अध्याय २२
साँचो धर्मको पहिचान गर्नु
१. प्रथम शताब्दीमा साँचो धर्मको पालन कसले गरिरहेका थिए?
पहिलो शताब्दीमा साँचो धर्म कसले पालन गरिरहेका थिए भन्ने कुरामा कुनै शङ्का हुन सक्तैन। तिनीहरू येशू ख्रीष्टका चेलाहरू थिए। तिनीहरू सबै एउटै मसीही सङ्गठनका सदस्यहरू थिए। आज के अवस्था छ? साँचो धर्म पालन गर्नेहरूलाई कसरी चिन्न सकिन्छ?
२. साँचो धर्म पालन गर्नेहरूलाई कसरी चिन्न सकिन्छ?
२ हामीहरू त्यो कसरी गर्न सक्नेछौं भनेर, येशूले भन्नुभयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ . . . हरेक असल रूखले बढ़िया फल फलाउँछ, तर बिग्रेको रूखले खराब फल फलाउँछ . . . यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१६-२०) परमेश्वरका सच्चा उपासकहरूबाट कुन प्रकारको असल फलको प्रत्याशा तपाईं गर्नु हुनेछ? अहिले तिनीहरूले के बोलिरहेका र के गरिरहेका हुनुपर्छ?
परमेश्वरको नाउँलाई पवित्र पार्नु
३, ४. (क) येशूको आदर्श-प्रार्थनामा प्रथम बिन्ती के थियो? (ख) येशूले परमेश्वरको नाउँलाई कसरी पवित्र पार्नु भयो?
३ येशूले आफ्ना अनुयायीहरूलाई दिनु भएको आदर्श-प्रार्थनासँग सामञ्जस्य राख्ने खालको तिनीहरूको क्रियाकलाप हुनुपर्छ। येशूले त्यहाँ भन्नुभएको प्रथम कुरा यो हो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” बाइबलको अर्को अनुवादले यी शब्दहरूलाई यसरी प्रस्तुत गरेकोछ: “तपाईंको नाउँ पवित्र मानिओस्।” (मत्ती ६:९, यरूसलेम बाइबल) परमेश्वरको नाउँ पवित्र गरिओस् वा पवित्र मानिओस् भन्नाको के अर्थ हो? येशूले यो कसरी गर्नुभयो?
४ येशूले यो कसरी गर्नुभयो भनेर उहाँले पितासँगको प्रार्थनामा देखाउँनु भयो: “ती मानिसहरूलाई, जसलाई संसारबाट तपाईंले मलाई दिनुभयो, तपाईंको नाउँ मैले प्रकट गरिदिएँ।” (यूहन्ना १७:६) हो, उहाँले परमेश्वरको नाउँ, यहोवा हो भनेर अरूहरूका सामुन्ने प्रकट गर्नु भयो। त्यो नाउँलाई प्रयोग गर्नबाट येशू कहिले पनि चुकनु भएन। उहाँको पिताको उद्देश्य, सारा संसारमा उहाँको नाउँ महिमावान होस् भन्ने थियो भनेर येशूलाई थाह थियो। अत: त्यस नाउँको घोषणा गर्न र त्यसलाई पवित्र तुल्याउनमा उहाँले एउटा आदर्श कायम गर्नु भयो।—यूहन्ना १२:२८; यशैया १२:४, ५.
५. (क) मसीही मण्डली परमेश्वरको नाउँसँग कसरी जोड़िएको छ? (ख) मुक्ति प्राप्त गर्ने हो भने हामीहरूले के गर्नु पर्छ?
