अध्याय १४
यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो
१, २. मानिसजातिको अवस्थाबारे बाइबल के भन्छ र यसबाट छुटकारा पाउने एक मात्र उपाय के हो?
“सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।” (रोमी ८:२२) पावलका यी शब्दहरूबाट हामी कत्ति लाचार अवस्थामा छौँ भन्ने कुरा प्रस्ट हुन्छ। मानिसको नजरबाट हेर्दा हामीले दुःखकष्ट, पाप र मृत्युबाट छुटकारा पाउने कुनै उपाय छैन। तर यहोवा हामीजस्तो लाचार हुनुहुन्न। (गन्ती २३:१९) न्यायका परमेश्वरले हामीलाई पीडा र दुःखकष्टबाट छुटकारा दिन एउटा प्रबन्ध मिलाउनुभएको छ। त्यो हो, फिरौती।
२ फिरौती यहोवाले मानिसजातिलाई दिनुभएको सबैभन्दा ठूलो उपहार हो। यसले पाप र मृत्युबाट छुटकारा पाउन सम्भव तुल्याएको छ। (एफिसी १:७) फिरौतीले गर्दा नै हामीले स्वर्ग वा यसै पृथ्वीमा अनन्त जीवनको आशा राख्न सकेका छौँ। (लुका २३:४३; युहन्ना ३:१६; १ पत्रुस १:४) तर फिरौती भनेको के हो? यसले हामीलाई यहोवाको सर्वोत्कृष्ट न्यायबारे के सिकाउँछ?
फिरौतीको आवश्यकता किन पऱ्यो?
३. (क) फिरौतीको आवश्यकता किन पऱ्यो? (ख) परमेश्वरले आदमको सन्तानले भोग्नुपर्ने मृत्युदण्डको सजायलाई किन खारेज गर्न मिल्दैन थियो?
३ आदमको पापले गर्दा फिरौतीको आवश्यकता पऱ्यो। परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आदमले आफ्नो भावी सन्तानलाई पनि रोगबिमार, दुःख, पीडा र मृत्युको भागीदार बनाए। (उत्पत्ति २:१७; रोमी ८:२०) परमेश्वरले आदमको सन्तानले भोग्नुपर्ने मृत्युदण्डको सजायलाई भावनामा बहेर खारेज गर्न मिल्दैन थियो। यदि उहाँले त्यसो गर्नुभएको भए उहाँ आफैले बनाएको यस नियमलाई बेवास्ता गरिरहनुभएको हुने थियो: “पापले तिर्ने ज्याला मृत्यु हो।” (रोमी ६:२३) यहोवा आफ्नो न्यायको स्तरअनुसार नचल्नुभएको भए यस ब्रह्माण्डमा न्याय भन्ने कुरै हुने थिएन अनि कुकर्मले राज गर्ने थियो।
४, ५. (क) सैतानले कसरी परमेश्वरको निन्दा गऱ्यो अनि उहाँले सैतानले लगाएको अपमानजनक आरोपहरूको जवाफ दिनु किन आवश्यक ठान्नुभयो? (ख) सैतानले यहोवाका वफादार सेवकहरूको कसरी निन्दा गऱ्यो?
