अध्याय ५
बगालको हेरचाह गर्ने निरीक्षकहरू
येसुले पृथ्वीमा सेवाको काम गर्नुहुँदा आफूलाई “असल गोठालो” साबित गर्नुभयो। (युह. १०:११) आफ्नो पछि लागेका मानिसहरूलाई देखेर “उहाँ टिठाउनुभयो किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ति ९:३६) उहाँले मानिसहरूलाई देखाउनुभएको मायालु चासोलाई पत्रुस र अरू प्रेषितहरूले याद गरे। इस्राएलका खराब गोठालाहरूभन्दा येसु निकै भिन्न हुनुहुन्थ्यो। ती खराब गोठालाहरूले बगालको बेवास्ता गरेकोले गर्दा भेडाहरू तितरबितर भएका थिए र आध्यात्मिक तवरमा भोका थिए। (इज. ३४:७, ८) तर येसुले भने बगाललाई सिकाउने र हेरचाह गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो। उहाँले तिनीहरूको लागि आफ्नो ज्यानसमेत दिनुभयो। येसुको उदाहरणबाट प्रेषितहरूले परमेश्वरमाथि विश्वास गर्नेहरूलाई आफ्नो “गोठालो अनि . . . जीवनको रेखदेख गर्ने” यहोवाकहाँ फर्कन कसरी मदत गर्न सकिन्छ भनेर सिके।—१ पत्रु. २:२५.
२ येसुले पत्रुससित कुरा गर्नुहुँदा भेडालाई खुवाउनु र हेरचाह गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर जोड दिनुभयो। (युह. २१:१५-१७) यसले पक्कै पत्रुसको मन छोएको हुनुपर्छ। त्यसैले पछि मण्डलीका एल्डरहरूलाई तिनले यस्तो सल्लाह दिए: “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर, परमेश्वरसामु निरीक्षकको रूपमा सेवा गर, करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा धन कमाउने लोभले होइन तर तत्परतासाथ; परमेश्वरको सम्पत्तिमाथि हैकम जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर।” (१ पत्रु. ५:१-३) तिनका यी शब्दहरू आजका निरीक्षकहरूलाई पनि उत्तिकै लागू हुन्छ। येसुको अनुकरण गर्दै एल्डरहरू स्वेच्छाले, तत्परतासाथ अनि बगालको लागि उदाहरण भएर यहोवाको सेवामा अगुवाइ लिन्छन्।—हिब्रू १३:७.
येसुको अनुकरण गर्दै एल्डरहरू स्वेच्छाले, तत्परतासाथ अनि बगालको लागि उदाहरण भएर यहोवाको सेवामा अगुवाइ लिन्छन्
३ पवित्र शक्तिद्वारा नियुक्त भएका निरीक्षकहरू पाएकोमा हामी धेरै आभारी हुन सक्छौँ। तिनीहरूको हेरचाहबाट हामी प्रशस्तै लाभ उठाउँछौँ। उदाहरणको लागि, निरीक्षकहरू मण्डलीमा सबैको ख्याल राख्छन् र उनीहरूलाई प्रोत्साहन दिन्छन्। हरेक हप्ता एल्डरहरू लगनशील भई मण्डलीका सभाहरू सञ्चालन गर्छन्। यसबाट सबैले आफ्नो विश्वास बलियो बनाउने आध्यात्मिक पोषण पाउँछन्। (रोमी १२:८) बगाललाई दुष्ट मानिसहरू र अरू हानिकारक कुराबाट जोगाउन निरीक्षकहरू कडा मेहनत गर्छन्, जसले गर्दा हामी सुरक्षित महसुस गर्छौँ। (यसै. ३२:२; ति. १:९-११) तिनीहरू प्रचारकार्यमा अगुवाइ लिन्छन्। यसले गर्दा हामी हरेक महिना सक्रिय भई सुसमाचार प्रचार गर्न प्रोत्साहित हुन्छौँ। (हिब्रू १३:१५-१७) मण्डलीको उन्नतिको लागि यहोवाले “वरदानको रूपमा पुरुषहरू”-मार्फत आवश्यक प्रबन्ध मिलाउनुभएको छ।—एफि. ४:८, ११, १२.
निरीक्षक बन्न चाहिने योग्यता
४ मण्डलीको राम्ररी हेरचाह गर्न सकियोस् भनेर बाइबलमा तोकिएका आवश्यकताहरू पूरा गरेका भाइहरूलाई मात्र निरीक्षकको रूपमा नियुक्त गरिन्छ। ती आवश्यकताहरू पूरा गरेमा मात्र तिनीहरू साँच्चै पवित्र शक्तिद्वारा नियुक्त भएका हुन् भन्न सकिन्छ। (प्रेषि. २०:२८) निरीक्षक हुनु एउटा गम्भीर जिम्मेवारी भएकोले बाइबलले निरीक्षकहरूका लागि उच्च स्तरहरू तोकेको छ। तर ती स्तरहरू पूरा गर्नै नसकिने भने होइन। यहोवालाई साँच्चै माया गर्ने र उहाँबाट चलाइन इच्छुक ख्रिष्टियन भाइहरूले ती स्तरहरू पूरा गर्न सक्छन्। निरीक्षकहरूले आफ्नो जीवनको हरेक पक्षमा बाइबलको सल्लाह लागू गरेको अरूले स्पष्ट देखेको हुनुपर्छ।
मण्डलीको राम्ररी हेरचाह गर्न सकियोस् भनेर बाइबलमा तोकिएका आवश्यकताहरू पूरा गरेका भाइहरूलाई मात्र निरीक्षकको रूपमा नियुक्त गरिन्छ
५ तिमोथिलाई लेखेको पहिलो पत्रमा र तितसलाई लेखेको पत्रमा प्रेषित पावलले निरीक्षक हुन चाहिने आधारभूत धर्मशास्त्रीय आवश्यकताहरूबारे बताए। पहिलो तिमोथि ३:१-७ मा यस्तो लेखिएको पाउँछौँ: “यदि कुनै पुरुष निरीक्षक बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको, व्यवस्थित र अतिथि-सत्कार गर्ने हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता हुनुपर्छ, तिनी पियक्कड हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन बरु व्यावहारिक हुनुपर्छ, झगडालु हुनु हुँदैन, पैसाको प्रेमी हुनु हुँदैन, तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन नत्र त तिनी घमन्डले फुल्नेछन् र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्। यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ नत्र त तिनीमाथि दोष लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।”
६ पावलले तितसलाई लेखे: “मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू नियुक्त गर्न सक: यस्तो भाइलाई नियुक्त गर्नू, जसमाथि कुनै दोष लागेको छैन, जो एउटै स्त्रीको पति हुन् अनि जसका छोराछोरी प्रभुमा विश्वास गर्छन् र तिनीहरूमाथि दुराचरणमा लागेको वा विद्रोही भएको आरोप लागेको छैन। किनकि निरीक्षक परमेश्वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने, झनक्क रिसाउने, पियक्कड, हिंस्रक हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन, बरु तिनी अतिथि-सत्कार गर्ने, भलाइको प्रेमी, सुझबुझ भएको, धर्मी, वफादार, आत्मसंयमी, आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने हुनुपर्छ ताकि तिनले साँचो शिक्षाद्वारा प्रोत्साहन दिनुका साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्।”—तितस १:५-९.
