के मैले यस्तो महसुस गर्नु स्वाभाविक हो?
शोकमा परेका एक व्यक्ति यसो भन्छन्: “म बेलायतमा हुर्किएँ। मलाई सानैदेखि मानिसहरूसामु आफ्नो भावना व्यक्त गर्नु हुँदैन भनेर सिकाइएको थियो। मेरो बुबा पहिला सेनामा हुनुहुन्थ्यो। एकचोटिको कुरा हो, केही कुराले मेरो चित्त दुखेको थियो। म रुनै आँट्दा बुबाले दाह्रा किट्दै ‘रुनेचाहिँ होइन!’ भन्नुभयो। आमाले हामी छोराछोरीमध्ये (हामी चार जना छोराछोरी थियौँ।) कसैलाई पनि कहिल्यै म्वाइँ खानुभएको वा अङ्गालो हाल्नुभएको याद छैन। म ५६ वर्षको हुँदा बुबा बित्नुभयो। त्यतिबेला मलाई कत्ति पीडा भयो भनेर म शब्दमा बयानै गर्न सक्दिनँ। तर पनि सुरुमा म रुनै सकिनँ।”
कुनै-कुनै संस्कृतिमा मानिसहरू खुलेर आफ्नो भावना व्यक्त गर्छन्। तिनीहरू खुसी छन् कि दुःखी, अरूले थाह पाइहाल्छन्। अर्कोतर्फ संसारको अरू केही ठाउँमा, जस्तै: उत्तरी युरोप अनि बेलायतमा खासगरि पुरुषहरूले आफ्नो भावना देखाउनु हुँदैन, भित्रै दबाएर राख्नुपर्छ भनेर सिकाइन्छ। यदि तपाईँले माया गर्ने व्यक्तिको मृत्यु भयो भने के शोक गर्नु गलत हो? यसबारे बाइबल के भन्छ?
बाइबल पात्रहरू जो रोए
बाइबल भूमध्यसागरको पूर्वतिर बस्ने हिब्रूहरूले लेखेका थिए। त्यहाँका मानिसहरू आफ्ना भावनाहरू लुकाएर राख्दैन थिए। बाइबलमा शोक गरेका धेरै व्यक्तिको उदाहरण पाइन्छ। राजा दाउदले आफ्नो छोरा अम्नोनको हत्या हुँदा शोक गरे। तिनी “धुरुधुरु रोए।” (२ समुएल १३:२८-३९) दाउदले आफ्नो सिंहासन हडप्न खोज्ने धोकेबाज छोरा अब्सालोमको मृत्यु हुँदा पनि शोक गरे। बाइबल विवरण यसो भन्छ: “यो सुनेर राजा भावविह्वल भए अनि मूलढोकाको छतमा भएको कोठामा गएर रोए। तिनी यसो भन्दै रुँदै गए: ‘हाय! मेरो छोरा अब्सालोम! मेरो छोरा, मेरो छोरा अब्सालोम! तिम्रो सट्टामा बरु मै मरेको भए हुन्थ्यो! मेरो छोरा अब्सालोम! मेरो छोरा!’” (२ समुएल १८:३३) दाउदको ठाउँमा अरू कोही बुबा भएको भए पनि त्यस्तै महसुस गर्थे होलान्। आफ्नो बच्चाको सट्टा आफ्नै ज्यान गएको भए हुन्थ्यो भनेर बुबाआमाहरू अक्सर भन्ने गर्छन्। बुबाआमाको भन्दा पहिला बच्चाको मृत्यु हुनु साँच्चै अस्वाभाविक देखिन्छ।
आफ्नो साथी लाजरसको मृत्यु हुँदा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो? तिनको चिहाननजिक पुग्दा उहाँ रुनुभयो। (युहन्ना ११:३०-३८) पछि, येसुको मृत्यु हुँदा मरियम मग्दलिनी उहाँको चिहाननजिकै उभिएर रोइन्। (युहन्ना २०:११-१६) हुनत मरिसकेकाहरू फेरि जीवित हुनेछन् भन्ने बाइबलको आशा थाह भएका ख्रिष्टियनहरू यो आशाबारे थाह नपाएका अरू मानिसहरूले जस्तो अचाक्ली शोक गर्दैनन्। तर तिनीहरू पनि अरू जस्तै भावना भएका मानिसहरू नै हुन्। त्यसैले यो आशाबारे थाह पाएका साँचो ख्रिष्टियनहरू पनि आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा शोक गर्छन् र रुन्छन्।—१ थिस्सलोनिकी ४:१३, १४.