४ हामीले अध्याय १२ मा सिकेझैँ अदनको बगैँचामा भएको विद्रोहले गर्दा ठूलठूला विवादहरू खडा भए। सैतानले परमेश्वरको असल नाममा कलङ्क लगायो। यसरी त्यसले यहोवा झूटो र आफ्नो सृष्टिको स्वतन्त्रता खोस्ने निर्दयी शासक हुनुहुन्छ भन्ने आरोप लगायो। (उत्पत्ति ३:१-५) धर्मी मानिसहरूले पृथ्वी भर्ने यहोवाको उद्देश्यमा बाधा पुऱ्याएर त्यसले उहाँ असफल हुनुभएको आरोपसमेत लगायो। (उत्पत्ति १:२८; यसैया ५५:१०, ११) यदि यहोवाले सैतानका यस्ता आरोपहरूको जवाफ नदिनुभएको भए उहाँका थुप्रै बौद्धिक सृष्टिले केही हदसम्म भए पनि उहाँको शासनमाथि भरोसा गुमाउन सक्थे।
५ सैतानले यहोवाका वफादार सेवकहरूको पनि निन्दा गऱ्यो। तिनीहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र उहाँको सेवा गर्छन् अनि दुःख भोग्नुपऱ्यो भने कोही पनि उहाँप्रति वफादार रहनेछैनन् भनेर त्यसले दाबी गऱ्यो। (अय्युब १:९-११) यी विवादहरूले गर्दा मानिसजातिले दुःखकष्ट भोग्नुपरे तापनि यी सुल्झाउनु महत्त्वपूर्ण थियो। त्यसैले यहोवाले सैतानले लगाएका यस्ता अपमानजनक आरोपहरूको जवाफ दिनु आवश्यक ठान्नुभयो। तर उहाँले यी विवादहरू सुल्झाउनुका साथै मानिसजातिलाई कसरी पाप र मृत्युबाट छुटकारा पनि दिनुहुने थियो?
फिरौती—बराबरको मोल
६. मानिसजातिको छुटकाराको लागि परमेश्वरले मिलाउनुभएको प्रबन्धलाई बुझाउन बाइबलमा कस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका छन्?
६ यस समस्याको लागि यहोवाले जुन समाधान निकाल्नुभयो, त्यो कुनै पनि मानिसले कल्पनासमेत गर्न सक्दैन थियो। यसमा उहाँको अपार कृपा र उत्कृष्ट न्याय झल्किन्छ। तर त्यो समाधान एकदमै सरल पनि थियो। यसलाई बुझाउन बाइबलमा प्रायश्चित गर्नु, किन्नु, मिलापमा ल्याउनु र छुटाउनुजस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका छन्। (दानिएल ९:२४; गलाती ३:१३; कलस्सी १:२०; हिब्रू २:१७; ९:१२, फुटनोट) तर यस प्रबन्धलाई सबैभन्दा राम्रो तरिकामा बुझाउने अभिव्यक्तिचाहिँ येसुले चलाउनुभएको थियो। उहाँले यसो भन्नुभयो: “मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप [ग्रीक, लिट्रन] आफ्नो ज्यान दिन आयो।”—मत्ति २०:२८.
७, ८. (क) बाइबलमा “फिरौती” शब्दले कस्तो अर्थ दिन्छ? (ख) फिरौतीमा बराबरीको सिद्धान्त कसरी लागू हुन्छ?
७ फिरौती भनेको के हो? यसको लागि प्रयोग गरिएको ग्रीक शब्द “छोड्नु, छुटाउनु” भन्ने अर्थ लाग्ने क्रियाबाट आएको हो। यो शब्द युद्धबन्दीहरूलाई छुटाउन तिरिने मोललाई बुझाउन प्रयोग गरिन्थ्यो। त्यसैले फिरौतीलाई कुनै कुरा फिर्ता पाउन तिरिने मोल भनेर परिभाषित गर्न सकिन्छ। हिब्रू धर्मशास्त्रमा “फिरौती”-को (कोफेर) लागि प्रयोग गरिएको क्रियाको अर्थ “ढाक्नु” भन्ने हुन्छ। यसबाट फिरौती तिर्नुले पाप ढाक्नु भन्ने अर्थ पनि दिन्छ भनेर प्रस्ट हुन्छ।—भजन ६५:३.
८ रोचक कुरा के छ भने नयाँ नियमको धर्मविज्ञानसम्बन्धी शब्दकोश-अनुसार (अङ्ग्रेजी) यस शब्दले (कोफेर) “सधैँ बराबर वा समान कुरालाई सङ्केत गर्छ।” त्यसैले पापको फिरौती तिर्न वा त्यसलाई ढाक्न त्यसबराबरको वा पापले गर्दा भएको असरलाई पूरै ढाक्ने किसिमको मोल चुकाउनुपर्थ्यो। यसैकारण परमेश्वरले व्यवस्थामा इस्राएलीहरूलाई यसो भन्नुभएको थियो: “ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा।”—व्यवस्था १९:२१.
