अध्याय दस
‘कहिल्यै नाश नहुने’ राज्य
१. मानिसजातिको इतिहासमा भएका विश्व घटनाहरूले कुन तथ्य प्रस्ट पारेको छ?
यहोवाको सार्वभौमिकता त्यागेर आफै शासन गर्न खोज्दा मानिसहरू आनन्दित हुन सकेका छैनन् भनेर प्रत्येक दिन घटिरहेका विश्व घटनाहरूले प्रस्ट पार्छ। कुनै पनि मानव सरकारले सबै मानिसजातिलाई समान सुविधा दिन सकेको छैन। मानिसहरूले वैज्ञानिक क्षेत्रमा अपूर्व विकास गरिसकेका भए तापनि तिनीहरूले रोगबिमारमाथि विजय हासिल गर्न वा कसैलाई मृत्युबाट बचाउन सकेका छैनन्। मानव शासनले युद्ध, हिंसा, अपराध, अत्याचार वा गरिबी हटाउन सकेको छैन। दमनकारी सरकारहरूले अझै थुप्रै मुलुकका मानिसहरूमाथि आफ्नो प्रभुत्व जमाएका छन्। (उपदेशक ८:९) प्रविधि, लोभ र अज्ञानताको कारण पृथ्वी, आकाश र वायु प्रदूषण भइरहेको छ। अधिकृतहरूले आर्थिक व्यवस्था व्यवस्थित गर्न नसक्दा थुप्रै मानिसहरू जीवनका आधारभूत आवश्यकताहरूबाट वञ्चित हुन पुगेका छन्। मानव शासनको हजारौं वर्षले यस तथ्यलाई स्पष्ट पारेको छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
२. मानिसजातिका समस्याको एक मात्र समाधान के हो?
२ यसको समाधान के हो? परमेश्वरको राज्य। यही राज्यका लागि येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) स्वर्गमा स्थापित परमेश्वरको राज्यलाई २ पत्रुस ३:१३ मा “नयाँ आकाश” भनेर वर्णन गरिएको छ र यसले धार्मिक मानव समाज अर्थात् “नयाँ पृथ्वी[माथि]” शासन गर्नेछ। स्वर्गमा स्थापित परमेश्वरको राज्य अत्यन्तै महत्त्वपूर्ण भएको कारण येशूले यस राज्यलाई आफ्नो प्रचारकार्यको मूल विषय बनाउनुभयो। (मत्ती ४:१७) यसले हाम्रो जीवनमा कस्तो स्थान पाउनुपर्छ भन्ने सन्दर्भमा उहाँले यस्तो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।”—मत्ती ६:३३.
३. परमेश्वरको राज्यबारे सिक्नु अहिले किन अत्यन्तै जरुरी छ?
३ परमेश्वरको राज्यबारे सिक्नु अहिले अत्यन्तै जरुरी छ किनभने त्यस राज्यले पृथ्वीमा सदासर्वदा रहिरहने बेग्लै शासन प्रणाली सुरु गर्नेछ। दानियल २:४४ यस्तो भविष्यवाणी गर्छ: “ती राजाहरूका समयमा [अहिले शासन गरिरहेका सरकारहरूको समयमा] स्वर्गका परमेश्वरले [स्वर्गमा] एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ [मानिसहरूले अब उप्रान्त पृथ्वीमा शासन गर्नेछैनन्]। त्यसले यी सबै [वर्तमान] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यसरी यस राज्यले वर्तमान दुष्ट रीतिरिवाजलाई विनाश गरेपछि आखिरी दिनको अन्त हुनेछ। तब पृथ्वीमाथि शासन गर्न स्वर्गमा स्थापित त्यस राज्यको शासनबारे कुनै विवाद उठ्नेछैन। यसले ल्याउने त्यो छुटकारा नजिकै भएकोमा हामी कत्ति कृतज्ञ हुनुपर्छ!
४. सन् १९१४ मा राज्यसित सम्बन्धित कस्तो घटना घट्यो र यो हाम्रोलागि किन महत्त्वपूर्ण छ?
