अध्याय ४२
येशूले फरिसीहरूलाई हप्काउनुहुन्छ
आफूले सैतानको शक्तिद्वारा दुष्ट स्वर्गदूत धपाएको हो भने त्यो आफैमा फूट उत्पन्न हुन्छ भन्दै येशू तर्क गर्नुहुन्छ। उहाँ यसो पनि भन्नुहुन्छ: “कि त असल रूख बन र असलै फल फलाओ, होइन भने बिग्रेको रूख बन र बिग्रेकै फल फलाओ; किनकि रूख कस्तो हो, त्यसको फलैबाट चिनिन्छ।”
येशूले सैतानको सेवा गरेर दुष्ट स्वर्गदूत धपाउनेजस्तो असल फल फलाउन सक्नुभएको हो भन्नु मूर्खता हो। फल असल छ भने रूख बिग्रेको हुन सक्दैन। अर्कोतिर, येशूका विरुद्धमा फरिसीहरूले उठाएका मूर्खतापूर्ण अभियोगहरू र आधारहीन विरोधहरूबाट तिनीहरू नै बिग्रेका छन् भनी प्रमाणित हुन्छ। येशू तिनीहरूलाई खुल्लमखुल्ला भन्नुहुन्छ, “ए विषालु सर्पका सन्तान हो, तिमीहरू दुष्ट छौ भने कसरी असल कुरा बोल्न सक्छौ? किनकि मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।”
हाम्रो बोलीद्वारा हाम्रो मनको अवस्था जाहेर हुने भएकोले हामीले भनेका कुराहरूको आधारमा हाम्रो इन्साफ हुनेछ। येशू भन्नुहुन्छ, “म तिमीहरूलाई भन्छु आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि न्यायको दिनमा मानिसहरू जबाफदेही हुनेछन्। किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई निर्दोष ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”
येशूले गर्नुभएका त्यत्तिका शक्तिशाली कार्यहरूको बाबजुद शास्त्री र फरिसीहरू यो अनुरोध गर्छन्: “हे गुरुज्यू, तपाईंले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौं।” यरूशलेमका यी खास मानिसहरूले येशूका चमत्कारहरू आफैले नदेखे तापनि ती चमत्कारहरूलाई आफ्नै आँखाले देख्ने साक्षीहरूको निर्विवाद प्रमाण छँदैछ। यसकारण यहूदी अगुवाहरूलाई येशू भन्नुहुन्छ: “परमेश्वरप्रति वफादार नरहने दुष्ट पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।”
आफ्नो कुराको अर्थ खोल्दै येशू अझ यसो भन्नुहुन्छ: “किनकि योना ठूलो माछाको पेटमा तीन दिन तीन रात रहेजस्तै मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन तीन रात रहनेछ।” योनालाई माछाले निलेपछि उनी पुनर्जीवित भएजस्तै गरी बाहिर निस्के। त्यसैगरि येशू पनि मर्नुहुनेछ र तेस्रो दिनमा पुनर्जीवित हुनुहुनेछ भनेर उहाँ यहाँ भविष्यवाणी गर्नुहुँदैछ। तापनि पछि येशू पुनर्जीवित हुँदा यहूदी अगुवाहरूले “योनाको चिन्ह”-लाई तिरस्कार गर्छन्।
यसकारण योनाले प्रचार गर्दा पश्चात्ताप गर्ने निनवेका मानिसहरूले न्यायको दिनमा उठेर उहाँलाई तिरस्कार गर्ने यहूदीहरूको भर्त्सना गर्नेछन् भनी येशू भन्नुहुन्छ। त्यसैगरि सुलेमानको बुद्धिका कुराहरू सुन्न पृथ्वीको एक छेउदेखि आएकी र आफूले देखेको र सुनेको कुराहरूबाट चकित भएकी शबाकी महारानीको उदाहरण प्रयोग गर्दै येशू भन्नुहुन्छ: “तर हेर, सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”
यसपछि येशू एक जना मानिसको उपमा दिनुहुन्छ, जसबाट दुष्ट स्वर्गदूत बाहिर निस्कन्छ। तर त्यो मानिसले खाली ठाउँलाई असल कुराहरूले नभरेकोले त्यसभित्र अझ सात वटा दुष्ट स्वर्गदूत पस्छन्। येशू भन्नुहुन्छ: “यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।” एउटा दुष्ट स्वर्गदूत केही समयका लागि बाहिर निस्केजस्तै गरी इस्राएली जाति शुद्ध पारिएको थियो। त्यहाँका मानिसहरूले निकै सुधार अनुभव गरेका थिए। तर परमेश्वरका भविष्यवक्ताहरूलाई इन्कार गर्दै अन्तमा स्वयम् ख्रीष्टको नै विरोध गरेकोले त्यस राष्ट्रको दुष्ट अवस्था सुरुमा भन्दा धेरै नै खराब साबित भएको छ।
येशूले बोल्नुभएको बेलामा उहाँका आमा र भाइहरू भीडको छेउमा आएर उभिन्छन्। यो देखेर एक जनाले भन्छ: “हेर्नुहोस्, तपाईंका आमा र भाइहरू तपाईंसित कुरा गर्न बाहिर पर्खिरहेका छन्।”
“को हुन् मेरी आमा अनि को हुन् मेरा भाइहरू?” येशू सोध्नुहुन्छ। आफ्नो हातले चेलाहरूतर्फ सङ्केत गर्दै येशू भन्नुहुन्छ: “हेर, मेरी आमा अनि मेरा भाइहरू! किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।” यसप्रकार येशू देखाउनुहुन्छ कि आफू र आफ्ना आफन्तहरूबीचको बन्धन जतिसुकै प्रिय भए तापनि चेलाहरूसँगको आफ्नो सम्बन्ध अझ प्रिय छ। मत्ती १२:३३-५०; मर्कूस ३:३१-३५; लूका ८:१९-२१.
▪ “रूख” र “फल” दुवै असल पार्न फरिसीहरू कसरी असफल हुन्छन्?
▪ “योनाको चिन्ह” के हो र त्यसलाई कसरी पछि इन्कार गरिन्छ?
▪ प्रथम शताब्दीको इस्राएल राष्ट्र कसरी दुष्ट स्वर्गदूत बाहिर निस्किएको मानिसजस्तै हो?
▪ येशू आफ्ना चेलाहरूसँगको घनिष्ठ सम्बन्धलाई कसरी जोड दिनुहुन्छ?