९. परमेश्वरका वफादार सेवकहरूले किन पशुबलि चढाए अनि यहोवाले ती बलिदानहरूलाई कस्तो ठान्नुभयो?
९ हाबिल र तिनीपछिका यहोवाका वफादार सेवकहरूले उहाँको लागि पशुबलि चढाए। यसो गरेर तिनीहरूले आफू पापी छु र आफूलाई छुटकाराको आवश्यकता छ भन्ने कुरा बुझेको देखाए। साथै तिनीहरूले आफ्नो “सन्तान”-मार्फत मानिसजातिलाई छुटकारा दिने परमेश्वरको प्रतिज्ञामा विश्वास गरेको पनि देखाए। (उत्पत्ति ३:१५; ४:१-४; लेवी १७:११; हिब्रू ११:४) यहोवाले तिनीहरूका बलिदानहरू स्विकार्नुभयो अनि तिनीहरूलाई धर्मी ठहराउनुभयो। तर पशुबलि एउटा नमुना मात्र थियो। मानिस जनावरभन्दा श्रेष्ठ भएकोले जनावरको बलिदानले मानिसको पाप ढाक्न सम्भव थिएन। (भजन ८:४-८) बाइबल यसो भन्छ: “बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।” (हिब्रू १०:१-४) यस्ता बलिदानहरू भविष्यमा चढाइने फिरौतीको बलिदानको छाया मात्र थियो।
“सबैका लागि फिरौती”
१०. (क) फिरौती दिने व्यक्ति कोबराबर हुनुपर्ने थियो र किन? (ख) एकै जना मानिसको बलिदान किन पर्याप्त थियो?
१० प्रेषित पावलले भने: “आदमले गर्दा सबै मर्दै छन्।” (१ कोरिन्थी १५:२२) त्यसैले फिरौतीको लागि आदमजस्तै त्रुटिरहित व्यक्तिले आफ्नो जीवन बलिदान दिनु आवश्यक थियो। (रोमी ५:१४) तर सृष्टिमा भएका अरू कुनै पनि जीवित कुराले न्यायको तराजुलाई बराबर बनाउन सक्दैन थियो। आदमले पाएको मृत्युदण्डको सजायको भागीदार नभएको एक जना त्रुटिरहित मानिसले “सबैका लागि फिरौतीस्वरूप” आफ्नो ज्यान दिनुपर्थ्यो। यसरी आदमको त्रुटिरहित जीवनबराबरको मोल चुकाउन सम्भव हुने थियो। (१ तिमोथि २:६) आदमको अरबौँ सन्तानको लागि अरू अरबौँ मानिसले आफ्नो जीवन बलिदान दिनु आवश्यक थिएन। प्रेषित पावलले यसो भने: “एकै जना मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु।” (रोमी ५:१२) “एकै जना पुरुषले गर्दा मृत्यु” आएकोले परमेश्वरले “एकै जना पुरुषद्वारा” मानिसजातिलाई पापबाट छुटकारा दिने प्रबन्ध मिलाउनुभयो। (१ कोरिन्थी १५:२१) कसरी?
“सबैका लागि फिरौती”
११. (क) फिरौती तिर्ने व्यक्तिले कसरी ‘सबैको निम्ति मृत्यु चाख्ने थिए’? (ख) आदम र हव्वाले फिरौतीबाट किन लाभ उठाउन सक्ने थिएनन्? (फुटनोट हेर्नुहोस्।)
११ यहोवाले स्वेच्छाले आफ्नो जीवन बलिदान दिने एक जना त्रुटिरहित मानिसको प्रबन्ध मिलाउनुभयो। रोमी ६:२३ अनुसार “पापले तिर्ने ज्याला मृत्यु हो।” त्यसैले फिरौती तिर्ने व्यक्तिले आफ्नो जीवन बलिदान दिएर ‘सबैको निम्ति मृत्यु चाख्ने थिए।’ भन्नुको मतलब, तिनले आदमको पापको ज्याला तिर्ने थिए। (हिब्रू २:९; २ कोरिन्थी ५:२१; १ पत्रुस २:२४) कानुनी दृष्टिकोणबाट यस फिरौतीले पछिसम्म पनि फाइदा पुऱ्याउने थियो। फिरौतीले आदमका आज्ञाकारी सन्तानहरूले पाएको मृत्युदण्डको सजायलाई खारेज गरेर पापको शक्तिलाई जरैदेखि नामेट पार्ने थियो।a—रोमी ५:१६.