४ सन् १९१४ मा ख्रीष्ट येशू राजा नियुक्त हुनुभयो र उहाँले ‘आफ्ना शत्रुहरूका बीचमा राज्य गर्न’ अख्तियार पाउनुभयो। (भजन ११०:१, २) अनि, त्यही वर्षमा यस वर्तमान दुष्ट रीतिरिवाजको “आखिरी दिन” सुरु भयो। (२ तिमोथी ३:१-५, १३) साथै, दानियलले भविष्यसूचक दर्शनमा देखेका घटनाहरू स्वर्गमा साँच्चै भयो। “अति प्राचीन उमेर[का]” यहोवा परमेश्वरले मानिसको पुत्र येशू ख्रीष्टलाई “विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। यही दर्शनबारे दानियलले यस्तो लेखे: “उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।” (दानियल ७:१३, १४) स्वर्गमा स्थापित यस राज्यले ख्रीष्ट येशूको नेतृत्व प्रदान गर्नुका साथै परमेश्वरले हाम्रा प्रथम माता पितालाई प्रमोदवनमा राख्नुहुँदा प्रतिज्ञा गर्नुभएको सबै राम्रा कुराहरू धार्मिकता मन पराउने मानिसहरूलाई दिनुहुनेछ।
५. राज्यसम्बन्धी कस्तो विवरण हाम्रोलागि गहिरो चासोको विषय हो र किन?
५ के तपाईं यस राज्यको वफादार प्रजा हुन चाहनुहुन्छ? चाहनुहुन्छ भने, स्वर्गमा स्थापित यो सरकारको संरचना र कार्यप्रणालीमा तपाईंले गहिरो चासो राख्नुहुनेछ। यसले अहिले के गर्दैछ, भविष्यमा के गर्नेछ र तपाईंबाट के आशा गर्छ भनेर जान्न चाहनुहुनेछ। यस राज्यलाई नजिकबाट नियालेर हेर्नुहुँदा त्यसप्रति तपाईंको मूल्यांकन बढ्नेछ। तपाईंले यो शासन स्वीकार्नुभयो भने, परमेश्वरको राज्यले आज्ञाकारी मानिसजातिको लागि गर्ने अद्भुत कार्यहरूबारे अरूलाई बताउन अझ बढी सुसज्जित हुनुहुनेछ।—भजन ४८:१२, १३.
परमेश्वरको राज्यका शासकहरू
६. (क) मसीही राज्यद्वारा कसको सार्वभौमिकता प्रकट हुन्छ भनेर धर्मशास्त्रले देखाउँछ? (ख) परमेश्वरको राज्यबारे सिकेका कुराहरूले हामीमा कस्तो असर पार्नुपर्छ?
६ मसीही राज्यबारे केलाउँदा प्रकट हुने एउटा बुँदा, परमेश्वरको आफ्नो सार्वभौमिकताको प्रकटीकरण हो। यहोवाले नै आफ्नो पुत्रलाई “सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। परमेश्वरको पुत्रले, राजाको हैसियतमा शासन गर्ने अधिकार पाउनुभएपछि स्वर्गबाट निस्केको आवाजले यस्तो घोषणा गर्नु उचित थियो: “पृथ्वीको राज्य हाम्रा प्रभुको [यहोवा परमेश्वरको] र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले [यहोवाले] सदा सर्वदा राज्य गर्नुहुनेछ।” (प्रकाश ११:१५) अतः यो राज्य र यसले पूरा गर्ने कुराहरूबारे हामी जे जति देख्छौं, त्यसले हामीलाई यहोवाको नजिक ल्याउन सक्छ। हामी जे सिक्छौं, त्यसले हामीलाई उहाँको सार्वभौमिकताको अधीनमा बस्ने इच्छा जगाउनुपर्छ।
७. येशू ख्रीष्ट, यहोवाको उपशासक हुनु किन हाम्रोलागि विशेष चासोको कुरा हो?