७ झट्ट हेर्दा निरीक्षकले पूरा गर्नुपर्ने यी आवश्यकताहरू असाध्यै गाह्रो देखिएला। तर ख्रिष्टियन भाइहरू अघि बढ्न हिचकिचाउनु हुँदैन। यी भाइहरूले निरीक्षक बन्न चाहिने असल गुणहरू देखाउँदा मण्डलीमा अरू पनि त्यसै गर्न प्रोत्साहित हुन्छन्। परमेश्वरले “वरदानको रूपमा पुरुषहरू” दिनुको कारणबारे पावलले यस्तो लेखे: “ताकि पवित्र जनहरूलाई सच्याउन सकियोस्, तिनीहरूले सेवाको काम गरून् र ख्रिष्टको शरीर तबसम्म बढ्दै जाओस्, जबसम्म हामी सबैले विश्वासमा र परमेश्वरको छोराको सही ज्ञानको विषयमा एकरूपता हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ।”—एफि. ४:८, १२, १३.
८ निरीक्षकहरू कलिलो उमेरका वा भर्खरै ख्रिष्टियन बनेका हुनु हुँदैन। बरु तिनीहरू बाइबलको राम्रो ज्ञान र गहिरो समझ भएका अनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई माया गर्ने अनुभवी ख्रिष्टियनहरू हुनुपर्छ। कसैले खराब काम गर्दा तिनीहरू साहसी भई गल्ती गर्नेलाई सुधार्न सक्ने हुनुपर्छ। यसरी तिनीहरूले बगाललाई अत्याचारी ब्वाँसाजस्ता मानिसहरूबाट जोगाउँछन्। (यसै. ३२:२) मण्डलीका सबैले निरीक्षकहरूलाई आध्यात्मिक रूपमा परिपक्व अनि परमेश्वरको बगालको गहिरो चासो राख्ने व्यक्तिको रूपमा चिनेको हुनुपर्छ।
९ परमेश्वरको बगालको निरीक्षक हुन बाइबलमा पाइने बुद्धिअनुसार जीवन बिताउनुपर्छ। निरीक्षक विवाहित हुन् भने तिनले विवाहितहरूको लागि बाइबलमा तोकिएको स्तर पालन गरेको हुनुपर्छ। मतलब, तिनी एकै जना स्त्रीको पति र आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिन सक्ने हुनुपर्छ। तिनका छोराछोरी प्रभुमा विश्वास गर्ने हुनुपर्छ र पूर्ण गम्भीरतासाथ अधीनमा बसेको हुनुपर्छ। अनि तिनीहरूमाथि दुराचरणमा लागेको वा विद्रोही भएको आरोप लागेको हुनु हुँदैन। यसो भएमा मात्र मण्डलीका दाजुभाइ दिदीबहिनीले आफ्नो परिवार र जीवनमा आइपरेका समस्याबारे निर्धक्क भई ती निरीक्षकसँग सल्लाह माग्न सक्छन्। साथै निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन र तिनले बाहिरका मानिसहरूबाट पनि राम्रो नाम कमाएको हुनुपर्छ। तिनको कुनै अनुचित व्यवहारले गर्दा यहोवाका साक्षीहरूमाथि दोष लागेको हुनु हुँदैन। गम्भीर गल्तीको कारण कुनै भाइलाई न्यायिक सुधार दिइएको थियो भने तिनलाई तुरुन्तै निरीक्षक बनाउनु हुँदैन। निरीक्षकले राम्रो उदाहरण बसालेका छन् भने मण्डलीका सदस्यहरू तिनको अनुकरण गर्न प्रोत्साहित हुन्छन् र गोठालाहरूले आध्यात्मिक हेरचाह गर्छन् भनेर ढुक्क हुन्छन्।—१ कोरि. ११:१; १६:१५, १६.
१० यस्ता योग्य पुरुषहरूले मण्डलीमा इस्राएलका नाइकेहरूले जस्तै भूमिका निर्वाह गर्छन्। बाइबलमा ती नाइकेहरूलाई “बुद्धिमान्, समझदार अनि अनुभवी” भनिएको छ। (व्यव. १:१३) हुनत एल्डरहरू पनि हामीजस्तै त्रुटिपूर्ण छन् र कहिलेकाहीँ गल्ती गर्छन्। तर तिनीहरू मण्डली र छरछिमेकमा इमानदार अनि परमेश्वरको स्तरअनुसार चल्ने व्यक्ति भनेर चिनिनुपर्छ। तिनीहरूले आफ्नो जीवनको हरेक पक्षमा बाइबलको सिद्धान्त लागू गरेको हुनुपर्छ। यसरी दोषरहित भएमा मात्र तिनीहरूले मण्डलीलाई निर्धक्क भई साहसका साथ सिकाउन सक्छन्।—रोमी ३:२३.
११ निरीक्षक हुन अघि बढिरहेका भाइ आफ्नो व्यक्तिगत आनीबानी र अरूसितको व्यवहारमा सन्तुलित हुनुपर्छ। तिनी कट्टर स्वभावको हुनु हुँदैन तर सन्तुलित र आत्मसंयमी हुनुपर्छ। तिनी खाने, पिउने, मनोरञ्जन र आफ्नो सोख पूरा गर्नेजस्ता कुरामा सन्तुलित हुनुपर्छ। तिनी रक्सी पिउने सन्दर्भमा पनि सन्तुलित हुनुपर्छ। अरूले तिनलाई पियक्कड भनेर चिनेको हुनु हुँदैन। मात्तिनेगरि रक्सी पिएको व्यक्तिले सजिलै आत्मसंयम गुमाउँछ र मण्डलीको हेरविचार गर्न सक्ने अवस्थामा हुँदैन।
१२ मण्डलीको निरीक्षण गर्ने भाइ व्यवस्थित हुनुपर्छ। तिनको पहिरन, कोरीबाटी, दैनिक कामकुरा र घरको अवस्था हेर्दा तिनी राम्रो आनीबानी भएका व्यक्ति हुन् भन्ने देखिनुपर्छ। तिनमा ‘पछि गरौँला’ भनेर कामलाई पन्छ्याउने बानी हुनु हुँदैन। बरु तिनी आफूले गर्नुपर्ने काम के हो भनेर राम्ररी विचार गर्ने र त्यसैअनुसार योजना बनाउने हुनुपर्छ। तिनी बाइबलको सिद्धान्तअनुसार चल्ने हुनुपर्छ।
१३ निरीक्षक व्यावहारिक हुनुपर्छ। एल्डरहरूको निकायसित मिलेर काम गर्ने र तिनीहरूलाई सहयोग गर्ने हुनुपर्छ। तिनले आफूलाई अरूभन्दा ठूलो ठान्नु हुँदैन। अरूबाट बढ्तै माग गर्नु हुँदैन। व्यावहारिक निरीक्षकले अरू एल्डरहरूको विचारभन्दा आफ्नै विचार ठीक हो भनेर जिद्दी गर्दैनन्। तिनीसित नभएको गुण वा क्षमता अरू एल्डरसित हुन सक्छ। कुनै एल्डर व्यावहारिक छन् भने तिनको निर्णय बाइबलमा आधारित हुन्छ र तिनी येसु ख्रिष्टको उदाहरण अनुकरण गर्न सक्दो गर्छन्। (फिलि. २:२-८) साथै तिनी झगडालु वा हिंस्रक स्वभावको हुनु हुँदैन। बरु अरूको उचित आदर गर्ने र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने हुनुपर्छ। तिनी आफूखुसी चल्ने हुनु हुँदैन। मतलब, सधैँ आफ्नो तरिका वा विचार नै ठीक हो र त्यसलाई सबैले मान्नै पर्छ भनेर जिद्दी गर्नु हुँदैन। तिनी झनक्क रिसाउने स्वभावको हुनु हुँदैन, बरु अरूसित शान्त भई व्यवहार गर्ने हुनुपर्छ।
