्रुस र अरू प्रेरितहरूले भने जस्तै “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य माननु पर्छ।”—प्रेरित ५:२९.
१४. जीवनको मूल्य सम्बन्धी परमेश्वरको दृष्टिकोणसँग हाम्रो दृष्टिकोण मिल्दछ भनेर कसरी हामीहरू प्रदर्शित गर्न सक्छौं?
१४ परमेश्वरले जीवनको ठूलो मोल राख्नु भएको छ। उहाँको सरकारको प्रजा हुन चाहनेहरूले यस कुरालाई राम्ररी बुझ्नु पर्दछ। स्पष्टतया हत्या उहाँको नियम विपरीत छ। तर घृणाले कहिलेकाहीं हत्या तर्फ लैजान्छ, र आफ्ना सङ्गीसाथीहरूलाई घृणा गरिरहनेहरू पनि परमेश्वरको सरकारको प्रजा हुनसक्दैनन्। (१ यूहन्ना ३:१५) त्यसकारण, आफ्ना छिमेकीहरूको हत्या गर्न हतियार नउठाउनु भन्ने विषयवारे, बाइबलमा यशैया २:४ मा उल्लेखित वचन प्रयोगमा ल्याउनु अत्यन्त जरुरी छ। आमाको गर्भमा रहेको बच्चाको जीवन समेत पनि यहोवाकालागि मूल्यवान छ भनेर बाइबलले देखाउँछ। (प्रस्थान २१:२२, २३; भजन संग्रह १२७:३) तापनि प्रत्यक वर्ष करोड़ौं गर्भपात गराइन्छन्। जीवनलाई यस प्रकारले नष्ट गर्नु परमेश्वरको नियम विरुद्ध हो, किनभने आमाको गर्भमा रहेको मानव पनि एउटा जीवित व्यक्ति हो र त्यसलाई नष्ट गर्नु हुँदैन।
१५. राज्यका सबै प्रजाहरूले परमेश्वरका राजाको कुन आज्ञाहरू पालन गर्नु पर्दछ?
१५ अझ, परमेश्वरको सरकारको प्रजा हुनेहरूले गलत र अनैतिक कामहरू नगरेर मात्रै पुग्नेछैन। तिनीहरूले अरूहरूका निम्ति दयावन्त र नि:स्वार्थ कामहरू गर्ने एउटा वास्तविक प्रयत्न पनि गर्नु पर्दछ। राजा येशू ख्रीष्टले दिनु भएको ईश्वरीय नियम अनुसार जीवन यापन गर्नु पर्छ। त्यो नियम हो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) अरूहरूलाई प्रेम गर्नमा येशूले उदाहरण स्थापित गर्नु भएको छ। मानवजातिका लागि उहाँले आफ्नो जीवन सम्म दिनुभयो, र आफ्ना अनुयायीहरूलाई यो आज्ञा दिनु भयो: “तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु।” (यूहन्ना १३:३४; १ यूहन्ना ३:१६) यस प्रकारको नि:स्वार्थ प्रेम र एक अर्का प्रति चासो राख्नाले, परमेश्वरको राज्यको शासनको अधीनमा जीवन वास्तवमा आनन्दमय हुनेछ।—याकूब २:८.
१६, १७. (क) परमेश्वरका आवश्यकताहरू पूरा गर्नकालागि आफ्नो जीवनमा परिवर्तन ल्याउनु पर्ने के असल कारणहरू छन्? (ख) कुनै पनि आवश्यक परिवर्तनहरू गर्न सक्छौं भनेर हामीहरू किन विश्वस्त हुन सक्छौं?
१६ परमेश्वरको सरकारको प्रजा हुनकालागि चाहिने आवश्यकताहरू पूरागर्ने हो भने, मानिसहरूले आफ्नो जीवनमा परिवर्तन ल्याउँनै पर्छ भनेर बाइबल दर्शाउँछ। (एफिसी ४:२०-२४) के तपाईं आफूमा परिवर्तन ल्याउने प्रयत्न गर्दै हुनुहुन्छ? यसो गर्ने कुनै पनि प्रयत्न व्यर्थमा जाने छैन! किन? किनभने यसबाट तपाईंले कुनै मानव सरकारको अधीनमा केही वर्षहरूकालागि राम्रो जीवन ज्ञापन गर्न मात्र पाउँनु हुने होइन। तर, परमेश्वरले शासन गर्नु हुने सरकारको अधीनमा एउटा पार्थिव प्रमोदवनमा पूर्ण स्वस्थ रहेर अनन्त जीवन तपाईंले पाउँनु हुनेछ!