७ यहोवाले येशू ख्रीष्टलाई आफ्नो उपशासकको रूपमा सिंहासनमा राख्नुभएको छ भन्ने कुरा पनि विचार गर्नुहोस्। पृथ्वी र मानिसहरू बनाउन परमेश्वरले प्रयोग गर्नुभएको कुशल कालिगढको हैसियतमा येशूले हाम्रा आवश्यकताहरू हामीले भन्दा राम्ररी जान्नुहुन्छ। यसबाहेक, मानव इतिहासको सुरुदेखि नै उहाँले ‘मानव-जातिमा प्रसन्न रहेको’ देखाउँदै आउनुभएको छ। (हितोपदेश ८:३०, ३१; कलस्सी १:१५-१७) मानिसजातिप्रतिको गहिरो प्रेमले गर्दा उहाँ पृथ्वीमा आउनुभयो र हाम्रोलागि छुडौतीको रूपमा आफ्नो जीवन अर्पण गर्नुभयो। (यूहन्ना ३:१६) यसरी उहाँले पाप र मृत्युबाट छुटकारा अनि अनन्त जीवन पाउने मौका दिनुभयो।—मत्ती २०:२८.
८. (क) मानव शासनजस्तो नभई परमेश्वरको सरकार किन रहिरहनेछ? (ख) स्वर्गमा स्थापित सरकारसित “विश्वासी र बुद्धिमान दास[को]” कस्तो सम्बन्ध छ?
८ परमेश्वरको राज्य एउटा स्थायी, चिरकालीन सरकार हो। यो चिरकालीन हुनुको कारण यहोवा सनातनदेखि हुनुहुन्छ। (हबकूक १:१२) परमेश्वरले राज्याधिकार दिनुभएको येशू ख्रीष्ट अरू मानव सरकारहरूजस्तो नभई अमर हुनुहुन्छ। (रोमी ६:९; १ तिमोथी ६:१५, १६) स्वर्गको सिंहासनमा ख्रीष्टसँगसँगै १,४४,००० जना हुनेछन् र यिनीहरू “हरेक कुल, भाषा, मानिस र जाति[बाट]” किनिएका परमेश्वरका वफादार सेवकहरू हुन्। यिनीहरूलाई पनि अमर जीवन दिइन्छ। (प्रकाश ५:९, १०; १४:१-४; १ कोरिन्थी १५:४२-४४, ५३) यीमध्ये अधिकांश स्वर्गमा गइसके अनि पृथ्वीमा बाँकी शेष जनहरू मिलेर वर्तमान समयको “विश्वासी र बुद्धिमान दास” बनेको छ अनि तिनीहरूले राज्यसम्बन्धी कार्यलाई विस्तार गरिरहेका छन्।—मत्ती २४:४५-४७.
९, १०. (क) परमेश्वरको राज्यले कस्ता विभाजक, भ्रष्ट प्रभावहरू हटाउनेछ? (ख) हामी परमेश्वरको राज्यका शत्रु हुन चाहँदैनौं भने कस्ता पासोहरूबाट जोगिनुपर्छ?
९ चाँडै, यहोवाले आफ्नो तोकिएको समयमा यो पृथ्वी सफा गर्न आफ्नो स्वर्गीय न्यायिक दल पठाउनुहुनेछ। त्यस दलले उहाँको सार्वभौमिकता अस्वीकार गर्न छनौट गर्ने अनि उहाँले येशू ख्रीष्टमार्फत गर्नुभएको मायालु प्रबन्धको गिल्ला गर्ने मानिसहरूको सर्वनाश गर्नेछ। (२ थिस्सलोनिकी १:६-९) त्यो यहोवाको दिन अर्थात् उहाँ विश्वव्यापी सार्वभौमको रूपमा उच्च पारिनुहुने चिरप्रतिक्षित दिन हुनेछ। “हेर, परमप्रभुको दिन . . . . त्यसका पापीहरूलाई त्यहाँबाट सर्वनाश पार्न, क्रोध र भयानक रीसको साथ निष्ठूर भएर आउँछ।” (यशैया १३:९) “त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन।”—सपन्याह १:१५.