१४ साथै निरीक्षक हुन अघि बढिरहेका भाइ सुझबुझ भएको हुनुपर्छ। यसको अर्थ तिनी गाह्रो वा आपत्कालीन परिस्थितिमा पनि नअत्तालिने र हतारमा निर्णय नगर्ने व्यक्ति हुनुपर्छ। तिनले यहोवाका सिद्धान्तहरू र ती लागू गर्ने तरिका राम्ररी बुझेको हुनुपर्छ। सुझबुझ भएको व्यक्तिले आफूलाई दिइएको सल्लाह र निर्देशन स्विकार्छ। तिनी कपटी हुनु हुँदैन।
१५ निरीक्षक भलाइको प्रेमी पनि हुनुपर्छ भनेर पावलले तितसलाई बताए। तिनी धर्मी र वफादार हुनुपर्छ। तिनले अरूसित व्यवहार गर्दा अनि सही र असल कुराको पक्षमा दृढ अडान लिँदा यी गुणहरू देखिन्छ। तिनले यहोवाको उपासनालाई हल्कासित लिनु हुँदैन र बाइबलका सिद्धान्तहरूमा सम्झौता गर्नु हुँदैन। तिनी गोप्य कुरालाई गोप्य नै राख्न सक्ने हुनुपर्छ। तिनको अतिथि-सत्कार गर्ने बानी पनि हुनुपर्छ। तिनी अरूलाई मदत गर्न आफ्नो समय, शक्ति र आफूसित भएका कुराहरू राजीखुसीले खर्च गर्ने हुनुपर्छ।—प्रेषि. २०:३३-३५.
१६ निरीक्षकको जिम्मेवारी राम्ररी पूरा गर्न तिनीसित सिकाउने योग्यता हुनुपर्छ। पावलले तितसलाई लेखेको पत्रअनुसार निरीक्षक “आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने हुनुपर्छ ताकि तिनले साँचो शिक्षाद्वारा प्रोत्साहन दिनुका साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्।” (ति. १:९) तिनी तर्क गर्न, प्रमाण प्रस्तुत गर्न र कसैले कुनै कुरामा प्रश्न उठाउँदा जवाफ दिन सक्ने हुनुपर्छ। साथै तिनी अरू विश्वस्त हुने र अरूको विश्वास अझ बलियो हुने तरिकाले धर्मशास्त्रको व्याख्या गर्न सक्ने हुनुपर्छ। निरीक्षक अनुकूल र प्रतिकूल दुवै अवस्थामा यसरी सिकाउन सक्ने हुनुपर्छ। (२ तिमो. ४:२) गल्ती गर्ने व्यक्तिलाई मायालु तरिकामा सुधार्न वा बाइबलको शिक्षामा शङ्का गर्ने व्यक्तिको शङ्का मेटाउन धीरज चाहिन्छ। साथै यस्तो व्यक्तिलाई यहोवाको स्तरअनुसार काम गर्नको लागि उत्प्रेरित गर्न पनि धीरज चाहिन्छ। त्यसैले निरीक्षक धीरजी पनि हुनुपर्छ। कुनै भाइ जनसमक्ष भाषण दिन सक्छन् अथवा कसैलाई व्यक्तिगत रूपमा सिकाउन सक्छन् भने तिनीसित सिकाउने योग्यता छ भन्न सकिन्छ।
१७ एल्डरहरू प्रचारकार्यमा जोसिलो हुनु महत्त्वपूर्ण छ। तिनीहरूले यस क्षेत्रमा पनि येसुको अनुकरण गर्न सक्दो गरिरहेका छन् भन्ने कुरा देखिनुपर्छ किनकि येसु सुसमाचार प्रचार गर्ने कामलाई एकदमै महत्त्वपूर्ण ठान्नुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूप्रति चासो देखाउँदै तिनीहरूलाई प्रभावकारी प्रचारक हुन मदत गर्नुभयो। (मर्कु. १:३८; लुका ८:१) एल्डरहरूले व्यस्तताको बाबजुद प्रचारको लागि समय निकाले भने मण्डलीका दाजुभाइ दिदीबहिनी पनि त्यसै गर्न उत्प्रेरित हुन्छन्। अनि आफ्नो परिवार र मण्डलीका अरूसँगै प्रचारकार्यमा भाग लिँदा एल्डरहरूले “एकअर्कालाई प्रोत्साहन” दिने मौका पाउँछन्।—रोमी १:११, १२.
१८ निरीक्षकमा हुनुपर्ने यी सबै योग्यतालाई विचार गर्दा निरीक्षकको रूपमा सेवा गर्ने व्यक्तिबाट निकै माग गरेजस्तो देखिन्छ। हुनत कुनै पनि निरीक्षक बाइबलमा दिइएको उच्च स्तरअनुरूप पूर्ण रूपमा चल्न सक्दैनन्। तर त्यसो भन्दैमा तिनमा हुनुपर्ने कुनै पनि योग्यता यतिसम्म कम पनि हुनु हुँदैन कि त्यसलाई गम्भीर कमजोरी ठानियोस्। सबै एल्डरमा फरक-फरक गुण हुन्छ। कोही एउटा क्षेत्रमा असाध्यै राम्रो हुन्छन् भने कोहीचाहिँ अरू नै क्षेत्रमा। त्यसैले एल्डरहरू एउटा निकायको रूपमा मिलेर काम गर्दा परमेश्वरको बगालको राम्ररी हेरविचार गर्न चाहिने सबै असल गुण त्यस निकायसित हुन्छ।
१९ एल्डरहरूको निकायले कसैलाई निरीक्षकको रूपमा सिफारिस गर्नुअघि प्रेषित पावलले भनेको यो कुरा मनमा राख्नुपर्छ: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ, त्यसबमोजिम ठान ताकि तिमीहरूले सुझबुझ चलाउन सक।” (रोमी १२:३) प्रत्येक एल्डरले आफूलाई अरूभन्दा सानो सम्झनुपर्छ। कोही भाइ योग्य छन् कि छैनन् भनेर जाँच्दा निरीक्षकहरूले आफूलाई “ज्यादै बुद्धिमान्” देखाउन खोज्नु हुँदैन। (उप. ७:१६) निरीक्षकहरूको लागि बाइबलमा तोकिएका योग्यताहरू मनमा राख्दै एल्डरहरूको निकायले सिफारिस गर्न लागिएको भाइले हासिल गरेको योग्यता सन्तोषजनक छ कि छैन भनेर पक्का गर्छन्। यसरी सिफारिस गर्दा तिनीहरूले मानिसहरू त्रुटिपूर्ण छन् भन्ने कुरालाई मनमा राख्छन्। साथै कुनै भेदभाव वा कपट्याइँ नगरी यहोवाको धार्मिक स्तरहरूको कदर गर्दै र मण्डलीको हितलाई ध्यानमा राख्दै सिफारिस गर्छन्। एल्डरहरूले प्रत्येक भाइलाई सिफारिस गर्नुअघि प्रार्थनापूर्वक विचार गर्छन् र परमेश्वरसित पवित्र शक्तिको डोऱ्याइ माग्छन्। कसैलाई एल्डरको रूपमा सिफारिस गर्नु एल्डरहरूले पूरा गर्नुपर्ने एउटा गम्भीर जिम्मेवारी हो र तिनीहरूले यो जिम्मेवारी पूरा गर्दा “कुनै मानिसमाथि आफ्नो हात राख्न कहिल्यै हतार नगर्नू” भन्ने पावलको सल्लाह पालन गर्नुपर्छ।—१ तिमो. ५:२१, २२.