१२. एउटा ऋण चुक्ता गरिएकोले कसरी धेरैलाई फाइदा हुन्छ? उदाहरण दिनुहोस्।
१२ कल्पना गर्नुहोस्: तपाईँ एउटा ठूलो कारखाना भएको सहरमा बस्नुहुन्छ अनि तपाईँ र त्यहाँका धेरैजसो मानिस त्यस कारखानामा काम गर्नुहुन्छ। सबैले राम्रो तलब पाइरहेका छन् र हाँसीखुसी जीवन बिताइरहेका छन्। तर एकदिन अचानक कारखाना बन्द हुन्छ। किन? किनकि कारखानाको म्यानेजर भ्रष्ट भएकोले व्यापार-व्यवसाय टाट पल्टिन्छ। जागिर गुमेकोले तपाईँ र तपाईँका छिमेकीहरूलाई खर्च धान्न धौधौ पर्छ। त्यो एक जना मान्छेको बेइमानीले गर्दा थुप्रै परिवार र ऋणदाताहरू मारमा पर्छन्। के यस समस्याबाट उम्कने कुनै उपाय छ? छ! एक जना धनाढ्य व्यक्तिले त्यस कारखानालाई उकास्ने निर्णय गर्छन्। तिनलाई त्यस कारखानाको महत्त्व थाह छ। साथै तिनलाई त्यहाँका कामदारहरू र तिनीहरूको परिवार देखेर दया लाग्छ। त्यसैले तिनले ऋण चुक्ता गरिदिन्छन् र कारखाना फेरि खोलिदिन्छन्। त्यो एउटा ऋण चुक्ता गरिएकोले सबै कामदार, तिनीहरूका परिवार र ऋणदाताहरूले राहत पाउँछन्। त्यसरी नै आदमको ऋण चुक्ता गरिएकोले अरबौँ मानिसलाई फाइदा भएको छ।
कसले फिरौतीको प्रबन्ध मिलाउनुभयो?
१३, १४. (क) यहोवाले कसरी मानिसजातिको लागि फिरौतीको प्रबन्ध मिलाउनुभयो? (ख) फिरौतीको मोल कसलाई तिरियो र यो किन आवश्यक थियो?
१३ यहोवाले मात्र ‘संसारको पाप हटाउने पाठोको’ प्रबन्ध मिलाउन सक्नुहुने थियो। (युहन्ना १:२९) हुनत उहाँले मानिसजातिलाई पाप र मृत्युबाट छुटाउन स्वर्गदूतहरूमध्ये जोकोहीलाई पठाउन सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन। बरु उहाँले आफ्ना सेवकहरूको सत्यनिष्ठामाथि सैतानले उठाएको प्रश्नको जोडदार र निर्णायक जवाफ दिन सक्ने एक जनालाई पठाउनुभयो। ती व्यक्ति उहाँको एक मात्र छोरा हुनुहुन्थ्यो, जसलाई “देखेर उहाँ असाध्यै रमाउनुहुन्थ्यो।” (हितोपदेश ८:३०) यसरी यहोवाले हाम्रो लागि ठूलो त्याग गर्नुभयो र उहाँको छोराले पनि राजीखुसीले स्वर्गीय जीवन त्यागेर “आफूलाई रित्याउनुभयो।” (फिलिप्पी २:७) यहोवाले चमत्कार गरेर स्वर्गमा रहेको आफ्नो जेठो छोराको जीवन मरियम नाम गरेकी यहुदी कन्याको गर्भमा सारिदिनुभयो। (लुका १:२७, ३५) उहाँको नाम येसु राखियो। तर कानुनी रूपमा भने उहाँलाई दोस्रो आदम पनि भन्न मिल्थ्यो किनकि उहाँ आदमबराबर हुनुहुन्थ्यो अर्थात् उहाँ आदमजस्तै त्रुटिरहित हुनुहुन्थ्यो। (१ कोरिन्थी १५:४५, ४७) त्यसैले येसुले पापी मानिसजातिको लागि फिरौतीस्वरूप आफ्नो ज्यान दिन सम्भव हुने थियो।