१० यस संसारको अदृश्य दुष्ट शासकले चलाइरहेको सबै झूटो धर्म, सबै मानव सरकार र त्यसलाई पछ्याउनेहरू सदाको लागि नाश हुनेछन्। यस संसारको जस्तै आत्म-केन्द्रित, बेइमान, अनैतिक जीवनको पछि लाग्ने सबै मानिसहरूको विनाश गरिनेछ। शैतान र त्यसका प्रेतहरूले पृथ्वीका बासिन्दाहरूसित कुनै सम्पर्क गर्न नपाउने गरी हजार वर्षको लागि अगाध खाँदमा थुनिनेछ। त्यसपछि पृथ्वीका सम्पूर्ण क्रियाकलाप परमेश्वरको राज्यको अधीनमा हुनेछ। धार्मिकता प्रेम गर्नेहरूको लागि यो कस्तो छुटकारा हुनेछ!—प्रकाश १८:२१, २४; १९:११-१६, १९-२१; २०:१, २.
राज्यका उद्देश्यहरू—कसरी प्राप्त हुन्छन्
११. (क) मसीही राज्यले पृथ्वीको लागि यहोवाको उद्देश्य कसरी पूरा गर्नेछ? (ख) त्यतिबेला पृथ्वीमा बाँच्नेहरूको लागि परमेश्वरको राज्य शासनको अर्थ के हुनेछ?
११ मसीही राज्यले पृथ्वीको लागि परमेश्वरको सुरुको उद्देश्य सबै पूरा गर्नेछ। (उत्पत्ति १:२८; २:८, ९, १५) आजसम्म मानिसजातिले त्यो उद्देश्य पूर्तिको लागि केही गर्न सकेको छैन। तथापि, “आउँदो संसार” मानिसको पुत्र, येशू ख्रीष्टको अधीनमा हुनेछ। यस पुरानो रीतिरिवाजमाथि परमेश्वरको न्यायबाट बच्ने सबै जना, राजा ख्रीष्टको अधीनमा एकताबद्ध भएर काम गर्नेछन् अनि पृथ्वीलाई विश्वव्यापी प्रमोदवनमा परिणत गर्न उहाँले जे निर्देशन दिनुहुन्छ, खुसीसाथ त्यसै गर्नेछन्। (हिब्रू २:५-९) सारा मानिसजातिले आफ्नो मेहनतको फलमा आनन्द र पृथ्वीको उत्पादनबाट भरपूर लाभ उठाउनेछन्।—भजन ७२:१, ७, ८, १६-१९; यशैया ६५:२१, २२.
१२. राज्यका प्रजाहरूको मन अनि शरीरलाई कसरी सिद्ध अवस्थामा पुऱ्याइनेछ?
१२ आदम र हव्वा सृष्टि गरिंदा तिनीहरू सिद्ध थिए। अनि सिद्ध मन र शरीर भएका तिनीहरूका सन्तानले पृथ्वी भरिऊन् भन्ने परमेश्वरको उद्देश्य थियो। परमेश्वरको राज्य शासनअन्तर्गत त्यो उद्देश्य अद्भुत वास्तविकतामा परिणत हुनेछ। यसको लागि पापका सबै असरहरू हटाइनुपर्छ। अनि त्यसो गर्न ख्रीष्ट राजा मात्र होइन प्रधान पूजाहारी पनि हुनुहुनेछ। धीरजी भई उहाँले आज्ञाकारी प्रजाहरूलाई पापको प्रायश्चित गर्न आफ्नो मानव जीवन बलिदानको मोलबाट लाभ उठाउन मदत गर्नुहुनेछ।
१३. परमेश्वरको राज्य शासनअन्तर्गत कस्ता भौतिक आशिष्हरू वास्तविकतामा परिणत हुनेछन्?
१३ परमेश्वरको राज्य शासनअन्तर्गत पृथ्वीका बासिन्दाहरूले अद्भुत भौतिक लाभ उठाउनेछन्। “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।” (यशैया ३५:५, ६) उमेर वा रोगबिमारको कारण चाउरी परेको छाला, सानो बच्चाको जस्तै मुलायम हुनेछ अनि दीर्घकालीन बिरामीहरू पुनः स्वस्थ हुनेछन्। “त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन् बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” (अय्यूब ३३:२५) कसैले पनि “म बिरामी परें” भन्नु नपर्ने दिन आउनेछ। किन? किनभने ईश्वरभीरु मानिसहरू पाप र त्यसका पीडादायी असरहरूबाट मुक्त हुनेछन्। (यशैया ३३:२४; लूका १३:११-१३) हो, परमेश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
१४. मानव सिद्धता प्राप्त गर्नुमा के-के समावेश छन्?