पवित्र शक्तिको फलका पक्षहरू
२० आध्यात्मिक रूपमा परिपक्व निरीक्षकहरूले आफू पवित्र शक्तिको निर्देशनअनुसार चलेको प्रमाण दिन्छन् र यसको फलका विभिन्न पक्ष आफ्नो जीवनमा प्रकट गर्छन्। पावलले पवित्र शक्तिको फलका नौ वटा पक्ष छन् भनी बताए। ती हुन्: “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता र आत्मसंयम।” (गला. ५:२२, २३) आफ्नो माझमा यस्ता गुणहरू प्रकट गर्ने निरीक्षकहरू हुँदा मण्डलीले स्फूर्ति पाउँछ र एकतामा बाँधिएर पवित्र सेवा चढाउन मदत पाउँछ। तिनीहरूको आचरण र कडा मेहनतले गर्दा प्राप्त नतिजाहरूबाट तिनीहरू पवित्र शक्तिद्वारा नियुक्त भएका हुन् भनेर प्रमाणित हुन्छ।—प्रेषि. २०:२८.
मण्डलीको एकता बढाउने पुरुषहरू
२१ मण्डलीको एकता बढाउन एल्डरहरू एकजुट भई काम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। एल्डरहरूको व्यक्तित्व फरक-फरक हुन्छ। त्यसैले छलफल गरिने हरेक विषयमा सहमत नभए तापनि तिनीहरू एकअर्काको आदर गर्दै ध्यान दिएर कुरा सुन्छन् र एल्डरहरूको निकायको एकता कायम राख्छन्। बाइबलको सिद्धान्त उल्लङ्घन हुँदैन भने एल्डरहरूको निकायले गरेको अन्तिम निर्णयलाई स्विकार्न र त्यसअनुसार चल्न प्रत्येक एल्डर इच्छुक हुनुपर्छ। बाइबलमा ‘माथिबाट आउने बुद्धि शान्तिप्रिय र व्यावहारिक हुन्छ’ भनेर बताइएको छ। त्यसैले आफ्नै कुरामा जिद्दी नगरेर एल्डरहरूले माथिबाट आउने बुद्धि देखाउन सक्छन्। (याकु. ३:१७, १८) कुनै पनि एल्डरले आफूलाई अरू एल्डरभन्दा ठूलो ठान्नु हुँदैन र अरू एल्डरलाई दबाउन खोज्नु हुँदैन। मण्डलीको हितको लागि एकअर्कासित मिलेर काम गर्दा तिनीहरूले वास्तवमा यहोवासित मिलेर काम गरिरहेका हुन्छन्।—१ कोरि., अध्या. १२; कल. २:१९.
अघि बढ्नुहोस्
२२ परिपक्व ख्रिष्टियन पुरुषहरू निरीक्षक बन्न इच्छुक हुनुपर्छ। (१ तिमो. ३:१) तर एल्डरको रूपमा सेवा गर्न कडा मेहनत र आत्मत्यागी मनोभाव चाहिन्छ। यसको अर्थ, तिनी मण्डलीका दाजुभाइ दिदीबहिनीलाई आवश्यक मदत दिएर तिनीहरूको आध्यात्मिकताको ख्याल राख्न सधैँ तयार रहनुपर्छ। निरीक्षक बन्न अघि बढिरहेका भाइहरूले बाइबलमा दिइएका योग्यताहरू पूरा गर्न कडा मेहनत गर्नुपर्छ।
परिस्थिति परिवर्तन हुन सक्छ
२३ लामो समयदेखि एल्डरको रूपमा वफादार भई सेवा गरिरहेका भाइ शारीरिक रूपमा कमजोर हुन सक्छन् वा गम्भीर रूपमा अशक्त हुन सक्छन्। सायद ढल्कँदो उमेरले गर्दा तिनी निरीक्षकको रूपमा आफूले पूरा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न असमर्थ होलान्। तैपनि हामीले तिनलाई एल्डरको रूपमा आदर गर्न छोड्नु हुँदैन। तिनले आफ्नो सीमितताले गर्दा एल्डरको जिम्मेवारीबाट राजीनामा दिनु पर्दैन। बगालको हेरविचार गर्न कडा परिश्रम गर्ने सबै एल्डरलाई जस्तै तिनलाई पनि हामीले दोबर आदरको योग्य ठान्नुपर्छ।
२४ तर कुनै भाइलाई आफ्नो बद्लिँदो परिस्थितिले गर्दा एल्डरको जिम्मेवारीबाट राजीनामा दिनु नै बेस हुन्छ जस्तो लागेमा तिनले त्यसो गर्न सक्छन्। (१ पत्रु. ५:२) तर त्यसपछि पनि तिनलाई आदर गरिरहनुपर्छ। तिनले एल्डरको जिम्मेवारी नसम्हाले तापनि मण्डलीको हित हुने काम गरिरहन सक्छन्।
मण्डलीमा सम्हाल्नुपर्ने जिम्मेवारी
२५ एल्डरहरूले मण्डलीमा विभिन्न जिम्मेवारी सम्हाल्छन्। जस्तै: एल्डरहरूको निकायको संयोजक, सचिव, सेवा निरीक्षक, प्रहरीधरहरा अध्ययन सञ्चालक अनि जीवन र सेवा सभा निरीक्षक। थुप्रै एल्डरले समूह निरीक्षकको रूपमा पनि सेवा गर्छन्। यी जिम्मेवारीहरू एल्डरहरूले कहिलेसम्म सम्हाल्नुपर्छ भनेर तोकिएको हुँदैन। तर कुनै एल्डर अर्को मण्डलीमा सर्दा, अस्वस्थ भएकोले जिम्मेवारी पूरा गर्न नसक्दा वा धर्मशास्त्रीय आवश्यकताहरू पूरा गर्नदेखि चुकेकोले एल्डर भइरहन अयोग्य ठहरिँदा तिनले सम्हालिरहेको जिम्मेवारी अर्को एल्डरलाई दिइन्छ। कुनै मण्डलीमा निरीक्षकहरू थोरै छन् अनि अरू भाइहरू पनि एल्डर हुन योग्य भइसकेका छैनन् भने एकै जना एल्डरले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ।
२६ एल्डरहरूको निकायको संयोजकले एल्डरहरूको निकायको सभामा अध्यक्षको भूमिका निर्वाह गर्छन्। परमेश्वरको बगाललाई हेरविचार गर्न तिनी नम्र भई अरू एल्डरहरूसित मिलेर काम गर्छन्। (रोमी १२:१०; १ पत्रु. ५:२, ३) तिनी मण्डलीको सबै कामकुरा व्यवस्थित रूपमा गर्न सक्ने, अगुवाइ लिन सक्ने र लगनशील हुनुपर्छ।—रोमी १२:८.