५ साँचो मसीही मण्डलीको अस्तित्व नै परमेश्वरको नाउँसँग जोड़िएको छ भन्ने कुरा बाइबलले दर्शाउँछ। प्रेरित पत्रुसले व्याख्या गरे कि परमेश्वरले “अन्यजातिहरूबाट उहाँको नाउँको निम्ति एक जाति लिनालाई कृपादृष्टि गर्नुभयो।” (प्रेरित १५:१४) अत: परमेश्वरका सच्चा जनहरूले उहाँको नाउँलाई पवित्र मान्नु पर्छ र सारा पृथ्वीमा त्यसलाई प्रकट गर्नु पर्छ। यथार्थमा, उद्धारकालागि त्यो नाउँ जान्नु जरुरी छ। बाइबल भन्छ: “‘प्रभुको (यहोवा, न्यु.व.) नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।’”—रोमी १०:१३, १४.
६. (क) के गिर्जाहरूले सामान्य रूपमा परमेश्वरको नाउँलाई पवित्र ठान्दछन्? (ख) परमेश्वरको नाउँको गवाही दिने के त्यहाँ कोही छन्?
६ अब, त्यसो भए, आज परमेश्वरको नाउँलाई कसले पवित्र मानेका छन् र सारा पृथ्वीमा प्रकट गरिरहेका छन्? सबैजसो गिर्जाहरू यहोवाको नाउँलाई प्रयोग गर्न चाँहदैनन्। कत्तिले ता आफ्ना बाइबल अनुवादहरूबाट यस नाउँलाई हटाइनै दिएकाछन्। तथापि, आफ्ना छिमेकीहरूसँग कुरागर्दा यहोवाको नाउँको प्रसङ्ग आयो भने, तिनीहरूले तपाईंलाई कुन सङ्गठनको सदस्य ठान्नेछन्? आज एक थरीका व्यक्तिहरू मात्र छन् जसले यस कुरामा वास्तवमा येशूको उदाहरणलाई अनुसरण गरेकाछन्। येशूले गरे जस्तै, तिनीहरूको पनि जीवनमा मुख्य उद्देश्य परमेश्वरको सेवा गर्नु र उहाँको नाउँको गवाही दिनु रहेको छ। अत: तिनीहरूले पवित्र शास्त्रमा आधारित “यहोवाका साक्षी” नाउँ ग्रहण गरेकाछन्।—यशैया ४३:१०-१२.
परमेश्वरको राज्यको घोषणा गर्नु
७. परमेश्वरको राज्यको महत्वलाई येशूले कसरी प्रदर्शित गर्नुभयो?
७ येशूले दिनुभएको आदर्श-प्रार्थनामा, परमेश्वरको राज्यको महत्व पनि उहाँले देखाउँनु भएको छ। “तपाईंको राज्य आओस्” भनेर उहाँले मानिसहरूलाई प्रार्थना गर्न सिकाउनु भयो। (मत्ती ६:१०) राज्यनै मानवजातिको सङ्कष्टको एउटा मात्र समाधान हो भनेर येशूले बारम्वार जोर दिनुभयो। उहाँ र उहाँका प्रेरितहरू “गाउँ गाउँ हुँदो” र “घर घर हुँदो” प्रचार गर्दै मानिसहरूलाई राज्यको सुसमाचार सुनाउँदै हिड़नु भयो। (लूका ८:१; प्रेरित ५:४२; २०:२०) परमेश्वरको राज्य उहाँहरूको प्रचार र शिक्षाको मूल विषय थियो।
८. यी “आखिरी दिन” मा येशूका अनुयायीहरूको मुख्य सन्देश के हुनेछ भनेर उहाँले कसरी प्रदर्शित गर्नुभयो?
८ हाम्रा दिनहरू वारे के भन्न सक्छौं? परमेश्वरको साँचो मसीही सङ्गठनको केन्द्रीय शिक्षा के हो? “अन्तको दिन” वारे भविष्यवाणी गर्दै येशूले भन्नुभयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।” (मत्ती २४:१४) अत: राज्यनै परमेश्वरका जनहरूको मुख्य सन्देश हुनु पर्दछ।
९. राज्य-संदेशको प्रचार आज कसले गरिरहेका छन्?