१४ तथापि, सिद्धता प्राप्त गर्नु भनेको स्वस्थ शरीर अनि मन हुनु मात्र होइन। यसमा उचित तरिकामा यहोवाका गुणहरू झल्काउनु पनि समावेश छ। किनभने हामी ‘परमेश्वरको स्वरूपमा, उहाँकै प्रतिरूपमा’ बनाइएका थियौं। (उत्पत्ति १:२६) त्यसो गर्न निकै ज्ञान हासिल गर्नुपर्छ। नयाँ संसारमा “धार्मिकताले बास गर्छ।” त्यसैकारण, यशैयाले भविष्यवाणी गरेझैं “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (२ पत्रुस ३:१३; यशैया २६:९) धार्मिकताले गर्दा विभिन्न जातिका मानिसहरू, घनिष्ठ सँगीहरू, परिवारमा अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरसित शान्ति कायम गर्न सकिन्छ। (भजन ८५:१०-१३; यशैया ३२:१७) धार्मिकता सिक्नेहरूले तिनीहरूको लागि परमेश्वरको इच्छा के हो भन्ने ज्ञान बिस्तारै प्राप्त गर्नेछन्। यहोवाप्रतिको प्रेम हृदयमा गडेपछि तिनीहरूले जीवनको सबै पक्षमा उहाँकै तौरतरिका अनुकरण गर्नेछन्। तिनीहरूले पनि येशूले जस्तै यसो भन्न सक्नेछन्, ‘म सधैं पितालाई मन पर्ने कुराहरू गर्दछु।’ (यूहन्ना ८:२९) सारा मानवजातिले यसो भन्न पाउँदा जीवन कस्तो आनन्ददायी हुनेछ!
प्रस्ट भइसकेका उपलब्धिहरू
१५. यस अनुच्छेदमा दिइएका प्रश्नहरू प्रयोग गरेर राज्यका उपलब्धिहरू अनि अहिले हामीले गर्नुपर्ने कुरा प्रकाश पार्नुहोस्।
१५ परमेश्वरको राज्य र यसका प्रजाहरूको अद्भुत उपलब्धिहरू प्रस्ट छन्। निम्न प्रश्न तथा शास्त्रपदले तपाईंलाई केही उपलब्धिहरूको स्मरण गराउनेछ अनि राज्यका सबै प्रजाले गर्न सक्ने र अहिले गर्नुपर्ने कुराहरू देखाउनेछ।
यस राज्यले सबैभन्दा पहिला को विरुद्ध कदम चाल्यो अनि परिणाम कस्तो भयो? (प्रकाश १२:७-१०, १२)
ख्रीष्ट सिंहासनमा बस्नुभएदेखि कुन समूहका शेष जनहरू जम्मा गर्ने काम भयो? (प्रकाश १४:१-३)
मत्ती २५:३१-३३ मा रेकर्ड गरिएअनुसार महासंकष्टपछि येशूले कुन कार्य गर्नुहुनेछ भनी भविष्यवाणी गरिएको थियो?
अहिले कुन प्रारम्भिक कार्य सम्पन्न हुँदैछ? यसमा क-कसले भाग लिइरहेका छन्? (भजन ११०:३; मत्ती २४:१४; प्रकाश १४:६, ७)
राजनैतिक तथा धार्मिक विरोधीहरूले किन प्रचारकार्य रोक्न सकेका छैनन्? (जकरिया ४:६; प्रेरित ५:३८, ३९)
परमेश्वरको राज्य शासन स्वीकार्नेहरूको जीवनमा कस्ता परिवर्तनहरू भएका छन्? (यशैया २:४; १ कोरिन्थी ६:९-११)
हजार वर्षीय शासन
१६. (क) ख्रीष्टले कतिन्जेल शासन गर्नुहुनेछ? (ख) त्यस समयको दौडान र पछि कस्ता अद्भुत कार्यहरू गरिनेछन्?