२७ सचिवले मण्डलीको रेकर्डसम्बन्धी सम्पूर्ण काम गर्छन् र सङ्गठनबाट आएको पत्र तथा अन्य महत्त्वपूर्ण निर्देशनबारे अरू एल्डरलाई सूचना दिन्छन्। तिनलाई मदत चाहिएमा अर्को एल्डर वा योग्य सहायक सेवकलाई खटाउन सकिन्छ।
२८ सेवा निरीक्षकले प्रचारकार्य र यससित सम्बन्धित अन्य गतिविधिको रेखदेख गर्छन्। तिनले नियमित रूपमा सबै क्षेत्र सेवा समूहको भ्रमण गर्ने योजना बनाउँछन्। तिनले हरेक महिनाको एउटा सप्ताहन्तमा एउटा समूहको भ्रमण गर्न सक्छन्। क्षेत्र सेवा समूह थोरै भएका मण्डलीहरूमा तिनले प्रत्येक समूहमा वर्षको दुई चोटि भ्रमण गर्ने योजना बनाउन सक्छन्। भ्रमणको समयमा तिनले क्षेत्र सेवाको सभा सञ्चालन गर्छन्। तिनी त्यस समूहका प्रकाशकहरूसँगै प्रचारमा जान्छन् अनि पुनःभेट गर्ने र बाइबल अध्ययन सञ्चालन गर्ने सन्दर्भमा तिनीहरूलाई आवश्यक मदत दिन्छन्।
समूह निरीक्षक
२९ समूह निरीक्षकको रूपमा सेवा गर्न पाउनु एउटा ठूलो सुअवसर हो। तिनले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यी हुन्: (१) क्षेत्र सेवा समूहका प्रत्येक प्रकाशकको आध्यात्मिकतामा गहिरो चासो लिनु; (२) प्रत्येकलाई जोसिलो अनि आनन्दित भई नियमित रूपमा प्रचारकार्यमा भाग लिन मदत गर्नु; (३) आफ्नो समूहका सहायक सेवकहरूलाई मण्डलीमा थप जिम्मेवारीको लागि अघि बढ्न र त्यसको लागि चाहिने योग्यता हासिल गर्न मदत गर्नु र तालिम दिनु। यी तीनै वटा कामको लागि को सबैभन्दा योग्य छ भनी एल्डरहरूको निकायले निर्णय गर्छ।
३० समूह निरीक्षकले पूरा गर्नुपर्ने जिम्मेवारीलाई विचार गर्दा सम्भव भएसम्म एल्डरलाई नै समूह निरीक्षकको जिम्मेवारी दिनुपर्छ। एल्डरहरू थोरै छन् भने योग्य सहायक सेवकलाई यो जिम्मेवारी दिन सकिन्छ। यस्तो जिम्मेवारी सम्हाल्ने सहायक सेवक भाइलाई समूह सेवक भनिन्छ किनभने तिनले मण्डलीमा निरीक्षकको रूपमा सेवा गर्दैनन्। बरु एल्डरहरूको निर्देशनअनुसार तिनले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्छन्।
३१ समूह निरीक्षकको एउटा मुख्य जिम्मेवारी भनेको प्रचारकार्यमा अगुवाइ लिनु हो। तिनले जोस र उत्साहका साथ नियमित रूपमा प्रचारकार्यमा भाग लिँदा समूहका अरू पनि त्यसै गर्न उत्प्रेरित हुन्छन्। एकसाथ भेला हुँदा समूहका दाजुभाइ दिदीबहिनीले एकअर्कालाई प्रोत्साहन र मदत दिने मौका पाउने भएकोले समूहका धेरैजसो प्रकाशकलाई पायक पर्ने ठाउँ र समयमा प्रचारकार्यको भेला राख्नु राम्रो हो। (लुका १०:१-१६) प्रचार गर्न पर्याप्त इलाका छ कि छैन भनेर समूह निरीक्षकले सधैँ पक्का गर्नुपर्छ। साधारणतया तिनले नै क्षेत्र सेवाको सभा सञ्चालन गर्छन् र प्रकाशकहरूलाई प्रचारको लागि व्यवस्थित पार्छन्। आफू उपस्थित हुन नसकेको दिनमा भने तिनले अरू कुनै एल्डर वा सहायक सेवकलाई यो जिम्मेवारी सुम्पिनुपर्छ। यदि उनीहरू पनि छैनन् भने कुनै योग्य प्रकाशकलाई खटाउन सकिन्छ। यसो गर्दा समूहका दाजुभाइ दिदीबहिनीले आवश्यक डोऱ्याइ पाउनेछन्।
३२ समूह निरीक्षकले सेवा निरीक्षकको भ्रमणको लागि पहिल्यै योजना बनाउनुपर्छ। तिनले आफ्नो समूहलाई त्यस भ्रमणबारे जानकारी दिनुपर्छ र त्यसबाट पूरापूर लाभ उठाउन प्रोत्साहन दिनुपर्छ। यस प्रबन्धबारे पहिल्यै जानकारी पाए भने समूहका सबैले उत्साहित हुँदै प्रचारकार्यमा भाग लिन सक्नेछन्।
३३ क्षेत्र सेवा समूह साधारणतया सानो हुन्छ। यसले गर्दा समूह निरीक्षकले आफ्नो समूहमा भएका सबैलाई राम्ररी चिन्ने मौका पाउँछन्। मायालु गोठालोको रूपमा तिनले आफ्नो समूहमा भएका प्रत्येकको व्यक्तिगत चासो राख्छन्। प्रचारमा जोसिलो हुन र सभाहरूमा भाग लिन व्यक्तिगत रूपमा मदत र प्रोत्साहन दिन्छन्। साथै तिनले हरेक प्रकाशकलाई आध्यात्मिक रूपमा बलियो भइरहन सक्दो मदत गर्छन्। तिनी बिरामी वा निराश भएका दाजुभाइ दिदीबहिनीलाई घरैमा भेट्न जान्छन् र सान्त्वना दिन्छन्। मण्डलीका कोही-कोही भाइ तिनले दिएको प्रोत्साहन वा सल्लाहले गर्दा थप जिम्मेवारीको लागि अघि बढ्न उत्प्रेरित हुन सक्छन्। नतिजास्वरूप ती भाइहरू मण्डलीको लागि अझै उपयोगी बन्नेछन्। समूह निरीक्षकले विशेषगरि आफ्नै समूहका दाजुभाइ दिदीबहिनीलाई मदत गर्छन्। तर तिनी एक जना एल्डर र गोठालो भएकोले मण्डलीका अरू सबैको पनि उत्तिकै ख्याल राख्छन्। अनि खाँचोमा परेकाहरूलाई मदत गर्न सधैँ तयार रहन्छन्।—प्रेषि. २०:१७, २८.