९ आफैलाई सोध्नुहोस्: कुनै व्यक्ति तपाईंको ढोकामा आएर मानवजातिकालागि परमेश्वरको राज्य मात्र साँचो आशा हो भनेर सुनायो भने, त्यस व्यक्तिलाई कुन सङ्गठनको सदस्य हो भनी ठान्नुहुन्छ? यहोवाका साक्षीहरू वाहेक अरू कुनै धर्मका मानिसहरू आएर परमेश्वरको राज्यवारे तपाईंसँग कुरा गरेका छन्? वास्तवमा, यो राज्य के हो भनेर तिनीहरू मध्य थोरैले मात्र जानेका होलान्। परमेश्वरको सरकारवारे तिनीहरू मौन छन्। तथापि, त्यो सरकार संसारलाई हल्लाउने समाचार हो। अगमवक्ता दानियलले अगमवाणी गरेका छन् कि त्यस राज्यले ‘यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ र यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।’—दानियल २:४४.
परमेश्वरको वचनको सम्मान
१०. परमेश्वरको वचन प्रति येशूले कसरी सम्मान देखाउँनु भयो?
१० बाइबल प्रति तिनीहरूको धारणाको आधारमा साँचो धर्मको पालना गर्नेहरूको पहिचान गर्न सकिन्छ। येशूले हर समय परमेश्वरको वचनलाई आदर गर्नुभयो। कुनैपनि विषयवारे अन्तिम आधिकारिक फैसालाकालागि वारम्वार परमेश्वरको वचन तिर नै सङ्केत् गर्नु भयो। (मत्ती ४:४, ७, १०; १९:४-६) साथै, बाइबलका शिक्षाहरू अनुरूप जीवन बिताउनु भएर उहाँले बाइबल प्रति सम्मान जनाउनु भयो। बाइबललाई कहिले पनि तुच्छ ठान्नु भएन। बरू, बाइबलसँग सामञ्जस्य हुने खालका शिक्षा दिन असफल हुनेहरूलाई र आफ्नै विचारहरूलाई प्राथमिकता दिएर बाइबलका शिक्षाहरूलाई कमजोर पार्नेहरूको सँधै निन्दा गर्नुभयो।—मर्कूस ७:९-१३.
११. परमेश्वरको वचन प्रति गिर्जाहरूले अक्सर के मनोवृत्ति प्रदर्शित गर्दछन्?
११ यस सम्बन्धमा मसीही जगतका गिर्जाहरू ख्रीष्टको उदाहरणको परिमाणमा कत्तिको माथि पुग्दछन्? के तिनीहरू बाइबललाई अगाध आदर गर्दछन्? आज धेरै पादरीहरू आदम पापमा खसेको, नूहको समयको जल-प्रलय, योना र ठूलो माछावारेको घटना र बाइबलमा वर्णित अन्य कुराहरूमा विश्वास गर्दैनन्। मानिस परमेश्वर द्वारा प्रत्यक्ष सृष्टि नभएर, विकाशक्रम द्वारा यहाँ अस्तित्वमा आएको हो भनेर तिनीहरू भन्दछन्। यस प्रकार के तिनीहरूले परमेश्वरको वचनलाई सम्मान गर्न प्रोत्साहित गरिरहेकाछन्? साथै, विवाह बाहिर पनि मैथुनिक सम्बन्ध राख्नु कुनै अनुचित कार्य होइन, र समलैंगिकता र बहुविवाह पनि उचित हुन सक्छ भनेर गिर्जाका केही नेताहरू तर्क गर्दछन्। बाइबललाई आफ्नो पथ-प्रदर्शकको रूपमा प्रयोग गर्न तिनीहरूले मानिसहरूलाई प्रोत्साहित गरिरहेकाछन् भनेर के तपाईं भन्न सक्नु हुन्छ? तिनीहरू कदापि पनि परमेश्वरका पुत्र र उहाँका प्रेरितहरूको उदाहरणलाई अनुसरण गरिरहेका छैनन्.—मत्ती १५:१८, १९; रोमी १:२४-२७.