रुनु हुन्छ कि हुँदैन?
अहिले हामीबारे चाहिँ के भन्न सकिन्छ? के तपाईँलाई आफ्नो भावना व्यक्त गर्न गाह्रो वा अप्ठ्यारो लाग्छ? सल्लाहकारहरू के भन्छन्? तिनीहरूको विचार अक्सर बाइबलले पहिलेदेखि बताएको कुरासित मेल खान्छ। तिनीहरू शोकलाई दबाउनु हुँदैन बरु व्यक्त गर्नुपर्छ भन्छन्। यसले हामीलाई पहिलेका वफादार मानिसहरू अय्युब, दाउद र यर्मियाको सम्झना गराउँछ। तिनीहरूले शोकमा पर्दा व्यक्त गरेको भावना बाइबलमा रेकर्ड गरिएको छ। हो, तिनीहरूले आफ्नो भावना मनभित्र गुम्साएर राखेनन्। त्यसैले शोकमा पर्दा हामीले पनि आफूलाई मानिसहरूदेखि अलग्याउनु राम्रो होइन। (हितोपदेश १८:१) तर संस्कृति अनि धार्मिक आस्था फरक भएकोले मानिसहरूले फरक-फरक तरिकामा शोक व्यक्त गर्न सक्छन्।a
तपाईँलाई रुन मन लाग्यो भने नि? मानिसहरू रुनु भनेको स्वाभाविक कुरा हो। लाजरसको मृत्यु भएको घटना सम्झनुहोस्। त्यतिबेला “येसु अत्यन्तै व्याकुल हुनुभयो र . . . रुनुभयो।” (युहन्ना ११:३३, ३५) यसरी येसुले आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा रुनु भनेको स्वाभाविक कुरा हो भनेर देखाउनुभयो।
आन नाम गरेकी आमाको उदाहरणले पनि यो कुरालाई समर्थन गर्छ। तिनकी सानी छोरी रेचेलको अचानक मृत्यु भयो। उनका पति यसो भन्छन्: “अचम्मको कुरा, छोरीको अन्त्येष्टिमा हामी दुवै जना रोएनौँ। अरू सबै रुँदै थिए।” यसबारे आन अझै यसो भन्छिन्: “हो, तर पछि म निकै रोएँ। छोरी बितेको केही हप्तापछि एकदिन म घरमा एक्लै थिएँ र दिनभरि रोएर बसेँ। तर यसरी रोएपछि मैले अलिकति भए पनि हल्का महसुस गरेँ। आफ्नो बच्चा गुमाएकोमा शोक गरेर मैले कुनै गल्ती गरिरहेकी थिइनँ। मलाई लाग्छ, शोकमा परेकाहरूलाई रुन दिनुपर्छ। प्रायः मानिसहरू ‘नरुनुस्’ भन्ने गर्छन् तर त्यसले खासै राहत दिँदैन।”
कसै-कसैले कस्तो प्रतिक्रिया देखाउँछन्?