१४ फिरौतीको मोल कसलाई तिरिने थियो? भजन ४९:७ ले ‘परमेश्वरलाई फिरौतीको मोल तिरिनुपर्छ’ भनेर स्पष्टसित बताएको छ। तर के यहोवाले नै फिरौतीको प्रबन्ध गर्नुभएको होइन र? हो तर त्यसो भन्दैमा फिरौती एउटा खल्तीबाट पैसा झिकेर अर्को खल्तीमा हाल्नुजस्तो अर्थहीन सट्टापट्टा होइन। फिरौती भनेको कुनै चिज वा वस्तु सट्टापट्टा गरेको जस्तो नभई यो एउटा कानुनी महत्त्व बोकेको लेनदेन हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। यहोवाले ठूलो मोल चुकाएर फिरौतीको प्रबन्ध गर्नुभयो र यसरी उहाँ आफै पनि आफ्नो सिद्ध न्यायको स्तरअनुसार चलेको देखाउनुभयो।—उत्पत्ति २२:७, ८, ११-१३; हिब्रू ११:१७; याकुब १:१७.
१५. येसुले दुःख भोग्नु र आफ्नो ज्यान दिनु किन आवश्यक थियो?
१५ इस्वी संवत् ३३ को वसन्त ऋतुमा येसु ख्रिष्ट कठिन परीक्षाहरूको सामना गर्न राजीखुसीले तयार हुनुभयो, जसले गर्दा फिरौतीको मोल तिर्ने प्रबन्धको बाटो खुल्ने थियो। उहाँलाई झूटो आरोपमा पक्राउ गरियो, दोषी ठहराइयो अनि अन्ततः यातनाको खम्बामा मृत्युदण्ड दिइयो। तर के येसुले यस्तो दुःखकष्ट भोग्नु साँच्चै आवश्यक थियो? थियो किनकि सैतानले परमेश्वरका सेवकहरूको सत्यनिष्ठामाथि उठाएको विवाद सुल्झाउनुपर्ने थियो। उल्लेखनीय कुरा के हो भने परमेश्वरले बालक येसुलाई हेरोदको हातबाट मर्न दिनुभएन। (मत्ति २:१३-१८) किनकि उहाँ वयस्क भएपछि मात्र सैतानले उठाएका विवादहरू राम्ररी बुझ्न सक्नुहुने थियो र त्यसका आक्रमणहरूको सामना गर्न पूर्ण रूपमा तयार हुन सक्नुहुने थियो।b हुन पनि पछि कठिन परीक्षाहरू भोग्नुपर्दा येसुले आफू “वफादार, निर्दोष, निष्खोट र पापीहरूभन्दा फरक” भएको देखाउनुभयो। (हिब्रू ७:२६) यसरी उहाँले परमेश्वरका सेवकहरू परीक्षा आइपर्दा वफादार रहन सक्छन् भन्ने कुरा प्रमाणित गर्नुभयो। त्यसैले येसुले आफ्नो मृत्यु हुने बेला ठूलो स्वरले यसो भन्न सक्नुभयो: “सबै पूरा भयो!”—युहन्ना १९:३०.
येसुले छुटकारा दिने काम पूरा गर्नुभयो
१६, १७. (क) येसुले मानिसजातिलाई छुटकारा दिने काम कसरी पूरा गर्नुभयो? (ख) येसु “हाम्रो तर्फबाट परमेश्वरसामु हाजिर” हुनु किन आवश्यक थियो?