१६ शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा फ्याँकिएपछि येशू ख्रीष्ट र उहाँका १,४४,००० सहशासकहरूले हजार वर्षको लागि राजा र पूजाहारीको हैसियतमा शासन गर्नेछन्। (प्रकाश २०:६) त्यस समयावधिमा मानिसजाति सिद्ध तुल्याइनेछ अनि पाप र आदमले निम्त्याएको मृत्यु सदाको लागि नामेट गरिनेछ। हजार वर्षीय शासनको अन्तमा मसीही राजा तथा पूजाहारीको हैसियतमा आफूलाई दिइएको काम राम्ररी पूरा गरेपछि येशूले पितालाई “राज्य सुम्पिदिनुहुनेछ” अनि “परमेश्वर सबैमा सर्वश्रेष्ठ” हुनुहुनेछ। (१ कोरिन्थी १५:२४-२८) त्यतिखेर, शैतान केही समयको लागि छोडिनेछ। त्यसले छुटकारा प्राप्त मानवजातिले यहोवाको विश्वव्यापी सार्वभौमिकतालाई समर्थन गर्छ कि गर्दैन भनेर फेरि परीक्षामा पार्न खोज्नेछ। त्यो अन्तिम परीक्षा पूरा भएपछि यहोवाले शैतान र त्यसलाई साथ दिने विद्रोहीहरूको नाश गर्नुहुनेछ। (प्रकाश २०:७-१०) यहोवाको सार्वभौमिकता अर्थात् शासन गर्ने उहाँको अधिकारलाई समर्थन गर्नेहरूले उहाँप्रति अटल वफादारी देखाइसकेका हुनेछन्। त्यसपछि तिनीहरू यहोवासित राम्रो सम्बन्धमा बाँधिनेछन् अनि अनन्त जीवनको लागि अनुमोदित उहाँका छोरा र छोरीको रूपमा स्वीकारिनेछन्।—रोमी ८:२१.
१७. (क) हजार वर्षको अन्तमा राज्यलाई के हुनेछ? (ख) कुन अर्थमा यो राज्य “कहिल्यै नाश हुनेछैन?”
१७ तसर्थ, पृथ्वीको लागि येशू र १,४४,००० को भूमिका परिवर्तन हुनेछ। तिनीहरूको भावी गतिविधि कस्तो हुनेछ? बाइबलले यसको जवाफ दिएको छैन। तर वफादार भई यहोवाको सार्वभौमिकतालाई उच्च पारिरह्यौं भने हामी हजार वर्षीय शासनको अन्तमा जीवित हुनेछौं र यहोवाले यस विस्मयकारी ब्रह्माण्डको लागि प्रतिज्ञा गर्नुभएका कुराहरू देख्न पाउनेछौं। तैपनि, ख्रीष्टको हजार वर्षीय शासन ‘कहिल्यै बित्नेछैन’ अनि उहाँको राज्य “कहिल्यै नष्ट हुनेछैन।” (दानियल ७:१४) कुन अर्थमा? एउटा कुरा, बेग्लै लक्ष्य भएको अर्को शासकको हातमा शासन दिइनेछैन किनभने यहोवा नै शासक रहनुहुनेछ। साथै, यो राज्य “कहिल्यै नाश हुनेछैन” किनभने यसका उपलब्धिहरू सदा सर्वदा रहिरहनेछन्। (दानियल २:४४) अनि मसीही राजा-पूजाहारी र उहाँका सँगी राजा-पूजाहारीहरूले यहोवाप्रति वफादार सेवा चढाएकोमा तिनीहरूको सदा सम्मान गरिनेछ।
पुनरावृत्ति छलफल
• किन परमेश्वरको राज्य मानवजातिका समस्याहरूको एक मात्र समाधान हो? परमेश्वरको राज्यका राजाले कहिले शासन गर्न थाल्नुभयो?
• परमेश्वरको राज्यबारे तपाईंलाई सबैभन्दा मन परेको पक्ष के हो र यसका उपलब्धिहरू के-के हुनेछन्?
• यस राज्यका कस्ता उपलब्धिहरू हामी अहिले पनि देख्न सक्छौं र यसमा हाम्रो कस्तो भूमिका छ?
[पृष्ठ ९३-मा भएको चित्र]
परमेश्वरको राज्य शासनअन्तर्गत सबै मानिसहरूले धार्मिकता सिक्नेछन्