आफूले माया गरेको व्यक्तिको मृत्युको कारण अत्यन्तै दुःखित भएकाहरूले कस्तो प्रतिक्रिया देखाउँछन्? क्वानिताको अनुभव विचार गर्नुहोस्। बच्चाको मृत्यु हुँदा कस्तो महसुस हुन्छ, तिनलाई राम्ररी थाह छ। तिनको पाँच-पाँच पटक गर्भ खेर गइसकेको थियो। तिनी पछि फेरि गर्भवती भइन्। त्यसैले कार दुर्घटनामा परेर अस्पतालमा भर्ना हुनुपर्दा तिनी असाध्यै चिन्तित भइन्। त्यसको दुई हप्तापछि बेलै नपुगी तिनलाई बेथा लाग्यो र तिनकी छोरी भेनिसा जन्मिन्। उनको वजन लगभग एक किलो मात्र थियो। क्वानिता भन्छिन्: “मैले बल्ल आमा बन्दाको खुसी महसुस गर्न पाएँ।”
तर तिनको यो खुसी धेरै समय रहेन। जन्मेको चार दिनमै भेनिसाको मृत्यु भयो। क्वानिता भन्छिन्: “मैले एकदमै खोक्रो महसुस गरेँ। भेनिसाको लागि मैले बुनेका सपनाहरू चकनाचुर भए। मलाई आफू अधुरो भएको महसुस भयो। अस्पतालबाट घर फर्केपछि उसको लागि सजाएको कोठाभित्र पस्दा र उसको लागि किनेका लुगाहरू हेर्दा असह्य पीडा भयो। मैले त्यसपछिका केही महिनाहरू भेनिसा जन्मिएको दिन सम्झिएर बिताएँ। मलाई कोहीसँग पनि भेट्न वा बोल्न मन लाग्दैनथ्यो।”
के यो बढ्तै भएन र? यस्तो अवस्था नभोगेकाहरूलाई यो कुरा बुझ्न गाह्रो हुन सक्छ। क्वानिताको जस्तै अवस्था भोगेकाहरूले जन्मिसकेको बच्चा गुमाउँदा जति पीडा हुन्छ, गर्भमै बच्चा खेर जाँदा पनि उत्तिकै पीडा हुन्छ भनेर बताउने गर्छन्। बच्चा जन्मनुभन्दा अघिदेखि नै आमाबुबाले उसलाई माया गर्न थालिसकेका हुन्छन्। बच्चा र आमाबीच विशेष सम्बन्ध बनिसकेको हुन्छ। त्यसैले गर्भ खेर जाँदा तिनलाई जन्मिसकेको बच्चा गुमाएजस्तै लाग्छ। यो कुरा अरूले बुझिदिनुपर्छ।
रिस र दोषी भावनाले कस्तो असर गर्न सक्छ?
जन्मजात मुटुसम्बन्धी समस्याको कारण आफ्नो छ वर्षको छोराको अचानक मृत्यु हुँदा एक जना आमाले यसरी आफ्नो भावना व्यक्त गरिन्: “मेरो मनमा एकपछि अर्को भावना उर्लेर आयो। सुरुमा त मैले केही सोच्नै सकिनँ अनि त्यो कुरा पत्याउनै सकिनँ। आफैलाई दोष दिएँ। उसको अवस्था कत्ति गम्भीर थियो भनेर श्रीमान् र डाक्टरले नबुझेको जस्तो पनि लाग्यो। त्यसैले उहाँहरूदेखि पनि मलाई रिस उठ्यो।”
शोकमा पर्दा कोही-कोहीले देखाउने अर्को प्रतिक्रिया रिस हो। डाक्टर र नर्सहरूले अझै राम्रोसँग उपचार गरेको भए यस्तो हुने थिएन भन्दै उनीहरूदेखि रिस उठ्न सक्छ। अथवा साथीहरू र नातेदारहरूले भनेको वा गरेको कुरा चित्त नबुझेकोले वा गलत तरिकाले बुझेकोले तिनीहरूसित पनि रिस उठ्न सक्छ। कोही-कोहीलाई मृत्यु भएको व्यक्तिसित पनि रिस उठ्न सक्छ। किनकि शोकमा परेको व्यक्तिलाई