१६ येसुले मानिसजातिलाई छुटकारा दिने काम पूरा हुन अझै बाँकी थियो। येसुको मृत्यु भएको तेस्रो दिन यहोवाले उहाँलाई फेरि जीवित पार्नुभयो। (प्रेषित ३:१५; १०:४०) यसरी यहोवाले आफ्नो छोरालाई उहाँको वफादारीको इनाम मात्र दिनुभएन बरु उहाँलाई प्रधानपुजारीको रूपमा आफ्नो काम पूरा गर्ने मौका पनि दिनुभयो। (रोमी १:४; १ कोरिन्थी १५:३-८) प्रेषित पावलले यस्तो लेखे: “जब ख्रिष्ट . . . प्रधानपुजारीको रूपमा आउनुभयो, तब . . . उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो। किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो, त्यसमा नभई स्वर्गमै पस्नुभयो। त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्वरसामु हाजिर हुनुहुन्छ।”—हिब्रू ९:११, १२, २४.
१७ येसुले आफ्नो रगत स्वर्ग लैजान सम्भव थिएन। (१ कोरिन्थी १५:५०) तर उहाँले आफ्नो रगतले चित्रण गर्ने कुरा भने स्वर्ग लैजानुभयो। त्यो हो, उहाँले बलिदानस्वरूप चढाउनुभएको त्रुटिरहित मानव जीवनको कानुनी मोल। त्यसपछि उहाँले त्यो मोल फिरौतीस्वरूप परमेश्वरसामु औपचारिक रूपमा टक्य्राउनुभयो। के यहोवाले त्यो बलिदान स्विकार्नुभयो? पक्कै स्विकार्नुभयो अनि यो कुरा उहाँले इस्वी संवत् ३३ पेन्तिकोसको दिन यरुसलेममा १२० जना चेलामाथि पवित्र शक्ति खन्याउनुहुँदा प्रस्ट भयो। (प्रेषित २:१-४) त्यो घटना निकै उल्लेखनीय थियो तर त्यो त फिरौतीले पुऱ्याउने फाइदाको सुरुवात मात्र थियो!
फिरौतीका फाइदाहरू
१८, १९. (क) ख्रिष्टको रगतले गर्दा कुन दुई समूहले परमेश्वरसित मिलाप गर्न सकेका छन्? (ख) “ठूलो भीड”-ले फिरौतीबाट अहिले र भविष्यमा कस्तो लाभ उठाउँछ?
१८ येसुले यातनाको खम्बामा बगाउनुभएको रगतद्वारा शान्ति कायम गरेर अरू सबै थोकलाई आफूसित मिलापमा ल्याउन यहोवालाई असल लाग्यो भनेर पावलले कलस्सीका ख्रिष्टियनहरूलाई लेखे। तिनले दुई वटा समूह परमेश्वरसित मिलापमा आउनेछन् भनेर पनि लेखे। ती हुन्: “स्वर्गका कुराहरू” र “पृथ्वीका कुराहरू।” (एफिसी १:१०; कलस्सी १:१९, २०) पहिलो समूहमा १ लाख ४४ हजार ख्रिष्टियन पर्छन्, जसले येसु ख्रिष्टसँगै स्वर्गमा राजा र पुजारीको रूपमा शासन गर्ने आशा पाएका छन्। (प्रकाश ५:९, १०; ७:४; १४:१-३) तिनीहरूमार्फत हजार वर्षीय शासनको दौडान आज्ञाकारी मानिसजातिले फिरौतीबाट क्रमिक रूपमा लाभ उठाउनेछन्।—१ कोरिन्थी १५:२४-२६; प्रकाश २०:६; २१:३, ४.