१२. (क) किन बाइबल राख्नेहरू धेरैको उपासनाले पनि परमेश्वरलाई प्रसन्न तुल्याउँदैन? (ख) जानाजानी गलत काम गर्नेहरूलाई गिर्जामा सम्मानजनक स्थितिमा बस्ने अनुमति दिएको देख्दा हामी के निष्कर्षमा पुग्न सक्छौं?
१२ गिर्जाका यस्ता सदस्यहरू पनि छन् जो सँग बाइबल छ र त्यसको अध्ययन पनि गर्दछन्, तर जुन ढङ्गले तिनीहरू आफ्नो जीवन बिताउने गर्छन्, त्यसबाट स्पष्ट हुन्छ कि तिनीहरू त्यसको अनुसरण गरिरहेका छैनन्। यस प्रकारका व्यक्तिहरूवारे बाइबल भन्दछ: “तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी टोपल्छन्, तर तिनीहरू आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्।” (तितस १:१६; २ तिमोथी ३:५) जुवाड़ी, मतवाला वा अन्य गलत काम गर्ने गिर्जाका सदस्यहरूलाई तिनीहरूको गिर्जामा सम्मानजनक स्थितिमा बस्ने अनुमति दिइन्छ भने, त्यसले के जनाउँछ? तिनीहरूको धार्मिक सङ्गठनमाथि परमेश्वरको स्वीकृती छैन भन्ने कुरा यसबाट स्पष्ट हुन्छ।—१ कोरिन्थी ५:११-१३.
१३. बाइबलसँग मेल नखाने शिक्षाहरू उसको गिर्जाले दिइ रहेको छ भनेर थाह पाएपछि त्यस व्यक्तिले कुन गम्भीर निर्णय लिनु पर्दछ?
१३ यस पुस्तकको पहिलेका अध्यायहरूमा भएका बाइबलको पदहरूमा तपाईंले ध्यान दिनु भएको भए, परमेश्वरको वचनको आधारभूत शिक्षाहरू जानी सक्नु भएको छ। तर, तपाईं सम्मिलित हुनु भएको धार्मिक सङ्गठनका शिक्षाहरू परमेश्वरको वचनसँग मेल खाँदैन भने के गर्ने? त्यसबेला तपाईंको सामुन्ने एउटा ठूलो समस्या हुनेछ। बाइबलको सत्यतालाई स्वीकार गर्ने हो वा बाइबलले समर्थन नगरेका शिक्षाहरूको पक्षमा बाइबललाई अस्वीकार गर्ने हो, सो निर्णय गर्नु पर्ने समस्या खड़ा हुनेछ। तपाईं के गर्नु हुने हो, निश्चयनै, त्यो तपाईंको आफ्नो निर्णय हुनु पर्छ। तथापि, सबै कुराहरूलाई सावधानीपूर्वक सोंच-विचार गरेर निर्णय गर्नु होला। किनभने जुन निर्णय तपाईंले गर्नु हुनेछ त्यसले परमेश्वरको सामने तपाईंको स्थिति र पार्थिव प्रमोदवनमा बस्न पाउने तपाईंको सम्भावनालाई असर पार्नेछ।
संसारबाट अलग्ग रहने
१४. (क) साँचो धर्मलाई चिन्ने एउटा अर्को चिन्ह के हो? (ख) साँचो उपासकहरूले यो आवश्यकता पूरा गर्नु किन त्यति महत्वपूर्ण छ?