उसले आफ्नो स्वास्थ्यको ख्याल नराखेको जस्तो लाग्न सक्छ। स्टेला भन्छिन्: “मलाई आफ्नो श्रीमान्सित रिस उठेको थियो किनभने उहाँले आफ्नो ख्याल राखेको भए यो अवस्था आउने नै थिएन। उहाँ धेरै बिरामी हुनुहुन्थ्यो तर पनि डाक्टरले भनेको कुरालाई हल्कासित लिनुभयो।” कहिलेकाहीँ चाहिँ कसैको मृत्युले गर्दा परिवारको बाँकी सदस्यमाथि अझै बोझ थपिएकोले पनि मृतकदेखि रिस उठ्न सक्छ।
कोही-कोही आफू त्यसरी रिसाएकोमा पछि पछुताउँछन्। अरू कोही भने आफूले माया गरेको व्यक्तिको मृत्युको लागि आफैलाई दोष दिन्छन्। तिनीहरू यसो भन्ने गर्छन्: “यदि मैले अलि छिटो डाक्टरकहाँ जान भनेको भए” वा “अर्कै डाक्टरकहाँ पठाएको भए” वा “स्वास्थ्यको अझै ख्याल राख्न लगाएको भए यस्तो हुने थिएन।”
आफूले माया गरेको व्यक्तिको मृत्यु अचानक भएको हो भने कोही-कोहीलाई दोषी भावनाले अझै सताउन सक्छ। तिनीहरू मृतकसित रिसाएको वा झगडा गरेको कुरा सम्झिन्छन्। अथवा आफूले मृतकलाई जति राम्रो व्यवहार गर्नुपर्ने हो, त्यति नगरेजस्तो लाग्न सक्छ।
विशेषज्ञहरूको भनाइअनुसार बच्चाको मृत्युले गर्दा आमाबुबाको, अझ विशेषगरि आमाको मनमा कहिल्यै निको नहुने चोट लाग्छ। बच्चाको मृत्युपछि थुप्रै आमाहरू लामो समयसम्म शोकमा डुब्छन् र यसले विशेषज्ञहरूको यो भनाइलाई सही साबित गर्छ।
जीवनसाथी गुमाउनुपर्दा
जीवनसाथी गुमाउँदाको चोट बेग्लै हुन्छ। तिनीहरूले हाँसीखुसी जीवन बिताइरहेका थिए भने चोट सहन झनै गाह्रो हुन्छ। त्यसले गर्दा जीवनशैलीमा पूरै परिवर्तन आउँछ। सँगसँगै गरेको यात्रा, काम र सँगै बिताएका रमाइला क्षणहरू अनि एकअर्काको साथ सबै सम्झनामा मात्र सीमित रहन्छ।
हृदयघातले गर्दा अचानक आफ्नो पति गुमाएकी युनिस यसो भन्छिन्: “श्रीमान् बित्नुभएको पहिलो हप्ता त म जिउँदो लाससरह भएँ। मैले केही कुराको स्वाद अथवा बास्नासमेत थाह पाइनँ। तर मलाई वास्तविकताको आभास पटक्कै नभएको चाहिँ होइन किनभने उहाँलाई बचाउन सि पि आर अनि औषधी दिएको मैले आफैले देखेकी थिएँ। त्यसैले मलाई श्रीमान्को मृत्यु भएको कुरा स्विकार्न गाह्रो भएन। तर मैले लाचार महसुस गरेँ। भीरबाट गाडी खस्न लागेको देखे पनि केही गर्न नसकेर टुलुटुलु हेरिरहेको जस्तै लाग्यो।”
के तिनी रोइन्? तिनी भन्छिन्: “म रोएँ। सान्त्वनाका शब्दहरूले भरिएका सयौँ कार्डहरू पढ्दा मेरो आँसु नै थामिँदैनथ्यो। हरेक कार्ड पढ्दा म रुन्थेँ। त्यसले मलाई हरेक दिन बल दिन्थ्यो। तर अरूले मलाई बारम्बार कस्तो हुनुहुन्छ भनेर सोध्दा चाहिँ गाह्रो हुन्थ्यो किनकि म दुःखी छु भन्ने कुरा प्रस्टै देखिन्थ्यो।”