३४ समूह निरीक्षकको अर्को एउटा जिम्मेवारी भनेको आफ्नो समूहका सबै प्रकाशकको क्षेत्र सेवा रिपोर्ट जम्मा गर्नु हो। त्यसपछि तिनले यी रिपोर्टहरू सचिवलाई दिन्छन्। हरेक प्रकाशकले आफ्नो समूह निरीक्षकलाई समयमै रिपोर्ट दिएर मदत गर्न सक्छन्। महिनाको अन्तमा समूह निरीक्षकलाई रिपोर्ट दिनुपर्छ वा सभाभवनमा रिपोर्ट खसाल्न भनेर राखिएको बाकसमा रिपोर्ट खसाल्नुपर्छ।
मण्डलीको सेवा समिति
३५ एल्डरहरूको निकायको संयोजक, सचिव र सेवा निरीक्षक मिलेर मण्डलीको सेवा समिति बनेको हुन्छ। मण्डलीको सेवा समितिले केही खास जिम्मेवारीहरू पूरा गर्छ। उदाहरणको लागि, सेवा समितिले विवाह र अन्त्येष्टिको लागि सभाभवन प्रयोग गर्ने स्वीकृति दिन्छ। कुन प्रकाशकलाई कुन क्षेत्र सेवा समूहमा खटाउने भनेर पनि यही समितिले निर्णय गर्छ। साथै यस समितिले सहायक तथा नियमित अग्रगामी सेवा र सेवाका अरू सुअवसरको लागि भरिएको आवेदनको स्वीकृत दिने गर्छ। यो समिति एल्डरहरूको निकायको निर्देशनअनुसार चल्छ।
३६ सेवा समितिको जिम्मेवारीको विषयमा र प्रहरीधरहरा अध्ययन सञ्चालक, जीवन र सेवा सभा निरीक्षक अनि अरू एल्डरहरूको जिम्मेवारीको विषयमा शाखा कार्यालयले थप निर्देशन दिन्छ।
३७ एल्डरहरूको निकाय समय-समयमा मण्डलीको आध्यात्मिक उन्नतिसित सम्बन्धित विषयहरूमा छलफल गर्न भेला हुन्छ। क्षेत्रीय निरीक्षकको भ्रमणको दौडान गरिने सभाबाहेक प्रत्येक भ्रमणको लगभग तीन महिनापछि पनि एल्डरहरूको निकायको सभा गर्नुपर्छ। तर आवश्यक परेमा एल्डरहरूले कुनै पनि बेला सभा गर्न सक्छन्।
अधीनमा बस्नुहोस्
३८ निरीक्षकहरू पनि त्रुटिपूर्ण मानिस हुन्। तैपनि मण्डलीका सबैलाई तिनीहरूको अधीनमा बस्न आग्रह गरिएको छ किनभने यो यहोवाको प्रबन्ध हो। एल्डरहरूले परमेश्वरलाई आफ्नो कामको लेखा दिनुपर्छ। तिनीहरूले उहाँ र उहाँको ईश्वरतान्त्रिक शासनको प्रतिनिधित्व गर्छन्। हिब्रू १३:१७ मा यस्तो लेखिएको छ: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस किनकि परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्। तिनीहरूले यो काम खुसीसाथ गरून्, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।” कुनै पुरुषलाई निरीक्षकको रूपमा नियुक्त गर्न यहोवा आफ्नो पवित्र शक्ति चलाउनुहुन्छ। तर तिनले पवित्र शक्तिको फलका पक्षहरू आफ्नो व्यवहारमा देखाएनन् र बाइबलको स्तरअनुरूप चलेनन् भने यहोवाले त्यही पवित्र शक्ति चलाएर तिनलाई त्यस जिम्मेवारीबाट हटाउनुहुन्छ।
३९ निरीक्षकहरूको कडा मेहनत र असल उदाहरणको के हामी कदर गर्दैनौँ र? थिस्सलोनिकाका ख्रिष्टियनहरूलाई लेखेको पत्रमा पावलले भाइहरूलाई यस्तो आग्रह गरे: “हे भाइ हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौँ भने जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन् अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्, तिनीहरूको आदर गर अनि तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन् धेरै आदर गर।” (१ थिस्स. ५:१२, १३) निरीक्षकहरूको कडा मेहनतकै कारण हामीलाई यहोवाको सेवा गर्न सजिलो भएको छ अनि उहाँको सेवामा आनन्दित पनि हुन सकेका छौँ। तिमोथिलाई लेखेको पहिलो पत्रमा पावलले मण्डलीका दाजुभाइ दिदीबहिनीले निरीक्षकहरूप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ भनेर बताए। तिनले यसो भने: “राम्ररी अगुवाइ लिने एल्डरहरूलाई दोबर आदरको योग्य ठान्नू; विशेषगरि तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्।”—१ तिमो. ५:१७.
भाइहरूले सङ्गठनमा सम्हाल्ने अरू जिम्मेवारीहरू
४० कहिलेकाहीँ केही एल्डरलाई बिरामी भेट्ने समूहको (पीभीजी) सदस्यको रूपमा सेवा गर्न खटाइन्छ। अरू कतिपय भाइहरू भने अस्पताल सम्पर्क समितिमा (एचएलसी) सेवा गर्छन्। यी भाइहरू अस्पतालहरूमा गएर डाक्टरहरूसित भेट्छन् र यहोवाका साक्षीहरूको उपचार गर्दा रगत नदिई गरिने उपचारविधिहरू प्रयोग गर्न र नयाँ-नयाँ उपचारविधिहरू अपनाउन आग्रह गर्छन्। अरू केही निरीक्षकहरू भने सभाभवन अनि सम्मेलन भवन बनाउने र स्याहारसम्भार गर्ने काममा मदत गरेर अथवा अधिवेशन समितिको सदस्यको रूपमा सेवा गरेर राज्य गतिविधिलाई अघि बढाउँछन्। यी भाइहरूले कडा मेहनत गरेकोमा र राजीखुसीले आफ्नो समय अनि शक्ति खर्च गरेकोमा सङ्गठनका सबैले तिनीहरूको निकै कदर गर्छन्। साँच्चै, हामी ‘त्यस्ता मानिसहरूलाई अनमोल ठान्छौँ।’—फिलि. २:२९.