१४ साचौं धर्म पालन गर्नेहरूको अझ एउटा अर्को चिन्हवारे येशूले भन्नुभयो: “तिनीहरू संसारका होइनन्।” (यूहन्ना १७:१४) यसको अर्थ हो कि, साँचो उपासकहरूले यो भ्रष्ट संसार र यसका कार्यहरूबाट आफूलाई अलग्ग राख्छन्। येशू ख्रीष्टले एउटा राजनीतिक शासक हुन अस्वीकार गर्नुभयो। (यूहन्ना ६:१५) शैतान यस संसारको शासक हो भन्ने बाइबलको वचनलाई तपाईंले याद गर्नु भयो भने, यस संसारबाट अलग्ग रहनु पर्ने कारणको तपाईंले मूल्याङ्कन गर्न सक्नु हुनेछ। (यूहन्ना १२:३१; २ कोरिन्थी ४:४) यस विषयको गम्भीरता बाइबलको यस कथन बाट पनि देख्न सकिन्छ: “यसकारण, जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।”—याकूब ४:४.
१५. (क) ती गिर्जाहरू जससँग तपाईं परिचित हुनुहुन्छ के वास्तवमा “संसारका भाग छैनन्”? (ख) यो आवश्यकता पूरागर्ने कुनै धर्मवारे के तपाईंलाई जानकारी छ?
१५ यस विषयलाई तपाईंको समाजका गिर्जाहरूले महत्व दिएका छन् भनेर के कुनै कुराहरूबाट प्रदर्शित हुन्छ? पादरी तथा मण्डलीका सदस्यहरू के वास्तवमा “संसारका होइनन्”? के तिनीहरू संसारको राष्ट्रियता, राजनीति, र वर्ग सङ्घर्षहरूमा गहन रूपमा शामिल भएका छन्? गिर्जाहरूका गतिविधिहरू उदाङ्ग भएकोले यी प्रश्नहरूको उत्तर पाउँनु कठिन छैन। साथै, यहोवाका साक्षीहरूको गतिविधिको पनि जाँच गर्नु सजिलै छ। यसो गर्नु भयोभने, तिनीहरू यस संसार, र त्यसको राजनीतिक मामलाहरू र त्यसका स्वार्थी, अनैतिक, हिंसात्मक तरीकाहरूबाट आफूलाई अलग्ग राखेर वास्तवमा ख्रीष्ट र उहाँका प्रारम्भिक अनुयायीहरूको उदाहरणलाई अनुसरण गर्दछन् भनेर देख्नु हुनेछ।—१ यूहन्ना २:१५-१७.
आपसमा प्रेम राख्नु
१६. ख्रीष्टका सच्चा चेलाहरूलाई चिन्ने कुन एउटा महत्वपूर्ण तरीका छ?
१६ ख्रीष्टका सच्चा चेलाहरूलाई चिन्ने एउटा महत्वपूर्ण पहिचान तिनीहरूको आपसी प्रेम हो। येशूले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेला हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) तपाईं सम्मिलित हुनु भएको धार्मिक सङ्गठनमा के यस प्रकारको प्रेम पाउँनु हुन्छ? उदाहरणकालागि, तिनीहरू बस्ने देशले अर्को देशको विरुद्ध युद्ध गरेको खण्डमा, तिनीहरूले के गर्दछन्?
१७. आपसमा प्रेम गर्नुपर्ने आवश्यकतालाई पूरागर्ने मापदण्डमा धार्मिक संस्थाहरू र तिनका सदस्यहरू कति सही पाइन्छन्?
१७ साधारणतया के हुन्छ भनेर तपाईंलाई थाह छ। सांसारिक मानिसहरूको आदेशमा विभिन्न धार्मिक संस्थाहरूका सदस्यहरू रणभूमिमा जान्छन् र अर्को देशका सङ्गी विश्वासीहरूको हत्या गर्दछन्। यस प्रकार कैथोलिकले कैथोलिकलाई, प्रोटेस्टेन्टले प्रोटेस्टेन्टलाई र मुसलमानले मुसलमानलाई मार्दछन्। तपाईंको विचारमा के यस प्रकारको जीवन-क्रम परमेश्वरको वचन अनुसार होला र? के वास्तवमा यसले परमेश्वरको आत्मालाई प्रदर्शित गर्दछ?—१ यूहन्ना ३:१०-१२.
१८. एकअर्कालाई प्रेम गर्ने मापदण्डमा यहोवाका साक्षीहरूको के स्थिति छ?