१७ अहिले पनि, परमेश्वरका आवश्यकताहरू पूरा गर्नु भयो भने, एउटा सुखी जीवनको आनन्द तपाईंले उठाउँनु हुनेछ। तर तपाईंले आफ्नो जीवनमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता छ होला। धेरै घृणास्पद र लोभी मानिसहरू परिवर्तित् भएका छन्। व्यभिचारीहरू, जारी गर्नेहरू, पुरुषगामीहरू, मतबालाहरू, हत्याराहरू, चोरहरू, लागू पदार्थ खानेहरू, र चुरोट पिउनेहरूले पनि आफ्नो जीवन-शैलीमा परिवर्तन ल्याएका छन्। तिनीहरूले यस प्रकारका परिवर्तनहरू वास्तविक प्रयत्न र परमेश्वरको मदद द्वारा ल्याउन सकेका हुन्। (१ कोरिन्थी ६:९-११; कलस्सी ३:५-९) परमेश्वरका आवश्यकताहरू पूरा गर्न कत्तिनै अप्ठ्यारो भएता पनि, प्रयत्न गर्न नछोड़नु होस्। तपाईं सफल हुनुहुने छ!
पमेश्वरको सरकार प्रति वफादारी
१८. उहाँको राज्य प्रति आफ्नो वफादार समर्थन कुन विशेष ढङ्गमा प्रदर्शन गरेको परमेश्वर चाहनु हुन्छ?
१८ यहोवा परमेश्वरले उहाँको सरकारलाई उहाँका प्रजाहरूले पूर्ण वफादारीका साथ समर्थन गरून् भनेर चाहनु हुन्छ भने त्यसमा आश्चर्य मान्नु पर्ने कुनै कुरा छैन। मानिसका सरकारहरू पनि ता आफ्ना नागरिकहरूबाट त्यस्तै चाहन्छन्। तर वफादार समर्थन कुन रीतिले दिइएको परमेश्वर चाहनु हुन्छ? उहाँका प्रजाहरूले उहाँको राज्यकालागि हतियार उठाएर? होइन, बरू, येशू ख्रीष्ट र उहाँका प्रारम्भिक चेलाहरू जस्तै परमेश्वरको राज्यको वफादार प्रवक्ता वा उद्घोषक भएर। (मत्ती ४:१७; १०:५-७; २४:१४) प्रत्यकले उहाँको राज्य के हो र त्यसले कसरी मानवजातिका समस्याहरूको समाधान गर्ने छ भनेर जानून् भन्ने इच्छा यहोवा गर्नुहुन्छ। के तपाईंले परमेश्वरको वचनबाट सिक्नु भएका कुराहरू आफ्ना सम्बन्धीहरू, मित्रहरू, र अरूहरूलाई सुनाउनु भएको छ? तपाईंले यसो गर्नु होस् भन्ने परमेश्वरको इच्छा हो।—रोमी १०:१०; १ पत्रुस ३:१५.
१९. (क) परमेश्वरको राज्यवारे अरूहरूसँग कुरा गर्दा, विरोधको अपेक्षा हामीहरूले किन गर्न सक्छौं? (ख) के प्रश्नहरूको उत्तर तपाईंले दिनै पर्छ?
१९ राज्यवारे अरूहरूसँग कुरा गर्दा अक्सर विरोधको सामना गर्नु परेको हुनाले, ख्रीष्ट र उहाँका प्रारम्भिक अनुयायीहरूलाई साहसको आवश्यकता थियो। (प्रेरित ५:४१, ४२) आज पनि त्यही स्थिति छ। शैतानले शासन गरेको यो संसारले राज्यको सुसमाचार प्रचार भएको चाँहदैन। त्यसकारण, यी प्रश्नहरू उठ्दछन्: तपाईंको के स्थिति छ? के तपाईंले परमेश्वरको राज्यलाई वफादार समर्थन दिनुहुनेछ? अन्त आउनु भन्दा पहिले राज्यवारे एउटा विशाल साक्षी दिइयोस भन्ने उहाँको इच्छा छ। यस काममा के तपाईं भाग लिनु हुनेछ?
पृष्ठ १२८-मा भएको चित्र]
परमेश्वरको सरकारको प्रजा हुनेहरूमा त्यसवारे ज्ञान हुनै पर्छ
[पृष्ठ १३१-मा भएको चित्र]
परमेश्वरको सरकारका प्रजाहरू परमेश्वरले भर्त्सना गर्नु भएका गतिविधिबाट अलग बस्नु पर्दछ
[पृष्ठ १३३-मा भएको चित्र]
परमेश्वरको सरकारका प्रजाहरूले त्यसवारे अरूहरूलाई भन्नै पर्छ