युनिसलाई शोक सहन केले मदत गऱ्यो? तिनी भन्छिन्: “चालै नपाई म सामान्य दिनचर्यामा फर्किसकेछु। मेरो श्रीमान् जीवनलाई असाध्यै माया गर्नुहुन्थ्यो तर जीवनको आनन्द उठाउन अब उहाँ मेरो साथमा हुनुहुन्न भनेर सम्झँदा चाहिँ साह्रै पीडा हुन्छ।”
“. . . अरूलाई निर्णय गर्न नदिनुहोस्”
छुट्टिनुपर्दा—कहिले र कसरी बिदाइ गर्ने (अङ्ग्रेजी) पुस्तकका लेखकहरू यस्तो सल्लाह दिन्छन्: “तपाईँले कस्तो प्रतिक्रिया देखाउनुपर्छ वा कस्तो महसुस गर्नुपर्छ भनेर अरूलाई निर्णय गर्न नदिनुहोस्। सबैले फरक-फरक तरिकामा शोक गर्छन्। तपाईँले बढ्तै शोक गरिरहनुभएको छ वा अझै शोक गर्नुपर्छ भन्ने अरूलाई लाग्ला र तिनीहरूले तपाईँलाई आफ्नो विचार बताउलान्। तर तिनीहरूले भनेको कुराको वास्ता नगर्नुहोस् र तिनीहरूलाई क्षमा दिनुहोस्। अरूले वा समाजले बनाएको नियममा आफैलाई जबरजस्ती ढाल्न खोज्नुभयो भने तपाईँलाई भावनात्मक रूपमा फेरि बलियो हुन गाह्रो हुन सक्छ।”
मान्छेपिच्छे शोक गर्ने तरिका फरक-फरक हुन्छ। हामीले सबैभन्दा राम्रो तरिका कुन हो भनेर भन्न खोजेका होइनौँ। तर शोकमा परेको व्यक्तिले वास्तविकतालाई स्विकार्न सकेनन् भने समस्या झनै जटिल हुन सक्छ। त्यस्तो अवस्थामा मायालु साथीहरूको मदत चाहिन सक्छ। बाइबल भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।” त्यसकारण मदत माग्न, कुरा गर्न र रुन नहिचकिचाउनुहोस्।—हितोपदेश १७:१७.
कसैलाई गुमाउनुपर्दा शोक गर्नु स्वाभाविक कुरा हो र तपाईँ शोक गर्दै हुनुहुन्छ भनेर अरूले थाह पाउँदा अप्ठ्यारो मान्नु पर्दैन। तर हामीले जवाफ पाउनुपर्ने अरू प्रश्नहरू पनि छन्: ‘म यो चोट कसरी सहन सक्छु? के दोषी महसुस गर्नु र रिस उठ्नु स्वाभाविक हो? यस्ता भावनाहरूसित म कसरी जुझ्न सक्छु? बिछोडको पीडा सहन मलाई केले मदत गर्न सक्छ?’ अर्को भागले यी र अन्य प्रश्नहरूको जवाफ दिनेछ।
a उदाहरणको लागि, नाइजेरियाको योरूबा जातिका मानिसहरूले मरेका मानिसहरूको पुनर्जन्म हुन्छ भनेर विश्वास गर्दै आएका छन्। त्यसैले बच्चाको मृत्यु हुँदा एकदमै शोक गरिन्छ तर छोटो समयको लागि मात्र। किनभने योरूबा जातिका मानिसहरूमाझ एउटा यस्तो भनाइ छ: “पानी मात्र पोखिएको हो, भाँडो त छँदै छ नि।” यसको मतलब भाँडो अर्थात् आमाले अर्को बच्चा जन्माउन सक्छिन् र पहिले मरेकै बच्चाले पुनर्जन्म लिन सक्छ। यहोवाका साक्षीहरू आत्मा अमर हुन्छ र मानिसको पुनर्जन्म हुन्छ भन्ने अन्धविश्वासमा आधारित कुनै पनि प्रचलन मान्दैनन् किनकि यस्ता कुराहरूको बाइबलमा कुनै पनि आधार पाइँदैन।—उपदेशक ९:५, १०; इजकिएल १८:४, २०.