१८ एक अर्कालाई प्रेम गर्ने कुरामा यहोवाका साक्षीहरूको मापदण्ड के छ? तिनीहरू सांसारिक धर्महरूको मार्गलाई अनुसरण गर्दैनन्। रणभूमिमा तिनीहरू सङ्गी विश्वासीहरूको हत्या गर्दैनन्। एकातिर “म परमेश्वरलाई प्रेम गर्छु” भन्ने, अर्कोतिर अरू राष्ट्रका, कुल वा जातिका भाइहरूलाई घृणा गर्ने खालको झुट्टा जीवन यापन गर्ने दोष तिनीहरूमाथि लगाउन सकिंदैन। (१ यूहन्ना ४:२०, २१) तर अरू तरीकाहरू द्वारा पनि तिनीहरू प्रेम प्रदर्शन गर्दछन्। कसरी? आफ्ना छिमेकीहरूसँगको व्यवहारबाट र अरूहरूलाई परमेश्वरवारे सिक्न मदद दिएर।—गलाती ६:१०.
एउटा साँचो धर्म
१९. साँचो धर्म एउटा मात्र छ भन्ने कुरा किन तर्क सङ्गत र शास्त्र सम्मत छ?
१९ साँचो धर्म एउटा मात्र हुनुपर्ने हो भन्ने कुरा तर्क सङ्गत छ। साँचो परमेश्वर “गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर” हुनुहुन्छ भन्ने कुरासँग यसको सामञ्जस्य छ। (१ कोरिन्थी १४:३३) वास्तवमा “एउटा विश्वास” मात्र छ भनेर बाइबल भन्दछ। (एफिसी ४:५) त्यसो भए, आजका साँचो उपासकहरू को हुन्?
२०. (क) प्रमाणको आधारमा, आज साँचो उपासकहरू को हुन् भनेर यस पुस्तकले सङ्केत गर्दछ? (ख) यहोवाका साक्षीहरूवारे परिचित हुने उत्तम तरीका के हो?
२० तिनीहरू यहोवाका साक्षीहरू हुन् भन्नमा हामीहरू सङ्कोच मान्दैनौं। यस विषयमा पूर्ण रूपले पत्यार गर्न तिनीहरूसँग अझ सङ्गत गर्न हामीहरू तपाईंलाई आमंत्रित गर्दछौं। यसो गर्ने उत्तम तरीका यहोवाका साक्षीहरूको राज्य सभा-गृहमा हुने सभाहरूमा सम्मिलित हुनु हो। साँचो धर्म पालन गर्नाले अहिले पनि अत्याधिक संतुष्टि प्राप्त हुनेछ र पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउँने बाटो खोलिने छ भनेर बाइबलले बताएको हुनाले, यस प्रकारको छानबिन गर्नु तपाईंकालागि निश्चयनै लाभदायक हुनेछ। (व्यवस्था ३०:१९, २०) एसो गर्न तपाईंलाई हाम्रो हार्दिक निमंत्रण छ। अहिलेनै यसको छानबिन किन गर्नु हुँदैन?
[पृष्ठ १८५-मा भएको चित्र]
कसैसँग तपाईंले यहोवा र उहाँको राज्यवारे कुरा गर्नु भयो भने, मानिसहरूले तपाईंलाई कुन धर्मसँग जोरने छन्?
[पृष्ठ १८६-मा भएको चित्र]
परमेश्वरको वचन अनुसार जीवन नबिताउने व्यक्तिले, के परमेश्वरको वचनको सम्मान गरेको हुन सक्छ?
[पृष्ठ १८८, १८९-मा भएको चित्र]
एउटा राजनैतिक शासक हुन येशूले इन्कार गर्नुभयो
[पृष्ठ १९०-मा भएको चित्र]
यहोवाका साक्षीहरूका सभाहरूमा सम्मिलित हुन तपाईंलाई हार्दिक स्वागत छ