क्षेत्रीय निरीक्षक
४१ परिचालक निकायले केही एल्डरलाई क्षेत्रीय निरीक्षकको रूपमा नियुक्त गर्छ। शाखा कार्यालयले तिनलाई साधारणतया वर्षको दुई पटक तिनको क्षेत्रमा पर्ने मण्डलीहरूमा भ्रमण गर्न खटाउँछ। समय-समयमा तिनी दुर्गम क्षेत्रमा सेवा गर्ने अग्रगामीहरूलाई भेट्न पनि जान्छन्। तिनले प्रत्येक मण्डलीमा कहिले भ्रमण गर्ने भनेर तालिका बनाउँछन्। अनि भ्रमणबाट मण्डलीका सबैले पूरापूर लाभ उठाउन सकून् भनेर हरेक मण्डलीलाई धेरै पहिला नै भ्रमणबारे जानकारी दिन्छन्।
४२ तिनको भ्रमणबाट मण्डलीका सबैले आध्यात्मिक तवरमा स्फूर्ति पाउन सकून् भनेर एल्डरहरूको निकायको संयोजकले भ्रमणसित सम्बन्धित सबै कुराको प्रबन्ध मिलाउँछन्। (रोमी १:११, १२) भ्रमणको मिति अनि क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई (यदि विवाहित हुन् भने) कस्तो मदत चाहिन्छ, त्यसबारे जानकारी पाएपछि संयोजकले अन्य भाइहरूको मदत लिँदै आवास र अन्य आवश्यक कुराहरूको प्रबन्ध मिलाउँछन्। अनि संयोजकले क्षेत्रीय निरीक्षकका साथै मण्डलीका सबैलाई यी प्रबन्धबारे जानकारी दिन्छन्।
४३ मण्डलीका सभाहरू अनि क्षेत्र सेवाका सभाहरूको समयतालिका पक्का गर्न क्षेत्रीय निरीक्षकले एल्डरहरूको निकायको संयोजकलाई सम्पर्क गर्छन्। यी सभाहरूको प्रबन्ध क्षेत्रीय निरीक्षकले दिएको सल्लाह र शाखा कार्यालयबाट आउने निर्देशनअनुरूप मिलाइन्छ। मण्डलीसित, अग्रगामीहरूसित र एल्डर तथा सहायक सेवकहरूसित हुने सभाहरूको समय र स्थानबारे सबैलाई पहिल्यै जानकारी दिनुपर्छ। साथै क्षेत्र सेवाको सभाको ठाउँ र समयबारे पनि पहिल्यै जानकारी दिनुपर्छ।
४४ क्षेत्रीय निरीक्षकले भ्रमणको पहिलो दिन दिउँसो मण्डलीको प्रकाशकको रेकर्ड, सभाको उपस्थितिको रेकर्ड, इलाकाको रेकर्ड र लेखाको जाँच गर्छन्। यसो गर्दा तिनले मण्डलीको आवश्यकताबारे केही कुरा बुझ्न सक्नेछन् र यी कुराहरूको रेकर्ड राख्ने भाइहरूलाई मदत गर्न सक्नेछन्। एल्डरहरूको निकायको संयोजकले यी रेकर्डहरू भ्रमण सुरु हुनुभन्दा अघि नै क्षेत्रीय निरीक्षकलाई दिन प्रबन्ध मिलाउनुपर्छ।
४५ क्षेत्रीय निरीक्षकले सभाहरूमा, क्षेत्र सेवामा, खाना खाने समयमा र अरू मौकामा मण्डलीका दाजुभाइ दिदीबहिनीसित व्यक्तिगत रूपमा कुराकानी गर्न समय निकाल्छन्। यसबाहेक तिनी एल्डर तथा सहायक सेवकहरूसित सभा गर्छन् अनि तिनीहरूलाई बाइबलमा आधारित सल्लाह, सुझाव र प्रोत्साहन दिन्छन्। यसबाट तिनीहरूले आफ्नो जिम्मामा सुम्पिइएको बगाललाई गोठालोले झैँ डोऱ्याउन मदत पाउँछन्। (हितो. २७:२३; प्रेषि. २०:२६-३२; १ तिमो. ४:११-१६) क्षेत्रीय निरीक्षकले अग्रगामीहरूसित पनि सभा गर्छन् र तिनीहरूलाई प्रचारकार्यमा जोसिलो भएर लागिरहन प्रोत्साहन दिन्छन्। अनि तिनीहरूले सेवाको काममा कुनै समस्याको सामना गर्दै छन् भने व्यक्तिगत रूपमा मदत गर्छन्।
४६ क्षेत्रीय निरीक्षकले एल्डरहरूलाई कुनै विषयमा मदत गर्नुपर्ने छ भने भ्रमणको हप्तामै तिनीहरूलाई मदत गर्न सक्दो गर्नेछन्। तर कुनै कुरा भ्रमणको हप्ताभित्रै सिद्धिएन भने क्षेत्रीय निरीक्षकले एल्डरहरू अनि त्यसमा मुछिएका प्रकाशकहरूलाई त्यस सन्दर्भमा लागू हुने बाइबल सिद्धान्तहरूबारे थप अनुसन्धान गर्न मदत गर्न सक्छन्। शाखा कार्यालयको तर्फबाट पनि केही गर्नुपर्ने छ भने क्षेत्रीय निरीक्षक र एल्डरहरूले शाखा कार्यालयलाई त्यस विषयमा विस्तृत रिपोर्ट लेखेर पठाउनुपर्छ।
४७ मण्डलीको भ्रमण गर्दा क्षेत्रीय निरीक्षक उक्त मण्डलीका नियमित सभाहरूमा उपस्थित हुन्छन्। शाखा कार्यालयले दिएको निर्देशनअनुरूप क्षेत्रीय निरीक्षकको भ्रमणको बेला सभाको तालिकामा छाँटकाँट गर्न सकिन्छ। तिनले मण्डलीलाई प्रोत्साहन दिन, हौसला दिन, सिकाउन र बलियो पार्न भाषणहरू दिनेछन्। तिनले मण्डलीका दाजुभाइ दिदीबहिनीलाई यहोवा, येसु ख्रिष्ट र सङ्गठनप्रतिको प्रेमलाई अझै बलियो बनाउन मदत दिनेछन्।
४८ क्षेत्रीय निरीक्षकको भ्रमणको एउटा उद्देश्य मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रचारकार्यमा जोसिलो भई भाग लिन प्रोत्साहन दिनु र व्यावहारिक सुझावहरू दिनु हो। भ्रमणको हप्तामा क्षेत्र सेवामा पूरापूर भाग लिन प्रकाशकहरूले आफ्नो तालिकामा छाँटकाँट गर्न सक्छन्। जस्तै: भ्रमणको महिनामा सहायक अग्रगामी सेवा गर्ने योजना बनाएर। साथै क्षेत्रीय निरीक्षक वा तिनकी पत्नीसित प्रचारमा जान चाहनेहरूले पहिल्यै प्रबन्ध मिलाउन सक्छन्। क्षेत्रीय निरीक्षक वा तिनकी पत्नीलाई आफ्नो बाइबल अध्ययन र पुनःभेटमा लैजाँदा राम्रो नतिजा हासिल हुन सक्छ। क्षेत्रीय निरीक्षकको भ्रमणको दौडान हुने प्रचारकार्यमा पूरापूर भाग लिन तपाईँले गर्नुहुने थप प्रयासको निकै कदर गरिनेछ।—हितो. २७:१७.