१९ “पृथ्वीका कुराहरू” भनेको भविष्यमा यसै पृथ्वीमा त्रुटिरहित जीवन पाउने मानिसहरू हुन्। प्रकाश ७:९-१७ मा तिनीहरूलाई “ठूलो भीड” भनिएको छ, जसले आउँदै गरेको “महासङ्कष्ट” जिउँदै पार गर्नेछन्। तर फिरौतीबाट लाभ उठाउन तिनीहरूले त्यो समय पर्खनु पर्दैन। तिनीहरूले अहिल्यै “आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्।” तिनीहरूले फिरौतीमा विश्वास गर्ने भएकोले यस मायालु प्रबन्धबाट आध्यात्मिक लाभ उठाइरहेका छन्। तिनीहरू धर्मी ठहरिएर परमेश्वरको मित्र कहलाइएका छन्। (याकुब २:२३) येसुको बलिदानले गर्दा तिनीहरू “निर्धक्क भई बोल्ने साहसका साथ . . . असीम अनुग्रहको सिंहासनसामु” जान सक्छन्। (हिब्रू ४:१४-१६) तिनीहरूले गल्ती गर्दा क्षमा पाउन सक्छन् अनि त्रुटिपूर्ण भए पनि आफ्नो अन्तस्करण सफा राख्न सक्छन्। (एफिसी १:७; हिब्रू ९:९; १०:२२; १ पत्रुस ३:२१) त्यसैले तिनीहरूले भविष्यमा मात्र होइन, अहिले पनि परमेश्वरसित मिलाप गर्न सक्छन्। (२ कोरिन्थी ५:१९, २०) तिनीहरू हजार वर्षीय शासनको दौडान “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुनेछन् अनि अन्ततः “परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्।—रोमी ८:२१.
२०. फिरौतीको प्रबन्धमा मनन गर्दा तपाईँमा कस्तो प्रभाव परेको छ?
२० फिरौतीको लागि “येसु ख्रिष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्!” (रोमी ७:२५) फिरौतीको सिद्धान्त एकदमै सरल भए पनि यो हामीमा परमेश्वरप्रति श्रद्धा जगाउने एउटा गहन विषय हो। (रोमी ११:३३) फिरौतीको प्रबन्धमा मनन गर्दा यसले हाम्रो मन छुन्छ अनि न्यायका परमेश्वरसित अझ घनिष्ठ बनाउँछ। भजनरचयितासित जस्तै हामीसित पनि “धार्मिकता र न्यायलाई प्रेम” गर्नुहुने परमेश्वर यहोवाको प्रशंसा गर्ने प्रशस्त कारण छ।—भजन ३३:५.
a आदम र हव्वाले फिरौतीबाट लाभ उठाउन सक्ने थिएनन्। जानाजानी कसैको हत्या गर्ने व्यक्तिको सन्दर्भमा मोसाको व्यवस्थामा यस्तो नियम दिइएको थियो: “मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।” (गन्ती ३५:३१) स्पष्ट छ, आदम र हव्वा मृत्युदण्ड पाउन लायकका थिए किनकि तिनीहरूले जानाजानी र आफूखुसी परमेश्वरको आज्ञा उल्लङ्घन गरेका थिए। यसरी तिनीहरूले अनन्त जीवनको आशालाई लत्याए।
b आदमको पाप मेटाउन येसु त्रुटिरहित बालकको रूपमा नभई त्रुटिरहित वयस्कको रूपमा मर्नुपर्ने थियो। यो कुरा मनमा राख्नुहोस्, आदमलाई आफूले गर्न लागेको काम कत्तिको गम्भीर छ र त्यसको नतिजा कस्तो हुनेछ भनेर राम्ररी थाह थियो। तैपनि तिनले जानाजानी पाप गरे। त्यसैले “अन्तिम आदम” बन्न र तिनको पाप ढाक्न येसुले एक जना परिपक्व वयस्कको रूपमा यहोवाप्रति निष्ठावान् रहने निर्णय गर्नुपर्ने थियो। (१ कोरिन्थी १५:४५, ४७) यसरी येसुले वफादार भई बिताउनुभएको जीवन र चढाउनुभएको बलिदान “निरपराध साबित गराउने एउटा काम” बन्यो।—रोमी ५:१८, १९.