४९ वर्षेनी प्रत्येक क्षेत्रको लागि दुइटा सम्मेलन आयोजना गरिन्छ। सम्मेलनसित सम्बन्धित सबै कामकुरा क्षेत्रीय निरीक्षकले सम्हाल्छन्। तिनले सम्मेलन निरीक्षक र सहायक सम्मेलन निरीक्षकको नियुक्ति गर्छन्। उनीहरूले सम्मेलनसित सम्बन्धित सबै प्रबन्ध मिलाउन क्षेत्रीय निरीक्षकसित मिलेर काम गर्नुपर्छ। यसले गर्दा क्षेत्रीय निरीक्षकले सम्मेलनको कार्यक्रमको तयारीमा पूरापूर ध्यान दिन सक्नेछन्। विभिन्न विभागको जिम्मेवारी सम्हाल्न पनि क्षेत्रीय निरीक्षकले अरू योग्य भाइहरूलाई छान्छन्। तिनले हरेक सम्मेलनपछि क्षेत्रको लेखा परीक्षण गराउने प्रबन्ध पनि मिलाउँछन्। वर्षको एउटा सम्मेलनमा शाखा प्रतिनिधिले अतिथि वक्ताको रूपमा भाषण दिन्छन्। इलाकाको संरचनाले गर्दा अथवा सम्मेलन भवनहरू सानो हुने भएकोले केही क्षेत्रलाई भाग-भागमा बाँडिन्छ र प्रत्येक भागको लागि छुट्टाछुट्टै सम्मेलन आयोजना गरिन्छ।
५० क्षेत्रीय निरीक्षकले हरेक महिनाको अन्तमा क्षेत्र सेवाको रिपोर्ट सीधै शाखा कार्यालयलाई बुझाउँछन्। यात्रा, खानपान, आवास र आफ्नो काम पूरा गर्न आवश्यक पर्ने अरू कुराको लागि खर्च गर्नु परेमा र तिनले भ्रमण गरेको मण्डलीले खर्च बेहोरेको छैन भने तिनले यी खर्चहरूको विवरण शाखा कार्यालयलाई बुझाउन सक्छन्। येसुले प्रतिज्ञा गर्नुभएझैँ यहोवाको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिँदा भौतिक आवश्यकता पूरा हुनेछ भन्ने कुरामा परिभ्रमण निरीक्षकहरू विश्वस्त छन्। (लुका १२:३१) मण्डलीहरूको सेवा गर्ने यी मेहनती निरीक्षकहरूलाई अतिथि-सत्कार देखाउने सुअवसरको सबै दाजुभाइ दिदीबहिनीले कदर गर्नुपर्छ।—३ युह. ५-८.
शाखा समिति
५१ संसारभरिका यहोवाका साक्षीहरूको हरेक शाखा कार्यालयमा आध्यात्मिक तवरमा परिपक्व तीन जना वा सोभन्दा धेरै भाइहरूले शाखा समितिको रूपमा सेवा गर्छन्। तिनीहरू आफ्नो देश वा सो देशको शाखा कार्यालयको निगरानीमा पर्ने अरू देशमा भइरहेको प्रचारकार्यको निरीक्षण गर्छन्। उक्त समितिको एक सदस्य शाखा समितिको संयोजकको रूपमा सेवा गर्छन्।
५२ शाखा समितिका भाइहरू आफ्नो शाखाको इलाकामा पर्ने सबै मण्डलीसित सम्बन्धित कामकुराको रेखदेख गर्छन्। शाखा समितिले आफ्नो मातहतमा पर्ने सम्पूर्ण इलाकामा राज्यको सुसमाचार प्रचार गर्ने कामको निरीक्षण गर्छ र इलाकाका मानिसहरूको आध्यात्मिक आवश्यकता राम्ररी पूरा गर्न सकियोस् भनेर नयाँ मण्डलीहरू र क्षेत्रहरू स्थापना गर्ने काम पनि गर्छ। शाखा समितिले मिसनरीहरूका साथै विशेष, नियमित अनि सहायक अग्रगामीहरूको गतिविधिमा पनि ध्यान दिन्छ। सम्मेलन र अधिवेशनहरू हुँदा “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले होस्” भनेर यस समितिले आवश्यक प्रबन्धहरू मिलाउँछ।—१ कोरि. १४:४०.
५३ कुनै-कुनै देशमा उपशाखा समिति गठन गरिन्छ। यस समितिले अर्कै देशको शाखा समितिको निर्देशनअनुसार काम गर्छ। यस्तो प्रबन्धले गर्दा उपशाखा समिति भएका देशहरूको कामलाई राम्ररी निरीक्षण गर्न सम्भव भएको छ। उपशाखा समितिले बेथेल सेवकहरू बस्ने घर र बेथेल कार्यालयको रेखदेख गर्छ, पत्र अनि रिपोर्टसित सम्बन्धित कामकुरा सम्हाल्छ र प्रचारकार्यसित सम्बन्धित गतिविधिको हेरविचार गर्छ। परमेश्वरको राज्यसम्बन्धी सम्पूर्ण कुरा अघि बढाउन उपशाखा समितिले शाखा समितिसँग मिलेर काम गर्छ।
५४ शाखा समिति र उपशाखा समितिमा सेवा गर्ने भाइहरूलाई परिचालक निकायले नियुक्त गर्छ।
मुख्यालय प्रतिनिधि
५५ समय-समयमा परिचालक निकायले संसारभरि रहेका शाखा कार्यालयहरूको भ्रमण गर्न अनुभवी भाइहरूलाई पठाउँछ। यसरी सेवा गर्ने भाइहरूलाई मुख्यालय प्रतिनिधि भनिन्छ। तिनीहरूको मुख्य काम भनेको बेथेल परिवारलाई प्रोत्साहन दिनु र शाखा समितिका भाइहरूलाई प्रचार गर्ने र चेला बनाउने काम अघि बढाउने सन्दर्भमा आइपरेका समस्याहरू वा प्रश्नहरू हल गर्न मदत दिनु हो। मुख्यालय प्रतिनिधिले केही क्षेत्रीय निरीक्षक र समय-समयमा मिसनरीहरूलाई पनि भेट्छन्। अनि तिनले उनीहरूको समस्या र आवश्यकताबारे कुरा गर्छन्। साथै सबैभन्दा महत्त्वपूर्ण काम अर्थात् प्रचार गर्ने र चेला बनाउने काममा जोडतोडले लागिरहन आवश्यक प्रोत्साहन दिन्छन्।
५६ मुख्यालय प्रतिनिधिले प्रचारकार्य र मण्डलीका अरू काम कस्तो भइरहेको छ भनेर निरीक्षण गर्छन्। समयले भ्याएमा तिनी स-साना अनुवाद कार्यालयमा पनि जान्छन्। मुख्यालय प्रतिनिधिले शाखा कार्यालयको भ्रमण गर्दा सम्भव भएसम्म प्रचारकार्यमा पनि भाग लिन्छन्।
बगालको गोठालोको रूपमा सेवा गर्न नियुक्त भएका निरीक्षकहरूको अधीनमा बसिरह्यौँ भने हामी मण्डलीका शिर ख्रिष्ट येसुसित एकतामा बाँधिन्छौँ
मायालु निरीक्षण
५७ हामीले परिपक्व ख्रिष्टियन पुरुषहरूको कडा मेहनत र मायालु चासोबाट धेरै लाभ उठाइरहेका छौँ। बगालको गोठालोको रूपमा सेवा गर्न नियुक्त भएका निरीक्षकहरूको अधीनमा बसिरह्यौँ भने हामी मण्डलीका शिर ख्रिष्ट येसुसित एकतामा बाँधिन्छौँ। (१ कोरि. १६:१५-१८; एफि. १:२२, २३) परिणामस्वरूप परमेश्वरको पवित्र शक्तिले संसारभरिका मण्डलीहरूमा काम गर्छ र परमेश्वरको वचनले सारा पृथ्वीमा भइरहेको काम गर्न हामीलाई डोऱ्याउँछ।—भज. ११९:१०५.